Skip to content


घरअगाडिको चेरीको रुखबाट झर्ने प्रत्येक पातहरूले मृत्युको सूचना दिइरहेका छन् । बोटमा रहेका गाढा हरिया पातहरूले जीवनको सूचना दिइरहेजस्तो पँहेला पातहरूले मृत्युको सूचना बोलिरहेका छन् । प्राचीनकालमा पँहेला पातको रङ हेरेर सन्यासीहरूले, सन्त तथा बुद्धपुरुषहरूले आफ्नो गाउन तथा चिवरको रङ छनौट गरेका कुरा कतै पढेको छु । जीवनबाट हरियो रङ बिदा भएर पँहेलिनु भनेको मृत्युको सूचना हो । यसरी पँहेलिएर झरेको पातले पनि मृत्युकै गहन सूचना दिइरहेको छ । त्यसै लाउत्सु महोदयलाई सुकेर हावामा उडिरहेको पातले बोधिसत्वको झलक दिएको थियो र ?

झरेको पातले मात्र होइन कोठेबारीको बूढो गोलभेँडाको बोटले पनि बूढ्यौली र मृत्युको सूचना दिइरहेको छ । दिनदिनै कोठेबारीको गोलभेँडाको बूढोबोटलाई हेर्छु, त्यो बहुत नाजुक अवस्थामा छ । चीसो शीतले कक्रिएको छ । हिजोसम्म योबोट कति लहलह थियो । आँख्लैपिच्छे बोटले थेग्नै नसक्ने गरी दाना उमार्थ्यो तर अहिले हिजोको परिपुष्ट डाँठपनि सुक्तै गएको छ । पातबाट जीवनको चमक खुइलिसकेको छ । पातमात्र होइन डाँठपनि बूढो हुँदै गएको छ । निकै दिन भो फुल्न छोडेको, निकै दिन भयो दाना लाउन छाडेको । गोलभेँडाको बूढो बोटले पनि बूढ््यौली र मृत्युको सूचना प्रवाहित गरिरहेको छ, खोई हाम्रो संवेदनशील मुटु ? जसबाट हामी जीवनको सत्यतालाई, जीवनको अनित्यतालाई भित्रैबाट बोध गर्न सकौँ ।

छिमेकी दाइको घरआँगनमा लम्पसार बुढो कुकुरको दयनीय स्थितिले पनि मृत्युको सन्देश फिँजारिरहेको छ । हिजोसम्म यो कुकुर रातरातभर अखण्ड आवाजमा भुक्थ्यो । छेपारोले समेत छिसिक्क गर्नु हुन्नथ्यो । अहोरात्र चनाखो भएर झम्टेर दगुर्थ्यो । गाउँको रखुवारी गर्नलाई मानौँ यसलाई एकलौटी ठेक्का मिलेको छ । अहिले यसको शरीरपनि खुइलिँदै गएको छ । जीवनको रङपनि फिक्का र मधुरो हुँदै गएको छ । पहिले पहिले दस घर चहारेर खाना खान्थ्यो । कुन घरमा कतिबेला खाना खान्छन्, त्यो कुरा यसलाई ठीकठिक हेक्का रहन्थ्यो । प्रत्येक घरको गाँस बटुल्न भ्याउँथ्यो तर अहिले छरछिमेकका घरमा त के आफ्नै घरको मालिकले दया गरेर दिएको एकगाँस भात टिप्नपनि अल्छी मान्छ । दिनदिनै शिथिल, क्लान्त र रुग्ण बन्दै गएको कुकुरलाई देखेर मान्छेहरू भन्छन्, होइन त्यस्तो तगडा कुकुर त मर्न पो लागेछ त ? बूढो कुकुरको दयनीय अवस्थाको विषयमा सोचिरहेको बेलामा मिलनचोकतिरबाट आएको एकोहोरो शङ्खको आवाजले मृत्युचिन्तनलाई अरु गहिराइमा उतार्छ । यो शङ्खको आवाजले अरुको होइन आफ्नै मृत्युको आवाज फिँजाइरहेको प्रतीति हुन्छ । अरुको मृत्युको आवाज ठानेर हामी ढुक्क त हुन्छौँ तर त्यसले प्रकारान्तरले हाम्रै मृत्युको सन्देश अनुगुञ्जन गरिरहेको छ ।

पोहोर सालसम्म मेरा दारी र केश पूराका पूरा काला थिए । यसपालिबाट दारी फाट्टफुट्ट फुल्न थालेका छन् । यी फुलेका दारीले पनि आफ्नै मृत्युको सङ्केत गरिरहेका छन् । सानासाना चिजले मृत्युको सूचना दिन थालेका छन् आजभोलि । सानासाना घटना र सन्दर्भहरूमा मृत्युको गहन आभास थाहा पाउन थालेको छु आजभोलि । प्रतिदिन आफू थोपा थोपा मर्दै आएको आभास भैरहेछ । प्रतिदिनको कुरा के हामी पलपलमा मरिरहेका छौँ । सेकेण्ड सेकेण्डमा मरिरहेका छौँ । घण्टा घण्टामा मरिरहेका छौँ । वरिपरि चारैतिर हामी जीवनको सत्तामात्र देख्छौँ । त्यसैले त पलपलको मृत्युलाई देख्न सकेका छैनौँ । आफ्नै शरीरमा घटित मृत्युका रुपहरूलाई छाम्न सकेका छैनौँ । बाँच्नेमात्र लालसामा एकोहोरो हुँदैजाँदा मृत्युकला भूलिरहेका छौँ ।

जीवनको सत्ता जुन ठाउँमा उभिएको छ । मृत्युको सत्तापनि त्यहीँबाट शुरु भएको छ । अर्थात् हरेक जीवनको पाटोमा मृत्युसत्ता उभिएको हुन्छ । एउटा रुख जमिनको बाहिरी सतहबाट आकाशतिर उभिन शुरु गर्छ । रुखको टुप्पो दिनदिनै लहरिँदै जाँदा आकाशतिरको यात्रा शुरु गर्छ भने रुखको जरा त्यसको ठिक विपरित पाटोमा जमिनमुनि घुस्रिँदै जान्छ । यसरी जीवन बाहिर बाहिर लहरिने, झ्याँगिने, फैलिने, फुक्ने, टुसाउने, कोपिलाउने, फल्ने, फुल्ने चिज हो भने मृत्यु जराजस्तै अन्तरगर्भमा लुकेर बस्ने चिज हो । जीवनको सत्ता बाहिर बाहिर सतहमा आरेखित छ भने मृत्युको सत्ताभित्र जरामा खाँदिएर रहेको हुन्छ । जुन दिन मृत्युले भित्री जरालाई धक्का दिन्छ, बाहिरी शरीरलाई चाहिने मलजल र पोषणको आपूर्ति गर्न अवरोध हाल्छ, त्यो दिनदेखि जीवनका पातहरू पँहेलिन थाल्छन् । जीवनको मधुर हरियाली ओइलाउन थाल्छ ।

जीवनसितै गाँसिएर, जीवनकै धागोमा उनीएर मृत्युले आफू आउनुको आभास बाँडिरहेको बेलामा म आजभोलि जीवनसत्तालाईभन्दा बढी मृत्युसत्तालाई छामिरहेको छु । किनभने भर्खरै ओखती किन्न गएको मान्छे आफैँ बाटोमा लडिमर्यो । मृत्युलाई अलिपर पन्छाउन ओखती किन्न गएथ्यो तर ऊ बाटामै मर्यो । ओखती एकातिर छरपस्ट छ, ऊ अर्कोतिर निर्जीव लडिरहेछ । जीवनको सत्ता कति क्षणभङ्कुर, कति खोक्रो, कति बनावटी ? मृत्युको सत्ता कति खँदिलो, कति दरिलो भरिलो ? अस्ति भर्खरै भान्जीलाई उपचार गराउन लाहान पुगेको थिएँ । जुन डाक्टरसित जँचाउनु थियो, तिनै डाक्टर ज्ञानेन्द्र अधिकारी त्यसैदिन मरेका रहेछन् । बाँच्ने आशामा थुप्रै बिरामीहरू उनलाई ताकेर त्यहाँ पुगेका थिए तर उल्टै ऊ आफू देह छोडेर नफर्किने ठाउँतिर प्रस्थान गरिसकेका थिए । जीवन कति विसङ्गत छ ? यी दिनदिनैका घटना परिघटनाले मलाई मृत्युको अजम्मरी सत्ताको नजिक डोर्याइरहेका छन् ।

ओखती किन्न गएको मानिस बाटोमा अडिमर्नु, अलाई उपचार गर्ने डाक्टर आफैँ मर्नुका दृश्यले मृत्युका चरम रुपहरू हेरिरहेको छु । यी दृश्यले सबैभन्दा शक्तिशाली चिज त मृत्यु पो रहेछ भन्ने कुरालाई बल पुर्याइरहेका छन् । अँझ मृत्यु हेर्न म किन टाढा जाऊँ ? आफ्नै चाउरी परेको गालामा मृत्यु खोपिएको छ । यी अनुहारमा कोरिँदै गरेका चाउरी धर्साहरू आसन्न मृत्युको छिनोबाट खोपिएका चोटहरू होइनन् र ? मृत्युछिनोले जीवन चर्काउँदै लगेको जीवन्त प्रमाण होइनन् र ? आँखाको तरोताज रोशनी चाटेर मृत्यु आफैँभित्र घटित भैरहेछ ।

कपालको केशललाई टुप्पीबाट मेलैसित धानको ब्याड उखेले जस्तो मृत्युले उखेलिरहेछ । मृत्युले मेरो केश लगेर कतै रोपाइँ गर्छ क्यारे । नउखलिएको ब्याडमा तुसारो खसाएर काम नलाग्ने बनाउँछ । बोसोवाला मासु पच्न छोडेको छ, एक चम्चा घिउ भातमा हालेर खायो भने कब्जियत हुन्छ, सायद पेटमा पनि घुसिसक्यो क्यारे मृत्यु ! अब अलिबारमा दाँत फुक्लेला, पुष्टा छाला झोलिंदै जाला, कानको श्रवणयन्त्रले काम नगर्ला, हिँड्ने हुती हराउला, आँगन परदेश होला ……….. अनि यस्तै होला पछि म बह्मनाल तकिया बनाउने अवस्थामा पुगुँला, यो कुरा निश्चित छ । तर जीवनका अरु कुरा सबै अनिश्चित छन् तर अनिश्चित कुराको मोहमा हामी लिप्त छौँ । मृत्युका आवाजलाई कान दिने कहिले होला ? मृत्यपदलाई मान दिने कहिले होला ? सोचमग्न छु ।

1 thought on “मृत्युको सूचना”

Leave a Reply to nandalal.acharya Cancel reply

Your email address will not be published. Required fields are marked *