फूलबिनाको बगैंचा जस्तै बनेको छु
सुवासबिनाको फूल जस्तै फुलेको छु
बाटोबिनाको यात्री जस्तै भौतारिएको छु
जलबिनाको माछी जस्तै छटपटिएको छु
जब तिम्रो हृदयले मलाई टाढा सम्झेर पराई बनायो
मेलै देख्ने मायाको सुन्दर सपना खरानी झै बनायो
म त्यसै त्यसै पानीमा बालुवा झै बिलाएको छु
तेलबिनाको दीप भई प्रेमको मन्दिरमा सजिएको छु
जब तिमीले प्रेमको खेलमा उपहासको चिनो दियौ
महल र झुपडीमा स्वयं र मलाई छुटयाई टुक्रा बनायौ
अनि मैले पनि शहरबिनाको महल सजनाउन थालेको छु
आत्माभित्रको प्रेमपनलाई पैसाले तौलन पुगेछु
तिमी जस्तै मैले पनि टाढा सम्झिन सक्दिन
महलभित्र सूर्यलाई लुकाउन सक्दिन
अनि मैले पानी भित्र सूर्य देख्न थालेको छु
किरणको तरंगहरूमा तिमीलाई पाउन थालेको छु
लाग्छ तिमी जस्तै बैगुन बनेर म जस्तै तडपाइरहुँ
हिमाल र आकाश जस्तै दुई देशका सारथी बनाइरहुँ
तर भावनाको तारले जलेको माया थोरै भए नि राखेको छु
कर्मनिष्ठताको बन्धनमा बाधिएर तिमीलाई स्वतन्त्रता छोडेको छु
निष्ठुर त्यो मनले कुनै समय फूलबिनाको बगैचा पुगेर हेर्नु
ढुंगा र चट्टानले भरिएको भूमिमा फूलको टुसा उमारेर देख्नु
म त यी सब हेर्दा हेर्दै थाकिसकेको छु
भावनाको संसारबाट सदाका लागि टाढा गइसकेको छु ।
