Skip to content

‘बादलभित्रका कविताहरू’ कविता पुञ्जभित्र घोत्लिँदा


परिचय

यमबहादुर के.सी.को साहित्य उपनाम यमढुङ्गाना हो । उहाँ सन १९४३ सेप्टेमबर १९ (२०० आश्विन २१)मा देहरादुनमा जन्मे पनि हुर्कने र अध्ययन गर्ने काम भने नेपालमा भयो । नारायणस्थान–१, नेपाने, बागलुङका पिता श्रीकमानसिंह ढुङ्गाना र माता श्रीमती मन्दरी ढुङ्गाना के.सी.को सुपुत्र के.सी. एम.ए. वी.एल.र वी.एड.(त्रि.वि.वि.बाट) शिक्षा हाँसिल गर्नुभएको शिक्षा मन्त्रालयअन्तर गत ११ वर्ष शिक्षण पेशामा सेवा पुर्याउँदै, केन्द्रीय अनुगमन कर्ता र शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमीमा सेवा पुरुयाउँदै उप– सचिव पदबाट निवृत भरण प्राप्त गरी हाल पर्वत जिल्ला कुश्मामा बसोबास गर्दै आउनु भएको छ । देश र विदेश (भारत र वङ्गाला देश) भ्रमणबाट विविध क्षेत्रमा अनुभव बटुल्नु भएका के..सी.ले विभिन्न संस्थामा आवद्ध भएर हालको समयमा साहित्यमा रमाउनु भएको छ । जीवनका लहरहरू, (कथासङ्ग्रह), शिवगीता गद्यमा, बगैंचाका फूलहरू कविता पुञ्ज, बादल भित्रका कविताहरूकविता पुञ्ज, कालीले धौलागिरी अञ्चल पार गर्छिन् जस्ता कृतिहरूलाई बजारमा ल्याइसक्नु भएका के.सी.का आधादर्जन जति प्रकाशोन्मुख कृतिहरू पनि छन् र विभिन्न पत्रपत्रिकामा उहाँका लेख रचनाहरू पनि हामीले पढ्न पाइरहेका हुन्छ म । किशोर अवस्थाबाटै लेखन थालनी भए पनि कृतिप्रकाशन भने जागिरे जीवनबाट विश्राम लिए पछि कथाकारको रूपमा प्रथम कथाको कृति बजारमा आयो ।

कृतिको संरचना –
बादल भित्रका कविता सङ्ग्रह ४०ओटा कविताको पुञ्ज हो । यसलाई ढुङ्गाना प्रकाशन बागलुङ्ले प्रकाशन गरेको छ र मूल्य ८५ रुपियाँ राखिएको छ । भावनाका लहरहरू यस कृतिमा गद्यलयको रूपमा बगेका छन् । कविताहरू छोटा मझ्यौला र लामा गरी मिश्रितरूपमा पस्किएका छन् । आवरण सहित, ८० पृष्ठमा सिर्जित यस कृतिमा कृष्ण प्रसाद पराजुली “शिशु”को भूमिका, प्राज्ञ प्रेम छोटाको शुभेच्छा, कविको आभारीका दुईशब्द र समर्पण समेत समावेश भएका छन् ।

कविताका भावसार–
सच्चा प्रेम छ भने शीर्षकको पहिलो कवितामा कविले प्रेमलाई विविध दृष्टिकोणबाट प्रष्ट्याउने प्रयास वगर्नुभएको छ र सच्चा प्रेममा हरेक चीजमा समनता हुन्छ, आनन्दै आनन्द हुन्छ, स्वाद मिठैमीठो हुन्छ । यस्तो आनन्ददायी प्रेम पति पत्नी बीच हुनुपर्दछ अन्था जीवन तीतो हुन्छ भन्ने धारणा पस्केका छन् ।

जीवन–भोगाइ –
‘बिदा हुनु नै बेस’, ‘गयो सुख’ पाकी सक्यौ, विज्ञानको युग, मानव संसार, यस्तै रहेछ जिन्दगी, के जिन्दगी, कवितामा कविले आजको संसारमा मानवले उमेर अनुसार पाउने दुखदायी जीवनको भोगाइलाई प्रष्ट्याएका छन् ।आफ्नो शरीरलाई आफै संहारगर्न सकिदैन र अर्काको भरमा जीवन बिताउन पर्ने अवस्थामा पुग्न नपरोस् भन्ने मार्मिक धारणा पस्केकबा छन् । मानिस बुढो हुँदै जाँदा शक्ति क्षीण हुँदै जाने छोरा छो्री बुहारीबाट तिरस्किृत हुँदै जाने अवस्था अवश्य नै दुख दायी जीवन हो । जीव जन्मेपछि बालक युवा, बृद्ध हुँदै जान्छ अन्तिम अवस्था मृत्यु नै हो । यो जीवन गतिलाई सबैले भोग्नै पर्दछ । यो गतिलाई निरन्तरता दिन स्वदेशमा नभई रोजगारीको लागि विदेश जानु पर्छ । घरको सारा अभिभारा बुहारीले गर्नु पर्दछ । यस अवस्थामा विधवा सासूलाईभन्दा विधुर ससुराको दैनिकीमा एकलो पना बढ्नु स्वभाविक हुन्छ र दुखदाइ जीवन बिताउनु पर्दछ ।

आजको युग विज्ञानको युग हो । शिक्षाको युग हो । धन आर्जनको लागि व्यवसाय तथा रोजगारी चाहिन्छ तर देशले रोजगारी दिन सकेको छैन युवाहरू विदेशिएका छन् । सन्ततिको भावी जीवन उज्ज्वल पार्नको लागि पढाउनको लागि भनी बुहारी, नाति नातिनीलाई सहर राख्दा बुढाबुढी घरमा असाह्य जीवन बिताउन बाध्य छन् । मानव जीवनमा बृद्धापाले निम्त्याउने विविध खाले कष्टलाई कविले समेट्ने प्रयास गरेका छन् । कविलाई अतित को याद आउँछ र ती अविस्मरणीय दिनको प्रतिक्षा गरेर पुःन र्फकने सम्भावना छैन भन्ने धारणामा पुग्दछन् कवि । आजको शिक्षामा कवि सन्तोष छैनन् । शिक्षाले त मानिसलाई अनुशासित बनाउँछ आफ्ना वंशजलाई (रगतलाई ) सम्मान गर्छ तर त्यो त ह्रास हुन गएको छ । कविले धर्मगुरुबाट भेदभावरहित (छुवाछुतमुक्त) मानवतावादी, प्रवचनमात्र हैन व्यवहारिक ज्ञान दिएर समतावादी समाजको चाहना राख्दछन् । राजनेताबाट समाजवाद, साम्यवाद, पूजीवाद, राष्ट्रवाद आदि जेवाद ल्याउन चाहे पनि वास्तवमा नेपालमा नेपालवाद को आवश्यक्ता छ जस्ले देश सार्वभौमिक बन्न सकोस् र जनताले राहतको महसुस गरुन् र नेताले भुँडी भरेको महसुस् नहोस् ।

मानिसको सबैभन्दा नजिकको आफन्त को हो भन्ने धारणामा कविले जीवन साथीलाई र आफ्नै आत्मालाई लिएका छन् । अरू सबै बालक कालका खेल्दाका साथी हुन् । बालककालमा जेजति कष्ट भोगेर हुर्काए पनि जवान भए पछि जवानीले मातापितालाई भूलाउँछ । हुनत संसारमा एक्लै आयो एक्लै जानु छ, सबै चीज छोडिन्छ तर पाप र पूण्यमात्र साथमा जान्छ ।

माताप्रतिको कविको धारणा–
आमा शब्द नै गहन, प्रिय, आदरणीय, पूज्यनीय हुन्छ । आफ्नी आमासँग केही सेवा पुर्याउन, आमालाई हसाउन नसकेकोमा कवि चिन्तित छन् र आमालाई सुख दिन नसकेकोमा क्षमा माग्दछन् । देशमा देखा परेको द्वन्द्वमा कविले आफ्नै दाजुभाइ लडेकोमा आमालाई शान्ति दिन आउने आग्रह गर्दछन् ।

कवितामा विविधता –कविले विविध पक्षलाई समाएर कविता लेखेका छन् ।

‘अब मतिर नहेर’मा मानिसको जवानी ढल्दै जाँदा रूप र लालिमाले पनि छाड्दै जाने र हेर्न लायक नरहने धारणा, लक्ष्मी पूजामा लक्ष्मीको पूजा हुनु पर्ने नभएकोमा क्षमा याचना, मेरो नजिक नआऊ भन्ने कवितामा नजिक हुनको लागि पूर्ण विश्वास हुनुपर्ने, जन्मदैदेखि सिकेको पाठ परिवर्तन हुन कठीन हुने, कसैको चाहना पूर्ति गर्न नसकिने, ‘सहारा विहीन’मा कविले उज्यालो र आशाको खोजी निराशालाई त्याग्नु पर्ने धारणा राख्छन्, ‘उपचार’मा कवि पत्थिरीको अप्रेशन गर्ने या नगर्ने दुविधामा देखिन्छन्, ‘गर धर्म’मा कविले धन आर्जन गरेर धर्म गर्नु पर्ने धारणा राखेका र ठगवृत्तिलाई छाड्न पर्ने तर आजको जमानामा ठग प्रवृत्तिले नै प्रोत्साहन पाएको, नेपालमा नेपाली भाषा नै बोलिन पर्ने, र आष्ट्रीयता दह्रो हुनुपर्ने धारणा, मन्दिरको नजिक बस्ने नन्दीको सेतो राम्रो रूपको बर्णनको साथै नन्दीमा विश्वास लागेको धारण लगायत कविले विविध शीर्षकमा आफ्ना भावना बगाएका छन् ।

भाषाशैली –
भाषा अति सरल छ । साधरणभन्दा साधारण पाठकले कविताको मर्म बुझ्न सक्छन् । कवितामा गति यति र अनुप्रास मिलेको देखिन्छ । रसपूर्ण प्रस्तुतिले कृतिमा मिठास भरिएको छ ।

कविले आफ्ना धारणालाई सहज रूपमा पस्केका कवितामा हामीले यथार्थ जीवनका विविध भोगाइलाई आत्मसात गरेको पाउँदछौं । राष्ट्र, राष्ट्रियता र नेपाली भाषाप्रतिको कविको धारणा उच्च भएको देखिन्छ यस्ता धारणा लिएर कवितामा रमाउने कविको दीर्घआयु र सुस्वास्थको कामना गर्दै बिदा चाहन्छु ।

धन्यवाद
कावासोती न.पा.–७, शान्तिचोक, नवलपरासी
२०७३ पौष २७ गते,

Leave a Reply

Your email address will not be published. Required fields are marked *