शहरमा जन्म लिन पाउनु आफैमा खुशीको कुरा हो । पछि यो कुरा बदलिन पनिसक्छ । हरेक जिल्ला सदरमुकाममा साना ठूला जे भए नि शहरै छ, बाटो, बिजुली, अस्पताल, विद्यालय सरकारी कार्यालय जस्ता मानवोपयोगी सबै आधारभूत कुराहरू अँझै शहरकेन्द्रित छन् । यसैकारण मानिस अलिकति आर्थिक अवस्था सवल भयो भने शहरकेन्द्रित हुनु स्वभाविक हो । अँझ शैक्षिक गुणस्तर उठ्यो र राम्रो अवसर पायो भने राजधानी हैन प्रदेशतिर पनि लागेका छन् र लाग्छन पनि । देशको राजनैतिक र आर्थिक अवस्था सवल नभए, खोलाले आफ्नो बाटो आफै लिन्छ भने झैं मानिसले आफूसँग उपलव्ध अवसरमध्ये राम्रो अवसर छान्ने गर्दछ । दु:खै गरेर देश सेवा गर्छु भन्ने कुरा नसक्ने वा नजान्नेहरुका लागि मात्र हुने देखिन्छ अब ।
जे होस् शहरमा बस्ने सबै सवल र उन्नतिको शीखरमा पुगेका पनि छैनन् । त्यसका विविध कारण मध्ये सुशिक्षित हुन नसक्नु, कुलतको शीकार बन्नु, सुशंस्कारी बनाउन नसक्नु साथै बाबु आमाले समय दिन नसक्नु हुन् । दु:ख र मिहनेतको पाटो कमजोर हुनु पनि अर्को सहायक कारण हुन सक्छ ।
२०२८/३० सालतिर भविषण साहूजी बाराको सदरमुकाम कलैया बजारमा बस्थे । उनको खपडाकोघर सिनेमारोडको पछाडि थियो । सिनेमाहल भएर पूर्व गाउँतिर जाने मुख्य सडकमा गोला (धान, गहू, मकै, तोरी, दाल जस्ता अन्न किन्ने र बेच्ने थलो) थियो । बिहीबार र सोमबार कलैया बजारमा हाट (आसपासबाट उत्पादित तरकारी खाध्यान्न आदि दैनिक उपभवग्य बस्तु किनबेच गर्ने थलो ) लाग्ने गर्छ । गाउँका कृषकहरू उपभोग्य सामान खरिद गर्न आफूसँग उत्पादित अन्न ल्याएर बेच्ने गर्दथे । ५ किलोको एक पसेरी र ८ पसेरी अर्थात ४० किलोको एक मन हुन्छ । त्यस बेलाका साधन भनेको गोरुगाडा, घोडा, साइकल नै थियो, वा मानिस आफ्नो टाउकोमा बोकेर बजारसम्म लाने चलन थियो । लगिएको अन्न भाउ अनुसार बेच्दथे, त्यसबाट आएको पैसाले बजारबाट आवश्यक मरमसाला, लत्ताकपडा, ताजा तरकारी, तेल, चिनी आदि बस्तु लिएर घर फर्कने चलन थियो ।
गाउँघरतिर खेती लगाउनुअघि किसानलाई पैसाको समस्या हुन्थ्यो, त्यस्तो समस्या पर्दा यी साहूजीले व्याजमा पैसा दिन्थे । अलि जान्ने किसानसँग सम्बन्ध बढाउथे, मित लगाउथे र केही रकम खानपिनमा खर्चन्थे पनि । नेपालीको माहान पर्व तीज र दशै अघि खासगरी हिउदे धानपाक्दैन थियो चाड मनाउन खाचो पर्नेहरुलाई घर घरमा गएर अनुमानित धानको मूल्यमा झण्डै पच्चीस प्रतिशत कम मूल्मा लिने गरी पैसा बाँड्थे । अन्य अन्न व्यापारि पनि घुम्थे तर पैसा लगानी गर्न भने हिच्किचाउथे । यिनको त चार पाँचगाउँ नै लगानी हुन्थ्यो होला । कलैयादेखी पूर्व नयागाउँ, बोधवन, मधुवन, आशामटोल, ठोरियाही, ढोडिया तथा प्रसौना आदि गाउँबाट गोरु र टाएर गाढामा लर्को लागेर कलैया धान जान्थ्यो र घोडामा लदाएर गंजभवानीपुरतिर पनि लगिन्थ्यो । त्यतिबेला मान्छे कम र जमिनधेरै थियो र प्रशस्त अनाज उव्जनी हुन्थ्यो मानिस खेतीमा आधारित थिए तर आज त्यो अवस्था छैन । गाउँ आउदाँ घोडा चढेर आउने र साँझ फर्कदां घोडाको अवस्था अनुसार २ देखी ३ मनसम्म बोकाएर रमितै हुंनेगरी अन्न किनेर बेच्न लान्थे । कच्ची बाटो आली खोलामा पनि घोडा जान सक्ने भएकोले पनि राम्रो सवारी साधन बनेको थियो । अब त मात्र टाङ्गा तान्न प्रयोग गरिन्छ घोडा ।
जसले जे भने पनि यति विना परीश्रम गर्नुको पछाडि बाल बच्चाको भविष्य र सुखी जीवन जिउन नै हो । यिनको जेठो छोरो लालचन जन्मिसकेको थिए बजारमै पढाउन राखिएको थियो । पछि लोचना देवी र उर्मिला जन्मे र अन्त्यमा कान्छो मुकेशसाह (सबै काल्पनिक नाम) जन्मे । साहुनीलाई यी चार जनाको लालन पालन र घर धन्धामै ठिक हुन्थ्यो । साहूजी को दुई भाइ र बहिनीहरू पनि थिए जसको विवाह भैसकेको थियो । विवाह पछि दाजु भाइ अलग भए । अरुकोभन्दा यिनको कमाइ राम्रो थियो । पैसा लगानीबाट आकर्षक व्याज र अन्न व्यापारबाट राम्रो मुनाफा भएको थियो । आय राम्रो भए पछि खर्च पनि गर्नु पर्दो रहेछ क्यार दीपावलीमा जुवा खेल्नु र प्राय साँझपख सोमरससँग मासु चिउरा चाहिन्थ्यो । कमाइ भए पछि सोचाइ पनि बदलन्छ भन्छन् । यिनको पनि सोचाइ नबदलिएको भने हैन, गोलामा कामदार राखेर राम्रो व्यापार चलेको थियो । आफू सामान्य पढे-लेखेको भए पनि व्यवसायी विचार यिनको सही थियो । गाउँका कृषकले विश्वास गर्थे, उनले पनि कृषकलाई भनेको बेला पैसा दिन्थे ।
व्यापारी भए पछि, सधैं जसो बाहिर र गोलामा समय बिताउनु पर्छ, घर परिवार र बाल बच्चालाई समय छुट्याउन सकिदैन वा समय निकालिदैन । फलस्वरुप बच्चाहरू पनि आफूले सोचे जस्तो नहुन सक्छन् । घर परिवारमा पैसा दिए भै हाल्यो नि सबै कुरा त यसले पाइहालिन्छ भन्ने अधिकतरको सोच हुन्छ । आमा बुबा मध्ये एक जनाले यिनका पढाइको चासो, विद्यालयको स्तर र व्यवहार तथा वरपरको शंस्कार जान्न जरुरी हुन्छ । त्यतिबेला टिभी, नेट थिएन हिन्दी फिल्म खुप लाग्द्थ्यो । फिल्म हेर्ने, घोडा चड्ने, रेडियो बोक्ने, घडी बाध्ने मानिस धनी र उपल्लो तहको मानिन्थ्यो । लालचन र भाइबहिनीहरू पढनुभन्दा सिनेमा हेर्नमा खुशी हुन थाले । छिमेकका छाप पर्नु अस्भाविक होइन, जस्तो हावा चल्यो त्यस्तै असर गर्छ नै । छोराछोरी झोला बोकेर पढन गए घरकालागि, तर उनीहरू कुन आँपका बगैचा तथा सिनेमाहलमा दिन बिताएको पत्तै भएन ! कालो जुत्ता, सेतो धोती, धर्के कमिज आधाभन्दा कम, फूलेर काटेको कपालमा नरिवलको तेल लगाइ बायाँ लर्काएर कोरेपछि, निदारमा रातो ठाढो टीका लगाउथे र खुप सुकिला भएर, गोलाको ढोका छेउमा पूर्व फर्काएर राखेको खाटमाथि राखिएको बाक्लो डस्नामा हालेको सेतो तन्ना र सेतैखोल भएको गोलो सिरानी नजिक सजिएर बस्थे साहूजी ! कामदार उनको निर्देशन अनुसार अन्न जोख्ने, थुपार्ने, बोरामा भरेर चाङपारेर राख्ने गर्थे । बाहिरबाट हेर्दा लाग्थ्यो कति सुखी जीवन ! उनी रातो बहीमा अभिलेख राख्थे र काठ्को कन्तुरबाट सय र दश, पाँच तथा एकका नोट निकाली हिसाव गरी दिन्थे । उति बेला राम्रो धान मनको ६०/७० रुपैयाभन्दा बढी पर्दैन थियो । दिनभरि काम लगाएको ज्याला धान, गहू दिए एक पसेरी र पैसा दिए ५/६ रुपैया थियो । छोरा मान्छेकोभन्दा छोरी मान्छेको ज्याला त्यही कामकोलागि पनि कम थियो । गोलामा अन्न बेच्न चिनेका किसान आए चिया पनि खुवाउथे । उनको कमिजको गोजीमा सानु चक्कु हुन्थ्यो र सुपारी काट्दै खादै गर्थे कहिले पान मगाएर खान्थे । उनका सन्ततिले किन पढन सकेनन ? हिसाव किताव गर्नेलाई थाहा हुन सक्छ तर खर्च गर्नमा कमी भने थिएन । त्यति खर्चन नसक्ने शहरियाहरुले पनि गाइ भैसी पाली दही दुध बेचेर जीविका चलाएका थिए र छन् पनि भने, हलो कोदालो चलाएर उब्जाएको अन्न बेचेर दु:ख गरी पढाउनेहरू आज कहाँ पुगिसके ? ठूलै हैसियत राख्नेसम्म बनेका छन् लुकेको छैन यो सव मिहनेतकै फल त होला नि !
उमेर कसैको पनि पर्खदैन । जति सोचे, प्रयास गरे पनि एउटा अवस्था आइहाल्दो रहेछ । यिनको सन्ततिले उच्च शिक्षाको ढोकाखोल्न सकेनन । गोलामा आफ्नो बिडो धान्न बस्ने छोराहरुबाट लामो हात हुन थाल्यो, पहिले माग्नु पर्थ्यो अब मौका छोपे हुने भयो । जस्तो बुद्धि त्यस्तै व्यपार ! चड्दो उमेर र घट्दो उमेरको संघम हुन सकेन । जेठो छोराको मागी विवाह भयो केही दाइजो पनि आयो र छोरीको विवाह धुमधामले गरी दिए दाइजो पनि राम्रै दिए । १०/१२ वर्षको जमाइ र कमाइमा स्थिरता आउन थाल्यो । खर्च र व्यवहारको एउटा अवस्था र शंस्कार बनिसकेपछि त्योभन्दा तल्लो लाइनमा आउन कोही पनि मान्दैन । आय सीमित भयो पेट बढ्न थालेपछि व्यवस्थापनमा धमिरा लाग्नु स्वभाविक हो । घरको जेठो बाठोले राम्रो बाटो समातेमा अन्य सन्तानले पनि सोही बाटो सामाउछन् अन्यथा सुधार्न मुश्किल पर्छ । आखिर साहूजीले दिनरात दु:ख कसकोलागि गरे ? किन गरे ? आफ्नो पथ लिने सन्तान भएमा त्यसमा झन सुधार आउछ र बढोत्तरी भएर जान्छ व्यापार । तर सधैं सुखमात्र त कहाँ हुन्छ र दु:खको चक्र पनि आउँछ नै । एकातिर गाउँहरुमा जनसंख्या बढ्न थाल्यो अर्कोतिर उत्पादनमा कमी आउन थाल्यो । आशामीहरू जान्ने बुझ्ने भए शिक्षामा सुधार आयो कडा व्याजमा अब कसले लिने पैसा ? र अन्न पाक्नु पूर्व झण्डै पच्चीस प्रतिशत कमीमा कसले बेच्ने ? उता गाडीको सवारी बढ्न थाल्यो र गाउँ गाउँमा कच्ची भएनि बाटो निर्माण हुन थाल्यो । मुकेशको पनि बीरगंमा विवाह गराइ दिए । छोराहरुको नराम्रो बस्तुमा लत बसिसकेपछि निस्कन पनि गाह्रै हुँदो रहेछ । नाता नातिनीहरू थपिन थाले । गाउँतिर जान नसक्ने भए व्यापार खस्कनु स्वभाविक थियो । मिठोमसिनो स्वाद चाखिरहेको मुखलाई मनाउन गाह्रो भयो । समय यस्तो बलवान छ, जवानीमा जे खाए पनि पचाउन सक्छ र रोग पनि सीतिमिति लाग्न सक्दैन तर ५५ /६० लाग्न थालेपछि सतर्क सजक भएर खाँदा पनि विभिन्न रोग, प्रेसर, सुगर, युरिक यसिड आदि आउन थाल्ने छ । छोरो कमाउने आफूले मोनिटरिङ गर्ने बेला भए पनि फरक कहानी बनेर आएको थियो यिनको !
विवाह भए पछि बुहारीहरुमा मनमुटाव शुरु भयो साहुनी पनि एकै दिनको बिरामीले धर्ती छोडिन, दाइजोको निहुमा भनाभन शुरु भयो अन्तत्वगत्वा जे भएको दुई भाग लगाइ छुट्ट्याई दिए छोराहरुलाई । साहूजी कान्छा मुकेशसँग बस्न थाले । यिनको राम्रो शीप नभएरै होला जंगलमा गएर साइकलमा दाउरा, काठ कलैया लगेर बेच्ने गर्थे । गोला पेशामा सिक्न खोजे पनि बुबाको जति सफलहुन क्षमता भएन यिनमा । अलिकति पैसा भयो भने बाहिरकै खानपिनमा रमाउने भैसकेका थिए । खपडाको पुरानो दुईकोठे घर र केही जमिन यिनको भागमा आयो । तीन बच्चा सहितको छ जनाको परीवार चलाउन सजिलो थिएन । जेठो छोरा अपाङग थियो, एक जनाको कमाइले घरधान्न हम्मे नै थियो । बेलैमा योग्य हुन नसक्नु शंस्कारी बनाउन नसक्नुको परीणाम त देखा परि हाल्यो, जसले बेलामा अध्ययन र योग्य बन्छ पिताको शेखापछि राम्रो भैहाल्दो रहेछ । तर जसले बाल्यकाल सुखमय बनाएर बेकारमा गुजारेको छ आफ्नो जवानीमा पनि सोही अनुरुप दु:खमय हुन्छ । बुझ्ने र बुझाउने तहले कित्ता नजोडिदिए फरक त पक्कै हुन्छ नै ।
२०७३ साल भदौ दोस्रो हप्ताको कुरा हो साहूजी विहान उठ्ने बेलामा उनको बाँया हातखुट्टा चलेनन्, छोरालाई बोलाए, छोरा आएर उठाए तर फालिस (लकवा – paralysis ) भएको बुझियो । केही पैसा ऋणलिएर बीरगंज अस्पताल लगियो । भएन र भारतको दरभंङ्गासम्म पनि पुर्याए तर पार लागेन । आफन्तहरुलाई जानकारी गराए तर ७५/७६को साहूजीलाई तङ्ग्राउन सकेनन् । केही दवाइ र मालिस ल्याएर खुवाए र लगाए, चिकित्सकले बताए बमोजिम गरे उठाउन सकेनन । हिडाउन डुलाउन र व्यायाम गराउनु भनेको भए पनि भनेजति भएन । अन्य परिवारले साथ दिएनन । बजारका केही व्यापारी भेट्न आए तर आर्थिक अभावकै कारण यिनको उपचार सन्तोषजनक हुन सकेन । जुटको बोराभित्र परालराखेर डस्ना बनाइएको थियो, सिरानीमा पनि टाउकाको तेलको दागले कपडा नचिन्ने मैलो भएको थियो । दुईकोठे खपडाको घर मध्यको एउटामा एकछेउमा बाख्रो राख्ने अर्कोतिर काठको चौकी (खाट)मा यिनलाई सुताइएको थियो छेवैमा लामखुट्टे धपाउन घुर ( सुकेका घाँस पराल अन्यकाममा नआउने बस्तुको संकलन ) बालेर धुँवा निकाल्ने गरिन्थ्यो यद्यपि प्वालै प्वाल परेको झुल पनि झुण्याइएको थियो । उनलाई उठाउन, खुवाउन र सुताउन एक जना सुसारे चाहिन्थ्यो । शुरुका दिनमा त छोराले राम्रै हेरे तर पछि कमाउन जानु पर्ने भए पछि बुहारीले रेख देख गर्न थालिन । शासुको हेरविचार बुहारीले सश्वुरोको हेरविचार छोराले उचित हुँदो रहेछ कारण हातगोडाँ नचलेपछि न्यूनत म कुराहरू पनि छोप्न सकिदो रहेनछ । खस्कदो उमेर तथा बिपन्नताले गर्दा मानिसको हैसियतमा राखेर लाभ गराउन सकिएन । खानपिन पनि राम्रो पाएनन अर्को तर्फ सरसफाइमा कमी भै नै हाल्यो । एकातर्फ मात्र धेरै समय पल्टेर सुत्दा गोडाको माथि जाँघनिरको हड्डी घोटिएर रातो मासु देखिन थाल्यो । त्यहाँ माखा लाग्न शुरु भयो । सामन्य दवाइ मलम ल्याउथे लगाउथे तर खाटा बस्ने केही दिन पछि पुन घाउ बन्न थाल्यो पाखुराको कुहिनु नेरको हड्डीमा पनि त्यस्तै घाउ हुन थाल्यो । जेठालालचन फर्केर आएनन । त्यस्तो छोरा पो छोरा ! जसलाई हुर्काउन कति मिहनेत र परीश्रम गर्नु पर्यो होला तर बुबा थला परे सन्तानको सहयोग नितान्त आवश्यक छ । त्यही सहयोगकालागि न हो जीवनभरी संघर्ष गरेको ? सोही कुरा पाएनन । अंशमा केही कुरा चित्त न बुझेको हुनसक्छ तर पैसा मात्र नाता सम्बन्ध हो र ? कहाँ कहाँ देखीका चिनेका पाहुना हेर्न आउछन् । बहिनी/ छोरी आए दुई थोपा आशुँ खसाले, तर दु:खबाट मुक्त गराउन सकेनन । लालचन बौ ओ रे ? भनेर बाबुले खोज्छन् तर उनी अनुहारसम्म पनि देखाउन आएनन । लालचनलाई बोलाई देऊ न भन्छन तर खबर पठायो आउदैन, एक दिन हरेश खाएर भने “अब हम ना-रहेब” अब म बाँच्दिन । “लालचन अब हमर फोटो देख्तै” लालचनले अब मेरो फोटो मात्र देख्नेछ । उसले मेरो फोटोमा भेटोस् । यस्तो मतलवी र स्वार्थी दुनियामा कसको लागि भनेर धन संचिति गर्ने त ? यी त प्रतिनिधी पात्र मात्र हुन । यस्ता कयौं घटना छन् बाबुआमा पाल्नाको गाह्रोले अस्पताल लान्छु भनी बीचल्लीमा छोडेका देखी लिएर बृद्धाआश्रम पुर्याउने सन्तानसम्म पनि यही छन् भने आमालाई भीरबाट फाल्नलादां डोको चाहिं फर्काउनु पर्ने नातिको कथा पनि छुपेको छैन । बिडम्बना छ शिक्षा र शंस्कारको ! सकारात्मता र नकारात्माको ! बाबु आमालाई देवता मान्ने सन्तति छन् यस धर्तीमा सुशिक्षित र शुसंस्कृत छन् गौण छन् । समाजका कति राम्रा र मान्ने व्यक्तिहरुको पनि यस्तै दुर्गति भएको छ ।
साहूजी थला परे पनि बिहान बेलुका हातमुख जोड्न मात्र हैन बालबच्चाको लालन पालन तथा बुबाको उपचार समेत गर्नु पर्ने भएकोले एक जना कमाउन निस्कनु पर्ने देखिन्छ । आम्दानीको निश्चित स्रोत भए पो कहीं न कहीं त्यसले टेको दिन्थ्यो, कमाउदै खाँदै गर्नेहरुकालागि त बिरामी पर्नु र थला पर्नु नै अभिशाप हो ! नरक पर्नु सरह वा पापकाट्नु हो । पातलो दुव्लो शरीरमा च्यातिएको कुर्ता र मैलो धोती भित्र मैलो अण्डरविएर देखिन्थ्यो । माघको चिसो सूर्यको दर्शन पनि भएको थिएन, मान्छे पनि मुठी भरी भएका थिए विहान पख बेहोसमै एक मुठी शास नफर्कने गरी फाले अनि संसार छोडेर बिदा भए भविषण साहूजी ! यिनले कमाएको कता गयो होला ? यिनको जीवनमा देखिएका कुरा :-
क) पारिवारिक माया :- जे भए नि दुई छोराहरू मिलेर समस्या समाधान निकाल्नु पर्ने भाइ फुटे गँवारलुटे जस्तो भयो ।
ख) जीवनसाथी नहुँदाको पीडा :- छोरा मान्छेको स्याहार गर्न सकारात्मक सोच भएकी जीवनसंगिनी जरुरी देखिन्छ । त्यसैकारण बृद्धावस्थामा दुवैसँगै बस्दा भरथेग हुन्छ । श्रीमती पछि भए पनि बुहारीले स्याहार शुसार गर्न सजिलो हुँदो रहेछ तर श्रीमान पछि भएमा बढी समस्या देखिदो रहेछ ।
आय अनुकूल हुँदा राम्ररी जोहो गरेर व्यवस्थापन नगर्नु । भाइ भाइमा मेल नहुनु । साथै धार्मिक दृष्टिकोणले बिश्लेषण गर्दा आफ्नो भाग्य बदल्न नसक्नु पनि हुन सक्छ अथवा अनुकूल बेलामा किसान शोषित तथा दुखी त भएनन ? खानपिनमा नियन्त्रण गर्नु पर्दो रहेछ ? वा तराजु जोख्दा कैफियत पो भयो कि ?
सन्तान परिवार सम्पत्ति गतिलो होस् या नहोस् तर आफ्नो स्वास्थ्य ठिक हुनु जरुरी हुँदो रहेछ जसकालागि खानपान व्यायाम र व्यवहार स्वच्छ हुनु जरुरीरहेछ । सन्ततिलाई शंस्कारीमात्र हैन सुशिक्षित पनि बनाउनु पर्दो रहेछ । हरेक मानिस बालक युवा जवानी हुँदै बृद्ध हुन्छ र सोही अनुरुप आफ्नो व्यवहार बनाउन आफूलाई बदल्न सक्नु पर्दो रहेछ ।
