परिचय
त्रिभुवनचन्द्र वाग्लेको ‘अकीर्ण आँखा कवितासङ्ग्रह’ मेदिनीकुमार केवलबाट प्राप्त गरें र दोहोर्याइ दोहोर्याइ पढें । पढेपछि एकदुई शब्द कोर्न मन लाग्यो र कोर्न पनि बसें । वाग्लेजीसँग मेरो परिचय यसैकृतिले गर।यो तर साक्षात्कार भने हुन सकेको छैन । उहाँको मन गन्थनानुसार उहाँको बुढाहजुरबा शिवलाल उपाध्याय वाग्लेले भजन र छन्दका श्लोक रचनाकार र हजुरबा पं. टीकानिधि (राम) वाग्ले पनि कवि हुनु र संस्कृतमा लेख्ने चलन हुँदा हुँदै पनि नेपालीमा दन्तकालीका लागि वन्दना र ‘करुणा तरङ्गिणी’ काव्य लेख्नुभएको । उहाँका पिताजी बालचन्द्र वाग्ले, माइला दाजु जगदीशचन्द्र वाग्लेले पनि मीठा कविता लेख्ने कवि, स्वय म यस कीर्तिका कृतिकार पत्रकार एव म कवि भएकोले यस खानदानले नेपाली साहित्यमा लामो समयदेखि योगदान पुर्याएको देखिन्छ । आवरणको देब्रे पृष्ठमा राखिएको छोटो विवरणले उहाँको जन्म २०२४ साल माघ ६ गते भएको, शैक्षिक योग्यता स्नातकोत्तर (समाजशास्ध) मा रहेको र पेशा पत्रकारिता गोरखापत्र दैनिक भन्ने विवरणले उहाँको परिचय गराएको पाइन्छ । यस कवितासङ्ग्रहले त्रिभुवनचन्द्र वाग्लेलाई कवित्व शक्तिमा प्रवल, सशक्त र यथार्थवादी कविको रूपमा परिचय गराएको मैले महसुस गरेको छु ।
कृतिभित्र प्रवेश गर्दा –विकासमञ्च नेपालले प्रकाशन गरेको यस कृतिमा ६१ओटा कविताहरू समावेश गरिएका छन् । कृतिकारको मन गन्थन र भूमिकाबारे भन्दै कविले अराजकशैलीको बाटो रोजेको धारणा राखेका छन् । यस कवितासङ्ग्रहमा कसैको भूमिकाले स्थान पाएको छैन र कविताको विश्लेषणको लागि पाठकमा छाडिएको छ । । यो पनि यस कृतिको एउटा विशेषता हो ।
कविता स्वतस्फूर्त बगेको भाव हो जस्ले समाजलाई यथास्थितिबाट विकासको मार्गमा रूपान्तरण गर्दछ ।
मेरा कविता – यो कृतिको पहिलो कविता हो । कविले कविता मार्फत व्यापक स्वीकार्यको खोजी गरेका छन् । उनका कविता माझीले, घसिनीले, बाउसेले र हिमालले गाइदिए र आवाजमा, आवाज थप्दा सुस्केरामा सुस्केरा थप्दा कर्मको गर्वमा कर्मकै गर्व थपिदिंदा, विरहको बस्तीमा उपकारको दियो जलाई दिंदा र विरहमा स्निग्धता थप्:दा कविता बन्ने धारणा राखिएको छ ।
पिपलबोट सडक, म र मुटु– यस कवितामा कविले आजको समाजमा देखिएको आम्दानीलाई रक्सी भट्टीआदि विकृत स्थानमा नभै आफ्नो परिवार र सार्वजनिक महत्वको बनाएर खर्च गर्नु पर्ने धारणा राखेका छन् ।
घोडा र दुबो–कवितामा कविले कुनै बस्तुलाई प्रयोग गर्दा उपयोगवादको ज्ञान चाहिने धारण राख्दै वैवाहिक समयमा स्वयम्वरमा लगाउने दुबोको माला घोडाको भोक मेट्नको लागि उम्रिएको र बढेको धारणा पस्कदै, उन्माद किन बाँधियो, स्वच्छदता किन छेकियो, र गति किन रोकियो भन्ने धारणा आएको छ ।
बधूव्खाना –आजका, परिवर्तित समयमा, घटित घटनालाई केलाउँदै कविले ‘बतासेको जन्म दिन’ कसरी मनाउने र ‘खरिद गरिएको बधुशालामा सन्तानका ग्राफ कहाँ कोरिनु जस्ता प्रश्न तेर्स्याउनु भएको छ ।
आागन गुमाउनेहरूलाई–यस कवितामा कविले आधुनिकतामा सडक प्राप्त गरेको र सट्टामा आगन गुमाएको धारणा राख्नुभएको छ ।
‘दमौली’ – कवितामा कविले हुस्सु आवरणमा परासर सृष्टि रोप्छन् व्यास उमार्छन्, भन्दै दमौलीलाई चेतना/सृष्टि तार्ने दाोभानको रूपमा प्रस्तुत गरेका छन् ।
प्यास, प्यारी र धाराहरू– कवितामा कविले पानीले धनी मानिने देशका पिउने पानीकै अभाव छ अर्था जताततै पानीपानी पिउने थोपा छैन पानी भन्दै स्वय म गंगानै अतृप्त प्यासी भएको धारणा पस्कदै गृहणीको आँसुलाई समुद्रको नूनिलो पानीसँग साटासाट गरी प्यास मेटाउने प्रयास गरौं जस्ता अभाव नै बाड्ने धारणा राखेका छन् ।
‘मजवुन र मजवुनहरू– कवितामा कविले जाँड पिएर निम्त्याएको अभावले घरमा चुलो जल्न नसक्न छोराछोरीको स्कुल ड्रेस बनाउन नसक्नु, देशको अभावको पूर्ति गर्न विदेशी बन्दुकमा बारुद भर्दा छोरीले गाएको राष्ट्रगीतको याद आउनु ‘स्वाभीमानको सरगमाथा कैयनपटक अभिमानी पाइलाले कुल्चिसके’ भन्ने अर्थात अभावले स्वाभीमानमा पार्ने असरको सारलाई प्रष्ट्याउने प्रयास गरेका छन् ।
क्रान्ति – यस कवितामा कविले क्रान्ति उर्लदो खहरेको रूपमा आएको, क्रान्तिले ‘सजिएका बस्तुलाई फोड्दै हाँकिएको र यसले देशलाई जलाइरहेको छ भन्दै कविले पोखेका भावनालाई उनकै शब्दमा अध्ययन गरौं–
उर्ललो खहरे तिमी पारि म वारि
न तिमीले धमिलो पानीले प्यास मेटायौ
न मैले सङ्लो पानीले प्यास मेटाउन पाएँ
टुलु टुलु हेरिरह्यौँ/ देखिरह्यौं
पोख्त माझीहरू धमिलो पानीको बिस्यारीमा
छानीछानी माछा टिपिरहेका छन्
लाग्छ, उनीहरूले चीरप्रतीक्षित मञ्जिल पूरा गरे ।
यस कविताले देशमा क्रान्तिले निम्त्याएको बिक्रीति विसङ्गगति र आजका नेतृत्व वर्गले सक्षमरूपमा हाक्न नसकेको र क्रान्ति उद्देश्यहीन भएको यथार्थतालाई प्रष्ट्याएको छ ।
‘मेरो कार्यपत्र, धैर्य र भोक –कवितामा कविले आज संसारका कतिपय देशका जनताले भोकमरी सहन परेको छ । चुलो जल्न सकेको छैन तर विकास र भोकमरी हटाउनको लागि कार्यपत्रहरू प्रस्तुत गरिएका हुन्छन् त्यसमा व्यङ्गकस्दै कविले भन्दछन् – ‘धैर्यको नियतिमा हामी कार्यपत्र पिएर बाँचन सिकौं’ । वास्तवमा कार्य पत्रले धैर्य धान्दैन र भोकलाई मेटाउँदैन ।
‘चुनौती र चुनौतीहरू– यस कवितामका कविले काममा गरिने ढिला–सुस्तीमा प्रजातन्त्रको चुनौतीको रूपमा लिएका छन्, पेटभरि खानको लागि युवा विदेश पलाएनलाई समाजवादको चुनौतीका रूपमा लिएका छन् र नेताले भनेको ‘सबैलाई समान तुलाउने हाम्रो सिद्धान्त” धनिलाई गरिब बनाउने या गरिबलाई धनी बनाउने प्रश्न राख्दा जवाफ नआउनु नै साम्यवादको चुनौतीको रूपमा लिएका छन् ।
आमा– यस कवितामा आजका शिशुहरू बेबी क्यारियरमा राखिने भएकाले कडुवातेलमा ज्वानो मग्मगाएको आमाको न्यानो काख पाउन सक्दैनन् तथा आजको समयमा हिजोको जस्ता मातृवात्सल्यको न्यानो काख बालकले पाउन कठीन छ भनिएको छ ।
आफ्नै बरखी– यस कवितामा उनीले पोते, चुरा, रातो साडी र सिन्दुरको माग गर्दा किन्न नसकेकोले यी बस्तुबिना फुस्रो सारिमा उनलाई देख्दा आफ्नै बरखी बारेको अनुभूति भएको धारणा आएको छ ।
स्वयंवर र भट्टीका साँझ– यस कवितामा स्वयंवरको जग्गेको भट्टी र रक्सी भट्टीको तुलना गर्दै जग्गेमा बस्दा भट्टीको चाम्रो सितन जग्गेमा डुक्रिएको, जग्गे भट्टीझै धुवाँएको, ‘आखिर जग्गे पनि वेहोस् साँझ जन्माउने भट्टी न हो’ ‘यो जग्गे असम्मत भट्टी र भट्टी सम्मत जग्गे भन्दै मद बेच्ने साहुनीलाई चाम्रो सितन मेरा जग्गियामा होमन गर न’ म तिम्रो पीरो झै उष्ण मद झै मस्त सितन वरण गर्न चाहन्छु’ भन्ने आग्रह गर्दछन् ।
एक व्यक्ति दुई अनुभव– यस कवितामा कविले पहिलो अनुभवमा मानव जीवनमा चिता र चिन्ताले मानिसलाई जलाउँछ चिताको जलाईमा खरानी हुन्छ भने चिन्ताको जलाइले आँसुमा बगाउँछ । अर्को अनुभवमा फूल र फुलमा भिन्नता दर्शाउँदै फूल फुटेर पक्रिने तर फुल फुटेपछि सकिने धारणा आएको छ । फुलेर फक्रिए पनि फुटेर सकिए पनि जीवनको अन्त्य त अवश्य हुन्छ ।
साले त्रिभुवन– यस कवितामा राज्यको चौथो अङ्गको रूपमा गणना गरिने पत्रकारका राम्रा नराम्रा काम, कलम बलियो भन्ने धारणा, भोग्नपरेको भोको स्वाभीमानलाई दर्शाउँदै ‘भन्सारमा गएर संसार कमाउने आजको देशको यथार्थ अवस्थालाई दर्शाउने प्रयास गरिएको छ ।
मेरो क्यानभास : रैना तामाङ्नी– यस कवितामा रैना तामाङ्नी जो गलैचा कारखानामा दिनहुँ काम गर्नेको कलिलो उमेरमा गर्भिणी भएर अज्ञानताले भोग्न परेको कष्टदाइ जीवनको चित्र कोरेका धारणा राखिएको छ ।
संस्कृति औ ससमाज–यस कवितामा कविले रुझ्दै हिडेका युवतीलाई छाता ओढाउनु कर्तव्य भए पनि संस्कृति छाता जस्तो फराक नभएको र विचलित युवतीहरूलाई झुप्रोमा बास दिनु मानवता भए पनि समाज झुप्रोभन्दा पनि फोहोर भएको धारणााले आजको संस्कृति र समाजको प्रवृतिलाई चित्रण गरिएको छ ।
निशा –यस कवितामा कविले निशामा हजार गल्ती भएको चोखो जोवान बिटुलिएको धारणाको विन्ति पत्र लेख्दै भन्छन् –
पापहरू हजार भए खोज्दाखोज्दै पुण्य
सुहा’ थेन खाली सिउँदो, काख पनि शून्य
निशा पृष्ठ ३०
माल्दिभ्सलाई माया (पानी र पहाड)– यस कवितामा कविले धर्ममा भिन्नता भए पनि पानी र प्यासको, पहिरिनु र पुरिनुको पानी र पहिरो, वर्षा र गर्खाको नातालाग्न सक्नु, स्खलित पहाडको माटो समुद्रको पिंधमा चुलिदा गहिरिनु र चुलिदाको नाता गाँसिन सक्नु, महाप्रलय हुँदा समुद ्र्रपहाड र पहाड समुद्र दुँदा नाता उचाइ र गहिराइको हुनेछ भन्दै पानी र पहाडको नाता अभिन्न हुने धारणा राखिएको छ ।
हामी बालक–यस कवितामामा कविले बाल कविता मार्फत बालकलाई तातो खाना, न्यानो नाना, मामा घर, चिसापानी बर्दघाटको न्यानो र काठमाडौको चिसोको बारेमा ज्ञान प्रदान गरेका छन् ।
मेरो देशको गीत’ – राष्ट्रियताले भरिएको यस गीत मार्फत हिमालले गर्वको साथमा उठ्न, तराईले विनम्रतामा झुक्न, पश्चिममा काली र पूर्वमा मेचीको पहरेदारको रूपमा पुर्खाले आर्जेको यस भूमिमा भृकुटी र बुद्धले दिएको शान्ति र शिक्षाको गीत गाउँदै यो देशको माटोलाई शिरमा लगाई देशको झण्डा चैतन्य बलमा उचाल्ने सन्देश दिइएको छ ।
एक चिठी क्षेत्रप्रतापको नाममा– यस कवितामा कविले क्षेत्रप्रताप अधिकारीले २०४७ साल साउन १२ गते तत्कालीन प्रधानमन्त्री श्रीकृष्णप्रसाद भट्टराईलाई लक्षित गरी लेखेको पत्रको प्रत्युउत्तरमा लेखिएको कविता हो । यस कवितामा २०४६ सालअघिको शासनकालमा रगतसँग मानव अस्मिता पिएको, मानवको रगत र मासुसँग ककलेट पाटी गरेको, ३० वर्षमा कति स्व्यम्भू र पशुपति रित्तिएका, पैंस्ठीको घातक सन्धी भएको, मानवता हराएर आँसु र मासुमा ककलेटपाटी गरिएको, मझिनी भाउजूलाई बलत्कार गरिएको र कृष्णप्रसादसँग सुरक्षाको प्रसाद मागिएको, मानवरूपी ब्वाँसो रामनामी खास्टो ओढेको रावण, परेवारूपी चिल, तिमीले गरेका करतुतमा माटो खोस्रदा मानिसका टाउको र हात भेटिन्छन्, शान्तिका गीत र राष्ट्रियताको कृतिम छाँयाँ भेटिने, सुनिता र नमितालाई सेतीभरी बगाइएका आदि तत्कालीन व्यवस्थाले गरेका कर्तुतलाई प्रष्ट्याउँदै अब त खुलामञ्च खुलेको धारणा राखिएको छ ।
बैलाबाख्रीको सम्बन्धमा– कविले बैला बाख्रीबाट सन्तानको प्यास मेटाउन नसकिने धारणा राख्छन् । उत्पादन लिन त साँच्चि नै उर्वरक भूमि नै चाहिन्छ ।
कति टाढा होलान् नेपाल र सुडान– यस कवितामा कविले नेपालमा सुडानको स्थिति नआवस् भन्ने धारणा राखेका छन् ।
सोमबारे नानीहरू– सिङ्गारिक भावले ओतप्रोत यो कवितामा सोमबारको ब्रतमा नानीहरूले पीपलमा जल चढाउँदै उन्मत भैरव पनि पुज्ने गर्नु, अधबैंसेहरू इतरिएर बैठकलाई रतौली बननाउने, यो सोमबार महङ्गलबारमा परिणत हुनु तरुनीहरू गर्भिणीमाथि डाहागरेर “गणेश–उदर” भन्नु जस्ता अभिव्यक्ति सहित – “नानीहरू कति पोखिन पर्ने हो ! अचेतन पीपलमा उन्मत भैरव खोजेर आज सोमबार पीपल भैरव र अतृप्त प्यार’ जस्ता सिङ्गारिक धारणा पोखिएका छन् ।
मौरीमन्त्र’ –यस कवितामा कम्युनमा बसेर मौरीले काम गर फलको आश नगरको सिद्धान्तलाई अबलम्वन गर्छ तर महकाढ्दा प्रतीकात्मकबाहेक प्रतिरोध गरेको पाइँदैन धुवाँ लगाइन्छ मह काढिन्छ घार बाहिर राखिन्छ मह भित्र राखिन्छ । जस्तै अछुतले ( दमैकामीले) निर्माण गरेका बस्तु भित्र पसालिन्छ तर उनलाई घरभित्र पसालिदैन । कविको धारणा छ एक दिन मौरी पनि अरिङ्गलमा परिण हुने छन् र महको अंश खोज्ने छन् ।पूर्वजन्म को कमाइ नभै ्पुनर्जन्मको ऋचा घोक्ने छन् भन्ने धारणा आएको छ । वास्तवमा षोषण र दमनले नै विद्रोह जन्माउँछ र समानताको लडाइँमा उभ्याउँछ । कविले मौरीलाई विम्बमानेर षोषणदमन र छुवाछुतको अन्त्य चाहेका छन् । समनताको सन्देश दिएका छन् ।
पत्रकार नभएको भए म– कवितामा पत्रकार, शिक्षक, सांसद, वा मन्त्री हुनु नपर्दाको म ‘हे नेपाली शिर उचाली….’ जस्ता गीत सुन्दै ‘उकालो उक्लदै हुन्थेँ, ओरालो झर्दै हुन्थे, भारी बोक्दै हुन्थेँ, पसिना पुस्दै सायद म एउटा खाँटी मान्छे हुन्थेँ भन्ने व्यङ्ग कस्दै सवल सक्षम परिश्रमी राष्ट्रियताले ओतप्रोत भएको नागरिकको खोजीमा छन् कवि ।
मलाई बात लाग्यो’ यस कवितामा राम्रो सुझावलाई अवलम्वन् नगर्दा केस, ठेस, मात, बात, दोष, चोट र घात लाग्ने धारणा आएको छ कवितामा ।
खैरेलाई नेपाल चिनाउँदा– यस कवितामा कविले नेपाल आज ‘भाइ मारेर दाइ पुरस्कृत हुने देश, जहाँ मार्ने र मारिनेहरू “समायोजन” हुन्छन्’ भन्ने सन्देशको रूपमा नेपालको चिनारी विदेशमा गएको धारणा आएको छ ।हजुरबा गिरी हो हार्नुहुन्न– यस कवितालाई कविले २०६२।०६३को आन्दोलनको क्रममा नेता गिरिजाप्रसाद कोइरालामाथि लाठी प्रहारगरी घाइते बत्रनाए पछि उहाँप्रति समर्पितगरी लेखिएको कवितामा गिरिजाप्रसाद पहाड हो पर्वत हो गिरिहो ऊ हार्न जान्दैन, पानी हो, तरल हो, जल हो ऊ थुनिन जान्दैन, घाम हो, सूर्य हो ताप हो हराउन जान्दैन भन्दै प्रजातन्त्रमा सबैको जित हुन्छ भन्ने हजुरबाले जित्नुभएको छ कि हार्नुभएको छ भन्ने छोरीका जिज्ञासालाई प्रजातन्त्रमा सबैले जित्छन् भन्ने धारणा विवरणसहित प्रष्ट्याइएको छ ।
मायाको परिभाषा– यस कवितामा कविले पश्चिमे संस्कृतिलाई जोड्दै आामाले दूधले पखालेको गालामा जुठो चुहाएको धारणा, आमाले जन्मदिनमा शुभकामनामा ढ्याब मार्दा कसले मैलायो सर्ट भनी दागा धर्दा चुपचाप गोर्कीको आमा उपन्यास पढेको, जन्म दिनको शुभकामना लेख्नेले आमाको वेदना नदेखेको र माल्थसले आमाको हाँसोको मूल्य निर्धारण नगरेको, तिमीले खोक्दा झर्को र टमीले भुक्दा न्यास्रो हट्ने धारणा सहितको प्रेमको परिभाषा दिइएको छ । यस कविताले मायालाई थोगो र दोहोरो गीतको रूपमा लिएको देखिन्छ ।
‘परोपकार शान्ति ॐ –कवितामा कविले चैत्यले शान्ति छर्ने र परोपकार मन्दिरले गर्ने भएकोले रामबुद्ध सुन्दर म परोपकार शान्ति ॐ भन्दै बुद्धधर्म र हिन्दूधर्मको महत्व दर्शाएका छन् ।
अकीर्ण आँखा –यसै कविताबाट यस कवितासङ्ग्रहको नामाकरण गरिएको छ’ । अकीर्ण शब्द शब्दकोशमा खोज्दा पाइँदैन । कीर्ण शब्द भने पाइन्छ । कीर्ण शब्दले छरिएको, फैलिएको फ्याकिएको, ढाकिएको, भरिएको, राखिएको, रहेको र चोट परेको भन्ने अर्थ बुझाएको छ । साधारणतय अकीर्णभन्दा यिनै शब्दको विपरित सम्झनु पर्ने हुन्छ तर कविले दिन चाहेको सन्देश भने अल्प नभै दीर्घ दृष्टिले दूरदृष्टिले तथा अकीर्ण नभै कीर्ण दृष्टिले अवलोकन हुनु पर्छ भन्ने मैले बुझेको छु । यस कविताले दिन चाहेको सन्देशको लागि तलका पंक्तिहरू पढौं –
एक उपबुज्रकले
खै किन मलाई अन्तर्वाता लागि उपयुक्त देखे
म पनि त फुल ओथारेर निस्किएको पोथी झै च्याँठिन थालें
चाहार चरित्रको मान्छे न हुँ म
अब्बल दर्जाको सी.के.प्रसाई थोडै हुँ
जो अन्तर्वाता लिन खोज्ने पत्रकारलाई भन्थे–
म के जान्दछु र ?
ऊ सोध्दै गयो, म भन्दै गएँ
मेरा अकीर्ण आँखाले
जे देखे त्यही भने क्रमश:
भन्दै कविले तपशीलका उपशीर्षक दिंदै (मृत्युशैया शीर्षकभन्दा पहिलेका कविताहरू) आफ्ना धारणा राख्दै व्यङ्ग कसेका छन् –
‘आदर्श पात्रहरू’ यस उपशीर्षकमा कविले धेरै विकृतिबाट ज्ञान हाँसिल गर्न सकिने भन्दै त्यस्ता विकृति निम्त्याउने पात्रहरूमा व्यङ्ग कसेका छन् । रक्सीले मात्तिएर गर्भवती श्रीमती कुट्नेर रेडलेवललाई मिठो मान्नेले नै कविलाई मिठो र टर्रो छुट्याउन सिकाएको । श्रीमानलाई कम र उन्मत्त भैरवलाई बढी तृप्त गराउन ब्रत बस्नेहरू, अधिकार प्राप्त श्रीमती (श्रीमानले हरेक रात श्रीमतीको मञ्जुरी लिनु पर्ने तर श्रीमानको मञ्जुरी लिन नपर्ने पत्नीहरू), अरबको खाडीमा उँट चराउने श्रीमानसँग रुँदै फोनमा बात गर्ने तर घर चाँडै नआऊ घर धानेकै छ घर धान्दा डाँडाभाटा किलाखाँवा फेनुपर्यो भने अन्यथा नमान, घर तिम्रै हो भर तिम्रै हो भन्नेहरू, स्वयमवरको औंठी भट्टीमा अडान राख्दै तिम्रो त हातै मिठो बातै मिठो घरको साथै नमिठो खाटै नमिठो भन्नेले मदशाला र पाठशालाको भिन्नता देखाइदिएको र विवेक पढाएर मदिरा मस्तीको बाटोमा कफ्र्यू लगाइदिएको, देवता बनाउने र मन्दिर बसाउनेलाई उस्ले बनाएको भगवान पुज्छ तर मन्दिर प्रवेश गर्न बर्जित गर्ने बाहुनहरूबाट बाहुन नभै मान्छे बन्न सिकाउनेहरू, दलित महिलालाई अछुत ठान्ने तर उसको फाटेको चोलीको उच्चाइ र धसिएको नाइटोमा आँखा लगाउनेले जातको उच्चाइ र गहिराई विर्सिनेले अग्लो र होचोमा, उच र निचमा, उठाइ गहिराइमा गर्व गर्नु प्रदैन भन्ने ज्ञान, आमवश्यमा श्वानपुत्र बोकेर मातातीर्थमा गएर आमाको भाषण गर्दा टमी भोकाएको श्रीमतीको आदेशमा आमाप्रतिको भाषण छोट्याउने र श्राद्धको सिधालाई टमीको आहारा बनाउने सहनशीलहरूबाट, भित्तामा आमा बाबुको फोटो टाँसेर बत्तीबलाउने तर आमाको फुलेको सिउँदो र बाबुको च्याउरिएको गाला नदेख्नेबाट जननी जन्मभूमिश्च…. गरियसी को भाषाण सुन्ने धारणा, ८४ वर्षे बाबुलाई डोर्याउन अफसोच मान्ने र मर्निङ्वाकमा कुकुर डोर्याउन गर्व गर्नेवाला, स्तनको आकृति सुरक्षित राख्न शिशुलाई ल्याक्टोजन चुसाउने आमा, बच्चालाई आमाको दूध पोषिलो हुन्छ भन्ने विज्ञापनको श्रवण, माउको दूध बाबुलाई कि बच्चालाई भन्ने प्रश्नको उत्तरको खोजाइ, माउको दूध छाउराछाउरीको शतप्रतिशत हकलाग्ने उत्तर आफ्नै घरको कुकर्नीबाट प्राप्त आदि धाराणले आजका समाजमा देखिएका विकृतिबाट धेरै ज्ञान हाँसिल हुनेर यस्ता विकृेतिलाई त्याग्दै यर्थातलाई प्रयोगमा ल्याइ सवल समाजको निर्माण गर्नु पर्ने धारणा कविबाट आएको छ ।
मानव अधिकार–यस उपशीर्षकमा कविले आजको सन्दर्भमा ‘आमआमाहरूको सौन्दर्य –अधिकारको समर्थनमा छोरीको भ्रुणहत्यामा असहमति जनाउँदै प्रश्नवाची हुँदै भन्छन् – ‘बधाई र्मंगला, शैलजा, साहना, इन्दिरा, मार्गरेट र जुन्कोताइवेलाई जसले छोरी भएर जन्मन पाए तर आज यस्ता हजारौं छोरीहरूको घरघरका मेरीस्टोप्स्मा हत्या भएको छ भन्ने धारणा आएको छ । ‘जीवनको सम्बन्धमा’ – यस उपशीर्षकमा कविले जीवनको व्यापकताको बारेमा प्रकाश छरेका छन् – ‘भोगी पनि जीवन भोगी पनि जोगी, शोध पनि जीवन, खोज पनि जीवन, पश्चिम पनि जीवन, पूर्व पनि जीवन, कुरान पनि जीवन उपनिषद पनि जीवन, अँध्यारो जीवन उज्यालो जीवन, गान्धी पनि जीवन, गोड्से पनि जीवन, अमूर्त कविता, मूर्त प्रस्तुति, सबै जीवन सबै साहित्य धारणा राख्दै कवि भन्छन् –
मैले साहित्यभन्दा ठूलो जीवन देखिँन
मैले जीवनभन्दा ठूलो साहित्य देखिन
अबको नेपाल– यस उपशीर्षकमा कविले आजको नेपालको राजनैतिक क्रियाकलापले भावी नेपाललाई कस्तो बनाउला भन्ने परिकल्पना गरेका छन् ।आज ‘बाबुआमा तिरस्कृत हुँदै छन् जस्तै बाबुआमा बृद्धआश्रममा कुकुरको बच्चा एउटै खाटमा राखिदै, समाचारमा गोपनीयताको ह्रास, सुस्ता अतिक्रमण भएको, नेपाली नेपालको लागि नभै विदेशको रक्ष्यार्थ लडिरहेका, डीभी मोह, विदेश पलायन, टारीमात्र नभै नारी पनि बाँझीने या हाइब्रिड जन्मन सक्ने सम्भावना, राज्य दोहन, नागरिक वितरणमा उदारता, काशी र फाँसीको नारा लगाइने र देश विभाजित हुनसक्ने सत्ताको लागि मारामारको स्थिति आदि क्रियाकलापमा कवि निरास देखिन्छन् र भन्छन् – ‘सिंहदरबारको सत्ता त म्युजिकल चेएर न हो…. सत्ताकोजादुगरीमा कसैको सफाया गर्नै पर्दैन ( गान्धी हार्दैन, गोड्से जित्दैन)।
‘श्रमिक अधिकार– यस उपशीर्षकमा कविले श्रमिकको हक अधिकारविहीन मनाइने मे दिवसको बारेमा आफ्नो धारणा राखेका छन् । साम्यवाद भनिन्छ तर भाषण खोक्ने र ताली ठोक्ने बीच समानता छैन । श्रमिक दिवस भनिन्छ तर खास श्रमिकले भाग लिएका हुँदैनन् र साम्यवाद भनिन्छ तर व्यवहारमा साम्यवाद देखिदैन ।
धर्म – यस उपशीर्षकमा कविले तीजमा बस्ने ब्रतमा पत्नीले पतिको दीर्घायुको लागि गरिने ब्रत शिवपूजा गर्दा पार्वती र सावित्रीलाई पनि पुज्ने, पतिको लागि पत्नी नै सतीसावित्री भएको र ‘दर खाएर के भो र तिमी भोकै छौ म पनि अघाएको छैन’ जस्ता पत्नीले पतिप्रति गरेको उत्सर्गमा पतिले पत्नीप्रति केही गर्न नसकेको धारणा आएको छ कवितामा ।
‘न्यायालय–यस उपशीर्षकमा छोराछोरीको नाताको सनाखत अदालतले हैन आमाले गर्नु पर्ने माग राखिएको छ ।
त्रिभुवन –यस उपशीर्षकमा कविले स्वयमलाई प्रस्तुत गर्दै ‘कर्तव्य त्रिभुवनको छाला हो, उस्ले कामी र कर्मबीच भिन्नता पाउँदैन, उसको विद्यालयमा शूद्रलाई बुद्धि, विवेक र कुनै धर्मब्रतको उपदेश नदिनु भन्ने मनु मन्त्र/सूत्र धोकाइन्न, पढाइन्न, टोपी र मयलपोश सिलाउनेलाई अछुत ठान्दैन वास्तवमा त्रिभुवन के हो तभन्दा ‘धर्म युद्धको अग्रभागमा लड्ने अवैतनिक फौजी बिशे नगर्ची हो त्रिभुवन’ धन्ने धारणा आएको छ कवितामा ।
प्रेम कि विवाह–यस उपशीर्षकमा कविले विवाह र प्रेम दुवैलाई जिन्दगी दौडाउने यन्त्र ठान्दछन्, भटभटेको पाङ्ग्रा मान्दछन् जिन्दगी । प्रेम र विवाहमा कविको धारणा यस प्रकार छ – ‘प्रेम र विवाह हुन् त आखिर दुवै मनको विनिमय, मायाको विनिमय, सगरका तारा र सागरका छाल । विवाह : सगरका तारा, प्रेम : सागरका छाल’ ।
‘मर्निङ वाक– यस उपशीर्षकमा कविले सिङ्गारमा प्रष्टै प्रत्यङ्ग प्रदर्शन गर्दै मर्निङ्व वाकमा हिड्ने महिलामा व्यङ्ग कस्दै “हाम्रो अङ्ग हाम्रै अधिकार’ बोलको महिला मन्थन, नारी नारालाई समावेश गर्दै उसका पछि पछि लाग्ने कर्तव्यपरायणमा खटिएको एउटा फौजी श्रीमानलाई बटुवाले आँखा लगाउलान् तिमीले रक्षा गर्न लागेको अङगलाई बचाऊ भन्दै, कविले बृद्ध आमाबाबुको सेवामा दौडनु, राष्ट्र बचाउन दौडनु, अर्थात नालापानीमा दौडिएका अवला, भुरा, सुरा र बुढाको दौड, टिस्टा र काँगडामा दौडेको बलिया मुटु हुनेको दौड मन पर्छ, अर्थहीन दौडको शैलीहीन नाटकलाई के दिनचर्या मान्ने र आज देश चलाउने ‘कच्चा मुटु हुनेको दौडमा मेरो देश दौडन सक्दैन । तिमीले चुहाएको पसिनामा महाकाली–मेची पौडन सक्दैन मेरो देश’ भन्ने धारणा आएको छ ।
‘देवकोटा– यस उपशीर्षकमा देवकोटालाई कालीगढ, सृष्टि, सिर्जने ब्रह्मा, जगत् जगाउने विष्णु, कुसुम उमार्ने महेश्वरको संज्ञा दिंदै ‘नोवेलभन्दा छैनन् छोटा हाम्र कवि देवकोटा’ भनिएको छ ।
पौड्याल–यस उपशीर्षकमा कविले अर्घौ उचालेको, छन्दलाई उच्चाइमा पुर्याएको, कैद परेको सुगा र तरुण तपसीको स्मरण गर्दै ‘हाम्रा चेतन भित्र भित्र मनमा सन्ध्या–विहानी तिमी भन्ने धारणा पोखेका छन् ।
‘घिमिरे– यस उपशीर्षकमा घिमिरेले आफूँ रुदा अरूलाई रुवाउने कवि, उनमा सप्तरङ्गी छवि देखिने झ्याउरे, गीत, मारुनी र गौरि कृतिलाई स्मरण गरिएको छ ।
सद्धिचरण श्रेष्ठ–यस उपशीर्षकमा क्रान्ति गीतका लेखक, ओखलढुङ्गा, विश्वव्यथा, खुकुरीको पनि कविता, उपनिषद लेख्ने, ऋद्धि पनि सिद्धि पनि दया पनि भएका कवि भनी उन्को व्यक्तित्वलाई दर्शाइएको छ ।
मोहन कोइराला– यस उपशीर्षकमा मोहन कोइराला अराजक, अरण्य यात्री, गुटमा नलाग्ने वादभन्दा माथि उठेको, विश्लेषण, संस्लेषण, सुन्धुवा, बालुवामा मणि भेट्न सक्ने, आँगनमा अमूर्त गीत गाउने, अमूर्तमा आकार खोप्ने भनेर स्मरण गरिएको छ ।
भूपी शेरचन– यस उपशीर्षकमा प्रहारमा हार नमान्ने, सिधा सडक, बुद्ध र बुद्धुमा भेद देख्न सक्ने, अमिलो, पीरो, चोटिलो वेद लेख्न सक्ने तर वादमा वेरिएका भूपि शेरचन भन्दै स्मरण गरिएको छ ।
‘अनुरागी वैरागी–यस उपशीर्षकमा वैरागी काँइलालाई अनुरागीको संज्ञादिंदै पाँचथर र काठमाडौ जोड्ने, मुन्धुम र मनुलाई उचाल्न सक्ने भन्दै स्मरण गरिएको छ । ‘
द्वारिका श्रेष्ठ–यस उपशीर्षकमा द्वारिकाले थोरै कवितामा धेरै कृतित्वको खोती गर्नेद बन्दीपुरे किसान, ‘आमाको पटुका लत्रिएको’ सूक्ष्म द्रष्टा, सिउँडीको काँडामा पनि कल्प देख्ने स्रष्टा र द्रष्टा, शील्पी तर अल्छी, ‘द्वारिका श्रेष्ठका कविता सङ्ग्रह’ बोकेर वेपत्ता भन्दै कविता लेखनमा सक्रियताको आशा राखिएको छ ।
‘र अन्त्यमा, प्रपन्ना चार्य – यस उपशीर्षकमा बालकको नाम काले राई को नाम लिंदै नजिकबाट हेर्दा प्रपन्नाचार्य एक साधारण व्यक्तित्व देखिए पनि दूर दृष्टिले हेर्दा उनी शङ्कराचार्य हुन् भनिएको छ ।
कविले अकीर्ण आँखाले देखेका यथार्थतालाई अन्तर्वातामा प्रस्तुत गर्नुभएको छ ।
‘मृत्यु उत्सव– यस कवितामा आफ्नो चिता आफै देख्न नसकिने, मरेपछि आँशु अविर चढाउनुभन्दा जिउँदै डढाउने काम गर्न हुँदैन र पुराना बाचा बन्धन जलाएर नयाँ जीवन सुरु गरेर सृष्टि चलाउने सुझाव दिइएको छ ।
अँधेराका गल्ती– यस कवितामा अँध्याराका गल्तीहरू ढाकीछोपी गर्ने यदि गर्न सकिदैन भने आमा बन्ने धारणा आएको छ ।
बाबा मलाई… – यस कवितामा बाबालाई छोरीले आकाशमा उड्न सिकाइ दिन, पाइलट बनाई दिन, साहसी बनाई मंगला र शैलाजाका कथा सुनाइ देऊ, चराजस्तै बन्धकबाट मुक्त गराइदिने र कलम बनाएर असल, खराव छुट्याउने आँखा बनाई देऊ आकाशमा उडी मैले संसार देख्नु छ हजुरआमाका कथाहरू धेरै लेख्नु छ भन्ने धारणा आएको छ ।
वानप्रस्थ– यस कवितामा कविले तिम्रो गृह्यप्रवेशबाटै त्रिभुवनको वानस्प्रथ थालनी भएको भन्दै न्यानो अङ्गालोभन्दा शान्ति ठूलो, धीर मन भए घर छाड्न प्रदैन र वासनाले युक्त भएकाले रित्तिएको शिवलिङ्गो किन पुज्ने भन्न धारणा आएको छ ।
तनहु– यस कवितामा कविले तनहुँको प्राकृतिक सौन्दर्य रिसिङको उकालो बाटो, सुनफल्ने सुखौरा, चुँदीमा चाँदी फल्ने, छिम्केश्वरीको गर्व, व्यासले मोदी सेतीको दोभानमा वेद लेखेको, काँहुको उभिएर हेराई, बन्दीपुर र शहीदहरूको स्मरण गर्दै यस्तो सुन्दर स्थललाई छाडेर पेटभर्नै जोहो गर्दै पेशामा लागेकोमा न्याउरी मारी पछुतो भएको धारणा आएको छ ।
आँशु भर्ने कुवा– यस कवितामा कविले एकतर्फी प्रेमको नतिजामा सूर्यलाई अर्घ चढाएसरि माया दिएको र शरात्र पिएको, पिरतीको गीत गाउँदा धेरै वर्ष बितेको र आँखा पनि परेलीमा आँशुले भर्ने कुवा भएको मार्मिक धारणा यसरी पस्केका छन् –
पत्थर भए तिम्रो मुटु शालीग्राम पूजिदिन्छु
त्यै चित्रको एकापट्टि मेरो चित्र कुक्दी दिन्छु
पृष्ठ १०५
बौलाहको बकपत्र– छिमेकीले गरेको अतिक्रमणमा पानी बिजुली, रुख, गिटी बालुवा माटो सबै उतातिर गएको यतातिर केवल आँठो र लालपुर्जा मात्र रहेको र नेपालको नक्सा फेरिदा आमा रोएको धारणा आएको छ । ‘नाच्दा नाच्दै बेहोसीमा– यो कविता पनि प्रेमीले अर्कैसँग विवाह गरी जाँदाको मार्मिक चित्र उतारिएको छ । एकातिर विवाहको जग्गिएका नाचेको विहोसी भै हाँसेको, डायरीमा उन्कै सायरी पाएको, फोटो हेरी छाती सजाएको, दिएको रुमाललाई आँशुले भिजाएको, छाती पिट्दा पिट्दै बाजा बनाएको र अर्कोतिर विवाहको उत्सव मनाइएको धारणा पस्किएको छ । घाम छाया–यस कवितामा मायाको क्षेत्र विशाल हुन्छ । यस्तो विशाल मायामा पनि शहरको एक्लो मानिसले कसरी माया लगाउनु भन्दै कविले मार्मिक धारणा पोखेका छन् –
गमलाको फूल पनि
मलाई काँडा भयो
नदी बग्यो निष्ठूरी भै
ढुङ्गा प्यासिरह्यो
पृष्ठ १०८
‘निवृत्त हस्ताक्षर–एउटा जागिरे जीवनमा गरिएका हस्ताक्षर जागिरबाट निवृत भए पछि कुनै पनि आधिकारिक रूपमा चल्दैनन् त्यस समयमा भएका गल्तीले कसैलाई रुवाएको छ भने माफ गर भन्दै कविले विसङ्गति नै जीवन झै लाग्नु, जीवनमा हाँसो क्षणिक र रोदन जीवनपर्यन्त छ भन्दै समयान्तरलाई जीवन हो भनेका छन् ।
मेरो घरको खाँबो– यस कवितामा कविले घरबाटै अथाह ज्ञान पढ्न सकिने धारणा राखेका छन् ।
देखियो–आज देशले भोगेको यथार्थता हो जस्ताको त्यस्तै पढौं –अहिले पनि देखियो उदार अर्थनीतिभित्र उदर अर्थ कार्यक्रम, अहिले पनि देखाइयो मूल्यहीन सान ‘अमूल्य’ मतदान’ ।
‘निलो डायरी– यस कवितामा कृतिम बस्तुभन्दा प्राकृतिक बस्तुको महत्त्व बढी हुन्छ । कविको धारणा सादामा गर्व छ, कृतिमतामा जीव भए पनि चराचर छैन, गालामा लगाएको पाउडरमा कृम बसाउला तर हार्दिकता बसाउँदैन, आँखा अटाउन सक्ला, आँत अटाउँदैन, त्र्राको टेको लगाएको स्तनमा मातृ बासल्य रसिलो रहदैन, त्यसो हुँदा प्राकृतिक वरदान नै सही रूप हो भन्ने धारणा देखिन्छ ।
मोहन कोइराला– मोहन कोइराला अस्पतालमा भर्ना भएको अवस्थामा उहाँप्रति श्रद्धाभावराखी लेखिएको कवितामा कविले मोहन कोइराला एउटा गतिशील हो ऊ कहीं रोकीदैन भन्दै समयको गतिशील्तासँग तुलना गरिएको छ ।
अनुभूति– यस कवितामा’ हाम्रो संस्कारमा जिउँदो छँदा मातापितालाई आदरसत्कार नगर्ने, पेटभरी खान दिन नसक्ने तर मरेपछि पिण्ड दिने आडम्बरप्रति व्यङ्ग कसिएको छ ।
डोल्पाको कथा–यस कवितामा कविले डोल्पाको यथार्थपरक सामाजिक आर्थिक स्थितिलाई काठमाडौसँग दाज्ने प्रयास गरेका छन् – ‘डोल्पामा अहिले नूनको सङ्घर्ष छ, काठमाडौमा उहिल्यैदेखि सुनको सङ्घर्ष छ भन्दै कविले डोल्पको विकासको (घामको न्यानोको) खोजी गरेका छन् ।
बाउन्न– यस कवितामा कविले बाउन्नदेखि बाउन्नेले गरेको क्रियाकलापले निम्त्याएको बिक्रीतिलाई यसरी पस्केका छन् – ‘बाउन्न रेक्टर स्केलको भुइँचालोले के गर्यो र ? टारी विगार्यो, बारी बिगार्यो, सानेको सपना भत्कायो, ठूलीको सिउँदो लत्यायो, गोरू नार्न नपाएर ऊ रेगिस्तान हानियो’ ।
आत्मकविता–कविले यस कवितामा गर्वले सगरमाथा, विनम्रताले फाँट, स्वास्वत बगिरहँदा मस्र्याङ्दी, निश्चल रहिरहँदा फेवा, पहाड, तराई, पसिना, खोरिया, सीता र गौतम भएर पुजिएको धारणा आएका छन् कवितामा ।
अविश्वस्त विश्वासहरू–२०५० साल साउन ३, ४, ५ गतेका बाढी पैरोको विनाशप्रति लक्षित गरी लेखिएको यस कवितामा बाढीपैरोले सबै नष्ट पारिदिएको सुत्दा शान्तिको सपनामा सुतेको तर विनासको सपनामा ब्युमझेको भन्दै मार्मिक धारणा पस्केको पाइन्छ ।
माया र प्रेम–यस कवितामा आमा र प्यारीले सोच्ने सोचाइमा भिन्नता देखाइएको छ –आमाले साँझको खाना कम खाँदा पेट दुखेर हो कि भन्ने सोधनी हुन्छ भने सोही कम खानामा पियारीले होटेलको मिठोले मुख टिपेकोले गर्दा घरको फुस्रोधुस्रो के रुच्नु भन्ने धारणा आउनुलाई आमाको अभिव्यक्तिलाई माया र पियारीको धारणालाई प्रेमको संज्ञा दिइएको छ । अशीर्षक– यस कवितामा राष्ट्रिय झण्डालाई ब्याकग्राउण्डमा राखेर डीभीको लागि फोटो खिचेको, प्रतिस्पर्दामा स्वच्छतालाई निर्णय नदिइ राजनीतिक पक्षलाई मूल्याङ्कन गर्ने, नूनहाल्न विर्सेको गन्थनले नोबल पुरस्कार जित्नु, खेल्नेभन्दा कुद्नेले पदक पाउनु, ‘राज’ खानेभन्दा प्रतिवन्ध ‘गण’ खाने भन्नु पर्ला, ‘चरित्र निरपेक्षहरूको ससुरालीहो हो धर्म निरपेक्ष’ ‘गाईको सट्टा गोरुलाई राष्ट्रिय जानवर मान्ने, आदि धारणामा कविले यर्थातालाई भूलेर गलत मार्गमा लाग्न नहुने सन्देश दिंदै उनको अभिव्यक्तिको चारलाइन कवितालाई नै अध्ययन गरौं –
पृथ्वीको सालिक ढालेर
एकताको गीत गाइयो
पहिचानको नाममा
कोटमाथि टाई लाइयो
आजको राष्ट्रि पोशाक, राष्टि जनावर, हिन्दूधर्मप्रति देखाइएको व्यवहारलाई कविले प्रष्ट पारेका छन् ।
दर्जीको दैलो –यो कविता यस कवितासङ्ग्रहको सबैभन्दा लामो र मार्मिक कविता हो । यसमा भएको कथाबस्तुलाई केलाउँदा लघुकाव्यको रूपमा लिन सकिने र कविले यसलाई खण्डकाव्यमा परिवर्तन गर्ने धारणा राखेका छन् । चराका बच्चा र बच्ची वसन्तको आँधीले रुखबाट खसालेर धरतीमा पुर्याएको र यी बच्चाको आमालई शिकारीले विलाप गर्दागर्दै शिकारीको गोली लागेको, बच्चाको बाबु सुलको दवाई लिन गएर पनि दवाई लिएर फर्कन नसकेको ती दुवै बच्चालाई दर्जीले देखेर लगी तरकारी बनाउन खुकुरी खोज्दा उसकी श्रीमतीले रोकेर पालनपोषण गरेको, उषा र उत्सुक नामाकरण गरेर बढाएर गुन्यु र चोला दिएको घटना क्रमलाई समाउँदै कवि भन्छन् –
दर्जीको दैलो देवीथान बन्यो आँगन पुण्यधाम
दया र माया त्योभन्दा तातो के खोजनु अर्को धाम
पानीको मसाल–यस कवितामा कविले पानीको गति शून्य हुँदैन भन्दै पानीलाई नै पानीको गीत गाउन दिनु पर्ने धारणा राखिएको छ ।
भद्रकालीका घोडा–घोडालाई विम्बमानी लेखिएको यस कवितामा ऐतिहासिक जङ्गबहादुरका पालादेखि ‘कलिला नानीहरूलाई काँच्चका बस्त्रमा नचाएर आनान्द लिने र लगाम तानेर घोडा चढेर मज्जा लुटेको साथै समय(गतिशीलता)लाई सङ्ग्राहलयमा बन्द गरिएको धारणा राखिएको छ । मलाई तिम्रो हरियो सारी मन पर्छ– कविले कवितामा वसन्तको हरियालीमा वैशाख जन्मने भन्दै सृष्टि र सारी(हरियाली)मा समन्वय छ त्यसो हुँदा सृष्टि र सारी मन पर्छ भन्ने धारणा आएको छ ।
बाल गीत– यस कवितासङ्ग्रहको अन्तिम कविता हो । यस गीतमा कविले बाह्रमहिनाको विशेषताको बर्णन गरेका छन् । वैशाखमामा बिहेको बाजा, जेठमा मेलाको खाजा, असारमा असारे भाका, साउनमा चरी पाखामा नाचेको, भदौमा घैया पाकेको, असोजमा आँखाले हिउँ ताकेको, कात्तिक मालामा फुलेको, मङ्सिर कृषकको गालामा हाँस्ने, पुसमा हिउँले ढाकेको, माधले न्यानोको लागि घाम डाकेको, फागुन आकाश सोभित भै राम्रो र चैतमा चरीले प्रैमको गीत गाएर राम्रो भन्दै बाह्रै महिनाको आआफ्नो विशेषता भएको धारणा पस्केका छन् कविले ।
कविताले ओगटेको क्षेत्र तथा कवितामा विविधता – कविले यस कवितासङ्ग्रहमा व्यापक क्षेत्र ओगटेका छन् । राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा देखिएका विकृति विसङ्गतिलाई कविले टपक्कै टिपेर कवितामा लपक्कै टाँसेका छन् । कविले कविता सर्व स्वीकार्य हुनुपर्छ भन्ने धारणा राख्छन् र सोही भावनालाई कवितामा उतार्ने प्रयत्नरत भएको देखिन्छन् उनको कवितामा हामीले मानवता वाद देखि उपयोग वादका धारणा आएको देख्छौं । अधिकारको खोजी, समानताको चाहना, जातीय विभेदको अन्त्य, प्राकृतिक सौन्दर्य, प्रेमप्रणयका धारणा, मातृत्व र बात्सल्य, धार्मिक ब्रत, क्रान्तिले निम्त्याएको विकृति, वेरोजगारी र रोजगारीको लागि विदेश जानेका घरपरिवारमा देखिएको समस्या, नैतिकता र आचरणमा आएको ह्रास, जीवनजगत, विविध अनुभूति, राजनीति भ्रष्टता, एउटै कवितामा पनि विविध दधारणालाई समायोजनको प्रयास र सफल प्रस्तुति, रुढीवादीप्रति प्रहार, उज्यालेको खोजी, सीमा अतिक्रमणप्रति आक्रोश तथा जङ्गे पिलरको खोजी आदि कविताले व्यापक क्षेत्र ओगटेको देखिन्छ । लेखनमा कवि स्वछन्द छन् । कविताका भावलाई विविधरूपमा पनि हेर्न सकिन्छ । विषय बस्तुहरू पनि आजको विश्व परिवेशलाई कविले केलाएका छन् । कवितामा कविले दिएका सन्देशलाई आजका ज्वलन्त घटनाक्रमको उदाहरणको रूपमा पनि हेर्न सकिन्छ ।
भाषाशैली –यस कवितासङ्ग्रमा समावेश गरिएका अधिकाम्स कविता गद्यलयमा लेखिएका छन् । भाषा सरल, सहज, शिष्ट, सुललित र सलल बगेको छ । फाटफुट अङ्ग्रेजी शब्दहरूले स्थान लिएका छन् । यस सङ्ग्रहका कवितामा सिङ्गारिकदेखि विविध रसहरूको, विम्ब, उखान, आदिको स्वाद चाख्न पनि पाइन्छ ।
शीर्षकीकरण–अकीर्णआँखा प्रमाणिकशैलीमा शीर्षकको चयन गरिएको छ र अकीर्णआँखा शीर्षकलाई सार्थकरूप दिन कविले शीर्षकमात्र नभै उपशीर्षकमा समेत कविता प्रस्तुत गरेर यसको व्यापकतालाई सार्थक तुल्याएका छन् ।
अन्त्यमा, कविले आफ्नो कवित्व शक्तिको प्रदर्शन सफल र सवल रूपमा गर्न सकेका छन् । कविता मीठा छन् । यथार्थ तथा व्यवहारिक घटनाक्रमलाई कविले समाएका छन्, भावनालाई सलल बगाएका छन् । जातीय समानता राष्ट्रको सवलता, राष्ट्र राष्ट्रियता, सीमा अतिक्रमण आदिमा सचेतकको रुपमा कवि उभिएका छन् । यस्ता अनुकरणीय सङ्ग्रहणीय कृतिका कृतिकारको उज्ज्वल भविष्यको कामना गर्दै बिदा चाहन्छु ।
धन्यवाद
सदानन्द अभागी
२०७३ साल पुष १५ गते
शान्तिचोक, नवलपरासी
