जब हाम्रो प्रेमको
हृदयमा
जराहरू फिजारिएपछि थाहा भो
यौवनका रसहरू मूल बनेर
एक अर्कामा भिजाउदा
सागरको गहिराहिमा तरंगित छालहरूले
काउकुती लगाउदै गिज्याउँदा
एकपल्ट फेरि उही बिगतलाई सम्झियौँ
उही स्कुल अगाडि भेट हुँदा
सँगै घरबाट निस्कन्थ्यौ स्कुल जान
मलाई आनन्दको आभास हुन्थ्योँ
उनको किताव बोकिदिदा
उनी फ्रकमा मिठाइ पोको पारी
टोकेर फुटाउथिन
खान्थ्यौ आधि आधि
त्यहाँ पवित्र माया र स्नेह
मिसिएको थियो
जब हाफछुट्टी हुन्थ्यो
उसै गरी भेटिन्थ्यौँ
मकै भटमासको पोको फुटाउदै खान्थ्यौँ
कैयौ पालुवा पलाए होलान
कैयौ रातहरू मरेर
दिनहरू व्युझिए होलान
सँगसँगै हाम्रो उमेरमा मिसिएका रंगहरूले
हाम्रो मुटुलाई रंगाउदै
शरीर भित्र पैदा भएका
अनेकौ कम्पनले यौटै बनायो
जसरी जोडियौ त्यो स्कुले यात्राबाट
हिजो त्यसैगरी
नदिको छालले छुट्टाएर झैँ गरी
दुइवटा किनार बनायो
अचानक केही वर्ष पछि
स्कुलको गेटमा फेरि भेट भयौँ
अनि नियालिरहेका थियौ दुवैले
आफ्ना नानी बाबुलाई
उही चउर
उसैगरी खादै थिए टिफिन साटेर
भन्दै थिए
जसरी पुतलीको बिहे गर्यौ
उसैगरी हामी पनि एक हुनु पर्छ
जसरी पुतलीलाई एक गरायौ
हिजो जुन सपना हाम्रो थियो
आज उनीहरूको थियो
हिजो हामीले पनि
पुतलीको बिहे गराएका थियौँ
आज उनीहरूले पनि
उसैगरी बिहे गराएका छन् ।
रामकृष्ण अनायास
कविडाँडा
