Skip to content


रमाइलो हुन्छ
टाढा कतै लुकेर सुन्दा बाघ भालु चितुवाको हिंस्रक गर्जन
रेकर्ड गरेर ल्याएकी छु
फ्युजन गर्छु त्यो गर्जनलाई आधुनिक लय ताल सुरमा
र भन्छु
आविष्कार भयो नयाँ म्युजिकको

अझै हेरिरहुँ हेरिरहुँजस्तो हुन्छ
बिच्छी, कीरा र सर्पहरूका भयावह नृत्य एक्युरियमभित्र
विषाक्त हुन्छन्
तर तिनीहरू शरीरमा टाँसिएर सलबलाउँदा

सुन्दर हुन्छन् टाढाबाट हेर्दा
रुखका हाँगा गाछीहरू
घातक हुन्छन् त्यही रुख, हाँगा गाछीबाट झरेका
बम बारुदहरू

अहिले म
मान्छेको बस्तीमा यो विश्वासले आइपुगेकी छु कि
मान्छेहरू सुन्दर हुन्छन्
त्यो गर्जनजस्ता आक्रामक हुँदैनन्
विषाक्त हुँदैनन् सर्प, बिच्छी र कीराहरू जस्ता
त्यस्ता रुखजस्ता पनि हुँदैनन्
जसको हाँगा गाछीबाट वर्षिने बमबाट सधैँ त्रास हुन्छ

भयहीन छु
यतिबेला कुनै त्रास छैन
तर ती मान्छेहरू मात्र व्यूतिरहन्छन् मभित्र
जसलाई हेर्दा हेर्दै ढलेका देखेकी थिएँ
मृत्युको जालो तोडेर आउँछु भन्दै थिए
निष्प्राण सिकार भएर
अल्झिएका थिए मेरो लोग्ने पनि त्यही मृत्यु जालोमा

नजिक पुगेँ
सुन्न सकिन अन्तिम सलाम त अवश्य भने होलान्
हेरिरहेँ
उन्नत एउटा देशको मानचित्र कोरिएको थियो
उनको अपलक आँखाको पर्दामा
सम्पन्न बाँचिरहेकी म स्वयं पनि थिएँ त्यो मानचित्रमा
त्यही मानचित्रको देश अनि म स्वयंलाई खोज्ने
यात्रामा निस्किएकी छु
त्यतिबेलाको भोक तिर्खा, अनिद्रा केही छैन मसँग
जति उकाली चढे पनि नपुगिने
द्यौरालीहरू छैनन् मेरो अगाडि
सम्झिन मन लाग्दैन जङ्गलको आगोमा
अर्पिइसकेको पूर्व अध्यायलाई
आँगभरि काँधभरि मृत्यु बोकेर हिँड्थे
अरु कसैको हुन्थ्यो
सम्भवत आफ्नै पनि हुन सक्थ्यो त्यो मृत्यु

जति
टुक्रिनु थियो टुक्रिसकेकी छु
जीर्ण जीर्ण भएर फुट्नु थियो
फुटेर जुटी सकेकीछु
अचानक सामु आएर
बारम्बार सोधिरहेछौ जङ्गल नायिकाका दुर्दान्त
कथाहरू
लाग्छ डकुमेन्ट्री निर्माता हौ तिमी

छायाँकन प्रारम्भ गर
मेरो जीवन वृत्तान्तको जसमाथि तिमी
डकुमेन्ट्री निर्माण गर्दैछौ
अवश्य हुनुपर्नेछ त्यो डकुमेन्ट्रीमा त्यो सम्बृद्ध देश
जुन देश मेरो लोग्नेको आँखामा कोरिएको थियो
जहाँ सम्पन्न बाँचिरहेकी म स्वयम् पनि थिएँ ।

नोट – प्रस्तुत कवितामा मणि लोहनीको कथा “जङ्गल नायिका”को प्रभाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *