Skip to content

साँल्दीज्यू ! एक ट्वाँक चढाऊँ कि


कसो बाटो भूलेर म फेरि
यहाँ, भट्टीछेउ आइपुगेँ ।

अब,
सिधा वा बाङ्गो गरी
जसो-जस्तो गरी भएर यहाँ आइपुगेपछि
नआउनुथ्यो, आइसकेर
भित्रै आइसकेपछि
साँल्दीज्यू !
एक ट्वाँक चढाऊँ कि ?

अस्ति पोरैदेखिन् छोडूँ त भनेको
खोई परार पनि त्यसै भनियो र,
रक्सीको बदनाम मात्तै गरियो
त्यो साल त मलाई पनि खुबै लाज भाथ्यो
र त आजकाल सर्माउँदै पिउँछु
लुकिछिपी पिउँछु
तर पनि-
कहिलेकाहीँ त नपिऊँ भन्छु
साथीभाइ तर्सिदै रिसाउँछन्
र, छेवैमा पिँध मात्र फर्काएर
‘यो त बिग्रियो’ पो भन्छन्

यो महान् यात्रा
कहिले कहाँबाट शुरु भयो ?
यकिन साल सम्वत् थाहा नभए पनि
परपरसम्म सम्झिल्याउँदा
चोथ्रोघारी हुँदै सिरुबारीसम्म
ढुल्मुलढुल्मुल धमिलो सम्झना आउँछ
बेस्सरी मुटु दुखेको निहुँ
अमिलो सम्झना आउँछ

यतिमात्र सम्झना छ
हेर्दाहेर्दै झ्याप्प घाम निभेको हो
म घाम पर्खेर वर्षौ सुतिरहे
अचेत अवस्थामा मेरो आमाले
बुढासुब्बालाई एक बोतल रक्सी चढाउनुभएछ
र पो म ब्युझेँ

म बिम्झिँदा
घाम फेरि अस्ताउन लागेको थियो
छोड्दिऊँ यस्ता झ्याउ कुरा
साँल्दीज्यू !
अर्को एक ट्वाँक थपूँ कि?

‘खाऊँ’ भन्छन् कोही आफन्त, खानै पर्यो
‘नखाऊ है’ भन्छन् आफ्ना मान्छे‘भोलिदेखि खान्नँ’ भन्नैपर्यो
यसरी दोहोरो बाँच्दा
दुवैथरी आफन्तका मन राखिदिऊँभन्दा
आफ्नै मन पो ढाँटिँदो र’छ
आफ्नै मन पो छलिदो र’छ
तर, यो नाथे मनलाई के छ र !
कुनै रुखको ठुटामा थपक्क राखे नि भो
चकमक-झुल्लासँगै बट्टामा कच्याक्कुचुक पारे नि भो
यो मन पनि म नै जस्तो आजित भा’छ
जित्ने उत्साह हराएपछि हार्न त झनै सजिलो र’छ
हिजो मात्तै-
भोलि रक्सी छोड्ने सर्तमा रक्सी नै पिएँ
आखिर, यो अन्तिम हो भनी बेस्सरी पिएँ
आज कसो बाटो भूलेर फेरि
यहाँ, भट्टीछेउ म आइपुगेँ

नआउनुथ्यो आइसकेर भित्रै आइसकेपछि
नपिउनुथ्यो पिइसकेर यति मातिसकेपछि
साँल्दीज्यू !
अब अन्ति ट्वाँक थपु कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *