दुई जना साधु एक दिन कतै गैरहेका थिए । बाटोमा नदी पर्दथ्यो । नदी पार गर्न लाग्दा उनीहरूले नदीमा एउटी आइमाई डुब्न लागेको देखे । दुवै जना महात्मा जस्ता लाग्ने साधु थिए । शिर मुडिएका र भगवा पहिरिएका थिए ।
एउटाले भन्यो,”त्यो आइमाई नदीमा डुव्दैछ उसलाई बचाउनु पर्यो ।”
अर्कोले भन्यो,”भाइ तिमीले त त्यस आइमाईलाई हात पनि लगाउनु हुदैन ।”
जो पहिलो साधु थियो त्यो नदीमा कुद्यो र आइमाईलाई उठायो, आफ्नो पिठ्युँमा राख्यो र किनारा गरिदियो ।
दोश्रो साधुले भन्न लाग्यो,”तैंले त आइमाईलाई हात लगाइस् । तेरो त धर्म भ्रष्ट भयो । तँ त नरकमा जान्छस् । हामी गुरु महाराजजी कहाँ जादै छौँ । त्यहाँ पुगेपछि तैले आज के गरिस भन्ने कुरा म गुरु महाराजजीलाई भनी दिनेछु ।”
जाँदा-जाँदा छ घण्टापछि उनीहरू आश्रम पुगे र गुरु महाराजजी कहाँ गए । त्यो जो दोश्रो थियो उसले सम्पूर्ण घटनाको बारेमा भन्न लाग्यो । उसले भन्यो,”आज यसले त एउटी आइमाईलाई हात लगायो । त्यो आइमाई डुव्न लागेकी थिई । डुब्थी त हाम्रो के जान्थ्यो । यो थ्यो त्यो थ्यो । यसले आइमाईलाई हात लगायो । यो कस्तो महात्मा हो ।”
गुरु महाराजजी मुस्कुराउनु भयो र सोध्नुभयो,”के साँच्चै तिमी नदीमा कुद्यौ त ? पहिलोले भन्यो हजुर म नदीमा कुदेँ ।”
महाराजजीले सोध्नुभयो,”के तिमीले त्यस आइमाईलाई हात लगायौ ?”
उसले भन्यो,”हजुर मैले उसलाई पानीबाट उठाएर बाहिर ल्याएँ ।”
“त्यस आइमाईलाई पानीबाट उठाएर बाहिर ल्याउन तिमीलाई कति समय लाग्यो ?”
उसले जवाफ दियो,”यही कोही २ मिनेट जति लाग्यो होला हजुर ।”
गुरुमहाराजजीले फेरि सोध्नुभयो,”जहाँ यो घटना भयो त्यस ठाउँबाट यहाँसम्म आउन कति समय लाग्यो ?”
उसले जवाफ दियो,”हजुर त्यस्तै छ घण्टा जति लाग्यो होला ।”
गुरुमहाराजजीले दोश्रोतिर फर्केर भन्नुभयो,”यसले त सिर्फ २ मिनेट जति हात लगाएछ । तिमीले त छ घण्टासम्म दिलमा राखेर हिडिरहेका छौ । यसले त २ मिनेटमा नै छोडिदियो । तर तिमीले त छ घण्टासम्म छोड्न सकेनौ र अँझै छोड्न तैयार छैनौ । त्यस आइमाईप्रति को आशक्त छ र को बिरक्त छ भन्ने प्रमाणित भैसकेको छ । आशक्ति र कर्तव्य निर्वाहमा यही त फरक छ । जाओ कर्तव्यपरायणताका साथ धर्म पालन गर ।”
यति भनेर गुरुमहाराजजी ध्यानमग्न हुनु भयो ।
संकलक – गोपीलाल कँडेल
