Skip to content


अभि सुवेदीले अखबारी लेखनलाई पुस्तकको आकार दिएका छन् । उनको पछिल्लो निबन्ध संगालो ‘निबन्धमा उत्तरवर्ती कालखण्डमा ८२ निबन्ध छन् । यसलाई रत्न पुस्तक भण्डारले प्रकाशन गरेको छ ।

गृहयुद्धकालीन नेपाली समयको चित्रण छ सुवेदीका निबन्धमा । डेरिडा र विनिर्माणवादको कुरा गरिरहँदा स्वयं विनिर्मित भएका छन् लेखक । उनका अधिकांश निबन्धहरू तीन खण्डे शीर्षक अन्तर्गत समेटिएका छन् जो समयको बिम्ब र अवशेष जस्तै लाग्छन् । बौद्धिक सन्दर्भ र समय चेतनाले उनका निबन्धहरूलाई थप सशक्त तुुल्याउने प्रक्रियामा उत्प्रेरकको भूमिका निर्वाह गरेका छन् । उनी भन्छन्, ‘निबन्ध मेरो दृष्टिमा अधिचेतना हुन् ।’

नेपाली निबन्धकार शंकर लामिछाने र प|mान्सेली निबन्धकार फिलिप सोलेर बाट आफू बढी नै प्रभावित भएको जिकिर गर्ने सुवेदीले निबन्धहरूलाई प्रयोगात्मक खाकामा ढालेका छन् । उनका निबन्धहरूमा कतै हिप्पीहरूको सुदूर स् मृति छ, कतै मिथकहरूको संयोजन । यात्रा अनुभव मीठो गरी समेटेका छन् उनले । संग्रहका अधिकांश निबन्धहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका हुुनाले मध्यम आकारका छन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिको गहिरो प्रभाव परेको छ सुवेदीमा । समसामयिक विषयलाई टपक्क टिप्न सक्ने उनको शैली हक्की छ । प्रेस स्वतन्त्रताको पक्षमा आवाज पनि छ निबन्धमा । विभिन्न तकनीकि र अर्थको बहुलताले उत्तरआधुनिक गन्ध आउँछ लेखनमा । लेखक एउटा द्रष्टाका रूपमा उभिएका छन् । उनले जे देखेका छन्, जे भोगेका छन् त्यही लेखेका छन् । तथापि, कतैकतै काल्पनिक झल्को पनि आउँछ ।

सय वर्षपछि आजको समय बुझ्न यिनका निबन्ध पनि सहयोगी हुनेछन् । ‘सिपाही, हत्या र उत्तर’ मा एउटा सिपाहीको डरलाग्दो मानसिकताको चित्रण गरेका छन् उनलेे । नगरकोट हत्या काण्डका बारे यो लेखिएको हो । ‘कुखुरा, उत्तरपुँजी र राष्ट्रपति’ मा अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनकी हजुरआमा सारा ग्रानीलाई केन्द्रमा राखेर असाधारण परिवर्तनको पाटोलाई थप उजिल्याउने प्रयत्न गरेका छन् उनले । ‘उत्तरआधुनिक र विकासे कुखुरा’ मा नेपाली कला र संगीतमाथिको उत्तरआधुनिक प्रभावबारे दार्शनिक चर्चा गरेका छन् ।

अभि सुवेदीका निबन्धहरू समयका बान्की परेका बिम्बहरू हुन् जहाँ इतिहास पुनर्लिखित भएको छ । चेतना प्रवाहको भाव भूमिलाई भित्रैसम्म छिचोलेका छन् सुवेदीले । ‘कान्तिपुर, क्रोजन पर्खाल र म’ एउटा यस्तै निबन्ध हो । यसमा उनले हामीले भोगेको एउटा भयावह समयको चित्रण छ ।

उत्तरआधुनिक भनिएको उनको प्रस्तुत निबन्ध संगालोले थप अन्योल पैदा गरिदिन सक्छ । उनका रचनाहरू कञ्चन पानी जस्तै बग्दा बग्दै पनि निश्चित वर्गका लागि हुन पुगेका छन् ।

यो वर्गीय पर्खाल भत्काउन सक्ने खुबी भएका एक सिद्धहस्त निबन्धकारबाट सरलताको अपेक्षा गर्न सकिन्छ । यहाँ प्रयोग भएका बौद्धिक सन्दर्भ र अंगे्रजी शब्द संयोजनका कारण सामान्य पाठकका निम्ति फलामका चिउरा जस्तै हुनसक्छन् उनका निबन्ध । यद्यपि यो पढ्न र संग्रह गर्न लायक एउटा उत्कृष्ट पुस्तक हो । गोविन्दराज भट्टराईद्वारा सम्पादित संग्रहलाई नेपाली गैर आख्यानमा गतिलो पुस्तक भन्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *