Skip to content

अल्कोहलिक कि ओर्कोहलिक


दिनदिनै अल्कोहलिक बन्दै गएको समाजमा म आज अल्कोहलिक होइन, ओर्कोहलिक बन्नुपर्छ भनेर कुरा उठाइरहेको छु । लागू औषध अर्थात् नशाजन्य पदार्थले मेरो समाजलाई शनैः शनैः बेर्दै लगेको दृश्य टुलुटुलु हेरिरहेछु । मानिसहरू युगको चाहना र समाजको आवश्यकताले काममा व्यस्त रहनुपर्ने, काममै फँस्नुपर्ने अर्थात् ओर्कोहलिक बन्नु पर्नेमा त्यस्को उल्टो अल्कोहलिक अर्थात् लागू पदार्थमा मस्त भएर दुर्व्यसनीको शिकार बनिरहेका छन् । समाजको सबभन्दा ऊर्जाशील किशोर या युवा वयका मानिसहरूले जानेर नजानेर दुव्यर्सनीको शिकार बनिरहेका छन् । स्कुल पढ्ने उत्तर वाल्यावस्थाका नानीहरूदेखि कलेज पढ्ने, जागिर खाने र अन्य पेशाव्यवसायमा संलग्न मानिसहरू पनि अल्कोहलिक बन्दै गएको/दुर्व्यसनको शिकार हुँदै गएको तस्वीर मेरोसामु छ ।

यहाँ कोही गाँजा, चरेश, अफिम र कोकिनको धुँवामा आफ्नो जीवनका सुन्दर आयुहरू उडाइहरूका छन् भने कोही ब्राउन सुगर र हिरोइनका धुलो सिरिन्जबाट नशाभित्र घुसाएर आफूलाई बर्वाद गरिरहेका छन् । कोही रक्सी, फेन्सीडाइल, फेनकोडिन र साइनोल पिइरहेका छन् भने कोही एभिल, भेलिपम कोडिन, टेन्टेक्स, मेघाजिन, कामपोज, नाइट्रोस, मेथाडोन र कोरेक्सका चक्कीहरू निलेर कथित आनन्दको भ्रममा बगिरहेछन् । आइस, यावा, एलएसडी र एक्स्टेसीले नपुगेर अब घरका भित्ताका माउसुलीका पुच्छरहरू पनि मासिँदैछन् । नेपालको ऊर्जाशील जनशक्ति बिस्तारै बिस्तारै लागू औषधको नर्ककुण्डतिर फँस्तै गएको छ । यो क्रमलाई बेलैमा ठिक बाटोमा ल्याउन सकिएन भने समाज र राष्ट्रले ठूलो क्षति व्यहोर्नुपर्ने कुरा घाम जत्तिकै टड्कारो छ ।

कहिले काहीँ त यस्तो लाग्छ, सिंगो समाज अल्कोहलिक बन्दै गएको छ । किनभने समाजका अगुवा ठानेका मान्छेहरू राजनीतिक नेता, शिक्षक, कर्मचारी, बुद्धिजीवी, पत्रकार जस्तो चेतनशील तप्का नै नशाखोर बन्दै गएको छ । दिनभरि चेतनाका ठूलाठूला कुरा गर्ने मानिस साँझ परेपछि भट्टीमा अचेत बनेको दृश्य देखिरहेछु । कतिलाई त यस्तो लत लागिसकेको छ; बेलुका नशालु पदार्थ सेवन गर्न पाएन भने राति निद्रा पर्दैन, खाना रुच्तैन, समयमा दिसा लाग्दैन । यो हदसम्मको नशासेवनलाई मैले अल्कोहलिक भनेको हुँ । हाम्रो दीनहीन विपन्न अवस्थाले हामीलाई अल्कोहलिक होइन, ओर्कोहलिक हुन निर्देश गरेको छ । ओर्क अर्थात काम । रातदिन काममा रत हुनुपर्ने, रातदिन कर्मको व्यसनीमा फस्नुपर्ने, कर्तव्यको लतमा डुब्नेपर्ने अवस्थामा हामी आफ्नो कर्म र कर्तव्यलाई छोडेर भुलेर अर्थात् ओर्कलाई भुलेर अल्कोहलतिर नातो गाँसिरहेका छौँ । यसले हाम्रो यात्रालाई भयंकर दुर्गतितिर डोर्याइरहेछ ।

मेरो वरिपरि अल्कोहलिकहरूको मात्रा बढिरहेपनि, म ओर्कोहलिक हुनमा आनन्द मानिरहेको छु । मलाई ओर्कमा (काममा) डुबेको मानिसभन्दा सुन्दर मानिस अर्को कुनै लाग्दैन । कामलाई ध्यान बनाउने मानिस, कामलाई ज्ञान बनाउने मानिस, कामलाई नै शान बनाउने मानिस मलाई औधी मनपर्छ । जापानीजहरू ओर्कोहलिक भएरै दोस्रो विश्वयुद्धमा करिवकरिव ध्वस्त भएको मुलकलाई संसारकै समृद्ध मुलकमा परिणत गर्न सफल भएका हुन अरे । जुन देशका नागरिकहरू ओर्कोहलिक हुनसके ती देश छोटो समयमा नै कहाँदेखि कहाँ पुगे । जुन देशका नागरिक अल्कोहलिक बने ती देश दुर्गति र दुरावस्थाको शिकार हुनु पर्यो । हामी अहिले जुन दुर्गतिमा छौं, जुन दुरावस्थामा छौं । त्यो अल्कोहलिक बन्नुको असर पनि हो अलिअलि ।

हाम्रो चेतना अल्कोहलको कुण्डबाट ओर्क (कर्तव्य) को कुण्डतिर कहिले बसाइँ सर्ला, त्यो दिन गुनिरहेको छु । त्यो दिन स्मृतिमा सोचिरहेको छु । जुन दिन चिनियाँहरू अफिमको नशाबाट ब्यूँतिए, त्यो दिन चीनको समृद्धिको सुरुवात भएको थियो । उनीहरू अल्कोहलिक पथ परित्याग गरी ओर्कोहलिक बाटो समातेपछि त्यसदेशले पनि विश्वरङ्गमञ्चमा चमत्कार गरिसक्यो । हाम्रो उन्नत चेतनालाई चाहिँ शनैःशनैः ओर्कले होइन, अल्कोहलले आफ्नो वशमा पारिरहेको छ । कुनदिन अल्कोहलको पञ्जाबाट हाम्रो सोच विचार र विवेक फुत्किन सक्ला, त्यो दिन गुनिरहेछु । त्यो दिन सोचिरहेछु ।

अल्कोहलले क्षणिक उत्तेजना, आनन्द, भ्रम र विभ्रम दिन्छ । त्यो शाश्वत आनन्दको चिजै होइन । त्यसले हाम्रा गुजुल्टिएका समस्याहरूको स्थायी निराकरण दिने नै होइन । तर पनि हामी आफ्ना समस्याको समाधान अल्कोहलमा खोजिरहेछौँ । हामीले हाम्रो हर समस्याको समाधान अविचल कर्मपथमा हिँडेर खोज्ने हो भने हामी गन्तव्यमा पुग्न सक्छौँ । जीवनको समृद्धि चुम्न सक्छौँ ।

गीताले पाँचहजार वर्ष अघिदेखि कामलाई पूजा गर भनेर हामीलाइृ सिकायो । तर हामी कामलाई पूजा गर्ने होइन ढुंगो पूजा गर्ने भयौँ । कामलाई नै प्रार्थना बनाऊ भन्यो । कर्मयोगको बाटोबाटै परमपद प्राप्त हुने सूत्र दियो । तर गीता दर्शनको ठिक विपरित बाटोमा हामी यात्रा गरिरहेका छौँ । कर्मयोगी कर्मकै नशामा डुबेर आनन्दको अर्कै लोकमा हुनुपर्नेमा त्यसको उल्टो विहानविहान गीताको कर्मयोग कितावमा पाठ गर्छ अनि बेलुका बेलुका गँजडीभँजडीको मण्डलीमा रम्ने, भट्टीमा बसेर रक्सीको नशामा डुब्ने मालाधारी गीताभक्तहरू देखेको छु । खोइ त उनीहरूले गीताको ओर्कोहलिक हुने सूत्र समात्न सकेका ?

गीताले बतायो –कामलाई नै साधनाको, मुक्तिको, आनन्दको, परम कल्याण र योगको बाटो बनाउन सकिन्छ । त्यसको उपाय पनिदियो । तर मान्छे भने गीता पढेर कामलाई हेलागर्ने, कामलाई घृणा गर्ने कामचोर बन्यो । मीठो खाने तर काम नगर्ने, सुकिलो लाउने तर श्रम नगर्ने विपरित चेतनाले गाँजिरहेको छ हामीलाई ।

मेरो घर सामुमा असीवर्षकी ठकुर्नी आमै छिन् । उनी कान सुन्दिनन्, अनुहारभरि चाउरी धर्सा कोरिएका छन् । कपाल पूरै सेतो छ । आँखा र शरीर अँझै तगडा छ । अर्थात् उनी निरोगी छिन् । ओर्कोहलिक मान्छेमा नमुना मान्छे ठानेको छु मैले यिनलाई । चौवीस घण्टामा छ घण्टा सुत्नु बाहेक अठार घण्टा काममा डुबिरहेको देख्छु । उमेरगत कारणले बलको ठूलो काम त गर्न सक्तिनन् तर पनि घर र घुर्यानका अनगिन्ती काम गरिरहेकी हुन्छिन् । उनका हात एकदिन खालिरहँदैनन् । केही न केही काम गरिरहेकी हुन्छिन् । काम बाहेक अरुकुरामा यिनको ध्यान, चासो र सरोकार हुन्न । यी अनपढ बूढी आमै मेरो लागि सच्चा कर्मयोगी हुन् । गीताको कर्मयोग गीता नपढी नै यिनले आत्मसात गरेकी छिन् ।

कहिलेकाहीँ नजिक गएर सोध्छु –“यो उमेरमा पनि किन यतिधेरै काम गर्नुहुन्छ ?”

उनी हाँसेर जवाफ दिन्छिन् –“एकदिन काम गरिनँ भने त जरो पो आउँछ त । काम नगर्दा जिउ करकरी दुख्छ । काम गरेपछि सञ्च हुन्छ ।”

उनलाई फेरि सोध्छु, “अब त माथि जानेबेला भयो, घरीघरी त यसो आराम गर्दा पनि हुन्छ नि ।”

उनी भन्छिन् –“भगुवानसँग मनमनै भनिसकेकी छु । काम गर्दागर्दै फुस्स मर्न पाऊँ । विरामी भएर, विजोग भएर मर्नु नपरोस् । काम गर्दागर्दै स्वाट्टै लगेहुन्थ्यो । भनेर हुदैन । अब के हुन्छ ?”
थोते गिजा देखाएर मजाले हाँस्छिन् ।

अनगिन्ती अल्कोहलिकहरूको मान्छेको बीचमा यस्ता ओर्कोहलिकहरूपनि छन् हाम्रोसामु । मेरा एकजना आफन्ती दाइ छन् । एकदिन रक्सी खान पाएनन् भने बिरामी भैहाल्छन् । अल्कोहलिकहरू रक्सी या लागू पदार्थ सेवन गर्न नपाउँदा विरामी पर्दा रहेछन । ओर्कोहलिक चाहिँ काम गर्न नपाउँदा बिरामी हुँदारहेछन् । ठकुर्नी आमैको कुराबाट यही लख काट्छु ।

देशलाई बढीभन्दा बढी ओर्कोहलिक मान्छेको खाँचो छ तर विडम्वना ओर्कोहलिक हुने ठाउँमा मानिसहरू अल्कोहलिक बन्दै गएकाछन् । आफ्नो सुन्दर जीवनलाई कि त मसानघाटतिर, कि त झ्यालखानतिर, कि त पागलखाना तिर, कि त अस्पतालको शैयातिर उन्मुख गराइरहेका छन् । ओर्कोहलिक बन्न सक्ता शारीरिक र मानसिक स्वास्थ्य मात्र मजबुत हुने थिएन, अभाव र विपन्नताबाट गुज्रेको मुलुकमा समृद्धिको नयाँ पालुवा पलाउने थियो । स्कुलमा, कलेजमा, कार्यालयहरूमा, ओर्कोहलिकहरूको जमात खोज्छु । ओर्कोहलिकहरू अल्पमतमा छन् । अत्यन्त न्यून संख्यामा ओर्कोहलिकहरू छन् । तर जहाँजहाँ ओर्कोहलिकहरू बहुमतमा छन् त्यहाँ त्यहाँ उन्नतिका फूलहरू खिलेका छन् । परिवर्तन र सुधारका कोपिलाहरू टुसाएका छन् ।

आउनुस् एकचोटि संकल्प गरौँ, अविकास र गरिबीको खाल्डोमा झरेको देशलाई माथि उकास्न सबैजना ओर्कोहलिक बनौँ, कर्मको व्यसनी बनौंँ । कर्तव्यनिष्ठताको अमल्ची बनौँ । कर्मलाई नशा बनाऔँ । श्रमलाई बासना र उपासना बनाऔँ । आलसी र अकर्मण्यताको दलदलबाट माथि उठेर एकचोटि कामको नशाले मात्ने बनौँ । श्रम र सृजनाका अनन्त सर्गहरू रचेर त्यसको मद पिउने झुमशरावी बनौँ । कामको शरावले, सृजनाको मातले हामीलाई अधोगतिमा झार्दैन । यसले हामीलाई ऊध्र्वतलमा उकास्छ । यसले हामीलाई नरकको होइन स्वर्गको यात्रा गराउँछ । अल्कोहलिक हुनु भनेको निम्न तलको यात्रा हो । उच्चतलको यात्राको लागि एकएक मानिस आजैबाट ओर्कोहलिक बनौँ । आफू हिँड्नेबाटो आफैँ खनौँ ।

पुन्य कार्की
२०६७–०८–१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *