आजभोलि कतिपय मान्छेका कुराहरूलाई चाल्नो लगाएर सुन्न थालेको छु । चाल्नो नलगाई सुन्दाखेरि आफ्नो अन्तःप्रदेशमा झ्यासपत्कर छिर्ने संभावना प्रवल भएर गएको छ । खास गरी राजनीतिक वृत्तका बकमफुसे नेताका कुरालाई चाल्नो लाएर सुन्नु परेको छ । बोल्नेले सयकडा असीपचासी प्रतिशत कुराहरू भुस बोलेपछि चामलका गेडा खोज्न चाल्नी लगाउनैपर्ने बाध्यता आएको छ ।
कुरामा चाल्नो लाउने कुराले तपाईंलाई निश्चय नै अचम्म पारेको होला । जानेर या नजानेर तपाईंले पनि कतिपय मान्छेका कुरामा चाल्नो लाएर सुन्ने गर्नुभएको होला । आजका प्रत्येक सच्चा श्रावकले कुरामा चाल्नो लगाउनु कलामा आफूलाई पारंगत बानाउनु नै छ । तपाईं सोच्नुहोला, नाथे कुरामा कसरी चाल्नो लगाउने होला ? तर कुरामा मजाले चाल्नो लगाउन सकिन्छ । चाल्नोले कुरा चालिएन भने कतिपय मान्छेका शब्दका पगटा र भुस दिमागमा थुप्रिने खतरा हुन्छ । कुरामा चाल्नो लगाउनु भनेको सारतत्व ग्रहण गरेर अनावशयक विकार तत्व फ्याँकिदिने हो ।
चाल्नो या चाल्नी अक्सर घरायसी खाद्यपदार्थ या अन्नाज चाल्नको लागि प्रयोग गरिन्छ । चाल्नुपर्ने चिजविजको प्रकृति अनुसार विविध खाल्का चाल्नो, चाल्नीहरू प्रयोगमा आएका छन् । मैले पिठो चाल्ने, कोदो चाल्ने, भुस चाल्ने, गिटी बालुवा चाल्ने बिविध बान्कीका चाल्नो चाल्नीहरू देखेको छु । चाल्नोले मिहीन सूक्ष्म चिजलाई अनावश्यक झ्यासपत्कर र भुसबाट अलग गरिदिन्छ । अथवा यसले आवश्यक मसिनो चिजलाई एकातिर छ्ट्याइदिन्छ भने खस्रो र मोटो चिजलाई चाल्नो मै थिग्य्राइदिन्छ । चाल्नोले अनावश्यक बस्तुको डंगुरबाट आवश्यक बस्तुलाई एकातिर छुट्याइदिन्छ ।
बस्तु चाल्ने चाल्नो जस्तै कुरा चाल्ने चाल्नोका आफ्नै विशेषताहरू छन् । यसले मान्छेको मुखबाट खसेका अनावश्यक झ्यासपत्कर कुरालाई एकातिर थुपारेर आवश्यक कुरामात्र केलाएर मस्तिष्कमा घुसारिदिन्छ । टि.भी. को पर्दामा बोलिरहेका नेताका कुरालाई चाल्नो लगाएर सुन्छु म । उनीहरूका मुखारवाणीबाट यति धेरै भुस कुरा निस्किरहेको हुन्छ । जसमा चाल्नो लगाउँदा मुस्किलले एक छुस्की कनिका निस्किन्छ । भुस कुरामा चाल्नो नलगाई सुन्ने हो भने आफ्नो दिमाग पनि भुसको विकृत डङ्गुरले थिचिने हो कि भन्ने डर लाग्छ । सयकडा उनान्सय प्रतिशत झुट, पाखण्ड र आडम्वरी कुरा गरी बाँचेका नेता, पार्टी र तिनका कार्यकर्ताको वाणीमा चाल्नो लगाउने कला जानिएन भने आफूपनि विवेकहीन गुलाम हुइने हो कि भन्ने डर लाग्छ । विवकेको चाल्नोले प्रत्येक मान्छेका कुरामा सारयुक्त चिज र सारहीन चिजलाई छुट्याउन सकिएन भने जाग्रत मनुष्यको कोटिबाट अन्धतलमा गिरिने हो भन्ने डर लाग्छ ।
नेता पार्टीले त घोषित या अघोषित रुपमा ढाँट्तै आएका छन् । वर्तमानमा पनि ढाँटिरहेका छन् । भोलिका दिनमा पनि यिनले ढाँट्छन् नै, यसमा दुई मतै छ्र । गाउँघरमा, घरसारका कुरामा, बरव्यवहारमा ढाँट कुरा गर्ने अनेकन पात्रपात्रीहरू हाम्रोसामु बग्रेल्ती छन् । कसैलाई ढाँट्ने कला अस्तित्वले कति मजाले दिएको हुन्छ । घरी घरी त्यो कलाप्रति लोभ जागेर आउँछ । ढाँट्ने कलामा पारंगत मान्छेले घटनालाई, विषयवस्तुलाई, समस्यालाई र यथार्थलाई यसरी तोडमोड पारिदिन्छ या रङ्गिन फुलकट्टा यसरी जडी दिन्छ । होइन कुरालाई पनि हो पारिदिन्छ । यथार्थलाई पनि दुरुस्तै बनाइदिन्छ । ढाँट कलालाई एककिसिमले सिर्जनाकै आयामबाट हेर्न थालेको छु । उध्रेका, च्यातिएका, फाटेका कुरामा मिहिन ढंगले रफ्फू भरेर त्यसलाई साँच्चै हो पार्न सक्नु सानो कला हो ? यो सानो सिर्जनशीलता होइन ।
ढाँट्न सिपालु मान्छेलाई मैले कुशल सूचिकारको कोटिभित्र राखेको छु । सूचिकारले च्यातिएको वा प्वाल परेको कपडालाई जति मिहिन रुपमा रफ्फू भरेर त्यसलाई मर्मत गरिदिन्छ । चुहुने र प्वाल परेका कुरामा रफ्फू भर्न सिपालु बातवीरले कहाँनिर कुरा च्यातिएको थियो, त्यसको नामोनिशाना नै नराखीकन कुराको रफ्फू भरेर त्यसलाई मर्मत गरिदिन्छ ।
एकचोटि एउटा राजाको दरवारमा एक बेरोजगार मानिस काम खोज्दै आयो अरे । राजालाई स्वस्ती प्रणाम गरेर आफू बेरोजगार भएको दुखेसो पोख्यो । दरबारमा केही काम पाइन्छ कि याचना गर्यो । राजाले सोधे, तिमीसित के के सीप छ ? कुन कुन काम गर्न आउँछ ? उसले आफू लुगामा रफ्फू लाउन जान्ने मान्छे बतायो । राजाको दरबारमा लुगा सिउने, लुगामा रफ्फू भर्ने मान्छेको कुनै खाँचो थिएन । त्यसलाई भनिदिए, यहाँ त एक से एक रफ्फू भर्न सिपालु सूचिकारहरू छन् । तिम्रो यहाँ कुनै कामै छैन । राजाको कुराले थोरै निराश भयो ऊ । रोजगारीको आशले दरबार गएको थियो । फेरि उसले राजालाई आफूसित अर्को सीप पनि भएको कुरा जाहेर गर्यो –महाराज ! म लुगामा मात्र होइन, कुरामा पनि रफ्फू लाउन जान्दछु । उसको कुराले राजाको ध्यानाकर्षण भयो ।
राजालाई लाग्यो, यस्तो सीप भएको मान्छे त दरवारलाई चाहिन्छ । कहिले काहीँ लुगा फाटेझैँ कुरापनि फाट्लान्, च्यातिएलान् त्यस्तो बेलामा यस्तो सीपको प्रयोग हुनसक्छ भन्ने ठानेर उसलाई दरबारमा नोकरी दिइयो । यसको कामचाहिँ राजाले बिगारेका कुरामा रफ्फू लाउनुपर्ने गरी उसलाई नियुक्ति दिइयो ।
राजा स्वयम्मा बातवीर थियो । कुरा गर्दै जाँदा कुराका प्रसंग कहाँनिर बिग्य्रो केही थाहा पाउँदैनथ्यो । एकदिनको कुरा हो, राजा मन्त्रीहरूको सभामा आफूले गरेको शिकारको वर्णन गरिहेका थिए । ………..मैले त्यो सिंहलाई यसरी मारेँ । मलाई झम्टेर आएको त्यस सिंहलाई पहिलो गोली हानेँ, त्यो अगाडिको देब्रे खुट्टामा लाग्यो । फेरि त्यो गोली दाहिने कानमा लाग्यो । त्यसपछि देब्रेकान प्वाल पारेर निस्केर गयो । राजाले सिंह मारेको कुरा मन्त्रीहरूले पत्याएनन् । तुरुन्तै प्रतिक्रिया जनाए । यो कुरा अलिक पत्यार लाग्दो भएन महाराज ! हजुरले सिंह मार्नुभयो, कुरा ठिकै हो । तर कसरी एउटा गोली दाहिने खुट्टामा लागेपछि देब्रे कानमा लाग्छ । फेरि दाहिने कानमा लाग्छ । दाहिने कानबाट रगत बग्छ । यसमा त हामीलाई शंका नै छ । सबैले आफ्नो कुरालाई अविश्वास गरेपछि राजा झसँग बन्यो । साँच्चै नै आफैंले कुरा विगारेको बोध भयो । अनि हत्त न पत्त कुरामा रफ्फू मार्ने मान्छेलाई बोलाइयो । राजाले भ्वाङ पारेका कुरामा रफ्फू भर्न लगाइयो । नभन्दै उसले यसरी कुरालाई सपारिदियो अरे – महाराजले ठीकै कुरा त गर्नुभएको छ नि । तपाईंहरूले पो नबुझ्नुभएको हो त । महाराजले गोली हान्नेबेलामा सिंह अगाडिको दाहिने खुट्टाको पंजाले देब्रे कान कन्याउँदै थियो । सोही बेला गोली गएर पहिले दाहिने खुट्टाको पंजा छेड्यो, त्यसपछि देब्रे कान छेड्यो र दाहिने कानबाट गोली निस्केर सिंह भुतुक्कै भयो । यसको कुराले सबै मन्त्रीगणको शंका निवारण भयो । साँच्चै नै दाहिने खुट्टाले देब्रे कान कन्याएको बेला गोली लागेको रहेछ भन्ने कुरामा पत्यार भयो ।
हाम्रो समाजमा पनि कलात्मक ढंगले कु्रामा रफ्फू भर्ने मान्छेको खाँचो छैन र रफ्फू भर्दा कोही चाहिँ सिउनी धागो प्रष्ट देखाएर रफ्फू भर्छन् । कोही चाहिँ धागो लुकाएर रफ्फू भर्न खोज्छन् । कुरामा रफ्फू लाउनु पनि ढाँट्न नै हो । खाली फरक के छ भने मिलाएर ढाँट्ने र नमिलाईकन ढाँट्ने कुरामा अन्तर हुन्छ ।
कतिपय मान्छेका कुरालाई केही प्रतिशत माइनस गरेर बुझ्छु कसैका कुरालाई म पचास प्रतिशत माइनस गरेर लिन्छु । कसैकालाई पचहत्तर प्रतिशत माइनस गरेर ग्रहण गर्छु । अनि कसैका कुरालाई नब्बेदेखि पन्चानब्बे प्रतिशत माइनस गरेर बुझ्छु । यसरी चाहे थोरै प्रतिशत होस् या धेरै प्रतिशत होस् गरेका कुरालाई प्रतिशतमा कटौती गरेर या माइनस गरेर बुझ्नु भनेकै कुरामा चाल्नो लाउनु हो । मेरा एकजना छिमेकी काका थिए । उहिले हामीसँगै थियौँ । अहिले परिस्थितिले हामी अलग अलग गाउँमा छौँ । उनले गफ दिन थालेपछि सबैमान्छे नतमस्तक भएर सुन्थे । उनका कुराले क्षणिक मनोरञ्जन त काफी हुन्थ्यो । तर हरेक प्रसंगमा उनी चालीसदेखि असीपचासी प्रतिशत कुरा बढाइ चढाइ गरी थपेर प्रस्तुत गर्थे । उनका कुरा सुनीआउने भुक्तभोगी जो कोहीले पनि आधीभन्दा धेरै प्रतिशत माइनस गरेर बुझ्थे । यसरी कसैले गरिजति कुरालाई शतप्रतिशत पत्यार नगरी पत्यार गर्नु पर्ने ठीक्क कुरालाई पत्यार गर्नु भनेकै कुरोमा चाल्नी लाउनु हो ।
ढाँट, छल, प्रपञ्चको बिगबिगी भएको समाजमा कुरामा चाल्नो लाउनु भनेको रहरभन्दा बढी बाध्यता हो । यो बाध्यताको शिकार बन्दै गएका छौँ शनैः शनैः म, तपाईं, हामी सबै । कर्णविवरमा राखेको चाल्नो फालेर कुरा सुन्ने दिन कहिले आउला । जसका कुरामा पनि केही न केही मिसावट, केही न केही झ्यास पत्कर, केही न केही छोक्रा बोक्रा र भुस पगटा मिसिएका छन् । चाहे नेता होस्, चाहे व्यापारी बुद्धिजीवी होस्, चाहे किसान कर्मचारी होस्, चाहे प्रवचक पत्रकार होस् या जुनसुकै क्षेत्र वर्ग सम्प्रदायको अगुवा व्यक्तित्व होस् । कुरामा मिसावट हालिहाल्छ । मिसावटयुक्त कुरालाई कसरी सिधै उपयोग गर्ने । त्यसलाई त छान्नै पर्यो । जानी जानी मिसावटयुक्त कुरालाई जस्ताको तस्तै ग्रहण गर्यो भने आफ्नो स्वास्थ्यमा पनि गम्भीर असर पर्ने डर । त्यसैले हानिकारक दूषित पदार्थहरू मिसाइएका कुरा छान्नको लागि सबैले चाल्नो राख्नुपर्ने आवश्यकता छ ।
नदेखेपनि सुनेको छु; रजहाँसले पानीमा मिसाएको दूध पानीबाट अलग पारेर पिइदिन्छ अरे । ऊ भित्र पनि दूध र पानी छुट्याउने चाल्नी हुँदो हो । हाँसमा त त्यस्तो चाल्नी छ भने हामी त विवेकरुपी प्रज्ञारुपी चाल्नो बोकेर जन्मेका प्राणी हौँ । त्यो विवेकरुपी चाल्नोबाट प्रत्येक मान्छेका प्रत्येक शब्दलाई चाल्नोमा एकचोटि केलाएर सुन्नु जाति हो । प्रज्ञारुपी चाल्नोलाई प्रयोग गरिएन भने चाल्नोका प्वालहरू थुनिने टालिने खतरा हुन्छ । त्यसैले तपाई जति बढी चाल्नोको प्रयोग गर्नुहुन्छ, विवेक शक्ति त्यति नै मजबुत रहन्छ । रजहाँसले जीव्रोमा चाल्नी लाए झैँ आउनुस्, तपाईं पनि आफ्ना कर्णविवरमा विवेकको चाल्नो जडेर हजारौँ मान्छेका कुराहरू चालीचाली सुन्नुस् ।
२०७०/०३/११
