Skip to content

अरस्तुको अन्धविश्वास


मलाई यतिखेर अरस्तुको अन्धविश्वासले डल्लो पारिदिएको छ । आफ्नै परिवेशको धुमिल अन्धकार, जुन भाँती भाँतीका अविद्या, अचेतना, रूढि र अन्धविश्वासको मिश्रणबाट निर्मित रूमलो जहाँ म हराइरहेको बखत, त्यसबाट मुक्त हुन थोरै चेतन भोरको याचना गरिरहेको बखत अरस्तुको अन्धविश्वासले घाँटी अठ्याइदिएको छ । उहिल्यै कलेज पढ्दा राजनीति शास्त्रमा अरस्तुका सिद्धान्तहरू खुब रसपूर्ण तरिकाले पढियो । आजभन्दा तेइस सय वर्ष अगाडिका संसारकै उन्नत चेतन ज्योति । सोक्रेटसका नाति चेला, अफलातूनका सहोदर चेला । यिनी त्यो युगका चिन्तक दार्शनिक मात्र थिएनन् । थिए काव्यशास्त्री, राजनीतिशास्त्री र वैज्ञानिक ।

त्यो वैज्ञानिक प्रतिभा जो हरेक कुरालाई तथ्य, परिकल्पना, आदर्श अनि यथार्थको कसीमा घोटी घोटी हेर्ने, पर्गेल्ने र निश्कर्ष दिने गर्थ्यो । उनले विभिन्न विषयमा आफ्ना सारगर्वित चिन्तनहरू दिएका छन् । चेतनको त्यो ज्योतिले विज्ञानसित सम्बन्धित थुप्रै कुरामा आफ्ना अवधारणा र प्रस्थापनाहरू दिएका छन् । उनले जीवहरू अर्थात् जीवात्माहरू कसरी उत्पत्ति भए भन्ने विषयमा केही भौतिक धारणाहरू दिएका रहेछन् । जसमा उनले भनेछन् –अजैविक पदार्थबाट जीवात्माहरू सृष्टि हुन्छन् । अर्थात् उनको व्याख्या अनुसार हिलोबाट माछा उम्रिन्छ । फोहोर मैलो र फाटेको लुगामा लामो समय गहुँ या कुनै प्रजातिको अन्न राखियो भने त्यहीबाट मुसाका बच्चा उत्पत्ति हुन्छन् । पानी र हावाबाट सूक्ष्म जीवहरू पैदा हुन्छन् । कपाल या लुगामा मयलको काती जमाएपछि त्यही मयलबाट जुम्रा जन्मिन्छ, त्यहीबाट उडुस, उपिया निस्किन्छन् । यसरी अरस्तु महोदयले जीवको उत्पत्ति अजैविक फोहोर या घैमल पदार्थबाट हुने कुरा गरे ।

अरस्तुको यो वचनलाई सकल दुनियाँले आप्तवचन ठानेर शिरोधार्य गर्यो । बिना निरीक्षण बिना परीक्षण अरस्तुकै वचनलाई दुनियाँले हुवहु पत्यायो पत्याइरह्यो । त्यसमत विरूद्ध दुई हजार वर्षसम्म कुनै वागी औंला ठडिएन । किनकि अरस्तु त्यो युगका महागुरू नै थिए । महागुरूको मतलाई अस्वीकार गर्न कसको हिम्मत ? अरस्तुको युग समापन भएको करिव करिव दुईहजार वर्षपछि लुईपाश्चर दुर्विनधारी आए । यिनी पनि कम्ती ज्याद्रा वैज्ञानिक थिएनन् । आँखाले नदेख्ने अगणित जीवाणु र विषाणुका खुट्टा गन्न सक्ने यी प्रतिभाले अरस्तुको मतलाई पहिलो चोटि तुलोमा हालेर जोखे । यिनले प्रतिपादन गरेको मत नम्बरी हो कि होइन, अकबरी सूत्र हो कि होइन भनेर खरोसित कसीमा घोटे । आखिरीमा उनले प्रयोग र परीक्षण गरेरै देखाइदिए –अजैविक पदार्थबाट जीवको उत्पत्ति किमार्थ हुन सक्तैन अरस्तुको मत झुटा छ । अरस्तुको अवधारणा काल्पनिक परिकल्पनाको जगमा उभिएको छ । तथ्य र सत्यको धरातलमा यसले खुट्टै टेकेको छैन । यसो भन्नु मात्र होइन पाश्चर बन्धुले प्रमाणितै गरेर देखाएपछि दुईहजारवर्ष देखि मानिसको दिल र दिमागमा राज गरी आएको उनको मत उल्टियो । अरस्तुको त्यो विचारै एक अन्धविश्वास थियो । तथ्य र यथार्थको धरातलमा उभिएको विचार थिएन । प्रमाण र परीक्षणको कसीबाट निसृत विश्वास थिएन, थियो त अनुमान र परिकल्पित विश्वास थियो । अनुमान र परिकल्पित विश्वास अक्सर अन्धविश्वास मै परिणत हुने हो । यसरी अरस्तुको एउटा अन्धविश्वासले सकल दुुनियाँलाई दुईहजार वर्षसम्म अनेकौँ अन्धविश्वासमा फँसाइदियो ।

कुनै व्यक्तिलाई इतिहासका घडीहरूमा यस्तो स्थिति आउँदो रहेछ, जहाँ लोकले कुनै विषय र विधामा कुनै व्यक्तिको दिमागलाई दिग्गज मान्यो । उसलाई गुरू थाप्यो । अथवा उसको एकछत्र नेतृत्व र प्रभुत्व स्वीकार गर्यो । त्यसपछि उसले जान अन्जानवश कोरेका मत र पथलाई मान्छे भेडो भएर पछ्याइरह्यो । आफ्नो जाग्रत विवेकको कसीमा घोटेर हेर्ने, जाँच गर्ने, ठिक हो कि होइन छुट्याउने कोसिसै गर्दो रहेनछ मान्छे । इतिहासमा अर्को जाग्रत पुरूष पर्खिन कहिले काहीँ केही शताव्दी समयपनि पर्खिनु पर्ने रहेछ । अरस्तुको अन्धविश्वासले दुईहजारवर्ष विना परीक्षण मानवजातिको चेतनामा बास गर्नु भनेको सानो समय होइन ।

फेरि युग यस्तो पनि थियो । कसैको विचार स्थापित भैसकेपछि, स्थापित विचारको विरूद्धमा बोल्नु अपराध या पाप ठानिन्थ्यो । बोल्ने मान्छे दण्डको भागिदार हुनुपर्थ्यो । बागी विचारलाई उनीहरूले उभ्याएको कथित न्यायको कठघरामा केरकार गरिन्थ्यो । अनि त ठिनेमिने मान्छेले बागी विचार ल्याउन सक्तैनथे । त्यो जोखिमलाई व्यहोर्ने हिम्मत राख्तैनथे ।

कपर्निकसको वैज्ञानिक मान्यतालाई स्थापित गर्न खोज्दा जर्दानोब्रुनो जिउँदै जलाइएका छन् । समाजमा जरा गाडीबसेको रूढि र रीतलाई कसैले जरा चुडाउँन खोज्दा त्यसलाई सुली चढाइएको छ । हुर्मत लुटिएको छ । सनातन अन्धविश्वासमा जो जो राजी भएर बग्छन्, बगिरहन्छन् । तिनले कुनै किसिमको चुनौती र सास्ती खेप्नुपर्दैन । अनि आममान्छेहरू त सजिलो बाटो लाग्ने भैहाले । अनाहकमा नदुखेको टाउको किन दुखाउने, अनाहकमा नचाहिँदो जोखिम किन मोल्ने, यही भन्छ आममानिसको मनोविज्ञानले । आममान्छेको सामूहिक मनोविज्ञानबाट जसले आफ्नो मनोविज्ञान माथि उठाएर सोच्छ, बोल्छ, सत्यको आवाजलाई उद्घोष गर्छ । त्यही मानिस वागी पुरूष हुन्छ ।

जर्दानोव्रुनो परम्पराको खिालाफमा बोल्न आँट गर्ने वागी पुरूष थिए । ग्यालिलियो वागी पुरूष थिए । गहिरो निरीक्षण परीक्षण गरेरै सूर्यले पृथ्वी परिक्रमा गर्छ भन्ने पादरी मत उनले उल्ट्याइदिएका थिए । सूर्यले पृथ्वीलाई होइन, पृथ्वीले सूर्यलाई परिक्रमा गर्छभन्दा जेलको चीसो हावा खाएका थिए । माफी मगाएको थियो सत्ताले । अन्धविश्वासले परीक्षणबाट परिष्कृत विश्वासलाई सहजै स्वीकार गरेको इतिहास छैन । चाहे डार्विन बाजेले मान्छेको पुर्खा बाँदर हो भनी चिनाएको सन्दर्भ होस् या अन्य सन्दर्भहरूमा पनि वैज्ञानिक चिन्तकहरूले ठूलो सास्ती अपमान भेटेका छन् । यिनै सास्ती र अपमानको बाटोबाट गुज्रेर शाश्वत सत्य मानव जातिमा स्थापित हुँदो छ । अन्धविश्वासको बूढो घाम अस्ताचलमा बिलाउँदो छ ।

कतै पढेको छु या सुनेको छु । दियो, लालटिन र टुकी युगको युरोपमा पहिलोचोटि विद्युत निकाल्दा डरले बिजुली बत्ती कसैले बालेन रे । यो बोक्सी विद्याले बालेको हो । यसलाई छुयो, बाल्यो भने जीवनमा संकट पर्छ भनेर धेरै मान्छे सतर्क बनिरहे । तर समयक्रममा मान्छेले बिस्तारी बिस्तारै बुझ्दै गए । यो बोक्सी, डायनी र चुँडेलको खेलले होइन रहेछ । विज्ञानको शक्तिले पो बलेको रहेछ भन्ने बुझेपछि हिजो बिजुली बत्तीदेखि डराउनेहरू खोजी खोजी बाल्न थाले । पहिलोचोटि फलामे रेलको आविष्कार गरिदाँपनि यो बोक्सी डाइनीको विद्याले सञ्चालित राक्षस हो, यसमा सवार भयो भने भुतुक्कै मरिन्छ भन्ने विश्वास थियो –समाजका बहुमत मानिसको । तर कालान्तरमा विज्ञानको सच्चाइ बुझेपछि आज अरवौँ मान्छे तिनै साधनमा चढेर देशादेशावरको यात्रा गर्ने भए । अहिले ती फलामे सवारीका साधनहरू शोख, विलास र आनन्दको लागि भन्दापनि जीवनका अपरिहार्य आवश्यकताका वस्तुहरू बने ।

त्यो बेलाको युरोपको कुरा त निकै टाढाको विषय नै हो । अहिले पनि नेपाली गाउँमा क्षयरोगले गाँजेर कुनै मान्छेले रगत छाद्दा बोक्सीले भेदेर यस्तो भएको हो भनी बोक्सी मन्छाउन कालोबोको, पाठी, परेवा काट्ने ढ्याङ्गं्रो ठोक्ने धामीहरू प्रशस्त छन् । गाउँमा मोवाइल फोन भर्खर भर्खर पुगेको बखत मोवाइलबाट बात मारेको देखेर एउटी बूढी आमै आश्चर्य मान्दै प्रतिक्रिया देखाउँछिन् – “यो फुनवाजा त टुनामुनाले चलेको छ । तन्त्र र मुन्त्र गरेकोले बोलेको हो । नत्र कसरी एक देशमा बसेर अर्को ठाउँको मान्छेसित बोल्न सक्नु । बिना टुनामुना कसैले पत्याउने कुरा हो ।”

उनलाई सम्झाउने कुनै सरल शब्दावली मसित थिएनन् । मैले आमैकै विश्वासलाई सापटी लिएर बोलेँ – “हो आमै ! यो त यन्त्र बनाउन जान्नेको तन्त्र मन्त्रबाट चलेको छ । यो साँच्चै नै मन्त्रले चलेको छ । तर हाम्रो गाउँघरमा तन्त्रमन्त्र गर्ने धामी झाँक्रीको मन्त्रबाट होइन कि विज्ञानको मन्त्रले चलेको छ । वैज्ञानिक भनाउदाहरूको तन्त्रमन्त्र र जादू टुनाले चलेको छ । तर उनीहरूको छुमन्तरबाट होइन कि टावर, ब्याट्री, सीमकार्ड, रीमकार्ड र यसभित्रको मेशिनरी पार्टपूर्जाले यो चिज चालु हुन्छ ।”

मैले मोवाइल खोलेर ब्याट्रि, सीमकार्ड आदिआदि निकालेर पनि देखाइदिए । मेरो कुराले बूढी आमै विस्मित बनिन् । विज्ञान प्रविधिले अविष्कार गरेका वस्तुहरू अँझै पनि हाम्रोलागि चटकले चल्ने चिज भएका छन् । वैज्ञानिक चिन्तन, वैज्ञानिक सोच र संस्कारको सुरूवात हुन अँझै लामोकाल पर्खिनुपर्ला जस्तो छ ।

भर्खर भर्खर त सानो सानो पैमानमा आएको वैज्ञानिक चेतनाले रूढिका ढिस्काहरूलाई पुक्क पुक्क हिर्काउन थालेको छ । सामाजिक अन्धविश्वासका भीमकाय पहाडहरू मैदान हुनेदिन कहिले आउँला ?

अरस्तुका दुदुईवटी पत्नी हुँदा पनि उनले आफ्नो जीवनकालमा स्त्रीका दाँत बत्तीसवटा हुन्छन् हुँदैनन् भन्ने कुरा गनेनछन् । अरस्तुको विश्वास थियो –महिलाका दाँत पुरूषभन्दा घटी हुन्छन् । वयस्क पुरूषका दाँत बत्तीसवटा हुन्छन् तर महिलाका दाँत त्योभन्दा घटी नै हुन्छन् । पुरूषसरह उनीहरूका दाँतै हुँदैनन् । अरस्तु जस्तो उच्च चेतनाले आलोकित व्यक्तिमा यस्तो विश्वास थियो । यो विश्वास आँखा चिम्लेर गरिएको अन्धविश्वास थियो । निरीक्षण, परीक्षणबाट गुज्रेर आएको विश्वास थिएन । यसको लागि ठूलो प्रयोग र खोज गर्नै पर्दैनथ्यो सिर्फ आफ्नै वयस्क पत्नीको मुख खोलेर दाँत गन्दा थाहा भैहाल्थ्यो आइमाईका दाँत पुरूषभन्दा घटी हुन्छन् कि बढी हुन्छन् या बराबरी हुन्छन् भन्ने कुरा ।

अरस्तु जस्तो प्रज्ञापुरूष त जीवनभरि समाजमा चलिआएको सनातन अन्धविश्वासको धारामा बगेछन् । अरू सर्वसाधरणको त के कुरा । त्यो समयका निडर महिलाहरूले आफ्नो मुख आँ गरेर आफ्ना बत्तीस दन्त गनेर पनि देखाइदिएनछन् । सायद नारी जातिमाथि ज्यादै ठूलो उत्पीडन हुनुपर्छ त्यस युगमा । दण्डको भयले नै उनीहरूले आफ्नो मुख खोल्न सकेनन् । अरस्तु जस्तो वैज्ञानिकले कमसेकम आफ्नै पत्नीका दाँत त गन्नुपर्थ्यो । त्यो पनि गनेनछन् । हामी एक्काइसौँ शदीमा पनि अरस्तु कै अन्धविश्वासको धारामा बगिरहेका छौँ । त्यसबाट मुक्त हुने चेतना कहिले आउला ? त्यो समयको व्यग्र प्रतिक्षामा छौँ ।

२०६९–०१–१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *