Skip to content

नववर्षको शुभकामना


उत्साह बोकी नववर्ष आयो
नवीन आशा सबमा पलायो
तमाम पीडा अब होस् सुदूर
हाम्रो यही नै शुभकामना छ।।१।।

अतीत सम्झे मन हुन्छ भारी
भो स्वार्थको मात्र सधैं सबारी
छ घाउ गैह्रो पुरियोस् तुरुन्त
हाम्रो यही नै शुभकामना छ।।२।।

नाङ्गो भयो देश लुटेर सारा
र शेष भो केवल आँसु धारा
त्यो आँसु कैले नि नझर्नु पर्छ
हाम्रो यही नै शुभकामना छ।।३।।

कुभावले चित्त जलाउनेछ
गर्दा खुराफात रुवाउनेछ
फैलोस् सदाचार ढलोस् कुभाव
हाम्रो यही नै शुभकामना छ।।४।।

टुट्नेछ सम्वन्ध विखण्डबाट
सद्प्रेम मर्नेछ बढेर ढाँट
अखण्ड नेपाल रहोस् अखण्ड
हाम्रो यही नै शुभकामना छ।।५।।

रहोस् सबैसङ्ग पवित्र सोच
अकासियोस् मान र शान,ओज
चाँडै बनोस् शान्त समृद्ध देश
हाम्रो यही नै शुभकामना छ।।६।।

(छन्द :-उपजाति)
– सीता भट्ट / कोमल भट्ट
चन्द्रागिरी नगरपालिका,
वा.नं.२१-पुरानो नैकाप
काठमाडौँ
हाल:- न्युयोर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *