Skip to content

लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र


१. जीवनसाथी!
धेरै-धेरै प्यार
मलाई लाग्छ, यी स्वतन्त्र उड्ने मलेवाहरूका घाँटीमा
एउटा हृदय उनेर पठाऊँ
एउटा हृदय जडेर पठाऊँ
एउटा प्रेमपत्र झुन्ड्याएर पठाऊँ
एकपल्ट दोहोर्याझऊँ
शताब्दीअघिको प्रेमको भावुकता
तर आजको सीमारेखा
कुन स्वतन्त्र चराले उड्न पायो र ?
यो कुँजिएको अस्तित्व
कुन सुस्केराले विश्वको हावामा बिसाउन पायो र ?

२. प्रिय!
हेर्नै नपाई आँखाबाट ओझेल भएका तिमीलाई
बोल्नै नपाई टाढा भएका तिमीलाई
मस्तिष्कमा उभ्याउने यथेष्ट साधन नै छैन
रकेटको उडानले कल्पनालाई ढिलो बनाइसकेछ क्यार
मानचित्र राखेर उड्दाउड्दै पनि
दुर्घटनामा परिदिन्छ मेरो आतुरता
अब म… अब म
सात समुद्र पार गरेर आउँदिनँ
तिमीलाई यहीँ म मेरै चौतारीमा हेर्छु
किनभने शरीरसँगै मेरो मस्तिष्क पनि सीमित भएको छ
ढुङ्गामा परिणिता गौतमीजस्तै

३. प्रिय!
प्रेम एक मृगतृष्णा
प्रेम एक चखेवाको लोभ
मेरा निम्ति प्रेम एक निर्जीव सत्य
मानौँ काकाकुलको तिर्खा
मानौँ घामलाई प्रेम गर्दागर्दै सूर्यास्तमा जाम परेको क्लिसो
यो नश्वर शरीर
यो अनन्त चाहना
तर, प्रेम दुई शरीरको मिलन
तिम्रो अँगालाभित्र म
मृत्युलाई छेकबार हालिरहेछ इच्छाको ताँती
प्रत्येक रात-
आह, म मेरा मीठा सपनाहरूलाई हेर्दै पोल्दै गर्दै छु ।

४. प्रिय!
तिमीले लेखेका थियौ
म तिम्रो वालेटको तस्बिरमा मुस्कुराउँछु रे
तिमी मलाई पाएर हराउन चाहन्नौ रे
मेरो सम्झनापत्रले तिमीलाई ‘फिनिक्स’ले झैँ ब्यूँझाउँछ रे
मेरो माया तिमीलाई वटवृक्षको मायालु छाया रे
आह! यी सब इतिहासबद्ध भइसके
कसरी मैले बाँचेको थाहै नपाई
एक लामो अवधि बिताइसकेछु
अब तिमी अवश्य पाउनेछौ मलाई
‘फिनिक्स’लाई झैँ आफ्नै खरानीमा जुनी फेरेको होइन
तर भन्नै नपाई मनको कुरा
सधैँ-सधैँका निम्ति सुतेको निद्रामा ।

५. प्रिय!
म मरिसकेँ
तिम्रो प्रेमलाई आफूसँग जलाइसकेँ, गाडिसकेँ
म सुतिसकेँ
सुत्नका निम्ति छँदैछ चिरनिद्रा
तर बाँच्ने तिमी त भोलि ब्यूँझन्छौ नयाँ घामसँगै
तिमी नरुनू सङ्घर्षलाई व्यङ्ग्य गर्दै
तिमी मान्छौ ?
कति बलियो थियो मेरो अन्त्य
जसले अनन्तको एक हिस्सा चोइट्याएर लग्यो
कति बलियो मेरो मृत्यु
जो अमरत्वलाई नै अधमरो बनाएर गयो
प्रेम मर्दैन तर यसलाई मार्नुपर्छ
मेरो अन्त्यजस्तै तिम्रो आरम्भ पनि बलियो हुनुपर्छ
अब यहाँ आउँछ यस पत्रको शेष
मेरो पत्रको शेष
तिम्रो ‘फिनिक्स’ को शेष
जीवनसाथी तिमीलाई
मेरो सबै प्यारको अवशेष ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *