दार्चुला त हेरिसकी अव आयौं तल ।
अत्याचारी छिमेकीको हेर्दै जाउँ चाल। ।
हेर हामी आइपुग्यौं जिल्ला कनचनपुर ।
ब्रम्हदेव मण्डी हो यो थियो यहाँ नेर ।।
–१–
एक नम्बर स्तंभ आज कता हराएछ ।
मिच्दै जाने साँढेले त बाटो बनाएछ ।।
यहाँसम्म मिचिसक्यो अरु पनि मिच्ला ।
चुपलागी बस्यौं भने अझै अघि बढ़्ला ।।
—२—
उतातिर टनकपुर हिंड हेर्न जाऊँ ।
राष्ट्रघाती सन्धि गरी ठगिएको ठाउँ।।
दुई सय बाइस हेक्टर हाम्रो जमिनमा ।
बाँध बन्यो पानी जम्यो हाम्रै मझेरीमा।।
— ३ —
खोइ हाम्रो आधी आाधी पानी र बिजुली।
वारि हेर मरुभूमि पारी हरियाली ।।
छाम छाती अलिकति तातो छ कि छैन।
मुटुभित्र तातों रगत दौडन्छ दौडन्न।।
— ४ —
वीर भए एक मुठी माटो समातेर।
वाचा गर नभत्काई मर्दिन भनेर।।
आमालाई बेची खाने नकचरालाई ।
जानी राख राष्ट्रघाती सन्धि गर्नेलाई। ।
–५ —
हिंड अव वनबासा गड्डाचौकी जाऊँ।
तीस बिघा वर्षौंदेखि मिचिएको ठाउँ। ।
लक्ष्मीपुर विलासपुर रामपुर हेर।
मेला घाट हेरेपछि सुन्दर नगर हेर।।
— ६ —
बेलडाँगी र त्रिभुवन बस्ती पनि हेर।
नेपालीको खेतीपाती लुटिएको हेर। ।
एकछिन उभिएर छाम आफ्नै छाती।
हेपिएर बाँची राख्नु हुन्छ र के जाती ? ।।
— ७ —
कवि पिताम्बर नेपाली
(कवि जनप्रिय बहुमुखी कलेजका पूर्व क्याम्पस प्रमुख हुन।)
