Skip to content

मेरो अस्तित्व देशको मुटु


फेरेर जीवनको काँचुली
ढुङगै ढुङगा,काँडै काँडाहरूसँग लड्दै
अग्ला अग्ला पहाडहरू नाघ्दै
म पुग्नु छ त्यो ठाँऊ जसरी नि
झुन्ड्याएर आफ्नै हत्केलामा एक मुठी स्वास
फिर्ता ल्याउनुछ हराएको मेरो देशको एकथान मुटु
त्यही मुटु भित्रै जोड्नु छ मेरो आफ्नै अस्तित्व
किनकि म
त्यहाँ म सुरक्षित हुनेछु
देख्ने छैनन् कृष्णहरूले मेरो यौवन
हेर्ने छैनन् इन्द्रहरूले मेरो स्वरुप
जोडिएको देशको मुटु संगसँगै
मेरो अस्तित्व बचाउनुछ ।

अनि
हावाको गतिमा बयलिदै
आँधी र भेरीसँग लुटपुटिदै
तयार पार्नुछ नरपिपासुहरूको चिहान
मुखबाट निकालेर ज्वालामुखीका रापहरू
त्यही रापमै डढाउनुछ,विध्वंस पार्नुछ
देश चिथोर्ने,मेरो अस्तित्व बिथोल्ने
दानवहरूको तपस्या
दक्षप्रजापतिहरूको यज्ञ ।

फेरि
बोकेर आफ्नै अस्तित्व र देशको मुटु
फर्केर उही ठाँऊमा फुलाउनुछ सुन्दर भबिष्यका विजहरू ।

दीपा धिताल

Leave a Reply

Your email address will not be published. Required fields are marked *