Skip to content


म मरेपछि
मेरो लाशलाई राष्ट्रिय झन्डा
वा राजनैतिक दलको झण्डा नओढाउनु !

म नेपाल आमाको सन्तान हो ।
मेरो लाश ढाक्न कात्रो भए पुग्छ ।

मेरो लाशसँगै मेरो देशको गौरव
मेरो देशलाई संसारसामु परिचय गराउने
राष्ट्रिय ध्वजा नजलाउनु !
म मरेपछि
मेरो लाशलाई
राष्ट्रिय झन्डा नओढाउनु !

हजारौ शहिद,सपुतको रगत पोतिएका
ती झण्डाहरू
जसले साशकहरूको विरूद्दमा
पटक पटकसंघर्ष गरेर कहिले थाकेनन्
जहिले राजनैतिक परिवर्तनको संवाहक बने
चाहे जुन सुकै दलको मानक होस !
मेरो सलाम छ ती ध्वजाहरूलाई !
त्यसैले,
मेरो लाशलाई
राजनैतिक दलको झण्डा नओढाउनु !

नेपाल आमा रहेसम्म राष्ट्रिय ध्वजा रहिरहने छ ।
नेतृत्व आउने जाने क्रम रहिरहन्छ ।
परिवर्तनका मानक दलका झन्डाहरू
नागरिकको स्वतन्त्रता रहेसम्म रहिरहने छन ।
नेपाल आमाको आँगनमा फहराइरहने छन ।
त्यसैले,
मेरो अनुरोध
म मरेपछि
मेरो लाशलाई राष्ट्रिय झन्डा
वा कुनै राजनैतिक दलको झण्डा नओढाउनु !

बाबुराम पन्थी “गुल्मेली”
तम्घास गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *