जालीसँग पिरतीको खेल खेल्दिन अब
आफ्नो आत्मा मारेर सजाय झेल्दिन अब
ढुङ्गालाई झम्टेर रुनेछु बरु म अब सानी
तर तिमीलाई यो अंगालोमा जेल्दिन अब
गोरस खाने रहर हुन्छ सबैलाई, तिर्खामा
बालुवा सगालेर मशिनमा पेल्दिन अब
समुद्रको छालसंङ डर लाग्दैन त्यति मलाई
जानीजानी यो ज्यान खहरेमा हेल्दिन अब
अफ्ट्यारो थियो असहज थियो यात्रा हाम्रो
छोडेर जाने निष्ठुरीको बाटो छेल्दिन अब
