Skip to content

कहाँ छ जनता हुनुको चरित्र


नेपाल जप्नु मनुवा सव स्वार्थ फाल्नु ।
निर्माण गर्नु गतिलो किन व्यर्थ गाल्नु ।।
माटो असाध्य मलिलो खुब अन्नपात ।
फल्नेछ खानु फलका रुख भिन्न जात ।।

हावा तथा जल सबै अति मुग्ध पार्छन् ।
नेपाल धन्य छ भनी सबले विचार्छन् ।।
डाँडा र पर्वत हुने अनि सम्म फाँट ।
मैदान खेत वन औ जलको छ रास ।।

खोला कतै नदिहरु अनि ताल देख्छौं ।
माछा र मासु दुधमा परिपूर्ण हुन्छौं ।।
निस्किन्छ टन्न विजुली धनलाभ हुन्छ ।
हामी सरी शिखरमा कुन राष्ट्र छुन्छ ।।

हुन्छन् कहीं जडिवुटी धनको वटुल्छ ।
आएर स्वर्ग सरिको नर राज्य डुल्छ ।।
भित्रिन्छ धेर रुपियाँ अरु मित्र आए ।
सेता हिमाल नजिकै जुन झैं रमाए ।।

यस्तो छ राज्य बढिया जगमै विचित्र ।
विग्रिन्छ वास्तव यहाँ कुरुपै छ चित्र ।।
नेता मिलेन गतिला किन राज्य भित्र ।
खोज्दैछु कहाँ छ जनता हुनुको चरित्र ।।

जन्मेन मानिस कुनै यसको सपार्न ।
लागे बरु सब यहाँ किन हो विगार्न ।।
जन्मेर बुद्ध अहिले यहि धाम आऊ ।
शान्ती सुकार्य गतिलो तिमिले सिकाऊ ।।

छन्दःवसन्ततिलका ८ अक्षरमा विश्राम ।
२२१ २११ १२१ १२१ २ २

Leave a Reply

Your email address will not be published. Required fields are marked *