Skip to content


चुरे पहाड पेरिफेरी चुलाचुली । एउटा अजङ्ग गोहिको दाँत जस्ता तिखा होचा अग्ला पहाडहरू । त्यही पहाडको चेपबाट बग्दै आउने मौवा खोला । बर्खा मासमा मै हुँ भन्ने लाठेहरू पनि कति चित पर्छन् तर, हिउँदमा भने तरुनीको घुँडासम्म भिजाउन नसकेर भाग्छ उँदै उँदै मधेशतिर । मौंवा खोलाको सातौँ जँघार तरेर ढाकरमा तोक्मा लाउँदै पुर्नेले एक थकान खुइया मार्यो, ‘उइस् ! यति बिहानै यो घाम नि के विधि चर्केको हाओ । मंगलसिं, डबले र कोक्मा ठूलेले पनि तोक्मामा भारी थमाउँदै उसै गरी खुइया मारे । यति बेला मधेश त झन् कस्तो होला गाँठे ! डबलेले निधारको पसिना चिम्सिले खुर्क्याउँदै भन्यो । ‘मान्छे त उसिन्या आलु जस्तै होइन्छ होला ।’ मंगलसिंले अनुमान गर्यो ।

यति कुरा हुँदा पुर्नेले ढाकर उठायो, ‘हाइया !’ तोक्माहरू बज्दै थिए, टक्रक् टक्रक् टक्रक् .. . ! झिसमिसे मै जुनको उज्यालोमा मधुमल्लाबाट नूनको भारी बोकेर हिँडेका पुर्ने, कोक्मा ठूले, मंगलसिं र डबलेले यही मौवा खोलाको नौ जँघार तर्न अँझैँ बाँकी छ । तब पेरुङ्गेको चेपारो, त्यहाँदेखि टोड्के कुसुण्डेको ठाडो उकालो । बाटो सम्झेर साध्ये छैन ।

यो बाटोमा यी चार प्राणीहरू मात्र छैनन् । यसरी ढाकर बोकेर उकालो ओरालो गर्नेहरू वा सुन्तला, कुचो, आदिको भारी लादेर मधेश झर्नेहरूको लर्को लामो छ । किराना पसलका सामान, तेल, मट्टीतेल बोकेर उकालो चढ्नेहरूको हुल पनि कम छैन । पान्थरको दक्षिण भेगमा बस्नेहरूका लागि पहाड–मधेश गर्ने यो मात्र एउटा चल्तीको बाटो हो । मौवा खोलाको अन्तिम जँघार तरेपछि, थकाई मार्न ढाकर बिसाएर कटुवा बेर्दै कोक्मा ठूलेले आउँदै गर्ने मान्छेलाई औंल्याउँदै भन्यो, ‘हाउ, उ.. त्यो आउने प्रभु माइला जस्तो छ नि ? हिँडाइ त ।’

‘हो हाओ पक्कै !’ छेउ नआइपुग्दै मंगलसिंले सोधिहाल्यो ।

‘हाओ, कताबाट हो प्रभु माइला ?’ प्रभु माइलाले मुसुमुसु हाँस्दै छेउमै आइपुगेर भन्यो, ‘म त यसो सु समाचार बाँढ्न मधेश झरेको थिएँ । फर्कदै गरेको ।’

‘के को समाचार हाओ माइला ?’ डबलेले हत्तपत्त सोध्यो । ‘

प्रभु येसूको सुसमाचार ।’ प्रभु माइलाले भन्यो ।

‘धत् ! म त !’ डबलेले आफ्नो निधार प्याट्टै हिर्कायो ।

‘माइला त आजै सप्तमी नभा नि रबि पुग्छ होला । गफसफ गर्दै जानु हुन्थ्यो । के गर्नु ? बाटो मिले पनि भारी मिल्दैन ।’ कोक्मा ठुलेले कटुवाको ठुटो निभाउँदै भन्यो ।

‘जाउँला नि काका गफ गर्दै । प्रभुको कृपाले मलाई त केही हतारो छैन ।’ प्रभु माइलाले भन्यो ।

‘लु : हाओ उठुँ !’ कोक्मा ठूलेले उठ्दै भन्यो । ‘लु : लु !’

सबै जर्याक जुरुक उठे । कोक्मा ठूले अघि अघि पछि पछि तीन भाइ । पुच्छरमा प्रभु माइलाले काँधमा एउटा सानो झोला भिरेर पछ्यायो । त्यो सानो छोलामा एउटा बाइबल, केही येसूका समाचार छापिएका साना मसिना पुस्तिकाहरू होलान् । अरु धेरै भए एक जोर फेर्ने लुगा होला । झोला हेर्दा यस्तै अनुमान हुन्थ्यो । प्रभु माइला नाम हुनु अघि उसको खास नाम केशमान थियो । गाउँघरमा माइला भनेरै बोलाइन्थ्यो । ख्रिस्टियन धर्म अनुसरण गरेपछि केशमान ख्रिष्टमान भए । गाउँलेहरूले यो नाम उच्चारण गर्न अप्ठेरो लाग्यो । र सधैं प्रभुकै मात्र कुरा गर्ने भएकाले गाउँलेहरूले नाम राखिदिए, प्रभु माइला ।

प्रभु माइलाको सुतिखेती भन्नु नै प्रभु येसू थियो । जे कुरा गरे पनि, जहाँबाट कुरा सुरु गरे पनि आखिरमा ऊ प्रभुकैमा कुरा पुर्याउँथ्यो ।

‘पापबाट मुक्ति प्रभु येसूले मात्र दिन्छन् । स्वर्गको बाटो भनेकै प्रभुलाई विश्वास गर्नु हो । मेरो काम भनेको प्रभुको समाचार तपाईहरू जस्ता निमुखा अन्धकारमा रहेकासम्म पुर्याउनु मात्र हो । विश्वास गर्ने नगर्ने तिमीहरूको कुरा । तर, कुरा सत्य हो ।’ प्रभु माइला यहाँ पनि सुरु भइसकेका थिए ।

ढाकरमा तोक्मा लगाउँदै डबलेले भन्यो, ‘आरिन ! हाम्ले त पापै गरेको छैन ।’
‘ल, मान्छे त जन्मदै पापी हुन्छ । तिमीले जानी नजानी कति पाप गरिसकेका छौ ।’ प्रभु माइलाले भन्यो । ‘नजानीकन गरेको पाप त माफ हुन्छ भन्छन् ।’

‘माफ हुन्छ तर, माफी प्रभुले मात्र दिन सक्नुहुन्छ ।’ प्रभु माइलाले आफ्नो प्रभुको जयगान गायो । ‘

हाम्रो देवी देउताले नि दिन्छन् होला ।’ मंगलसिंले कुरा राख्यो ।

‘धत् ! त्यस्ता ढुङ्गा मुढाका देउताहरू । के कुरा गरेको मंगलसिं, अलिकति पढे लेखेको तिमी त, कुरा बुझ्छ होला भनेको झन् पो लाटा रैछौ छ्या । यो हिन्दू धर्म भनेको यस्तो असभ्य पाखण्डी राक्षस धर्म हो । जहाँ ढुङ्गालाई बलि दिन्छन् ।’

‘होइन हाओ, हामी त किराँती पो त माइला ।’ प्रभु माइलाको कुरा बीचैमा काट्दै डबलेले भन्यो ।

‘होइन के कुरा गर्या ? यो किराँती भनेको पनि हिन्दू नै हो । सुँगुर कुखुरा काट्छौ, माङको नाममा जाँड रक्सी खान्छौ । त्यही हिन्दू देवी देउता भएको मन्दिरमा जान्छौ । मूर्ति पूजा गर्छौ । कुरा एउटै होइन अनि ?’

‘फरक छ होला हाओ माइला ।’ डबलेले फेरि बीचैमा कुरा काट्दै भन्यो ।

‘फरक केही पनि छैन डबले । हेर, किराँती भए पनि हिन्दू भए पनि यी जाने भनेको सबैले नर्कनै हो । फेरि के नै गरेको छ र, किराँत धर्मले ? किराँती माङसामाङले खोई के दियो तपाईंहरूलाई ? ढाकर बोकेर सधैँ खाएका छौ । सधैँको दुःख । ल, मलाई हेर तिमीहरूको जस्तो जहान बच्चा मेरा पनि छन् । तै, खाएकै छौँ,लाएकै छौँ । छोराछोरी दार्जेलिङ पढ्दैछन्, मिसनेरि स्कुल । ल, हेर्न प्रभुको कृपा ।’ प्रभु माइलाले धारा प्रवाह दियो ।

चारै जना चुपचाप भए । झन्नैझन्नै पेरुङ्गेको आधाबाटो काटेपछि कोक्मा ठूलेले ढाकर बिसाउँदै भन्यो, ‘भोकले.., अब, याँ देखि माथि साह्रै हिँड्न सकिदैन जस्तो लाग्यो, साथी हो बिसाउँ ।’ भोक र थकाईले होला केही नबोली सबैले आफ्नो ढाकर भित्तामा अढेस्याएर बिसाए ।

कोक्माठूले चुर बेर्न बस्यो । मंगलसिहं भात तिहुन पकाउने दाउरा खोज्न झाडी पस्यो । डबले चुला बनाउन लाग्यो । पुर्नेले चारैभाइको ढाकरबाट चामल बटुल्न लाग्यो । प्रभु माइला भने अपरिचित जस्तो भएर ढुङ्गा माथि चढेर रमिता हेर्न लाग्यो । एकैछिनमा सबैकुरा जोडजाड गरेर भाततिहुन पकाउन लागे । एउटा चुलामा डेक्चीभरी चामल नाच्दै थियो । अर्को चुलामा कराहिमा किनामा उम्लिदै थियो । बाटो हिँड्नेहरूमा किनामा मन नपराउँनेहरू नाक खुम्चियाउँदै हिँडेको देखेर रसिक हुँदै पर सियाँलमा बसेको पुर्नेले भन्यो– ‘ओए, डबले ! मान्छेको चोखे लाग्छ है, छोःछोः गर !’ सबै गलल हाँसे ।

भात तिहुन सबै तयार भएपछि कोक्मा ठूले भाग लाउन बस्यो । बराबरी गरेर चार भाग लगायो । केही ठूलै कुरा बिर्सेजस्तो अत्तालिँदै कोक्मा ठूले करायो, ‘हत्तेरिका हाओ ! प्रभु माइलालाई त बिर्सेछौँ नि ।’

सबैको भागबाट एक एक चोइली झिकेर कराहीमा प्रभु माइलाको लागि भाग बनाए । प्रभु माइलालाई खान बोलाउँदै पुर्नेले साथीहरूलाई भन्यो, ‘लु, थालुङ् पो ।’ सबै जनाले खान सुरु गरे । प्रभु माइला भने । प्रार्थना गर्न दुवै हात बाँधेर बसे, ‘प्रभु ! तपाईको कृपाले यसरी नै खाना पाएको छु । तपाईलाई लाख लाख…. ’ मङ्गलसिं जुरुक्क उठ्यो र केही नभनी प्रभु माइलाको भागको कराही उठाएर पर बाटोमा फाल्यो ।

माईला अक्मक्यो प्रार्थना बीचमा बिर्स्यो पनि । ‘खन्द्रयाङग’ गर्दा मात्र अरुले चाल पाए । मंगलसिं रिसायो– ‘लु जाँ… ! तेरो प्रभुलाई माग अब । यहाँ हामीले आफ्नो गाँस काटेर दे’को पनि तरो प्रभुले दे’को रे ।’

अरु साथीहरू के भन्नु ? के बोल्नु ? भएर मुख भित्रको गाँस पनि निल्न बिर्सेर बसिरहेका थिए । प्रभु माइलाले भने रातोपिरो मुख बनाएर मंगलसिंलाई एकोहोरो हेरिबसेका थिए । भूइँमा आँखा झुकाउँदै प्रभु माइला बोल्यो– ‘ठिक छ केही छैन, प्रभुले दिनु भएको थियो उहाँले नै लिनु भयो ।’

‘फेरि, यो मु‘ !’ मंगलसिंले अगुल्टो टिपेर प्रभु माइलालाई झम्टिन खोज्दा डबलेले रोक्यो ।

झगडा हुने सम्झेपछि कोक्माठूलेले भन्यो,– ‘ओए माइला, आफ्नो बाटो समा । बसिरहिस भने बित्थामा कुटाई खान्छस् । ओए मङगलसिं, तँ पनि चुप बस, खा ।’

‘सुँगुरको खोरमा हिरा भएँ ।’ प्रभु माइला हिँड्यो ।

मङ्गलसिंको रिस मरेकै थिएन, बेस्मारी भात मुछ्दै भन्दै थियो,–‘मुलाङको प्रभुको इच्छा !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *