Skip to content


एउटा सानो एकनले खरले छाएर बनाएको गाइगोठ को एउटा कुना । जसमा बस्ने भागलाई बाँस चिरेर बनाएको भाटा ठोकी बारिएको र त्यै माथि गोबर माटोले लेप लगाएर बनाएको साँहीला मामाको जीवनका सुनौला सपना बुन्ने महल । एक श्रीमती र एक छोराको सानो परिवार दु:खी परिवार । त्यै घर माथि छिमेकीको जग्गामा पर्ने ठूला ठूला रूखहरू । रिप्यानले गर्दा खरको छाना छिट्टै कुहिने हुनाले प्रत्यक वर्ष कटेरो छाउनै पर्ने बाध्यता । अगाडि पट्टी बलेनीसँगै अग्लो काल्नो । वर्षा याममा लेऊ पलाएर हरीयै र चिप्लै हुने चिप्लियो भने काल्नो मुनी । पल्लो पट्टी एक हल मत्त बलिया गोरू र एउटा भैंसी । यिनै गोरूसँगै बुनेका उनका सुनौला सपनाहरू । अँझ भनौ न गोरूलाई उनले हलो भिराएर जोत्छन् वा हलो भिरेर गोरूले उनलाई जोत्छन् ?

गाउँको पाखो बारी, टारी खेत र पनाहखोला वरपरिरहेको गैह्री खेत रंगाउदा पनि उनको जीवन कहिले रंगिएन । उनको शरीरमा कहिले सुकिलो कपडा देखिएन दिन चर्या नै रात दिन माटोसँग खेल्दा फुर्सदनै थिएन होला विचारालाई । कति साह्रो दु:ख गर्न सकेका साइँला मामा । उनको जीवनका धेरै समय हलोसँग बढी बितेकोमा द्विबिधा छैन ।

खास गरी त्यतिबेलाको समयमा गरिबलाई हाम्रो नेपाली समाजमा निकै पीडा दिइन्थ्यो र बाध्य बनाएर बालीघरे जोत्ने बनाइन्थ्यो । त्यति बेला दुई तीन हजार रूपैया चलाए बापत त्यसैको ब्याजमा साहुको खेत बारीमा वर्षौसम्म अर्थात साँबा चुक्ता नगर्दाको दिनसम्म जोतिदिनु पर्ने । दिनभरिको ज्याला बिहान दिउसो खाना र साँझ एकमानो मकैको चाँख्ला दिने चलन थियो गरिबहरूलाई अली ठुलो रकम कुनै कामको लागि चाहियो भने बाँधा राखेर मात्र पैसा दिइन्थ्यो त्यो पनि तमसुक लेखेर । साइँला मामा पनि यस्तै फन्दामा फसेका थिए । एउटा साहूको ऋण चुक्ता नगर्दै फेरि ऋण चाहियो भने अर्कों साहूकोमा त्यही प्रकृया अनुशार ऋण लिनुपर्ने । कस्तो विडम्वना ? यस्तै कारणले साहूहरूको ब्याज तिर्न जोतिदा उनको आर्थिक प्रगति हुन सकेन । बीचराले साहूको ऋणको ब्याजमा जोत्नु बाहेक अरू सायद सोंच्नै सक्दैनथे ।

साइँला मामाको चिलिम तान्ने बानी घरमा उत्पादन गाँजाले वर्ष भरी पुग्दैन थियो । टोलमा प्राय सबैकोमा दुई चार बोट गाँजा हुने गर्थ्यो । प्राय उनी नै किनेर सकाउथे भने जोत्न उनको सहयोग चाहिनेहरू चैं उनलाई गाँजा उपहार दिन्थे । जोत्दै गर्दा पनि जब चिलिम तान्ने मन लाग्छ गोरू अडाएर चिलिम सल्काउने उनको बानी । अनि साथमा काम गर्नेहरू कोही पुरूषहरू । केटाहरू छन् भनेपनी सोध्ने गर्दथे । एक स्वाँठ लगाउने कि ? कत्तीपटक मलाई पनि सोधेकोले कुनै कुनै दिन लुकेर म पनि एक दुई स्वाँठ तानेका थिए । निकै पावरफुल हुन्थ्यो उनको चिलिम एक दुई स्वाँठ तान्दै भिम्मल ।

रमाइलो स्वभावका उनी जीवन भर कडा मेहनत गर्दा पनि कहिले जीवनको पाटो बदल्न सकेनन् । यसरी श्रम शोषणको शिकार भएर जीवन कटाउन बाध्य थिए उनी ।

मैले जान्दा देखी उनको मृत्युसम्म पनि साहूको बाँधाबाट मुक्तहुन नसकेरै परमधाम भए साइँला मामा ।

बाबुराम पन्थी गुल्मेली

Leave a Reply

Your email address will not be published. Required fields are marked *