तिम्रो आँखा नखुल्दै, तिमीले दैलो नपोत्दै
बाबाले अगेनोमा आगो नसल्काउदै
म हिडिसकेको हुनेछु आमा
छोडेर
खेलेको आँगन म रमाएको काख
हरेक साँझ जुनलाई हेरेर कविता कोरेर बस्ने
त्यो बार्दली पनि
मलाई नदेख्दा तिमी दुखी हुन्छ्यौ या हुदिनौ
तर हरेक साँझ कविता कोर्दा
म बस्ने चकटी पक्कै पनि निरस हुनेछ
र सोध्ने छ जुनलाई कहाँ गयो कवि ?
त्यसवेला तिमीले नै भनिदिनु
छोडेर अलीकति आँशुको थोपा
छोडेर अलीकति मुस्कान
छोडेर अलिकति प्रेम
ऊ गई ।
अनि मसँगै पैतलाका चापहरू
नापेर हिड्ने दौतरीले सोधे भनिदिनु
तिमीहरुलेसँगै पढेका क पुरी कमा
अलीकति बच्पनका निसानहरू छोडेर,
ऊ गई ।
बाटोभरी माटोको मसी बनाए
धर्तीलाई कपि बनाएर
मेरो नाम केर्दै
मलाई नै सोध्दै हिड्ने
मेरो प्रेमिले सोधे भनिदिनु
त्यही मसी निधारभरी रङगाएर
ऊ गई ।
सँगै हात समाएर पाठशालासम्म पुर्याउने
मेरा दिदी दाइले सोधे भनिदिनु
हेर त हत्केलाहरुमा उसको नाकको हिमालबाट
खस्ने अलीकति हिमनदीका निसानहरू छोडेर,
ऊ गई ।
मसँगै आमा बाबाको प्रेममा युद्ध गर्ने
मेरो सानो भाइले सोधे भनिदिनु
मुटु छामेर हेर त
आमाबाबाको सबै प्रेम तलाई नै छोडेर,
ऊ गई ।
म हिडेका पाईलाहरू नाप्ने
मेरो अस्तित्व जाँच्ने
छोरी ठुली भई भनेर
तिमी माथि अनेक प्रश्नहरू वर्षाउने
मेरो गाऊघर आफन्तहरुले सोधे भनिदिनु
तिमीहरुले नाप्ने ती यन्त्रहरू नै छोडेर
ऊ गई ।
हो भन्दिनु आमा ऊ गई
मुटुमा पत्थर मिसाएर गई
पैतलामा फलाम मिसाएर गई
रगतभन्दा रातो त यहाँ रङ्ग छैन
मनभन्दा त ठुलो यहाँ मन्दिर पनि छैन
अस्तित्व र स्वाभिमानभन्दा ठुलो
यहाँ एक मुठी सास पनि छैन
त्यसैले
शरिरमा एक थोपा रगत बहदासम्म
मुटुमा एकमुठी सास चल्दासम्म
म हिडिरहनेछु अविराम
मेरो अस्तित्व र स्वाभिमानको यात्रामा ।
दिपा धिताल
तुलसीपुर दाङ
