पदमकुमारीको हृदय महान छ !


उनी ओछ्याानमा पुग्दा रातको एघार बजिसकेको हुन्थ्यो । विहानको तीन बजे उठेर घर धन्दा नसिध्याए खस्तैगरेको उज्यालोसँगै मेलापातमा निस्कन भ्याउँदिन थिइन् उनी । पहाडको बसाई र त्यसमा पनि सावाँभन्दा व्याज धेरै भएको ठूलो परिवार । रुखोबारी र आकासे खेतमात्र भएकोले एकातिर श्रम धेरै अर्कातिर उत्पादन थोरै हुन्थ्यो । उत्पादित सबै बस्तु खाइसक्ता पनि वर्ष धान्न मुस्किल पर्थ्यो । धेरै बस्तुभाउ, सस्याना छोराछोरी र समाजसेवाका नाममा गाउँ दौडिइरहने लोग्नेको दैनिकीकासामु उनको केही जोर चल्दैन थियो । रातको तीन घण्टा बाहेक खुट्टाले भुइँ टेकेर उभिउज्जेलसम्म र घाँटीबाट स्वास भित्र बाहिर गरुन्जेलसम्म उनले कसैलाई दोस दिइनन् पनि र काम विसाएर एक पल खाली बसिनन् पनि ।

प्रत्येक दुई वर्षमा एउटा सन्तानलाई जन्म दिँदादिँदै उनको जीवनका अठ्ठाइस् वसन्तहरू लगातार बितेर गए । आफ्नै कोखले जन्माएका चौध सन्तानमध्ये पहिलो सन्तानलाई सात महिनाकै कलिलो उमेरमा गुमाउनु पर्दाको दुःखद् पीडामाथि उनन्तीस् वर्षको छैठौं सन्तानले दोब्बर पीडा थप्ता उनको मन असाध्यै रोयो । दुःखका सुस्केराहरू पलपल ओकल्दै आएपनि सुख वा खुसीका मुस्कान भने आषाका रहरलाग्दा घुट्काहरूमा मात्र पिउन भ्याएकी छन् उनले ।

पदमकुमारी एघार वर्षको कलिलो उमेरमा नै अन्मिएर हरिप्रसादका घरमा भित्रिएकी थिइन् । चलन अनुसार दुई वर्ष पुनःमाइती र मावलीमा वितउँदै घर फर्काइए लगत्तै पन्ध्र वर्षको कच्चा उमेरमा नै गर्भिणी भइन् र पहिलो सन्तानलाई जन्म दिन पुगिन् । हुर्किसकेको सात महिनाको छोरालाई न्यूमोनियाँले गाँज्दा परिवारले झारफुक र जराबुटा बाहेक केही गर्न सकेन र काखमै उसले मृत्युबरण गर्यो । छोरा गुमाउनुको पीडा र छट्पटीको अन्त्य नहुँदै उनी पुनः गर्भिणी हुन पुगिन् र सत्र वर्ष लाग्दा नलाग्दै छोरीको रुपमा दोष्रो सन्तान यस धर्तीमा दिन सफल भइन पदमकुमारी । यस पछि त उनको शरीरले एउटा इतिहास रचना गर्ने मेसिनकै रुप धारणा गर्यो र लगातार अरु बाह्रवटा सन्तान दिन सफल भइन् ।

तर जति शाहसका कुरा गरे पनि, गौरवका कुरा गरे पनि त्यो त्यति सुखद भने थिएन र हुनेकुरा पनि होइन । धेरै सन्तानकी आमा हुनपाउनुको क्षणिक गौरव बाहेक अनन्त पीडा, कष्ट र झमेलालाई दर्दनाक उच्छ्वास्सँगै हँ हँमा परिणत गरेर बिताउनु पर्यो पदमकुमारीले बाँकीका आरोह अबरोहहरू ।

पहाड आफैंमा सहज छैन निर्माण, यातायात वा सामान्य दिनचर्याकालागि जति सहज छ मधेश वासम्म तराई । विकासले छोएको आजको पहाडको परिकल्पना हैन पदमकुमारीको दैनिकीको । त्यो त अभाव नै अभावले जेलिएको एउटा विकट भूगोल र वाध्यताको भोगाई थियो । ढिकी जाँतो नगरी, आधा घण्टा टाढाबाट माटोको घैलामा पानी नओसारी, बनका दाउरा र भीरको घाँस थाप्लोमा नबोकी, कुटोकोदालो नगरी कोही मुठ्ठीभरका धनाड्य बाहेक कसैका पनि मुखमा माड लाग्दैन थियो त्यसबेला । त्यसमा पनि पदमकुमारीको जस्तो निम्न वर्गीय परिवारको त कुरै अर्को । कोदोको ढीँडो, रोटी, मकैको फ्याप्लो, सिजन अनुसार उसिनेका तरुल, सुठुनी, फर्सी, हरिया मकै र तामाको अचार, टाँकीका च्यूलाको तरकारी तथा गाईको पातलो मोही आदिले वर्षभरीका छाकहरू टार्नु पर्थ्यो ।

पदमकुमारीले त्यसबेला कोदो, मकै, धान, गहूँ, जौं, जुनेलो, घैया आदि बालीहरू लगाउँथिन् भने गहत, फिलुङ्गे, मास, जरेबोडी, तोरी, फापर, आदि दलहन तेलन बालीहरू छर्दथिन् । ती सबै बालीनालीहरू लगाउने, गोडमेल गर्ने, पानी लगाउने, बार बार्ने, बाली उठाउने, सुकाउने, कुट्ने, पिस्ने, निफन्ने, पकाउने ख्वाउने देखि लिएर समय अनुसारका तरकारीहरू लगाउने, गोड्ने, टिप्ने पकाउने आदिको मूख्य जिम्बेवारी पनि उनैको काँधमा थियो ।

पदमकुमारीका छोराछोरीहरू हुर्कँदै गए । आफूले काला अक्षरहरू नचिनेपनि सन्तानलाई अक्षर चिनाउने बन्दोबस्त पनि भयो र विद्यालय भर्ना पनि गरिए । तर, सानातिना कक्षाहरू उतिर्ण गर्दा नगर्दै उनीहरूका पखेटा लाग्न थालिहाले र पहाडका डाँडाबाट भूर्र भूर्र उड्दै तराईकासम्म मैदानीभागहरूमा उत्रन थालिहाले । जति सन्तान जन्माए पनि र हुर्काए पनि छोरीहरू तराईकै ज्वाइँ रोजेर मैदानमा उत्रिए भने छोराहरू कसैका हली गोठाला भएर किन नहोस् तराईतिर नै बुर्कुसीमारे । पखेटा उम्रन लागेको समयलाई छोडेर, कसैले पनि उनको दैनिकीमा लामो समय सहयोग गरेनन् ।

जसरी एउटा कारखानामा सामग्री उत्पादन हुन्छ त्यसैगरी पदमकुमारीको कारखानामा प्रसस्त सन्तानहरू उत्पादन भए । लगानी अत्यधिक भयो । लगानी अनुसारको उत्पादन पनि भयो । उत्पादनलाई रङ्–रोकन आदि पनि गरियो तर जब बिक्री गरेर नाफा कमाउने बेला भयो वा उत्पादित बस्तुले प्रतिफल दिने बेला भयो तिनीहरू एक्कासि चोरी भए वा एक एक गरेर हराउँदै गए । पदमकुमारीका परिवारको एकोहोरो श्रम तथा सम्पत्तिको लगानीमात्र भयो तर कुनै पनि प्रतिफल हातलाग्न सकेन ।

यो क्रमले उनको परिवार क्रमिकरुपमा ऋणमा जाकिँदै गयो – जाकिँदै गयो । विडम्बनाको कुरा चाहिँ के रहृयो भने उनैले जन्माएका कुनै पनि सन्तानले गुँड रुँगेर बसेका आफ्ना आमाबाबुलाई आफू उडेर गएको मैदानीभागतिर जाउँ भनेर ल्याउन त के मुख फोरेर प्रस्ताव राख्ने सोच पनि गर्न सकेन । उनीहरू हुर्कँदा लागेको ऋण तिर्ने चेष्टा त के घर खर्च कसरी चल्दैछ भनेर एक शव्द सोध्न पनिसकेनन् । उनीहरूले ल्याएका बुहारीहरू वा विवाह गरेर दिएका ज्वाइँहरूका मनमा पनि पहाडको कन्दरामा बसेका आफ्ना सासू –ससुराकोबारेमा दयाको कुनै टुसा पलाएन । दशै तिहारमा पहाड चढेर रमाइलो गर्न, मिठो मसिनु खान र सकेसम्म बाटोखर्च समेत हात थापेर तराई झर्न बाहेक बाँकी कुनैकाम हुन सकेन । हुनत पदमकुमारीमा उनीहरूसँग यसकुराको अपेक्ष पनि थिएन होला किनकि स्वय म जन्म दिएका छोरा छोरीमा त त्यो चेत आएको थिएन भने उनीहरू त अर्केले जन्माएका, हुर्काएका सन्तान् न थिए ।

एस कुराले पदमकुमारी अधैर्य बन्दै गइन् । बुढो हुँदैगरेको शरीर र अभावले ग्रस्थ बन्दैगरेको लोग्नेको मस्तिष्कबाट प्राप्त हुने दैनिक कचकचले उनको मानसिकता पनि भारी हुँदै गयो । अब त बुढेसकाल लाग्दै गर्दा जन्मिएका (पखेटालाग्न बाँकी) एक दुई सन्तान बाहेक साथमा कोही र केही पनि थिएन ।

सधैंझैं त्यो दिन पनि पदमकुमारी एकाविहानै उठिन् र सूची गर्न आँगनको डिलमा पुगिन् । सामान्यरुपमा उठेर गएकी उनलाई एक्कासि चक्कर लागेजस्तो भयो र सूची गर्दागर्दै आँगनको डीलमा ढल्न पुगिन् । विचरीलाई के थाहा उच्च रक्तचापले कहिले देखि उनलाई समातिसकेको रहेछ । उनी बेहोस् भइन् । केही उपचार भए पनि उनको दाहिने पाटो नै चल्न छोड्यो । त्यो अवस्था पार गर्दा पनि उनका सन्तानले उनलाई आफ्नो रेखदेखमा नजिकै राख्न सकेनन् । पहाड घरमा नै पुर्याए र तिनै केटाकेटीहरूलाई जिम्मा लगाइ आफूहरू तराइ फर्किए ।

केही वर्षको अन्तराल पछि उनी फेरि बेहोस् भइन र देब्रे पाटो पनि प्यारालाइसिस् भयो । अहिले पनि पदमकुमारी जीवितै छिन् तर उनको दिशा पिसाव एकै ओछ्यानमा, एकै थलोमा हुन्छ । उनको शारीरिक अचल भए पनि मस्तिष्क भने अँझै सबल छ, स्वच्छ र स्वस्थ छ । सन्तानको हृदय जस्तोसुकै भए पनि उनको हृदय विशाल छ, महान छ । तर विचित्रको यो संसारमा विबेकको आँखाले हेर्न नसक्ने ईश्वर र बुद्धिको बिर्को खोलेर कर्तव्यको पालना गर्न नसक्ने सन्तान हुनु र नहुनुले असर चाहिँ के पार्छ होला ? बुझ्न अँझै सकिएको छैन ।

– विष्णु न्यौपाने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *