धन भएका जति सहर पसेका र कम धन हुनेहरू मात्र रहेका भनेर चिनिने एउटा गाउँ छ । राजविराजदेखि सात किलोमीटर पूर्व–दक्षिणमा अवस्थित त्यो गाउँ एक समय सप्तरी जिल्लाकै शिक्षाको केन्द्र थियो । अहिले भने त्यहाँका केही नानीहरू नजिकैको स्कुल धाउँछन् । के पढ्छन् र के पढ्दैनन् भनेर सोध्ने फुर्सद तिनका अभिभावकलाई हुन्न । प्रायः काम परेको समय घरमै रोक्नु र काम नभएको बेला स्कुल पठाउनु त्यहाँको परिचय नै बनेको छ ।

दीपावलीको मुखमा माटाको दियो किन्न खोज्दा एउटी सात वर्षे बच्ची हामीसँग कुरा गर्न अघि सरिन् । दियोको दाम सोध्नु त पर जाओस् मनोज सरले उनकै नाम सोध्नुभयो ।

तिनले सहजै मैथिली भाषामा जवाफ फर्काइन्– “हमर नाम सरिता अछि ।” सरले कति कक्षामा पढ्छ्यौ भनी प्रश्न सोध्नुभयो । सरिता निरुत्तर भइन् । सरले प्रश्नको पुनरावृत्ति गर्दा पनि उनी चुप रहिन् । उनका हजुरबाले कामकाजमा व्यस्त राख्नु परेकोले स्कुल नपठाएको खुलासा गर्दै भने– “मालिक ! हमसभ मेहनतमे विश्वास करैछी । बलोस पढिलिखक कथी हेतै ?”

सरले नेपालीमै भने– “मेहनत त हामी नेपालीको पूजा हो । जीवनको परिचय हो । आज मेहनत गरे भोलि सुन्दर दिन देख्न र भोग्न पाइन्छ ।”

हजुरबाले सही थाप्तै भने– “बात ठिक लागलै मालिक ! गरिबके धियापुता कामकाजमे मेहनत करैछै । धनिकके पढलिखमे मेहनत करैछै ।”

सरिताको भविष्य बारे घोत्लँदा मलाई दिक्क लागिरहेको थियो । एक्कासि भन्न पुगेँछु– “बच्चाहरूलाई पढाइमा लगाउनु अभिभावकको आजको लगानी हो । आज लगानी गरे भोलिको भविष्य सुनिश्चित हुन्छ । आजका बच्चालाई काममा जोताएर दुई पैसा आर्जनमा सन्तुष्ट हुनु भोलि तिनलाई कङ्गाल बनाउनु हो । आफ्ना बच्चालाई स्कुल पठाउनु भए मात्र तपाईं असल र मेहनती हजुरबा बन्नुहुन्छ । नत्र भने स्वार्थी र बालशोषक कहलिनुहुन्छ ।”

दियो बनाउने पैया रोकेर उनी जुरुक्क उठे । म दुई कदम पछि सरेँ । कुटुँलाझैँ गरेर मलाई हेरे । म चुपचाप उभिइरहेँ ।

“अहाँके बहुत बाजलै आबैछे । हम अपन बच्चाके मेहनती बनबैला चाहैछी । अहाँसभ ओकर जिनगी बेरवाद करेला चाहैछी ?” उनले होसियार हजुबा भएको आभास दिन खोजे ।

मनोज सरले सम्झाउँदै भन्नुभयो– हजुरको जीवन माटाका समान बनाउनैमा वित्यो । अब यी कलिला नानीलाई त्यही पुर्खौली काममा मात्रै लगाउने हो भने समाज कहिल्यै परिवर्तन हुन्छ ? तपाईंहरू त्यागी बन्नुस् । बच्चाहरू पढ्छन् । ज्ञान–सीप सिक्छन् । र, आफ्नो योग्यताअनुरुपको पेशा समाउँछन् । उनीहरूलाई धन थुपारिदिने काम गरेर कोही अभिभावक दानी बन्दैन । उनीहरूलाई समयको माग बमोजिमको योग्य नागरिक बनाउने बाबुआमाको नाम राष्ट्रले लिन्छ । आफ्ना नानीलाई पढाएर सही मार्गमा लगाएर धर्म कमाउनुस् । फुर्सदको समयमा मात्र उनीहरूबाट सानोतिनो सहयोगको अपेक्षा राख्नुस् ।

सरका कुराले बुढाको चित्त बुझेछ । भोलिदेखि नै स्कुल पठाउने निष्कर्षमा पुग्दै भन्न थाले– “ कालि सँ स्कुल भेजदेवै मालिक ! हमर बच्चासभ सरकारी नोकरी भेटतै त मालिक !”

मेहनतीले जरुर भेट्छ भन्नका लागि मनोज सरले टाउको हल्लाउनुभयो । बुढाले रौसिँदै थप दुईवटा दियो भोलामा हाली दिए । मैले झोला उठाएँ । हामी राजविराजतिर हाँकियौ । बुढा हाम्रा पछिपछि वरसम्म आए ।

–नन्दलाल आचार्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *