सडकको दाहिनेपट्टि
कुनै कविको सालिकमा
अडेसा लागेर बसिरहेको छ
बाहुनले न्वरानमा जुराएको
एउटा नाम – कुमारे
आमाले अर्को बाबु रोजेपछि
बाबुको अस्तु लिएर
रहरले शहरतिर हुइकिएको
विचरो किशोर कुमारेको
कविजीको सालिकभन्दा
कम विजोग म देख्दिन
पुषको कठांग्रिएको जाडोमा
आकाशको ठुलो सिरक ओडेर
धर्तीलाई बिस्तारा बनाएर
चिसो सिरेटोसँग कुस्ती खेल्दै
बिताएका रातहरुको संख्या
ऊ आफैलाई थाहा छैन
आफ्नो फुटेका गोडा
च्यात्तिएका कपडा
मैला हात
अनि आफ्नै अगाडिको
विशाल अपार्टमेन्टको शिसामा
आफ्नो सिगाने अनुहार हेर्नु
उसको दिनाचार्य वनेको छ
एउटा वियरको बोटल
एक टुक्रो ईटाँ
अलिकति प्लास्टिक
सडकमै भेटिएको एउटा
नेपालको नक्सा
दुईचार जना महापुरुषको तस्विर
अनि कहिलेकाहि सडकमै फालिएका
लगभग सबै पार्टीका पर्चा घोषणापत्र
अनि यी सबैलाई अटाउने
एउटा ठुलो धोक्रो
आजकाल उसको सिरानी वनेको छ
बेवारिसे भएर हिड्दा
कसैले ढुंगाले ढाडमै हानेर
घाईते भएकी
एउटी बुढी कुकुरनी
ऊसँगै सुत्ने साथी बनेकी छे ।
गोजीमा उसको भाग्य जस्तै
धुजा धुजा परेको एउटा चिना छ
शहरमा भएका सयवटा
अनाथालय मध्ये
एउटाको मात्र पनि
नजर परेको भए
विचराले मेरो कविताको
पात्र बन्नुपर्दैनथ्यो
शहरमा कुमारेलाई नचिन्ने गल्लीहरू
अनि नदेख्ने मान्छेहरू कमै छन्
शहरबाट देखिने पारीको हिमाल हेर्दा
कुमारेलाई आफ्नै आमा हाँसेजस्तो लाग्छ
बेलाबेला कुहिरोले हिमाल ढाक्दा
डोली चढेर गएकी आफ्नी दिदी सम्झिन्छ
शहरका धनाढ्यहरुलाई जत्तिकै
न्यानो र शितल दिने घामजुन
उसको स्वर्गीय बावुका
दुई आँखा जस्तै लाग्छन
सालिकका कविभन्दा
कम भावुक पनि छैन कुमारे
र त
घामजुन हिमाल अनि यो
ब्यस्त शहर हेरेर
घण्टौ टोलाइरहन पनि सक्छ
प्रत्यक दिन नारा जुलुसहरू शहरमा हुन्छन्
यी कुमारेका टाईमपास बनेका छन् ।
यस्ता मान्छेको संगत गर्न धेरै प्रयास गर्यो कुमारेले
यस्तै हुलसँग कसैको पुत्ला जलाउन जादाँ
तोरीको फुल देख्नेगरी
टाउकोमा वर्षिएको पुलिसको लौरो
अँझै छाम्दा चसक्कै दुख्छ कुमारेलाई
खै किन हो सिंहदरबार घेर्न जादाँ
कष्टडीमा बिताएको एउटा रात
सडकमा बिताएका अरु रातहरुभन्दा
अलि न्यानो भएपनि
त्यही कालरात्रीमा भेटेको
पुलिसको दुई बुटले गर्दा
कुमारे अँझै सिधा भएर हिड्न सक्दैन
शहरका सडकसडकमा सुतेर कठांग्रिएका
सडकमा विछ्याएको कालोपत्रेहरुलाई
कम्तीमा कुमारेले आफ्नो शरिरको न्यानो त दियो
तर यो शहर यी सडक
अनि यी सडकमा मौरी जस्तै भएर हिड्ने
लाखौँ मान्छेहरुले
खै के दिए र दिनसके कुमारेलाई
आजकाल यो शहर पनि कुमारेलाई
जहर जस्तै लाग्न थालेको छ
दिक्क मात्र हैन अब आक्रोशित पनि हुन थालेको छ कुमारे
यो शहर अनि यी शहरबासीहरूसँग कुमारे
घरमा आमाले गुन्द्री बेरेझै
बेरिदिउँ एकै लुडीमा
विच्छ्याएजती सबै कालोपत्रे
र फालिदिउँ पर बाग्मतीमा
पैताला बजारेर दश रेक्टरस्केलको
भूकम्प ल्याएर भागाभाग र विजोग पारिदिउ
यी शहरबासीको
चिरा चिरा पारिदिउँ यहाका
गल्ली गल्ली अनि चोकचोकहरुमा
आगो जत्तिकै तातो आँसु आँखामा लाएर
तीन सेकेण्ड जति आँखा चिम्लिन्छ कुमारे
बिस्तारै आँखा खोल्छ अनि हेर्छ
धमिलो देख्छ खुट्टाको घाउ
फेरि चस्किन्छ बुटको डोब
अनि
फेरि सम्झिन्छ अघिको आक्रोश
लात्तले हिर्काउँछ बुढी कुकुर्नीलाई
कुँईकुई गर्दै रुन्छे कुकुरनी
फिस्स हाँस्छ कुमारे
अनि ठिङ्ग उभिन्छ
उभिइरहन्छ, उभिइरहन्छ अनि उभिइरहन्छ
जस्तो कि
अगाडिको कविजीको सालिक ।
