Skip to content


दन्त्यकथाकी राजकुमारी र एक गरिब
कसरी तिनका ठूला लाम्चिला आँखाहरू
एक जोडी ताराझैं माथिबाट तल झरे
र त्यो गरिबको हृदयमा स्वर्गीय जलन सल्काइदिए?
फेरि कसरी हिलोको कमलमा परेका
दुई थोपा शीतजस्ता गरिबका आँखामा
स्वर्गले आफ्नो छाया देख्यो?
ताज्जुबको कुरा छ,
तर यो मीठो कुरा दिन
दन्त्यकथा कन्जुसी गर्दछ
दन्त्यकथा खालि यत्ति भन्छ
उनीहरूको प्रेम पर्यो!
हो, पानीझैं पर्यो होला
अनि आगोझैं बल्यो होला।
राजपथको छोटो हेराहेरमा
मर्यादाशीला राजकुमारीको हेराइ, चलाइबाट तेरो भोक मेट्न
जलन सेलाउने के कुरा पाउँछस् र तँ
स्वर्गको ढुकुटी नै पाएझैं गरेर शरद्को बादलझैं
शिर उच्चा गर्दै हिँड्छस्, ए गरिब!
के तँ फेरि साउनको बादलभै मं निचोरिन्नस्?
भेटको असम्भावनाले पत्थर भएर तेरो मुटु किच्तैन?
आँधीको बिजुली भएर
तेरो बादलझैं बर्सने छातीलाई कोपर्दैन?
यस्तो मीठो दर्दको कुरा दिन
दन्त्यकथा कन्जुसी गर्दछ।
कथाको गरिब गम्भीर छ,
जादूले अर्कै भएजस्तो छ
ऊ हावाजत्तिकै हलुका भएर राजकुमारीको खोपीमा पुग्दछ
उनीहरूको बिहे हुन्छ।
सान्त्वना

तिमी नरोऊ, बस केही बेर पर्ख मात्र
संसार हाँक्दै अघि बढ्ने तिम्रो योद्धा
भरे तिम्रो सानो कोठामा आइपुग्नेछ,
तिम्रै अङालोमा अटाउन आइपुगनेछ,
उसको त्यो धप्प बलेको अनुहार
भरे तिम्रै मधुरो दियालोमा देखिने हुनेछ,
तिमी नरेऊ, बस केही बेर पर्ख मात्र।
हो, उसले आफूलाई बेग्लैबेग्लै तुल्यायो,
झ्वाट्ट चिन्न नसकिने तुल्यायो,
आफ्नो मायालु हृदयलाई ठोकठाक गरेर साह्रो तुल्यायो,
आफ्नो हलुका लयालु बोलीलाई कडा र गह्रौं तुल्याये;
हो, उसको लठ्ठ परेको स्वप्निल हेराइ तीखो र रुखो भयो,
उसका नरम केश लट्टा परेजस्तै भयो;
ऊ फुस्रोधुस्रो जोगीजस्तै भयो;
किनभने उसले संसारलाइए ठानेभन्दा अर्कै पायो,
उलटपुलट गरिदिनुपर्ने पायो,
ऊ त्यसैले योद्धा भयो, कम्मर कसेर लडिरहेछ!
होइन, ऊ निठुरी भएको होइन,
माया मारेको होइन,
तिमीलाई बिर्सेको होइन,
चाँडै ऊ तिम्रो मायालु काखमा थकाइ मार्न आउनेछ,
तिम्रै अङालोमा अटाउन आइपुग्नेछ,
संसार हाँक्दै आगाडि बढ्ने तिम्रो योद्धा
भरे तिम्रो सानो कोठामा फर्कनेछः
होइन, नआत्तिऔं,
ऊ भेट्टाउन नसकिने गरी पर पुगेको होइन,
आइलाग्नेमाथि जाइलागेको मात्र हो,
ऊ त्यसै पर पुगेको होइन।
बरु तिमी निन्याउरी नहोऊ, तिमी हँसिली होऊ,
तिमी उज्याली भइदेऊ,
आफ्नो केही वस्ता नभए तापनि
उसलाई तिम्रो पूरा वास्ता छ,
आफू बेखबर लडिरहे तापनि तिम्रो खबर ऊ बराबर लिन्छ,
त्यसैले तिमी चहकिली होऊ,
तिम्रो खबर पाउँदा उसलाई बल र साहस आओस्,
तिमी उसको शक्तिको स्रोत भइदेऊ,
होइन, नआत्तिऔं,
ऊ भेट्टाउन नसकिने गरी पर पुगेको होइन,
लडाइँ खेल्दै पर पुगेको योद्धा
भरे तिम्रै आखमा खेल्न आइपुग्नेछ,
संसार हाँक्दै अघि बढ्ने तिम्रो योद्धा
भरे तिम्रो सानो कोठामा फर्कनेछ।
उसले मन दरो पार्यो, तिमी पनि दरी भइदेऊ,
उसले प्राणको निम्ति प्राण दियो त
तिमी कत्ति काम नहोऊ,
भरे “तिम्रो मायामा म पग्लें,
प्रिये, म फर्केँ” भनी तिम्रो आँचलमा
आफ्ने कालो अनुहार लुकाउन आइपुग्यो भने
मर्नु भएन?
त्यसैले तिमी पनि प्राण गर, भनिदेऊ,
“म हारेको अनुहार हेर्दिनँ,
लडाइाबाट पीठ फर्काउनेको निम्ति
मेरो घरको दैला खुल्दैन,
मेरो अङालोको हार हार्नेको निम्ति होइन,
मेरो जयमाला विजेताको निम्ति हो।”
भनिदेऊ, नडराऊ,
हाम्रो शिर ठाडो हुन नदिने गरिबीको विरुद्ध,
हामीलाई बोल्नै नदिने गरिबीको विरुद्ध
हामीलाई बाँच्नै नदिने गरिबीको विरुद्ध,
हामीलाई केही थाहै नदिने अज्ञानताको विरुद्ध
कम्मर कसेर लडिरहेछ;
जित उसैको हुन्छ।
भनिदेऊ,
हो, तिमी उसको शक्ति भयौ,
जित उसको हुन्छ।
ऊ चाँडै नै फर्कन्छ,
उसको धप्प बलेको अनुहार तिम्रै मधुर दियालोमा देखिने हुनेछ,
लडाइँ खेल्दै पर पुगेको तिम्रो योद्धा
भरे तिम्रै काखमा खेल्न आइपुग्नेछ,
संसार हाँक्दै अघि बढ्ने तिम्रो योद्धा
भरे तिम्रो सानो कोठामा आइपुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *