समयसँगै
तिमीले ओगटेका भूगोलहरू
खुम्च्याँईदै – अतिक्रमित भइरहँदा पनि
निरिह भै चुपचाप छौ
ए.. आदिम रास ताल
थाहा छ त्यो भूमि त्यो जंगल
त्यो परिवेश तिम्रो हो
तिमी नै त्यहाँको रैथाने पनि
तर पनि र्भखरै बनाइएका कृतिम पोखरीहरूले
तिम्रो अस्तित्व माथि धावा बोलिँरहँदा
तिम्रो पहिचानी सौन्दर्यलाई सिध्याइरहँदा
प्रतिक्रिया विहीन चुपचाप छौ
ए.. आदिम रास ताल
पारी डाँडाका टुप्पा चढ्नेहरूले
तिम्रा छातीमा डुंगा चलाएर तरे
आकांक्षीहरूले तिम्रा छातीमा
सपनाका महल ठडाए
विलासिताका पहाड बनाए
तिम्रा हात– पाउ छिनालेर अपाँग बनाए
तर कसैले तिम्रो पीडाको निलो गहिराई नाप्न चाहेनन
र नि चुपचाप छौ
ए.. आदिम रास ताल
आज तिम्रो अस्तित्व धरापमा छ
तिम्रा पहिचान नामेटको अन्तिम बिन्दुमा छ
तिम्रो स्वच्छता र स्वनिर्णयको हकमा
ताल्चा लगाएर तिम्रै भूगोलमा
एउटा सीमित पिंजडामा पखेटाहरू काटिएर
सीमित गर्दासम्म चुपचाप छौ
ए.. आदिम रास ताल
मलाई थाहा छ
तिम्रा कुण्ठित क्रोधको गहिराई
बस ती नीला आँशुहरूले मात्र जान्दछन
एकदिन…
एकदिन मौनता,धैर्यता र सहनशिलता
निमिट्यान्न हुनेछन तिम्रा
त्यो बेला न तिमिरहने छौ
न कसैलाइरहन दिने छौ
त्यो दिन छिट्टै आउँदै छ
र त चुपचाप छौ तिमी
ए.. आदिम रास ताल ।
सूर्य चेम्जोङ
