Skip to content


गाउँले र ठुलीका आफन्तहरूका कुरा सुन्दा दिमाग निकै तातिएर आयो यो ठुलीको बिहे हो कि व्यापार ? यो ठुलीका बाआमाको खुसी हो कि बिस्मात ? अनि यो ठुलीको बिहे हो कि गाउँले र आफन्तहरूको ? भएभरको ऋण गरेर यत्रो मान्छेहरू बोलाएर आफू कङगाल भएर किन बिहे गराइदिनु पर्यो ठुलीको ? आफूसँग जे छ त्यसैले काम चलाए हुदैन र गाउँलेहरूलाई आफन्तहरूलाई किन देखाउनु पर्यो ।?

आज त ठुलीको बिहे छ । एक हप्ता पहिलेदेखिनै हो उसको घरमा निकै चहलपहल देखिएको । पल्लाघरे ठुली आमै तल्लाघरे कान्छी बज्यै अनि मेरी ज्यैलाई पनि फुर्सद छैन टपरी खुट्ने, रोटी पकाउने बिहेको सामाग्री बनाउने । ठुलीका बाआमा दाजुभाइ पनि निकै व्यस्त देखिन्छन् । व्यस्त पनि किन नहुन त, छोरीको बिहे पो हुदैछ आज । ठुली पनि आफू कसरी राम्री देखिने भनेर अनुहारमा खै के के दल्दै छे । ठुलीका दाजुहरू के के सामान आयो आएन भनेर गन्दैछन्, हिसाब किताब गर्दैछन् । बाआमा छोरीको कन्यादानको लागि व्यस्त छन् । गाउँलेहरू भतेर बनाउन निकै हौसिएका छन् आफन्तहरू भतेर खानामा आतुर देखिन्छन् । कति दिदीबहिनीहरू गरगहनामा सजिएर तँभन्दा म के कम भनेर कुनै फेसन-सोको प्रतिष्पर्धी जस्तै देखिन्छन् । ठुलीको घर यतीबेला निकै चम्किएको छ, खुसी र उमङगले भरिएको छ ।

मलाई एक पटक ठुलीलाई पराई घरमा बिदा गर्नुभन्दा पहिले ऊसँग भेट्न मन लाग्यो । ऊसँग बसेरै कुराकानी गर्न मन लाग्यो, अनि ऊ भएकै ठाउतिर गएँ ।

“ठुली त निकै भाग्यमानी रहिछस् तँलाई तेरा बा आमाले यति ठुलो बिहे गर्दिदैछन् है !”

“अँ के गरौ त एक दिन पराई घर जानै पर्ने बाआमा दाजुभाइले पनि राम्रै छ । जागिरे छ, घरपरिवार हुने खाने धनी छन्, भने अनि मैले पनि हुन्छ भनेँ ।”

“अनि बिहे तँ गर्दैछस उसलाई। चिनेकी छस् कि छैनस् ? जागिरे धनी भए पनि उसको बानी व्यवहार थाहा छ तँलाई ?फेरि दाइजो भएन, ल्याइन भनेर दुःख देलान् नि ?”

“हामी त गरिब छौं, बाआमाले त्यति धेरै दिन पनि सक्दैनन् । केको दाइजो ? ऊ त दाइजोको बिरोधी हो । तलाई थाहाँ छैन र उसले त मानवअधिकार संस्थामा काम गर्छ रे । त्यस्तो मान्छेले पनि के को दाइजो खोज्नु नि ?”

“हो र ? दाइजोको बिरोधी हो भन्छेस् । फेरि तेरो घरमा त तँलाई दिने भनेर दाइजो भरिएको छ त !”

“के कुरा गर्छेस तैले पनि । त्यो हैन के बिहे गर्दा त अलिअलि त दाइजो चाहिन्छ नि ! दाइजो नै भएन भने गाउँ घरले पनि के भन्छ ? दाइजो नै दिन सकेन भनेर कुरा काट्छ नि ! त्यै भएर बा-दाजुभाइले यति बनाएका हुन ।”

मलाई ठुलीको कुरा सुनेर निकै हाँसो लाग्यो, “ऊ दाइजोको बिरोधी रे ! फेरि तैले तेरो जीवनको लागि बिहे गर्दैछस कि गाउघरको लागि हँ ?”

“तँ पनि कस्ती मेरो कुरा हाँसोमा उडाउने आफ्नो पालो आयसि थाहाँ पाउलिस् ।”

यति कुरा गर्दागर्दै ठुलीलाई पराई घरमा बिदाइ गर्ने वेला पनि भइसक्यो । अब ऊ टाढिदै छे । ऊ जन्मेको आगनीबाट, ऊ टाढिदै छे उसको छहारीबाट । उसलाई लखेट्दै छ ऊ जन्मेर हुर्केको आगनीका रासीहरूले, अनि तान्दै छन् पराईका सइनहरूले । कस्तो अचम्म ! ऊ आफ्नै आगनीबाट लखेटिनु पर्ने आफ्नै छाहारीबाट पन्छिनु पर्ने ।

उसलाई पराई घरमा बिदाइ गर्नको लागि म पनि उसको पछिपछि गएँ । मान्छेहरूको निकै भीड छ । ठुलीका दाजुभाइ आफन्तहरूले ठुलीलाई बिदाइ गर्नको लागि घरभित्रबाट खै के के ल्याउदै छन्, सायद दाइजो नै हुनुपर्छ । दाइजो पनि के-के हो के-के ! घर बढार्ने कुचोदेखि लिएर पानी भर्ने गाग्रोसम्म । कोही त्यही उपस्थित भएका गाउघरमा मान्छेहरू भन्दैछन् ठुली त कति भाग्यमानी ! माइतीघर त्यति हुनेखाने नभए पनी यति ठुलो बिहे गर्दिए । यति धेरै दाइजो दिएर पठाए । घरपरिवार पनि हुनेखाने नै छन् रे । भाग्यमा त लेखेरै आएकी रहिछ ठुलीले ।

यी गाउँले र ठुलीका आफन्तहरूका कुरा सुन्दा दिमाग निकै तातिएर आयो । यो ठुलीको बिहे हो कि व्यापार ? यो ठुलीका बाआमाको खुसी हो कि बिस्मात ? अनि यो ठुलीको बिहे हो कि गाउँले र आफन्तहरूको ? भएभरको ऋण कारेर यत्रो मान्छेहरू बोलाएर आफू कङगाल भएर किन बिहे गराइदिनु पर्यो ठुलीको । आफूसँग जे छ त्यसैले काम चलाए हुदैन र गाउँलेहरूलाई ? आफन्तहरूलाई किन देखाउनु पर्यो ? यी गाग्री र तावली सधैं उसले पानी भर्नुपर्ने ? यो कुचो सधैं उसले बढार्नको ? यी थाल र बटुगा सधैं उसले भाँडा मिस्नको लागि ? अनि उसलाई बोकेर बिदाइ गर्नुपर्ने सधैं अरुकै सहारामा बाँच्नको लागि ?

उफ्… समय बदलियो अनि यसबीचमा धेरैथोक बदलिए । तर पनि दाइजोप्रतिको कुरा किन नबदलिएको होला ? गरिबहरू आफूले आफैलाई कङगाल बनाउदै छन् । धनीहरू गरिबहरूको पसिना लुट्दैछन् । ठुली माइतीले दिएको भएभरको कुम्लो बोकेर अथवा भनौ दाइजो बोकेर पराईघरतिर लागि । आफूले नचाहेर पनि माइतीघरलाई दुःख र आँशु दिएर पराईघरलाई खुसी र सुखी बनाउनको लागि ।

“ठुली निकै भाग्यमानी ।” केही बेर यसैको चर्चा परिचर्चा चलिरह्यो । अनि माइतीघर सुन्य र रित्तो देखियो ।

ठुलीको बिहे भएको करिब करिब दुई महिना बितिसकेको थियो । दुई महिनापछि ठुलीको र मेरो भेट भयो । ठुली माइतीघर आएको पनि दुई चार दिन बितिसकेको थियो । केही गाउँलेहरूको मुखबाट सुनेकी थिएँ – ठुली अब त्यो घरमा जान्न रे; अरु दाइजो चाहियो यसले पुगेन भनेर उसका घरपरिवारले उसलाई धेरै तनाब दिएर ऊ घर बस्न नसकेर आएकी रे ।

एकछिन त सोच्न पनि गारो भयो । सम्झेँ ठुलीले त लोग्ने दाइजो बिरोधी हो, घरपरिवार पनि धनी छन् पो भन्दै थिई । आफू रित्तो भएर, ऋण काढेर सके जति दाइजो त दिएकै हुन । फेरि के चाहियो उनीहरूलाई । दाइजोको बिरोधी भएर नारा लाउदै हिड्ने लोग्नेले, दिएको दाइजोले नपुगेर फेरि दाइजो खोज्दै छ । ठुलीको घरपरिवार त आफै धनी हुनेखाने छदैछन् । फेरि ठुलीका गरिबी बाआमाको पसिना लुट्नलाई, आफूसँग भएको नपुगेर अरुको पसना कहिले खस्ला र खाउला भनेर र्याल चुहाएर बस्ने धनीहरू थुक्क धनीको नाममा कङगाल भएकाहरू । अरुलाई सचेत बनाउँदै, न्याय दिलाउदै हिड्ने मान्छेको यो चाल ? के न्याय दिलाउछन् के अधिकार दिलाउछन् यस्ता नालायकले । बस् …. आफ्नै खोंचहरूवाट पैदा भएर आफ्नै भित्ताहरूलाई भत्काउँदै हिँड्ने नदीलाई पनि पहाडले के गर्न सक्छ र ? बरु सधैं टुलुटुलु हेरिरहन्छ निरीह भएर ।

बिहे गर्दा भाग्यमानी भएकी ठुली, बिहे भएको दुई महिना नबित्तदै अभागी भई । माइतीघरबाट दाइजोको कुम्लो बोकेर पराई घर गएकी ठुली अपमानताको कुम्लो बोकेर फर्की फेरि माइतीघरमै । यो बिधिको विधान पनि उदेक लाग्दो छ । दाइजोको बिरोधी उसको पोइ दाइजो पुगेन भनेर ठुलीको जिन्दगीलाई नै नङग्याइदियो । मान्छे नचाहिने भए त दाइजोसँग मात्र बिहे गरेको भए नि त हुन्थ्यो नि । किन चाहियो उसलाई ठुली । किन गर्नु पर्यो उसले बिहे ? धिक्कार छ आफूले पसिना बगाउन नसकेर, आफूले कमाएको नपुगेर अरुको पसिनाको र्याल चुहाएर बस्नेहरूलाई । आखिर हामी नारीहरू कहिलेसम्म यसरी किनिने र बेचीने । किन हामीलाई किन्दै र बेच्दैछन् हाम्रा बा आमाहरूले हामी छोरीहरूलाई, त्यसै गरी हामी आफैं किन बेचिँदै र किनिँदै छौं यसरी ।

दीपा धिताल
रेडियो हाम्रो पहुँच
तुलसीपुर, दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *