Skip to content


मलाई कहिलेकाहीँ अपूर्वको तिलस्मी भावले छुन्छ । त्योघडी म अर्कै मान्छे हुन्छु । मेरो मनमा अभाव भन्ने वस्तु हुन्न, म भावैभावको तरल प्रवाहमा पौडेको हुन्छु । यसरी तिलस्मीभावले गाँजेको बेला म अकारण आनन्दमा लठ्ठिएको हुन्छु । त्योक्षणमा आनन्दित हुन मलाई कुनै विषय, बाहना र वस्तुको दरकार पर्दैन । भित्रबाट अप्रतिम आनन्दको तुमूलधुन मडारिएर आउँछ । सायद बुद्धभित्रको अखण्ड बोधिसत्व यस्तै रुपको होला । यस्तै आकार र अनुभूतिमा सीमाहीन भएर फैलिएको थियो होला ।

तिलस्मीभावले छुँदा मेरो मानसपटका अल्फाविटा रस बिदा हुँदा हुन्, मेरो संवेदनयन्त्रलाई डेल्टा थिटा रसले चारैतिरबाट भिजाँउदो हो । मभित्र तिलस्मी भाव चढेको बेलामा आफूभन्दा अमूल्य चिज अर्को देख्तिनँ । मलाई यति राम्रो जीवन मिलेको छ, यही नै चानचुने प्राप्ति हो ? मैले कम बहुमूल्य चिज पाएको छु भनेर धनका वस्तुभन्दा शब्दका विचार ठूला देख्न थाल्छु । सुखको सकारण सत्ताभन्दा अकारण आनन्दमा रमाउनु उचित ठान्छु । त्योघडी खरबपति विल्गेटको महलपनि तुच्छतुच्छ बनिदिन्छ । हिरामोतीका डल्लाहरू ढुङ्गा बनिदिन्छन् ।

शक्तिको हिसाबले म विश्वशक्ति सम्राट बाराक ओवामाको सत्ताभन्दा निक्कै माथि छु भन्ने उच्चताभास मिल्छ । ऊ मेरोसामु वामपुड्क् लिलिपुट हुन्छ, म उसको अघि विशालकायको गुलिभर बन्छु । यस्तै तिलस्मीभावले जडभरतलाई छुएको हुँदो हो, डायोजनिजमा यसै भावको देऊ चढेको हुँदो हो, हाम्रै गम्भीरबहादुर थापालाई अक्सर यसै भावको भूत चढेको हुँदो हो, अलिअलि अनुभूतिले अनुमान बोल्न सक्छु । यो भावले स्वर्ण अक्षरमा नाम लेखेँ भन्नेहरूका स्वर्णाक्षरी नामहरूलाई छिनभरमै कालो अक्षरमा रुपान्तर गरिदिन्छ । देख्तादेख्तै दुनियाँका स्वर्णाक्षरी नाम कालो रङमा खुइलिन थाल्छन् ।

तिलस्मीभावले छोएका घडी म सतस्को झर्नामा रुझेको हुन्छु । त्यो घडी हृदयबाट क्रोध बिदा हुन्छ, करुणाको सागरमा तैरिएको हुन्छु । घृणाको रौँ बराबर भाग म भित्र विद्यमान हुन्न । त्यहाँ त प्रेमजलको सिञ्चनले मलाई चीसो बनाएको हुन्छ । त्यो घडी म क्षणिक कालको निम्ति सानो सानो बुद्ध बनेको हुन्छु । मभित्रको आटव्य मरुभूमिमा मरुद्यान लहलहाउँछ । मभित्रको उन्यू बुट्यानमा रातकी रानी फुल्छिन् । र सुगन्धको राज खुलाउँछिन् । मभित्रको चट्टानी पहाडहरू नौनी बनेर पग्लिन थाल्छन् । म भित्रको कामी मान्छे विश्वासै नलाग्ने गरी निष्कामी बन्छ । मनवनको जर्जर अनि शुष्क उजाड पाटोमा अनन्त हरियालीका मुजुरा उठ्छन । हुच्चिल नबास्ने अँध्यारो झाडीमा कोइलीका पञ्चमवेदहरू सुनिन थाल्छन् ।

तर पलभरमा हराउने यो तिलस्मीभाव मेरो मनको आँगनमा सधैँभरि डेराडण्डा हालेर बस्तैन । बिहानीका शितका थोपा बिलाए जस्तो क्षणभरमै बिलाई जान्छ यो । अनि छोप्छ उही दुस्वप्नका विषाद् भावले । कालोबादलमा देखिने सौदामिनीको स्वरुपमा छिनमा देखिन्छ, छिनमा बिदा हुन्छ यो भाव । मनमा चाहना त छ, यो भाव स्थायी नियुक्ति लिएर मभित्र बास हालोस् तर यो कामनाले झन टाढाटाढा भागिदिन्छ तिलस्मीभाव । दुःख, निराशा र खिन्नताको क्षणमा आमन्त्रण गर्नखोज्छु । लोभ, पाप र वासना जागेको घडी यो भावलाई सम्झिन्छु । तर अहँ मेरो कामना र आमन्त्रणमा यो भाव टाढाटाढा भागिदिन्छ । तर आउँछ कहिलेकाहीँ मलाई थाहापत्तो नदिकन । अकारण अनायास र अप्रतीम रुपमा ।

नवसिर्जना त्रैमासिक वर्ष१३ पूर्णाक १०

२०६७/०६/ ०३ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *