जीवन अदृश्यमा छ । दृश्यमा थोरै चिज छन् । अदृश्यमा अनन्त चिज छन् । अबको दुई मिनेटपछि जीवनमा, जगत्मा के के घटना घट्छन् ? ती सबै कुरा अदृश्यमा छन् । भरे घट्ने, भोलि घट्ने समस्त चिजहरू अहिले नै दृश्यपटमा आउँदा हुन् त संसारको आन्तरिक व्यवस्था नै बिग्रने थियो । भोलिको जीवनको सम्मोहनकारिरहस्य आजै पटाक्षेप भएपछि जगत्को अदृश्य लयबद्धता सबै भताभुंग हुने थियो ।
यतिखेर मेरो समिपमा बगैँचा छ । यहाँको दृश्यमा फूल छ । फेद छ । पात छ । पतिङ्गर छ । काण्ड छ । कोपिला छ । सुगन्ध समिर छ । सौरभ वसन्त छ । तर गहिरोसँग नियाल्दा यिनको दृश्यमान सत्ता अदृश्यको जगमा उभिएको छ । अदृश्यमा जरा छ । त्यही अदृश्य जराको बलमा सबै चिजहरू दृश्यमान छन् । दृश्यको चिजले अदृष्य सत्तासित पोषणशक्ति प्राप्त गरेर जीवनको लाली फिँजाउदो रहेछ । जीवनको ज्योत्सना र जीवनको हरियाली पल्लवित गराउँदो रहेछ ।
भर्खरै माङ्खाको जुरे पहाड खस्यो । त्यो भीमकाय भूस्खलनको गर्भमा पचासौँ घरहरू पुरिए । सयौँ मान्छेहरूको नामोनिशानासम्म पनि भेटिएन । कोशी नदी थुनिएर केही घण्टामा विशाल जलाशय बन्यो । त्यही जलाशयमा मान्छेका दुईचार तले घर चुर्लुम्म डुबे । यो विकराल विपत्तिको सत्ता कति ठूलो अदृश्यताको पहाडमुनि लुकिबसेको रहेछ, कसैलाई थाहा भएन । त्यो पहिरोको थोरैमात्र पूर्वाभास हुन सकेको भए, त्यो नरसंहारकारी प्रकोपको अनुमान थोरै मात्र पाउन सकेको भए, मान्छेहरू बेलुकै सुरक्षित स्थानतर्फ लाखापाखा लाग्दा हुन् । अतिशय मानवीय क्षति हुनबाट समाजलाई बचाउँदा हुन् । तर प्रकृतिको आन्तरिक लय र त्यसको स्वरलाई ठम्याउन मान्छे अँझसम्म असक्षम छ । विज्ञानले जतिसुकै रहस्यका पर्दाहरू उघारे भने पनि अगणित रहस्यका सत्ताहरूलाई छुनसम्म पनिसकेको छैन । अदृश्यको ज्ञेय गर्भमा पौडिन सकेको छैन ।
चेरीको गाछीमा फल खाएर वल्लो हाँगो पल्लो हाँगो फुत्रुक फुत्रुक नाचिरहेको जुरेलीलाई एक किशोरवयको ऐरीले मट्याङ्ग्रा ताकेर ठाउँको ठाउँ लडायो । केही मिनेटदेखि म त्यस जुरेलीको नर्तन हेरिरहेको थिएँ । त्यसको चञ्चुप्रदेशबाट निस्केको सुरिलो सम्मोहनकारी कीर्तन सुनिरहेको थिएँ । तर दुष्ट ऐरीले निमेषभरमा कतैबाट लुकेर त्यसमाथि सर गर्यो । उमङ्गमा नाचिरहेको, परम प्रफुल्लतामा गाइरहेको जुरेली चरीले केही निमेषमा घट्ने मृत्युको आभास पाउँदो हो त ज्यान सुरक्षाको तरकीव रच्तो हो । कति सघन अदृश्यमा छ मृत्युसत्ता ।
कवि दुर्गालालको कुनै कविताको अंश याद आउँछ । त्यस कवितामा हतियारको धार चाटिरहेको अबोध बोकाको सन्दर्भ उल्लेख छ । बली दिन लागिएको बोको अबोध छ, र ऊ खुँडाको धार चाटिरहेछ । केही क्षणमा आफ्नो गर्दन गिँड्ने खुँडाको विषयमा उसलाई ज्ञात हुँदो हो त स्वाद मानी मानी किन धार चाटिरहन्थ्यो । त्यसले धारमा मृत्युको दृश्य देख्तो हो त किन अलमस्त तरिकाले खुँडा चाटिरहन्थ्यो ।
त्यो मृत्युबोध भए ऊ रुन्थ्यो होला । कराउँथ्यो होला । छटपटाउथ्यो होला । झोक्य्राउँथ्यो होला । भाग्ने उपाय गर्थ्योहोला । तर उसको निम्ति मृत्यु अदृश्यमा छ । र मजाले धार चाटिरहेछ ।
बोको पशु हो । ऊ अबोध हुनु कुनै आश्चर्यको विषय नहुन सक्छ । तर विवेक र चेतनाले सुसज्जित मान्छेपनि मृत्युको अदृश्य सत्तासित उत्तिकै अबोध छ, उत्तिकै अनभिज्ञ छ ।
अहिले यही क्षणको सत्तामात्र मेरोसामु दृश्यमा छ । मेरो भरे अदुश्यमा छ । मेरो भोलि अदुश्यमा छ । मान्छेको सिंगो अनागत समय अदृश्य छ । वर्तमानको एक सानो हिस्सामात्र दृश्यमा छ । वर्तमानका यी साना साना हिस्सापनि जबजब विगतको गर्तमा पुरिँदै जान्छन्, ती पनि अदृश्य नै हुन पुग्दछन् । त्यसै विगतलाई भूत भनिएको होइन । भूत वास्तवमा दृश्यमान चिज होइन । यो अदृश्य चिज हो ।
मनोविज्ञानले भन्छ –मानसजगत्का कुराहरूपनि दस प्रतिशत दृश्यमा छन्, बाँकी नब्बे प्रतिशत अदृश्यमा छ । अर्थात् हिमसागर जस्तो हाम्रो मनमा बाहिर चेतन सत्तामा चलायमान कुरा थोरै छन् । भित्रको अचेतन मनमा विराजमान असीमित कुराहरू छन् । सानो हिस्सा बाहिरी सतहमा छ, विराटहिस्सा भित्र अदृश्यमा कैद छन् ।
मनस् सागरमा हिमचट्टानको थोरै टुप्पोमात्र बाहिर देखिँदो छ । भीमकाय स्वरुपको अचेतन मन/अवचेतन मन अज्ञातमा डुबेको छ । अदृश्यमा थिचिएको छ । हाम्रो जीवनको पनि सानो टुप्पो बाहिर देखिँदो अवस्थामा छ । ठूलो हिस्सा भित्र छोपिएको छ । त्यही छोपिएको हिस्सा भोग्ने धुनमा हामी लगातार यात्रा गरिरहेका छौँ । अज्ञात जगत्लाई ज्ञातमा पदार्पण गर्ने धुनमा हाडतोडा मिहेनत गरिरहेछौँ । अविदित दुनियाँलाई विदितमा बोध गर्ने लालसामा जीवन नामेट गरिरहेछौँ । यो सबै कुरा एउटा मूर्तिकारले अनगढ पत्थरमा मूर्तिको आकृति झिक्न अहर्निश छिनो बजारे जस्तो छ । ऊ जति जति छिनो र हतौडी चलाउँदै जान्छ । त्यति त्यति अदृश्यमा छिपेको आकृति दृश्यमान हुँदैजान्छ । कोही कलाकार पूरा आकृति झिक्न सफल बन्छ । कोही सफल हुँदैनन् । अधुरो अपुरो आकृति कुँदी मर्छन् मान्छेहरू । अस्तित्वको व्यवस्था नै यस्तो छ ।
प्रत्येक व्यक्ति जीवनको कालीगढ हो । आफ्नै जीवनरुपी अनगढ पत्थरमा आफ्नै हात र मस्तिष्कको छिनो हथौडी चलाएर, आफ्नै पौरख पसिनारुपी हम्मर हतियार चलाएर जीवनको आकृति झिकेर बाँच्न खोज्छौँ, आफैँले आफ्नो सुखसर्ग रच्न खोज्छौँ । यसक्रममा कोही जीवनको मनमोहककारी आकृति झिकेरै मर्छ । संसारलाईृ आफूभित्रको संभावना कति हो, त्यसलाई अनावरण गरेरै जान्छ । कोही अधपिल्चो आकृति झिकेर केही नगर्नुभन्दा केही न केही गरेर गएको सन्देश छोड्छन् ।
कोही आफ्नो छुट्टै अनुहार र आकृति कुँद्न त परै जाओस् त्यो हुन्छ भन्ने कुरा बोध नगरी अरुकै अनुहार बाँचेर संसारबाट बिदा लिन्छन् । उनीहरूले रतिभर समयपनि आफ्नो आकृति झिक्न छिनो हथौडी चलाउने कोसिस गर्दैनन् । यसरी बाँच्नेको संख्या पनि जगत्मा ठूलै छ ।
जीवन सृजनको स्रष्टा स्वय म आफू हो । जीवन कुनै बनीबनाउ मालबस्तु होइन । जीवन सृजन गरिने चिज हो । जीवन उत्खनन गरिने चिज हो । सृजन, अदुश्य सत्तामा रहेको चिजलाई दृश्य जगत्मा ल्याउने प्रकृया हो । कस्तो रुप र रंगको जीवन सृजन गर्ने, कस्तो स्वर र लयको, कस्तो आकृति र अनुहारको, कस्तो सुगन्ध सौरभको जीवन रचना गर्ने सष्टा स्वयम्मा भरपर्छ ।
माटो र मलको अदृश्य भागमा, विजको सृक्ष्म कणमा, जलवायूका अदृश्य अणुमा रंग, सुगन्ध र हरियालीको सत्ता छिपेको हुन्छ क्यारे । त्यसैले बगैँचामा विजनको सानो दानो छरेपछि अदृश्यमा अनन्त शक्तिहरू टुसोदेखि नै अविर्भाव हुन थाल्छन्; मल, माटो, पानी र आवहवाको अदृश्य चमत्कार फुल्न फक्रिन थाल्दछ । जीवनको आकृतिपनि अज्ञात अदृश्य आवहवा मै परिव्याप्त छ । जीवन सृजनको स्रष्टाले विदितमा अविदितका रङ पहिल्याउँछ । रेखा देख्तछ र आकृति कोर्दछ । जीवन सृजनको त्यो स्रष्टाले पानीमा विजुली देख्छ, काठमा आगो छाम्छ, हरियो पातमा अक्सिजन सुँघ्छ, मेघमा नाद सुन्छ र माटोमा फूल छुन्छ ।
पुन्य कार्की
२०७२–०१–०५
