Skip to content


जब हाम्रो प्रेमको
हृदयमा
जराहरू फिजारिएपछि थाहा भो
यौवनका रसहरू मूल बनेर
एक अर्कामा भिजाउदा
सागरको गहिराहिमा तरंगित छालहरूले
काउकुती लगाउदै गिज्याउँदा

एकपल्ट फेरि उही बिगतलाई सम्झियौँ
उही स्कुल अगाडि भेट हुँदा

सँगै घरबाट निस्कन्थ्यौ स्कुल जान
मलाई आनन्दको आभास हुन्थ्योँ
उनको किताव बोकिदिदा
उनी फ्रकमा मिठाइ पोको पारी
टोकेर फुटाउथिन
खान्थ्यौ आधि आधि
त्यहाँ पवित्र माया र स्नेह
मिसिएको थियो
जब हाफछुट्टी हुन्थ्यो
उसै गरी भेटिन्थ्यौँ
मकै भटमासको पोको फुटाउदै खान्थ्यौँ

कैयौ पालुवा पलाए होलान
कैयौ रातहरू मरेर
दिनहरू व्युझिए होलान
सँगसँगै हाम्रो उमेरमा मिसिएका रंगहरूले
हाम्रो मुटुलाई रंगाउदै
शरीर भित्र पैदा भएका
अनेकौ कम्पनले यौटै बनायो
जसरी जोडियौ त्यो स्कुले यात्राबाट
हिजो त्यसैगरी
नदिको छालले छुट्टाएर झैँ गरी
दुइवटा किनार बनायो

अचानक केही वर्ष पछि
स्कुलको गेटमा फेरि भेट भयौँ
अनि नियालिरहेका थियौ दुवैले
आफ्ना नानी बाबुलाई
उही चउर
उसैगरी खादै थिए टिफिन साटेर
भन्दै थिए
जसरी पुतलीको बिहे गर्यौ
उसैगरी हामी पनि एक हुनु पर्छ
जसरी पुतलीलाई एक गरायौ

हिजो जुन सपना हाम्रो थियो
आज उनीहरूको थियो
हिजो हामीले पनि
पुतलीको बिहे गराएका थियौँ
आज उनीहरूले पनि
उसैगरी बिहे गराएका छन् ।

रामकृष्ण अनायास
कविडाँडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *