मानव जीवन नै एक यात्रा हो । यो यात्रामा ऊ कहिले कतै कहिले कतै यात्रामा रमाउँछ । जीवनको अन्तिम यात्रालाई मैले महायात्रा भन्ने गर्दछु त्यो यात्रा पछि स्वर्ग नर्क या पुनर्जन्म जे हुन्छ त्यो कसैलाई थाहा हुँदैन । यस पटकको यात्रा नेपाल रेडक्रस सोसाइटी कावासोतीको आयो जनामा पूर्वी नेपाल (सुनसरी, झापा र इलाम)का केही रेडक्रसका जिल्ला शाखा उपशाखाका कार्यक्रमको साथै केही धार्मिकस्थलको अवलोकन गर्ने उद्देश्य अनुरूप १६ जना रेडक्रसका पदाधिकारीहरू जाने भ्रमण कार्यक्रममा म पनि सल्लाहाकारको हैसियतले त्यस भ्रमणमा सहभागी हुने मौका पाएँ ।
२०७३साल पुष २२ गते विहान चार बजे रमाना हुने जानकारी पाएको थिएँ तर मेरो घरबाट कावासोती फलफूलचोकमा चार बजे पुग्न त्यति सहज थिएन । किनकि पुषको महिनाको ढुसीको कारणले बाटो सजिलेरी टाढासम्म देख्न सकिदैनथ्यो साथै गैंडाको पनि त्यत्तिकै डर थियो । यस समयमा नवलपरासीमा बाघको पनि डर थियो । रेडक्रसका सभापति योगप्रसाद रिजालले गाडी पठाइ दिनु भयो र म सजिलैसँग कावासोतीको रेडक्रस उपसाखामा पुगें । यात्रामा जाने यात्रीहरू सबै जना चारबजेसम्ममा भेलाहुन सकिएन । चार बजे हिड्ने भने पनि हिडाइ भने करिव छ बजेतिर भयो । उमेरको हिसावले म, प्रा.डा.मोहनीलाल भुसाल र वर्तमान सभापति योगप्रसाद रिजाल करिव ६५ वर्षभन्दा माथि भएकाले हामीलाई ससम्मान अघिल्तिरको सिटमा राखियो ।
यस टोलीमा महिला पनिभएकोले अमृता सिग्देल र विन्दु भट्टराई अघिल्लो सिटमा बस्नुभयो, उमा भुसाल, विश्वकुमारी कँडेल र पूर्व सभापति टीकाराम कडेल पनि उहाँहरूले रोजेका स्थानमा बस्नुभयो । तीर्थराज कँडेल, रुद्र सापकोटा, बाबुराम कँडेल, दीपक नाथ घिमिरे, कपिल न्यौपाने र भुपराज तिवारी स्वेच्छिकरूपमा सिटमा बस्नुभयो । भ्रमणयात्रीहरूलाई लिएर गाडी अगाडि बढ्यो । भरतपुरमा पुगेपछि रोडपर्मिट लिने काम भयो । चिया पिउने कुरा चले तर लोथरमा गएर चिया पिउने निर्णय भयो । गाडी अगाडि बढ्यो गाडीमा कहिले क्यासेट त कहिले एफ.एम बजाउने काम ड्राइभर भाइले गर्दै थिए । गीतको न्यानोपनाले गर्दा सभापति योगप्रसादजी उठेर गाडीभित्रै नाच्न थाल्नुभयो । ताली बजाउने काम भयो । दीपक सर अति हँसिलो मान्छे बीच बीचमा उखानटुक्का सुनाउनु हुन्थ्यो सबै जना गलल हाँसने काम गर्थ्यौं । शहीद स्मारक हेटौडा जाने काम त भयो तर शहीद स्मारकमा भएका सबै चीजहरू भने हेर्न थालिएन । मेरा नजर भने मदन भण्डारीको पूर्ण कदको सालिकमा पर्यो, साथै १२ जना शहीदहरूको टाउकोमात्र सजाएको पनि हेर्न भ्याएँ । यो पार्कमा केही पशुपंक्षी पनि राखिएका छन् । संक्षेपमा भन्नुपर्दा शहीद स्मारक हेटौडा सुन्दर छ, हेर्न लायक छ ।
हेटौडा बजार, पथलैया, वागमती पुल तर्दै गाडी हरिवन पुग्यो । घडीले १२ बजेको सन्देश दिइसकेको थियो ।, सबैका पेटले चारो मागेको थियो, घुम्ने स्थानहरू धेरै थिए तर घुम्नको लागि निर्धारण गरेका दिन केवल ४ दिन मात्र थिए । हतारमा खाना खाइयो र गाडी रफ्तारमा गुड्दै गयो, नवलपुर (सर्लाही) को वृहत् वागवानी, लालमण्डी, लाहान आदि स्थान हुँदै गाडी कोशी पूलमा पुग्यो । कोशी पूलमा सबै ओर्लेर कोशी नदीको बहावलाई हेर्दै हिड्यौं । पारि तरेपछि भन्टाबारीमा माछा खाने काम भयो । साँझ पर्न थालेको थियो । बस्ने कहाँ भन्ने चर्चा चल्न थाल्यो । विर्तामोडमा जाने निधो लिएर गाडी अगाडि झुम्काबजार पार गर्दै इटहरीबाट गाडी सिधै पूर्व हानियो, बाटोमा वरगाछी, बेलवारी, पथरी, दमक, पाथीभरा चोक, माइखोला, सुरुङ्गा बजार आदि पार गर्दै विर्तामोडमा पुगियो तर यी सबै स्थान र आसपासका देखिने प्राकृतिक सुन्दरतालाई भने रात भएको कारणले हेर्न सकिएन ।हामी विर्तामोड पुग्दा करिव ९ बजेको थियो । हाम्रो बास विर्तामोडको प्रेम होटेलमा भयो ।
भ्रमणका सहभागीहरू
अर्जुनधारा जलेश्वरधामको अवलोकन – २३ गते विहान हाम्रो टोली अर्जुनधारातिर लाग्यो । अर्जुनधारा जलेश्वरधामको इतिहास महाभारत कालीन कथासँग जोडिएको विवरण पाइँदो रहेछ । विराट राजाका गाईलाई कौरवले लुटेर लगेका र विराट राजाका छोरालाई साथ लिएर अर्जुनले कौरवसँग लडेर गाईलाई फिर्ता ल्याएको र गाइलाई पानी खुवाउनको लागि वाणले जमिनमा छेदन गरेर पानी निकालेको हुँदा यी धारारलाई अर्जुनधारा नामाकरण गरेको जानकारी पाइन्छ । यहाँ महादेवको मन्दिर छ ।
पानीको पोखरीको बीचमा एक गाई दाहिने र एक गाई वायाँ माझमा अर्जुनको मूर्ति हेर्न सकिन्छ भने शिवजीको मन्दिर बनेको छ । अर्जुनधारा जलेश्वर धामको प्राङ्गाणमा महादेवको मूर्ति आकर्षकरूपमा हेर्न सकिन्छ । अर्जुनधारा जलेश्वरधामको अवलोकन पछि रेडक्रस उपशाखा कार्यालयमा रेडक्रस सम्बन्धी जानकारी लिने काम भयो । यो रेडक्रसले रक्त संकलनमा विशेष जाोड दिने, सर्पदङ्शमा ध्यान दिएको, जाडो र चाडपर्वमा रगतको अभाव हुनेहुँदा, ब्लड वैंक(रक्त संकल वैंकको) स्थापना, झापामा पानी नपरे पनि पहाडमा पानी पर्दा बाढी आउने र नोक्सान पुर्याउने हुँदा बाढी आएको जानकारी लिनको लागि अटोमेटिक सूचना प्रणालीको व्यवस्थापन गरेर बाढीबाट बच्ने काम गरिएको र बाढीबाट प्राणीको नोक्सानीमा न्यूनिकरण गरेको आदि विषयमा जानकारी पाइयो । यो उपशाखामा यशस्कर सदस्य संख्या १००भन्दा बढी भएको, चन्दाताहरूको संख्या पनि राम्रो रहेको र समितिको नेतृत्व युवाले गरेको जानकारी पाइयो । हामी त्यहाँबाट बिदा लिँदै गाडीमा चढियो । गाडीमा बसेपछि बाबुराम कँडेलले अब कावासोती रेडक्रसको नेतृत्व पनि युवाले लिनु पर्छ र केही गरेर देखाउनु पर्छ भन्नुभयो । चुनाउ हुने समय आएको छ, आफै उठ्ने विचार छ कि क्या हो ? कसैले हुन सक्छ भन्दै थिए । सबै जानले आफ्नो आफ्नो तर्क राखे । गाडी मेचीपूलतिर बढ्यो ।
मेचीपूल तर्दा – हाम्रा पुर्खाले हाम्रो देशको सीमा पूर्वमा टिष्टानदीसम्म पुर्याएका थिए, । अंग्रेजहरूसँगको लडाइँमा मेची नदीमा आएर खुम्चिन परेको थियो । अतितलाई सम्झदैं हामी मेचिपूलतिर बढेका थियौं । टीकाराम कँडेललाई मेचीपूल तर्ने रहर अरू साथीहरूलाई सिलिगुढी पुग्ने रहर, समयको अभाव, इलाम पुग्नको हतारले गर्दा हामी हतारमै गाडीबाटै मेचीपूल तरियो र फर्कियो । हामी सबैको ध्यान जङ्गे पिलरको खोजीमा थियो । हाम्रा सीमानाहरू अतित्रक्रमण भएका कुराहरू मनमा खेलिरहेका थिए । रातारात सीमास्तम्भ सार्दै अतिक्रमण भएको कुराहरू पत्रपत्रिकाम पनि पढ्ने गरेका थियौं । नदीले पनि बाटो बिराउने गर्दा कसैले भने पिल्लर त बगर या खेतमा होला ।
इलामको यात्रा – झापाका रमणिय तीर्थस्थल तथा सहरहरू जस्तै विराटपोखरा(विराट राजाका गाईले पानी खाने पोखरी) लुकुनी (कौरवले विराट राजाका गाई चोरेर लुकाएको ठाउँ) हात्ती किल्ला (कौरवादिका हात्ती बस्ने ठाउँ), किच्चक बध(भीमसेनले किच्चक मारेको ठाउँ), यमद्वार, चण्डालघाट आदिको साथै भद्रपुर, दमक, बुधबारे, शनिश्चरे, सुरुङ्गा आदि महत्वपूर्ण स्थलको अवलोकन छाडेर हामी चारआलीबाट इलामतिर ठडियौं । केही समयमा नै बुधबारे पुगियो, चिया बगान, सुपारीका बोटहरू र सुन्दर बस्तीले बाटोलाई आकार्षक बनाएको थियो । इलाम एउटा प्रकृतिले सजिएको सुन्दर पहाडी जिल्ला हो । म केही वर्ष पहिला भ्रमण गर्दा यस जिल्लालाई, अलैंची, अमृसो, आलु,अकवरे खुर्सानी, ओलन(दूध), अदुवा, आइमाई र आत्महत्या गरी आठ ‘अ’बाट चिनिने जिल्ला भनिन्थ्यो तर यस पटक जाँदा एक जनाले भन्दै थिए आठबाट बढेर १४ ‘अ’ले चिनिने जिल्ला भन्न थालिएको छ । समय अभावले गर्दा उक्त मानिसको धारणालाई प्रष्टपार्न सकिन । उकालोमा गाडी चढ्दै थियो, बर्ने चियाबगानबाट गाडी अगाडि बढ्यो र कुटीडाँडामा गएर रोकियो ।
्सानो पाथीभराको अवलोकन–दीपक सरले भन्दै हुनु हुन्थ्यो अब सानो पाथीभराको मन्दिरमा जानु पर्छ । फोक्सो दह्रो भएको मानिस हिड, बुढाहरू यही बस । यी शब्दले गर्दा टीकाराम कडेल गाडीमा नै बस्नुभयो । म पाथीभरा देवीको दर्शन गर्न सिँडी चढ्न थाले । यति वेला नवलपुर एफ्एमलाई आजको साहित्यिक गतिविधि बारे फोन मार्फत अन्तर्वाता दिन पर्यो । अन्तर्वाता सक्न नपाउँदै सानो नाति भूवनले बाबासँग बोल्ने भन्दै फोन गर्यो । फोन काटेर सिँढी चढ्न थालें । सिँढी चढ्न निकै कठीन थियो तर साथीहरूले मन्दिरमा पूजा गर्दै हुनु हुन्थ्यो म पुग्न सफल भएँ । कसैले नरिवल फोरेर रस भगवतीमा चढाए तर मैले भने १०० रुपियाँ चन्दाको रुपमा चढाएँ । मन्दिर टाकुरामा नै थियो चारैतिरको सुन्दरतालाई आँखाभरी भरेर पुन ओरालो झरियो र गाडीमा गएर बसियो गाडी अगाडि बढ्यो र कन्याम चिया वगानमा अडियो ।
ंकन्याम चिया वगानको रौनक– पुसको महिना, शनिवारको दिन, वनभोजको समय, बाटोभरी वनभोजको रौनक, घोडा चढाउने भनेर घोडाहरूको लाइन, घोडा चढाउनेको प्रतिस्पर्धा, हाम्रा साथीहरूको पनि घोडा चढेर र चियावगान भित्र पसेर फोटा खिचाउने प्रतिस्पर्धा, बाटोमाथिका चियाका बोटहरू प्राय काँटछाँट गरिएको हुँदा हरियाली विहीन तर बाटो मुनिका सबै चियाका बोटहरू भने हरियालीले भरिएका, समयले बिदा लिँदै थियो, हामी पनि फिकल बजारतिर खाजा खान लागे म ।
श्रीअन्तुको बसाइ र सूर्योदयको अवलोकन– फिकलबजार मेरो पहिलो भ्रमणमाभन्दा यस पटक धेरै विकसित भएको पाएँ । नयाँ घरहरू थपिएका थिए । मैले चिया पिउने भाउजूको पसल पनि दुईतले भएको थियो । यहाँबाटै पशुपति नगर र इलामजाने बाटो छुट्टियो । चियापान गरेपछि हामी श्रीअन्तुतिर रमाना भइयो । बाटो साँगुरो वारिपट्टिबाट झरेर खोलामा पुगेपछि पुन ठाडै उकालो चढेर श्रीअन्तुतिर लाग्नु पर्ने, उकालो चढ्दै गइयो भञ्ज्याङमा पुगेर गाडी रोकियो घिमिरे थरका एक युवकले आफ्नो होमस्टेमा (पर्यटक राख्ने घरमा)पुर्याए । आगो तापियो, हाम्रो समूहबाटै केही छण गाउने नाच्ने काम भयो । चार बजे उठेर श्रीअन्तुको डाँडोतिर रमाना भयौं । गाडी जान सक्ने कच्चिबाटो भए पनि हाम्रो हाइट गाडी भने श्रीअन्तुको डाँडोसम्म पुग्न सकेन, हामी पैदल हिडियो । ठूलो टावरमा चढेर उदाउँदो सूर्यको दृश्य हेर्न हामी सबै ललायित थियौं । पूर्व दिशामा लालीमाको घेराले सिङ्गारेको थियो । पर्खाइको समय निकै लामो हुने भनाइलाई यहाँ प्रमाणित भएको महसुस् भएको थियो । हाम्रो आतुरतालाई चिर्दै पुस २४ गतेको विहान ६ बजेर ३९ मिनेट जाँदा ज्योतिर्मय ज्योतिपुञ्ज लालिमामय सूर्य उदाउनु भयो । मलाई २०७१ सालमा दार्जिलिङको टाइगर हिलबाट देखिने सूर्योदय र श्रीअन्तुबाट देखिने सूर्योदयको तुलना गर्न मन लाग्यो । दार्जिलिङ्को टाइगर हिलमा मानिसको चाप निकै ठूलो थियो तर सूर्य उदाएको दृश्य निकै छोटो थियो तर यहाँ भने लामो समयसम्म लालिपूर्ण सूर्यको दृश्य हामीले हेर्न पायौं । फोटो खिच्ने काम यहाँ पनि भयो । जाँदा अँध्यारो भएकोले सल्लाघारी भित्रको रमणिय दृश्य हेर्न सकिएन तर फर्कदा भनेहामी छोटो बाटो वनैवन ओर्लियो । भञ्ज्याङ्मा आएर मीठो गीतमा नाचमा रमाइयो र कसैले ग्रिन र कसैले ब्ल्याक चियापत्ति किन्ने काम गरेर झापातिर झर्न थालियो । तीर्थ स्थलले भरिएको इलाम जिल्लाका ती धार्मिक स्थल र सदर मुकाम समेतलाई यहाँ पनि अवलोकन गर्न सकिएन ।
सतासी धामको अवलोकन– इलामबाट झापा प्रवेश गरेको गाडी सतासी धाम जाने गेटमा आएर अडियो । सतासी धाम जाने या नजाने साथीहरू दोधारमा देखिए । जाने भन्नेको संख्याले अग्रसरता पायो गाडी सतासी धाममा पुग्यो । यो धामको इतिहाँस पनि धेरै पुरानो रहेछ । पाण्डवहरू १२ वर्षको वनवासपछि एक वर्षको गुप्तवास बस्नु थियो । यस समयमा आफ्ना हातहतियारहरू पाण्डवहरूले माइनदीका पश्चिम चुरेचुली वनका रुखमा झुण्ड्याएर राखेपछि सताक्षी देवीको स्तवन गरी वरदान पाएर विराटनगर (मत्स्य देश)का राजाका दरबारमा प्रवेश गरेका थिए र आजको सतासी धाम तिनै सताक्षी देवीको नामबाट भएको व्यहोरा मोहनप्रसाद घिमिरेद्वारा लिखित इलाम–झापाका केही चम्किला तारा (पृष्ठ ८१)मा पढ्न पाइन्छ । यस धाममा हामीले पाण्डवका समयदेखि नै आगो जलिरहेको अग्निकुण्ड (सत्य के हो मलाई थाहा छैन)लाई हेरियो । सताक्षी देवी लगायतका मन्दिरको साथै गाई संरक्षण र केही निमार्ण भइरहेका कामहरू हेर्दै धरानतिर लागियो ।
रेडक्रस कार्यालय र बुढासुब्बा मन्दिरको अवलोकन –सुन्सरी जिल्ला रेडक्रस कार्यालय धरानमा सानो मिटिङमा सहभागी भएर हाम्रो टोली बुढासुब्बाको मन्दिर दर्शनार्थ अगाडि बढ्यो । धरान एउटा सुन्दर सहर यहाँ बुढा सुब्बामात्र नभै, दन्तकाली, पञ्चकन्या, पिण्डेश्वर, बालाजी, नरसिंह भगवान, श्रीमापूर्णेश्वरी भवानी आदि मन्दिरहरूले धरान सहरलाई धर्ममय बनाएको देखिन्छ । बूढासुब्बाको मन्दिरको दर्शनको लागि हामी सबै मन्दिरको अघि पुग्यौं । मन्दिरको अगाडि कटहरको रुख, मन्दिरको वरिपरि सानादेखि ठूला घन्टाहरूले सजिएको छ । बुढासुब्बालाई पहिला पहिला बुढाबाजे भनिने गरिन्थ्यो । यी शिकार खेल्दै यहाँ आएका थिए । थाकेकोले आराम गर्न बसेको र त्यहींबाट लोप भएको स्थल भएको भन्ने कुरा जानकारहरू बताउँछन् । बुढाबाजेको नाम बुढासुब्बा हुनको कारणा पेन्टरले लेखेर टाँसेपछि बुढासुब्बा हुनगएको भन्ने जानकारी यस पंक्तिकारले लेखेको यात्री उपन्यासमा (पृष्ठ–९) अध्ययन गर्न पाइन्छ । आडैमा भएका मन्दिर बुढा सुब्बाकी बहिनीको रहेको । बूढासुब्बाप्रति ठूलो आस्था राखेर नेपालकामात्र नभै भारतबाट पनि दर्शन गर्न आउने र वरदान माग्ने, वरदान पूरा भए पछि वली दिने साथै मन्दिरलाई कसैकसैले सजाउने काम पनि गर्ने, बलीदिएको कुखुराको भालेको कलेजोबाट पूजारीले जोखाना हेर्ने र पूजारीले भनेको कुरा पूरा हुन्छ भन्ने कुराहरू पनि यहाँ सुन्नमा आउँछन् । यहाँका बाँसहरूको टुप्पो ठाडै हुने र पहिला पहिला पाण्डवहरूले यज्ञ गर्दा टाँगेको चदुवाको कारणले गर्दा शित नपर्ने तर आजकल भने शित पर्ने, बूढा सुब्बाले शिकार खेल्न ल्याएका मटेन्ग्राहरू फेला पर्थे भन्ने जानकारीहरू पनि पाइन्छन् ।
भेडेटारको यात्रा–मानिसका आफ्ना स्वतन्त्र विचार र आफ्ना आफ्ना रहर पनि हुन्छन्, । यहाँ पनि कसैले भेडेटारको अवलोकन गर्ने र कसैले बराहक्षेत्रको अवलोकन गर्ने भन्ने तर्कहरू उठाय तर बराह क्षेत्रमा जानुभन्दा भेडेटारले प्राथमिकता पायो । नागवेली जस्तो गुडुल्किएको बाटो हुँदै हाम्रो गाडी धरानबजारबाट उकालो चढ्न थाल्यो । साहित्यका गफहरू चले । तीर्थ कँडेलले मजाकमा केही गजलका शेरहरू सुनाउनु भयो । दीपक सरका चुट्किला त मकै भुट्दा पट्कने आवाजसरी पड्किरहेका थिए ।बाटै भरी हाँसोका फोहोरा बगिरहेका थिए । कसैले भेडेटारको तुम्बाको महत्व सुनाए । मादक पदार्थले आजको संसारमा निम्त्याएको विकृतिप्रति प्रकाश पार्दै प्रा.डा. मोहनीलाल भुसालले रेडक्रस जस्तो पवित्र संस्थामा मादक पदार्थ सेवन गर्ने व्यक्तिलाई कुनै पनि पदमा समावेश गर्न नहुने हो भन्ने धारणा यस पङ्क्तीकार र पूर्व सभापति टीकाराम कँडेल समक्ष राख्नुभयो । टीकारामजीले हुनत त्यही हुनुपर्ने हो तर आजको समाजमा त्यति सहज छैन भन्ने धारणा राख्नुभयो । हामी भेडेटार पुग्यौं । चिसोले सतायो । केही साथीले न्यानो खोज्दै शरीर तताउन पाए हुन्थ्यो भन्न थाले । प्रा.डा. मोहनीलाल, सभापति योगप्रसाद रिजाल, टीकाराम कँडेल, विश्वकुमारी कडेल, अमृता, इन्दु, भूपराज लगायतका साथीहरू भने शंखको आकार भएको मन्दिर (शंखेश्वर महादेवको मन्दिर)मा दर्शन गर्न गयौं ।
बेलायती राजकुमार चाल्र्स आरोहण गरेको टावर जस्लाई चाल्र्स प्वाइन्ट पनि भनिन्छलाई भुइँचालोले नष्ट गरेको र निर्माणाधिन अवस्थामा रहेको जस्तो तलै बजारबाट देखियो । टावरमा चढेर धनकुटा बजार, अरू सुन्दर टाकुराहरू, नाम्जे डाँडा, राजारानी गाउँ, तराइको समथर फाँट,आदिलाई गोधूलि साँझ र टावरमा चढ्न नसकी देख्न सकिएन ।
भेडेटारको सानो रमाइलो होटेलहरूले भरिएको लोभलाग्दो स्थानलाई बिदा गर्दै हामी धरानतिर ओर्लन थालियो । अगाडि बढ्दै जाँदा नागवेली सडकको ठाउँठाउँबाट धरान बजारलाई लाखौं तारा चम्के जस्तो दृश्यमा दर्शन गर्दै हामी इटहरीतिर लाग्यौं र बसाइ पनि इटहरीमै भयो ।
इटहरीको बास र गोकुलम रिसोर्टको अवलोकन – पुष २५ गते वेलुका कावासोती पुग्ने लक्ष एकातिर थियो भने अर्कोतिर सिन्धुलीगढीको अवलोकन गर्न भ्रमण कर्ताहरू निकै ललायित थिए । इटहरीमा हामीलाई तीर्थ कँडेलका मित्र तीर्थ कार्कीजीले स्वागतको लागि पर्खिरहनु भएको र उहाँले हेर्नै पर्ने.गोकुलम रिसोर्टमा जाने सुझावको साथै उहाँले नै हामीलाई लिएर जानु भयो । यहाँ कलाकारले आफ्नो शीपलाई रा्रमैसँग प्रयोग गरेको पाइयो । सुकेको एउटै रुखमा बनाइएका विभिन्न किसिमका सिङ्गारिक चित्रहरू निकै आकर्षक थिए । पानी जहाज, साना डुङ्गा र अरू बनाइएका मूर्ति आदिले सबै रमायौ । पानीमाथि कविता वाचन कविगोष्ठी त्यही पानी जहाजमा भएको कुरा तीर्थ कार्कीजीले सुनाउनु भयो । मैले पनि पत्रिकामा पढेको स्मरण गरें । यस रिसोर्टका कल्पनाकारको नाम पनि कार्कीजीले सुनाउनु भएको थियो तर त्यो नाम यहाँ प्रस्तुत गर्न सकिन । इटहरीमा रेडक्रस उपशाखाका सभापति विमल पौडेलसँगको छोटो परिचयले पनि हाम्रो भ्रमणमा थप उर्जा दिलायो ।
सिन्धुलीगढीको अवलोकन– इटहरीबाट हामी सिन्धुलीगढी जानको लागिहाम्रो गाडी अगाडि बढ्यो । विराटनगर जान सकिएन, बराह क्षेत्र र कोशी टप्पु, जनकपुको जानकी मन्दिरको अवलोकन पनि छुट्यो । हामी सिन्धुली गढीमा पुग्यौं ।
साथीहरू गढीको अवलोकन गर्न उकालो लाग्नुभयो तर म भने पेट दुख्यो र त्यहाँ पुग्न सकिन । सिन्धुली गढी एउटा ऐतिहासिक स्थल हो जाहाँ नेपाली वीर सेनाले अंग्रेजहरूलाई हराएर धपाएका थिए । साथीहरूले गढीमाइको दर्शन गरेर फर्के र हाम्रो यात्रा यहीं नै गएर रोक्कियो । यहाँबाट हामी कावासोतीतिर फर्कने तर्खरमा लाग्यौं । सबै जानले बाटोको निमार्ण प्रविधिलाई नियालिरहेका थियौं । यहाँ बनाइएको बर्दिवास वनेपा मार्ग भने नेपालका पहाडी क्षेत्रमा बनाइएका सडकको निर्माणभन्दा फरक पाइयो । दीपक सरले भन्दै हुन्थ्यो यो मार्ग एसियाकै नमुना मध्ये एकमा पर्छ । पानी र पैरोले सकेसम्म विगार्न नसकोस् भन्ने ध्यान दिंदै बनाइएको छ । चौडा ठाउँ जहाँ गाडी रोकेर फोटो खिच्न सकिने बिश्रामस्थल भनौं या पार्किङ्स्थल भनौंमा पुगेर हाम्रो गाडी रोकियो सबैले फोटो खिच्ने र खिचाउने काममा जुट्यौं ।
फोटो खिचिसकेपछि हामी बर्दिवासतिर लम्क्यौं । बाटोभरी रमाइलो गर्दै, वनको माझमा रहेको हेटौडाको दुई नम्बर गेटमा आएर खाना खाएर करिव १० बजे रातीमा कावासोतीको फलफूलचोकमा आएर हाम्रो चार दिने् भ्रमण समाप्त भयो ।
भ्रमणमा मैले महसूस गरेका केही तथ्यहरू– रेडक्र उपशाखा कार्यालय कावासोतीले आयोजना गरेको विभिन्न रेडक्रस कार्यालयको अध्ययन भ्रमण गराउने कार्यक्रम निकै फलदायी रह्यो । विर्तामोडको उपशाखाले गरेको रक्तसङ्कलन लगायताक कामहरू अनुकरणीय रहेको देखियो । कुनै पनि संस्थाको विकासको लागि,जनसहभागिता र सहयोगको आवश्यक्ता पर्दछ । यस संस्थमा १०० जनाभन्दा बढी एकलाख तिरेर बन्ने सदस्य (यशस्कर सदस्य)हरू भएका र संघसंस्था र चन्दादाताहरूको योगदान पनि राम्रो देखियो । कार्यसमितिमा युवाहरूको वाहुल्यता रहेको र काममा सकृयताको प्रचुर्यता भएकोले छोटो समयमा धेरैकाम भएको पाइयो । भ्रमण टोलीले कावासोती उपशाखामा धेरै काम गर्न पर्ने महसूस गर्यो । भ्रमण अवधी छोटो र हेर्ने लक्ष बढी भएको साथै गाइड पनि नभएकोले गन्तव्यस्थलको यथार्थताको जानकारी प्राप्त गर्न कठीन भएको । दार्जिलिङको टाइगर हिलबाट देखिने उदाउँदो सूर्यको दृश्यभन्दा श्रीअन्तुको उदाउँदो सूर्यको दृश्य लामो र प्रष्ट भएको तर यस्को प्रचार प्रसार, सडक पिच हुनु पर्ने र भौतिक व्यव्यस्थापनमा पनि बढी ध्यानदिनु आवश्यक देखिएको छ ।भ्रमण तय गरिएको तर योजनावद्ध तरिकाबाट भ्रमण तालिका नबनाइएको । यस्तो भ्रमणमा अग्रणीरूपमा भ्रमण तालिका तयार पार्दा कमखर्चिलो हुने र सहज पनि हुने ।
अत कावासोती रेडक्रस उपशाखाले कार्यसमिति र सल्लाहाकार यशस्कर सदस्यहरूलाई पूर्वी नेपालका रेडक्रस कार्यालय, धामिर्क एवम् ऐतिहासिक स्थलको भ्रमण गराएर ज्ञान प्रदान गरायो त्यस्को लागि संस्था, संस्थाका पदाधिकारी लगायतमा आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु र यो सानो लेखबाट बिदा पनि माग्दछु ।
सन्दर्भ सामाग्री
– कृषि उपज बजार व्यवस्थापन समिति स्मारिका –२०७३, प्रकाशक कृषि उपज बजार व्यवस्थापन समिति, कावासोती नवलपरासी,
– भेषराज रिजाल छरिएका पाइला कोरिएका डोब,,पहिलो संस्करण २०६९, प्रकाशक राधा बास्तोला (रिजाल)
– मोहनप्रसाद घिमिरे, पहिलो संस्करण २०६५,प्रकाशिका उमा काफ्ले,
-सदानन्द अभागी, यात्री उपन्यास, पहिलो संस्करण २०६८, लक्ष्मीस्मृति साहित्य समाज, कावासोती,
धन्यवाद
सदानन्द अभागी
२०७३ साल माघ ५ गते,
कावासोती न.पा. वार्ड नं –७, शान्तिचोक
