सत्ता भोग्ने वसिबसि यहाँ दुख्ख दिन्थे जनामा ।
पैसा प्यारो निरिह जनता वोझ ठान्दै कुनामा ।।
आफ्नै भाँडो भरिकन छिटो मोज गर्ने विचारी ।
गर्थे खाली लुटिकन लिने राज्यका श्रोत भारी ।।
वोल्दा कोही बनिनु खल झैं सोच सत्ता लिएका ।
वोल्ने खोजी निशिदिन यहाँ मार्न सक्थे जिएका ।।
पारौं राम्रो मुलुक सब यो सोच राख्दै नराखी ।
लुछ्थे माटो शठहरु मिली कत्ति बाँकी नछाडी ।।
तानाशाही विकट समयै बोल्न सर्दा अगाडि ।
आस्था पाल्ने नव मुलुकको सोच राखी पछाडि ।।
प्यारो मानी मुटुसरि धरा राष्ट्र बन्ला विचार्ने ।
लाग्यौ प्यारा वुझिकन यही राज्य बन्ने सपार्ने ।।
प्यारो हुन्छन् जुन सबमहाँ ज्यान त्यै अर्पिएका ।
हाँस्दै हाँस्दै वलि हुन पुगे प्राण आफ्ना दिएका ।।
म्रा सोही शहिद जनमा ढोग्छु सम्झेर नाम ।
आऊ जन्मी यहि भुवनमा खान हाम्रो सलाम ।।
वाँकी स्वार्थीहरु दिनदिनै स्वार्थ पालीरहन्छन् ।
घाती होला जब मुलुककै राज्य भाग्दै वहन्छन् ।।
देख्दा चाला अझ पनि यहाँ हुन्न केही सुरक्षा ।
लागी हामी शहिद सपना पूर्ण पारौं सदिक्षा ।।
भोली माटो अहित हुन गो गर्छु रक्षा भनौं म ।
अर्पी काया शहिद हुनुमा गर्व गर्ने बनौं म ।।
पर्दा भोली रगत म दिऊँ राष्ट्रमा मर्न पाऊँ ।
प्यारो हाम्रा शहिद सपना भित्र हामी रमाऊँ ।।
छन्दः मन्दाक्रान्ता ।
मात्राः २२२ २११ १११ २२१ २२१ २२ गणः म भ न त त गु गु
४ र १० अक्षरमा छोटो विश्राम । जम्मा सत्र अक्षर ।
चूडा निर्भीक
