Skip to content


आज म मेरो सेरोफेरोको कुरा गर्छु
म मेरै कुरा गर्छु
गाउँ अनि बस्तीको कुरा गर्छु
जनयुद्धका सुराहरूको कुरा गर्छु
ती गरिब मानवको हकहितको कुरा गर्छु
दुई शब्द उठेर कुरा गर्छु
तर …..म आफैं
परिवाजन र आफन्तहरूले
अलिपर पन्छाएका छन्
म आफू आफ्नै आँसुमा बगेको छु
निरन्तर…. …..निरन्तर
अब कठोर र अडिग रहनेछु
आत्मा चिरेर संसार देखाउनेछु
निडर र निर्ममतापूर्वक हत्या गरेको
मेरो विचार उत्थानको कुरा गर्छु
महिनौंसम्म गोरेटोमा भारी बोकी पैदल हिँड्ने
भरियाहरूको कुरा गर्छु
देश चलाउने साशकहरूले
जनताको आँखामा पट्टी बाँधेको कुरा गर्छु
टहरा र बस्तीहरूमा वैचारिक दियो बाल्नेछु
मेरो बस्ती जगमगाउनलाई अनि मगमगाउनलाई
अब म युवा शक्ति बेचिएको कुरा गर्छु
उज्वल देशको भविष्य निर्माण गर्नुपर्नेमा
सस्तो श्रम शोषण गराएर
विदेशी भूमि चम्काएका छन्
कसै-कसैले आफ्नो जिन्दगी
एक्सिडेन्ट र हृदयाघातले थन्काएका छन्
तर….म मेरै जीवित शरीरको कुरा गर्छु
मलाई लुछाचुँडी गरेका छन्
हरेक पल मानसिक तनावमा
म मेरो मूर्तिको कुरा गर्छु
समाज र देशको कुरा गर्छु
आज हिमाल, पहाड र तराईको कुरा गर्छु
एउटा सिंगो नेपाललाई
बाइसी-चौबीसे राज्य बनाउन खोज्नेको कुरा गर्छु
कहाँ गए मुक्तिका आवाजहरू
सहकार्य समायोजनको कुरा गर्छु
जनताको शासनको कुरा गर्छु
म मेरो जिन्दगीलाई
समाजवादमा बदलेको कुरा गर्छु ।

– ताप्लेजुङ, हाल ः दोहा,कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *