प्रेमिलहरूको प्रेम दिवस


संसारमा अलिक बढी नै चर्चा हुने विषय वस्तुहरूको खोजी गरियो भने पक्कै पनि माया प्रेम नै शिर्ष स्थानमा हुन्छ । यहाँ माया प्रेम अनि विछोडका विषयमा जति गीत र कविता लेखिएका छन् शायद अरु कमै विषयमा लेखिएका होलान् । प्रेम किन हुन्छ ? अथवा प्रेमको परिभाषा के हो भनेर खोजी गर्नेहरूको पनि कमी छैन यहाँ । तर प्रत्येक पटक फरक–फरक नजिता आइरहन्छ किनकि यहाँ सधैं मिलन खुशीका पलहरूलाई प्रेम भन्नेहरू, अरुको खुशीमा प्रेम देख्नेहरूको पनि कमी छैन । तर, अँझै पनि कसैले प्रेम यो हो र यसकारण हुन्छ भन्दै विभिन्न तर्क अघि सारेता पनि ती सबै सर्वमान्य छैनन् । फेरि पनि, प्रेम एउटा अदभुत् अनुभव हो ।

मनोवैज्ञानिक अब्राहम मास्लोले प्रतिपादन गरेको सिद्धान्त ‘दि निड हाइर्यार्की’ अर्थात आवश्यकता शृंखला अनुसार ‘जब कुनै पनि व्यक्तिको भौतिक आवश्यकता पुरा हुन्छ तव मात्र माया प्रेम सम्बन्ध जस्ता कुराहरूको आवश्यकक्ता पर्छ ।’ यो नै प्रेमको मनोविज्ञान हो । त्यसैगरी ‘प्रेमको त्रीकोणीय सिद्धान्त’ प्रतिपादन गर्ने मनावैज्ञानिक रवर्ट स्टनवर्गका अनुसार ‘आदर्श प्रेम त्यो मात्र हुन्छ जहाँ आत्मीयता, प्रतिवद्धता र लगाव हुन्छ ।’

यी तीन गुणले मात्र प्रेमलाई पूर्ण पार्ने उनको दावी छ । हवाइ युनिभर्सिटी अफ साइकोलोजीका विशेषज्ञ इलियेनी हेटफिल्ड भन्छन् ‘प्यासनेट प्रेम, तिव्र महत्वकाक्षा, अनुराग र चिन्ता एवं यौनिक आकर्षण यी तीन कुरा नभएको प्रेम छिट्टै हराउँछ ।’

मानिसहरूमा प्रेम हुनुको प्रमुख कारण एण्डार्फिन नामक हर्मोन हो । जब कसैलाई आँखाले देखिन्छ त्यसको सन्देशी सोही हर्मोनका कारण दिमागमा पुग्छ र हर्मोन थप सक्रिय हुन्छ । हाम्रो शरीरमा विभिन्न रसायन पनि प्रेम बढाउनमा जिम्मेवार मानिन्छन् । जस्तै रोटोनिन मानसिक शान्ति दिने हुन्छ भने अक्सीटोसिनले उत्तेजना बढाउँछ ।

प्रेमको सम्मान स्वरुप १४ फेब्रुअरी अर्थात् प्रेम दिवस (भ्यालेन्टाइन डे) मनाइदै पनि आइएको छ । प्रणय दिवस वा प्रेम दिवस (अग्र्रेजीमा Valinetine-Day) १४ फेबु्रअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राटको निर्णयलाई धर्मविरुद्ध भन्थे । उनको बुझाइ थियो – अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुशी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेबु्रअरी १४मा मृत्युदण्ड दिइएको थियो ।

प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ । यो दिन संसारका प्रेमिल मनहरूको महान दिवस भनेर पनि भनिदै आइएको छ । तर अहिले विशेष गरी नेपाली किशोर किशोरीहरू अनि युवा युवतीहरूमा आफूले मन पराएको व्यक्तिसँग माया साट्ने पर्वको रुपमा उपहार वा अन्य कुनै माध्यमबाट प्रेमिल मनहरूले आफूले चाहेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने अवसरको रुपमा प्रेम दिवसलाई परिभाषित गरेको पाइन्छ ।

विगत केही वर्षहरूदेखी हाम्रो समाजका युवा–युवतीहरू यस दिवसलाई निकै महत्वकासाथ मनाउने गरेको देखिदै आएको पाइन्छ । तर, यो प्रेम दिवसको अवसरमा आफ्ना नजिकका प्रियजनहरूलाई प्रेमिल उपहार दिनु वा शुभकामना व्यक्त गर्नु पनि प्रेम दिवसको एउटा पक्ष नै हो । तर प्रेम दिवसको इतिहास फरक छ, कसैले कसैलाई मन पराउनु र मायाको गहिराही नाघेर एकले अर्काको लागि ज्यानै दिनु पनि माया हो भनेर पश्चिमेलीहरू फेबु्रअरी १४मा प्रेम दिवस विशेष रुपमा मनाउने गर्छन् । तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस भ्यालेन्टाइन डेलाई संसारका प्रेमिल मनहरूले सम्झना स्वरुप ‘भ्यालेन्टाइन डे’ मनाउने प्रचलनको आरम्भ भएको हो । तर, अहिले नेपालमा नयाँ पुस्ताले मनाउन थालेएको प्रेम दिवसलाई नेपाली समाज कुन हदसम्म पचाउन सक्छ सोंच्नै पर्ने विषय बनेको छ । के प्रेम दिवसको संस्कार हाम्रो शिर ठाडो हुने खालको छ ?

अँझ पनि नेपाली समाजले युगल जोडी हात समाउदै हिडेको दृश्यलाई शहजै पूर्णरुपमा पचाउन सकेको छैन । तर, एकदिनका लागि भएपनि जोडीहरू निस्फिक्रीकासाथ डुल्न भएपनि प्रणय दिवस मनाइरहेका पो छन् कि यो पनि सोचनीय नै छ । फेरिपनि, माया शब्दमै अडेको यो संसार, अब मायाको सहल विश्लेषण अनि परिभाषा गर्ने दुस्शाहस त म पक्कै गर्न सक्दिन तर तपाईले माया गर्नुभएको अथवा तपाईलाई माया गर्ने अनि ती अधुरा यादहरू सबैको सम्झना त आइहाल्छ । शायद, त्यो पहिलो प्रेम थियो होला स्कुलमा लुकाएर दिएको प्रेमपत्र, प्रेम अगाडि पढ्दै पनि गयो होल्ला प्रेम गर्ने मुटु एउटै भएपनी धड्कन भित्रका नामहरू फेरिएका पनि होलान त्यो प्रेम पत्रबाट बसेको लत राती–राती गरेका च्याट, रिप्लाई कुर्दै बसेका रातहरू, जुधेका आँखाहरू अनि कतै सम्झनामा मात्र रहेका यादहरू सबैको सम्झ्ना त पक्कै आउछ नै । प्रेमको यो दिवस हामीलाई मिठै लाग्छ पक्कै पनि ।

धेरैले मायाका भावनाहरू साटासाट गर्नेछन्, धेरै प्रेमकथाहरू सफल हुनेछन् भने धेरै प्रेमकथाहरू असफल भए । हिर र रान्झा देखि रोमियो अनि जुलियटसम्म पनि संयोगान्त कथा भने हैन तर यी प्रेम जोडिलाई आजपनि संसारले आदर र महत्वकासाथ प्रेमील कुरामा नाम लिने गर्दछ । त्यसैले प्रेममा सफल भए मात्तिनु अनि असफल भए आत्तिनु हुँदैन ।

मायाका नाममा कुनै र्दुव्यवहार नगरौ, मायाको सम्मान गरौ अनि मायाको पहिचान बनाऔ । प्रेमले शत्रु पनि मित्र बन्छ । तर, वैंशमा उन्मुक्त भएर नाटकीय र वनावटी प्रेममा फस्ने र फसाउने, कलिलो उमेरका किशोर किशोरीहरू प्रेमको नाममा अग्रजहरूको सिको गरी जान्दै नजानी र आफू अपरिपक्व हुँदा पनि प्रेममा फसेका देखिन्छन्, आधुनिक समाजका आधुनिक मान्छेहरूले यौन तृष्णा मेट्नको लागि बनावटी प्रेम गर्ने गरेको पनि पाइन्छ । यसरी कहीं कतै प्रेमको दुरुपयोग भएको पनि देखिन्छ यी सबै सामाजिक विसंगति हुन् । यस्ता विसंगतिहरूले सच्चा र आनन्दित प्रेम पनि खल्लो महशुस हुन जान्छ । रमाइलो प्रेम पनि नरमाइलोमा परिणत हुन्छ ।

मनमा अर्कै कुरा खेलाएर बाहिर–बाहिर भने प्रेमको जात हुँदैन गोत्र हुँदैन कुनै मापदण्ड हुँदैन जस्ता आदर्शका कुरा गर्नेहरूले पनि प्रेमको उपहास गरेका देखिन्छन् । साँचो प्रेम गर्नेहरूलाई त यो प्रेम दिवस वरदान सावित भएको कुरा सत्य हो । प्रेम गर्नु पक्कै पनि अपराध होइन । यो पवित्र सम्बन्ध जीवनको एक अभिन्न अंग जस्तै बनेर बसेको हुन्छ । माया त हामी सबैको गर्छौ ।

कुनैपनि जीव वा व्यक्ति प्रेमका पारखी हुन्छन् । कुनै न कुनै तवरबाट मायाको झल्को देखिन पुग्छ । कुनै समय प्रेम र प्रेमिकाकालागि अति नै महत्वपूर्ण र भावनात्मक सम्बन्धहरूको सुनौलो पोको जस्तै हुन्छ ।सँगै जिउने र मर्ने वाचा कसमहरू खाइन्छन्, भेटघाटकालागि समय तालिका बनाइन्छन् । सुत्ने, बस्ने, बोल्ने, हिड्ने, खाने, घुम्ने र हरबेला उतैको यादले सताइरहेको हुन्छ । तर, प्रेमको बहानामा भ्यालेन्टाइन डेलाई मात्रै बुझ्नु वा मनाइनु पनि तर्कसंगत हुँदैन ।

अहिलेको पुस्तालाई त ठीकै लाग्ला हामी नेपालीहरूको आफ्नै मौलिक संस्कार र संस्कृति छन् । मान्नुपर्ने कैयौं चाडवाड छन् । तसर्थ, आफ्ना मौलिकताहरू जोगाउनुको सट्टा विदेशी उत्सव मनाउनु आवश्यकताभन्दा बढी विकृति हो । तर प्रेम दिवसलाई विकृति भनिहाल्न मिल्दैन यो विभिन्न रूपमा परम्परादेखि नै मनाइँदै आएतापनि समय र परिस्थितिअनुसार यो परिमार्जित हुँदै आएको देखिन्छ । यो युवायुवतीका लागि मात्रै हुनुपर्छ भन्ने होइन, जुनसुकै उमेरसमूहका व्यक्तिले पनि नेपाली संस्कृति अनुसार व्यवस्थित तरिकाले मनाए यसको सार्थकता झल्कन्छ । यसलाई मनाउनु त ठीकै छ । तर विकृति नै हुने गरी नभई आफ्नो संस्कृति पनि बचाँउनेतर्फ ध्यान दिनुपर्छ । किनकि आफ्नो प्रेमी वा प्रेमिकाप्रति हार्दिकता पूर्वक प्रेमभाव दर्शाउन कुनै दिवस प्रतिक्षा गरिरहन जरुरी छैन ।

जोडी बीचको सच्चा प्रेम हरपल हरक्षण स्वतस्फूर्त रूपमा अभिव्यक्त भइरहन्छ । दिवसमा मात्र बाँडिने प्रेम त सच्चा प्रेम नभएर नाटकमात्र हो । केवल नाटक मञ्चनका लागि प्रणय दिवस मनाउनुको कुनै औचित्य हुँदैन । माया र मित्रता मनाउने दिन भ्यालेन्टाइन डेले सम्बन्धलाई गहिरो बनाएको पाइन्छ । प्रेमी, प्रेमिका, परिवार र मित्रहरूलाई माया जनाउने एउटा माध्यम बनेको हुनाले यो आजको आवश्यकता बनेको छ भन्न सकिन्छ ।

नवराज बस्याल
बराङ्गदी–६, पाल्पा
Email : [email protected]
www.twitter.com/nrajbashyal

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *