Skip to content


यहाँ हामीलाई आफ्नो अशक्यता नै प्रिय छ,
त्यसलाई छोप्ने अहङ्कार नै प्रिय छ!
त्यो उदाङ्ग पार्न खोज्ने तिमी को ?

यहाँ हामीलाई यो अलमल नै प्रिय छ,
यो धरमर नै प्रिय छ;
तर, हामी त्सोलाई त्यसो भन्न चाहँदैनौं;
त्यो भन्ने तिमी को ?

यहाँ शृङ्खला ल्याउन खोज्ने तिमी को ?

हामीलाई हाम्रो हार नै प्रिय छ,
दुर्गति नै प्रिय छ,
यो पसारो नै प्रिय छ,
उठाउन खोज्ने तिमी को ?

हामीलाई हाम्रो सुधार चाहिएको छैन,
क्रान्ति चाहिएको छैन,
उधारो गुण र क्रान्तिको भ्रान्ति
कसैले केहीबेरको लागि दिए हुन्थ्यो भन्ने हाम्रो जपना छ,
“त्यसो नगर, आफैं योग्य बन” भन्ने तिमी को ?

आफ्नो अशक्यता, आफ्नो आलस्य, आफ्नो घिनसीन पोख्ने
हामीलाई एउटा पात्र चाहिएको छ,
हामी हाम्रो हितैषीलाई मारेर भए पनि
“हामी उसले भनेजस्ता होइनौं” भनेर
आफ्नो वीरता साबित गर्न चाहन्छौं,
“त्यो नगर” भन्ने तिमी को ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *