बुढो भएपछि सम्झना मात्र प्यारो


आय आर्जन हो प्यारो श्रम शक्ति र सम्पत्ति
रुप सौन्दर्य हो प्यारो बैंशका प्रिय दम्पति
नासिँदा रुप सौन्दर्य प्रेमको मोल नासियो
सामर्थ्य आँतको घट्ता आँट वा जोस नासियो

भयो दुर्बल मस्तिष्क बुढ्यौलीपन चुल्हिँदा
आक्रामक बनी रोग झम्टिँदो बाघ बन्दीँदा
खाएको गाँस पच्दैन खाने स्वाद हराउँछ
लुलो शरीर सानै ती समस्यामा डराउँछ

सुन्दैन जति बोलेनी रिसाइ पनि गर्नु के
राख्तैन मान मर्यादा रोएरै पनि काम के
आफ्नै सन्तानले हेप्छन् नोकर् चाकरले पनि
बिझाइ बोल्दछन् आफ्ना आफन्तै जनले पनि

सिङ्गो शरीर हो आफ्नो बल बुद्धी बुताहरू
सम्पत्ति शत्रु हो आफ्नै भावना मित्र हो बरु
भावना, स्मृतिमा खेल्छन् साथी सङ्गी अभावका
त्यसैमा बाँच्तछन् आस्था हाँसी रोइ कता कता

घोटेर हाड जोडेका सारा चिज उडाउँदै
थोपर्छन दोषका भारी आफ्नै सन्तानले सधैं
पढेका शास्त्रका बाणी साँच्चै स्वादिष्ट लाग्दछ
नीति धर्म र द्यौताको आस वा त्रास जाग्दछ

मनको भोक मेट्तैमा जिन्दगी फाल्नु व्यार्थ छ
सम्पत्ति सुखमा रम्ने जिन्दगी भित्र स्वार्थ छ
सेवा समाजको गर्दै राखी कीर्ति अजम्बरी
मर्ने इच्छा सधैं जाग्छ बुढ्यौली पनमा परी

विष्णु न्यौपाने, दमक झापा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “बुढो भएपछि सम्झना मात्र प्यारो”

  1. विष्णुजी धेरै राम्रो रचनाका
    विष्णुजी धेरै राम्रो रचनाका लागि धन्यवाद । अँ याे दम्पती शब्द सधै दीर्घ लेख्नु होला ।

    1. धन्यवाद
      धन्यवाद होम सर । सुझाव दिनुभएकोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *