Skip to content

युद्धमा बेचिएको यौवन


“दाइ जाने हो ?” जीवनले मेरो एकोहोरोपनालाई भंग गर्दै भन्यो ।

साँझको खाना खाएर थ्रि-न-थ्रि राइफललाई बेडको कुनातिर राखेर कलकलाउँदो श्रीमती र तोते बोल्ने छोरालाई घरमा छाडेर माओवादी युद्धको उद्गम स्थल रोल्पामा फसेको मेरो जीवनको छुटकाराको लागि अवसरहरू सोच्दै थिएँ । बाहिर कतै टाढा पड्किएका बम र बन्दुकका आवाजहरू मेरो कानमा लगातार प्रतिध्वनित भैरहेको थियो ।

“कहाँ जाने ?” उसलाई हेर्दै सोधें ।

“दाइ पनि, कहाँ रे ! बाहिर जाऊँ न यसो बरालिएर आँउला ।”

“मर्ने मन छ कि क्याहो तिम्लाई ! सुनेको छैनौ र बाहिर बम पड्केको आवाज ?”

“बम त पारि पाखाहरूमा पो पड्किराछन् यहाँ काँ’ पड्किनु ! तपाई त कस्तो डराएको ?”

म रोल्पामा सरूवा भएर गएको करिब एक महिना हुँदै थियो । ऊ भने लिवाङमै बसेको आठ महिना भैसकेको थियो । मैले भनें,”यो के बरालिन बाहिर निस्किने समय हो ? भो जाऊ तिमी म जाँदिन ।”

“अरे दाइ तपाईंले बुझ्नु भएन के ! बरालिनुको अर्थ हावा खान जाऊँ वा घुम्न जाऊँ भनेको होइन ।”

“के हो त ?”

“यो बन्दुक़लाई च्याँपेर कति सुत्नु हो यसो रमाइलो गर्नु पर्छ र टेन्सन मुक्त भइन्छ नि !”

“क्लिएर भनन के भन्न खोजेको ?”

“सेक्स ।”

“कहाँ ?”

“केटी भएको ठाउँ पुर्याउँछु क्यारे !”

“तिम्रो गर्लफ्रेण्ड होला म चै कहाँ जानु ? जाऊ न तिमी ।”

“के को गर्लफ्रेण्ड हुनु ! यहाँ त दिनै पिच्छे फेर्छु भने पनि मिल्छ ।”

“कसरी ? त्यस्तो पनि संभव हुन्छ त ?”

मेरो प्रश्नको जवाफ उसले यसरी दियो – “दाइ, माओवादी युद्धलाई समर्थन नगर्नेहरूलाई माओवादीहरूले कतिलाई सफाया गरेका छन् भने कतिको घरबारी कव्जा गरी गाँऊबाट लखेटेका छन् । लखेटिनेहरूमध्ये अलि धनीहरू नेपालगञ्ज, सुर्खेत, दाङ र काठमाण्डौंजस्ता शहरमा गएका छन् भने विस्थापितमध्ये मध्यमवर्ग र गरिबवर्गका जनताहरू यतै लिवाङमा कोठा लिएर आफूलाई सुरक्षित ठानी बसेका छन् । यो सानो ठाउँ रोजगारीको खास कुनै क्षेत्र छैन ।”

जीवनको कुरा सुन्दै हाँमा हाँ मिलाउँदै अँझै बढी सुन्न बुझ्न उत्सुक थिएँ म । यसभन्दा पहिले यावत कुराहरू कसैसँग बुझ्ने मौका मिलेको थिएन । मैले त सबै सुरक्षाकर्मीहरू बलिको बोका हुन राज्य र राज्यले घोषणा गरेका आतंककारी माओवादीहरूको युद्धमा मृत्यु वरणको लागि पालो पर्खेको आभास गरेको थिएँ । दैनिक जसो सुरक्षाकर्मीहरू र आतंककारीबीच मुठ भेड भैरहँदा आतंककारीहरूभन्दा बढी सुरक्षाकर्मीहरू मृत्युवरण गरेका समाचारहरू नेपालका पत्रिकाहरूका हेडलाइन् बन्ने गर्थे । जनताहरूको पनि अवस्था यति साह्रो कारूणिक रहेको कुरा कहीं कतै सुनेको थिइन । जीवनको कुरा सुनिरहन मन लाग्यो ।

ऊ अगाडि भन्दै गयो, रोजगारी नभए पनि उनीहरूले बाँच्नु पर्यो, परिवार पाल्नु पर्यो । अनि अरू उपाय नभएपछि विस्थापित धेरै महिलाहरूले सेक्सलाई यहाँ रोजगारी बनाएका छन् । मलाई लाग्छ लोग्ने र परिवारका अन्य सदस्यहरू आफ्नो घरमा भएको महिलालाई बाहिर सेक्स गर्न छुट दिएका छन् पेट पाल्नको लागि । त्यति मात्र कहाँ हो र कुनै लोग्नेले त श्रीमतीको लागि आफै ग्राहक खोज्नेसम्म भेटेको छु ।

“कति लिन्छन् ?”

“पचास, सय जति दिए पनि हुन्छ, कहिलेकाहीं त एक प्लेट चाउमिन वा नास्तामा पनि । किनभने उनीहरू हामीसँग पनि डराउँछन् कतै माओवादी भनेर गोली हानी मार्न सक्छ भनेर ।”

जीवनलाई प्रश्न गरें, “होटलमा जान पनि त खतरा हुन्छ होला नि ?”

“होटलमा त जानु हुँदैन किनकि माओवादी पछि लाग्न सक्छन् । उनीहरूको कोठामा जाँदा हुन्छ ।”

“अनि कोठामा ? पुरै परिवार एउटै कोठा होला त विचरा विस्थापितहरू !”

उनीहरू एउटै कोठामा भए पनि ग्राहक आएपछि दिनमा हो भने आफै पुरूषहरू बाहिर निस्किन्छन् । राति हो भने अन्जान, अन्देखा भएर मुख छोपेर सुतिरहन्छन् । यो नै उनीहरूको रोजीरोटीको माध्यम बनाउन बाध्य भएकाहरू ।

जीवनको कुराले मेरो मुटुमा ढ्याङ्ग्रो ठोक्यो । मन आक्रोशित भयो । जनताको लागि क्रान्ति गर्दैछौ र आफूलाई जनताको सुरक्षाका ठेकेदार हौ भन्नेहरूबाट निर्दोष जनतालाई एक छाक खानको लागि शरिर बेच्न बाध्य बनाउने ती क्रान्तिकारी भनाउँदाहरू र विस्थापन नागरिकको यौन शोषण गर्ने सुरक्षाकर्मीहरूमा कतै मानवता देखिन मैले ।

“जाने त दाइ ?”

“भाइ तिमीले आफूलाई र आफ्नो परिवारलाई एकछिन तिनै विस्थापित परिवारहरूले भोगेको जीवनमा कल्पना गरेर हेर त । के तिमीले कल्पना गर्न सक्छौ ? त्यसमाथि पनि तिमी त झन् सुरक्षाकर्मी हौ । हामीले उनीहरूबाट फाइदा लुट्ने होइन कि उनीहरूलाई सकिन्छ भने विना सर्त सहयोग गर्नु पर्छ ।”

मेरो कुरा सुनेपछि जीवन आफ्नो ब्यारेकतर्फ लाग्यो । मलाई भने ती कारूणिक जीवनहरूलाई सुन्नु बाहेक अरू केही गर्न नसक्ने निरीह सुरक्षाकर्मी बनेकोमा आफैलाई धिक्कार लाग्यो ।

बाबुराम पन्थी

Leave a Reply

Your email address will not be published. Required fields are marked *