कति सजिलै भन्छौ है तिमीले
‘बिर्सिदेऊ’ ।
तिमी नै सोचिहेर न
बिर्सिनु कति गाह्रो हुन्छ सम्झिनेलाई ।
बरु मलाई तिमीले एक पटक
सम्झेर हजार पटक
बिर्सिदेऊ,
तर तिमीले नि सक्तैनौ बिर्सिएर बिर्सन ।
तिमीले बिर्सिएर बिर्सियौ होला
या त बिर्सिएर सम्झन्छौ कुनै बिर्सिएको बेला
मेरा हातहरू समाएर हिडेका
त्यो उकालीहरू
सम्झन्छौहोला या बिर्सियौ होला – त्यो कोठा
जहा तिमी मेरो अनमिका समाएर नृत्य गर्थेउ
अनि तिम्रो बेसुर सुरमा गाउथेउ-
‘पल पल दिल के पास रहेते हो….।’
फेरि तिमी भनिरहेछौ –
‘बिर्सिदेऊ’ ।
बिर्सिनु सम्झिनु जस्तै सजिलो भए
म मज्जाले बिर्सिदिन्थे तिमीलाई
कहिले नसम्झिने गरी ।
तर म बिर्सिएर बिर्सिन सक्तिन तिमीलाई,
खइ कसरी धोका दिन्छ अरुले
मायामा मायालाई म नसोँच्न पनि सक्तीन ।
कास माया बिर्सिनु र सम्झिनु मात्र भए
म बिर्सिन्थे होला
तर माया त
एक + एक = एक
हुने पागल गणित हो ।
वाणिज्य गणित जस्तो नाफा र नोक्सान
हुने होइन ।
मेरो कोठाको भित्तामा झुण्डिएको क्यलेन्डर
जस्तो भए पनि म,
हरेक वर्षको अन्तिम दिनसँगै बिर्सिदिन्थे तिमीलाई ।
तर तिमी मेरो मन्दिरमा सजिएको
युमाको तस्विर भनौ ।
-अमर निराकार, दार्जिलिङ ।
