हामी सबै मानवसँग मन छ । सबै मानवको एउटै मन हुँदैन । आत्मा र मन फरक कुरा हो । कल्पना गरिने कुरा मनमा हुन्छ । आँखाले देखेको, पढेको, अनुमान गरेका कुराहरू मन भित्रबाट प्रष्फुटन हुन्छन् । त्यसलाई संयोजन गरी विभिन्न भाषामा उतारिन्छ, ती उतारिएका लेखन, छापा वा विद्धुतीय साधनहरुद्वारा हामी बुझ्न सक्छौं कुरा यस्तो रहेछ भनेर । यसलाई छुट्याउन मुश्किल छ कि यो हिमाली, यो पहाडी, यो तराइको मन अथवा देशी वा विदेशी भनेर । दिमाग र मनको सम्बन्ध रहन्छ र त दिमागले सोचेको कुरा मनमा खेल्न थाल्दछ । एउटै मान्छेले कयौं भाषा बोल्दछ, एउटै भाषा मात्र बोल्ने पनि मानिस हुन्छन् । भाषा सिकाइ, पढाइबाट आउँछ तर मन त शुरुदेखि नै हुन्छ । एक प्रकारको शंस्कारबाट अर्को प्रकारको शंस्कारमा गइयो भने, मन बदलिन्छ, हिजोकोभन्दा फरक हुन्छ । ऋतु, संगत र शंस्कार अनुसार मन फरक हुन्छ । क्षेत्र, देश, विदेश, समाज, मौसम र शिक्षा अनुसार बन्दछ यो मन । हिमालको मान्छेले सोचेको मन र तराइको मान्छेले सोचेको मन एउटै हुन पनि सक्छ देशनिर्माण वा समान धारणाको विकाश गर्ने सन्धर्वमा । विभिन्न क्षेत्र र शंस्कारका मानिसले एकै प्रकारको शिक्षा लामो समयसम्म लिएर प्रशिक्षित भएमा फरक धारणाका भए पनि मन मिल्न सक्छ । मन पार्टीगत र धार्मिक हिसावमा पनि फरक हुन्छ । यसमा पनि शंस्कारले एक प्रकारको धारणा ( लिने कुरा,विश्वास ) बनाइसकेको हुन्छ । केहीसमएको सहयात्रा पछि पुन मन बदलिन सक्छ ।
मन यति चञ्चल छ कि कहिल्यै स्थिर हुदैन र यसको एउटा वानी हुन्छ कुनै पनि बस्तु, चीज नपाउने बेलासम्म लालायित रहन्छ र पाए पछि क्रमश हट्न थाल्छ र अर्को नयाँ बस्तुको खोजीमा हिड्छ । न यसलाई देखिन्छ, न हेर्न सकिन्छ न त समाउँन नै सकिन्छ मात्रै अनुभव गरिने कुरा हो । हावाभन्दा चाडों, घोडाभन्दा छिटो कुद्ने, जहाजभन्दा चाडों उड्ने, आँधीभन्दा तीब्र भाग्ने अथवा विद्धुतीय साधन, नेट, इन्टरनेटहरू देखिलिएर संसारमा भएका जे जति छिटो हुने चीज बस्तुहरू छन्, सबैलाई यसले जितिदिन्छ । करेन्ट, सूर्यको किरणभन्दा पनि छिटो मन हिड्दछ । वाह रे मन ! तँलाई जित्न कसले सक्छ ?
यो मन कुद्न, ढाट्न, छल्न सिपालू छ । आत्माले ढाँट्दैन तर यसले ढाटिदिन्छ । उदाहरण हेरौं यदि हाम्रो छोरा छोरी वा साथी भाइले कुनै गल्ती गरेको छ भने बेइज्जति हुने वा गाली खाइन्छ भन्ने भयले, फ्याट्ट नाटकै गरेर, ढाटी दिन्छ, रोइ दिन्छ तर आत्मा टुलु टुलु हेरिरहन्छ र भन्छ यसले ढाँट्दै छ ! त्यसैले नेपाली गीत पनि छ :-
मन, ए मन, ए मेरो मन ।
आफैलाई छली, आफ्नै बसमा नबस्ने मन, नबस्ने मन ।
भन, भन भन, नढाँटी भन ।
त्यस कारण मनले ढाँट्छ, आफैलाई बैमानी गर्छ र छल्छ । समाउन खोज्यो झन अघि अघि दौड्न्छ । मन एउटै भए पनि अति फोहर र अति उत्तम स्थानमा बस्द्छ । यसलाई झिंङ्गा (Flies)सँग तुलना गरिएको छ ।
गीतले भन्छ :-
किन गर्छस्, किन गर्छस यस्तो बैमानी ।
दुनियाको धकै नमानी, हो दुनियाको लाजै नमानी ।।
उस्तै छ विहानी, उस्तै देख्छु रमझम ।
हावा पनि उही छ, उस्तै नै छ मौस म ।।
नौलो चाह तँ भित्र,ए नौलो चाह तँ भित्र बढ्दैछ किन हर्द म ।
मन ए मन, ए मेरो मन ……………..
कस्तो तेरो प्यास, कस्तो तेरो तल तल ।
लुकेर बस्न भन्छु, बग्छस् नदी झैं कल कल ।।
तँ भित्रै दवेको देख्छु, ए तँ भित्रै दवेको देख्छु,
लाखौं ढुकढुकी हरपल ।
मन ए मन, ए मेरो मन ……………..
यो गीतका रचनाकार मनको चरित्रको बारेमा राम्रो जानिफकार देखिन्छन् । मन वास्तवमा बैमानी छ, समाज, दुनियाको लाज मान्दैन आफ्नो गल्ती ठान्दैन, प्रकृति एउटै प्रकारको भए पनि यसलाई हरेक क्षण नौलो कुराको इच्छा राख्दछ, त्यो पायो अर्कोमा कुदी हाल्ने ! शरीरको तीर्खा त पानीले मेटाउन सकिन्छ यस्को तीर्खा (प्यास) मेटाउन गाह्रो छ । यसको तल तल बालुवामा पानी हाले सरह हुन्छ । पायो चुप लाग्छ छैन खोजी हाल्दछ । मनको कुरा मन भित्रै कुदाए त हुन्थ्यो नि तर यसले शरीरलाई गर्न लगाउँछ र छताछुल्ल हुन्छ । लुक भनेर पनि मान्दैन नदी झैं बगिरहन्छ । बरु समुद्रको गहिराइ पत्ता लगाउन सकिएला यसको गहिराइ नाप्न कठीन छ । दवेर बसेको हुन्छ, लाखौं आकाक्षां, चाहना, इच्छालाई पत्र पत्र तह तह पारेर राखेको हुन्छ, कहिल्यै पूर्ति गर्न सकिदैन । त्यसैले मन तँ आफै भन के गर्दा तेरो चित्त बुझाउन सकिन्छ भनिएको हो ।
यसको स्वभाव – चुलबुले हुन्छ, मन दौडन्छ, कुद्छ, उत्ताउलो हुन्छ, थाक्छ, पोल्छ, दु:खी हुन्छ, बाझ्दछ, औडाहा हुन्छ, छट्पटाउँछ, रुन्छ । तर यो खुशी पनि हुन्छ, नौनी झैं नरमहुन्छ, मान्छ, मनाउन सकिन्छ, मन धड्कदैन मुटु धड्कन्छ ! शरीरले सधैं एउटै प्रकारको अभ्यास एकै समयमा खोज्दछ भने मन सधैं नयाँ नयाँ चाहनाराखी वा नयाठाउँ पाउन कुदिरहन्छ । कहिले कता कहिले कता डुलिरहने थिर वा स्थिर हुदैन । कर्कलोको पातमा पानी अड्याउन सकिन्छ तर मन थिर गराउन सकिदैन ।
मनलाई मनाउन, खुशी पार्न सकिएमा, जीवन सुखी बनाउन सकिन्छ । मनले नै शरीरलाई दु:ख दिलाउने हो । यस्तो चुलबुले मनलाई कसरी मनाउने ? यसलाई मित्र वा साथी बनाउने कोशिस गर्नु पर्छ । आफूसँग भएको बानी (आदत) बदल्न पनि पहिले मनलाई मनाउनु पर्छ, आश्वास्थ पार्नु पर्छ । यो काम म गर्न सक्छु भन्ने विश्वस्थ हुनु पर्छ । आफूलाई बानी पार्न क्रमश आज, भोलि, पर्सी एक हप्ता महिना गरेर त्यो बानी बस्छ र शंस्कार बन्दछ । बानी वा आदत राम्रो कामकोलागि त गरिन्छ नि ? मिहनेत राम्रो हुनलाई नै हैन त गर्नु पर्ने ? आफूसँग भएका खराव बानीको बारेमा बारम्बार सोच्ने र त्यसको नकारात्मक पक्षहरू खोज्ने र त्यो चीजलाई मनबाटै घृणा गर्दै त्यो बानी छुटाउन सकिन्छ । यदि धुम्रपानको लत छ र छुटाउनु खोजिएको छ भने यसबाट हुने दुश्परिणाम खोज्नु पर्छ, धुम्रपानको कारणले क्यान्सर भएको मानिस र उनको मृत्यु, छिमेको वा आफन्तहरुको यसबाट भएको पीडालाई सोच्नु र विश्लेषण गर्नु पर्छ । यस सम्बन्धी लेख रचनाहरू पनि सहयोगी हुन सक्छन् । यसबाट अरु के के खरावी हुन्छ पत्तालगाउने मनलाई विचार्न लगाउनु पर्छ ।
मनलाई समाउन, केही थिर गराउन र खराव सोचबाट राम्रो सोच तर्फ मोडाउन सकिन्छ ।व्यापकताबाट सीमिततामा राख्न सकिन्छ । मानौ गर्मीको समयमा हाम्रो अगाडि भोगटे साँधेर त्यसमा चिनी मिलाएर बनाएको अचार राखियो भने वा पाकेको लिची बजारमा देखियो भने मुख रसाउँछ अथवा खान मन लाग्छ, यसो हुनुमा मनले स्वीकार गर्छ शरीरको पद्तिले मुखमा रस निकालिदियो । पुन, कुनै ठूलो दुर्घटनामा परी मानिसका हात खुट्टा काटिएका, टुक्रा टुक्रा भएका, छ्याल व्याल रगत पोखिएको टाउको एकातिर शरीर अर्कोतिर भएको घटनाको दृश्य देखिएमा शरीर कसरी श्रीङ्ग हुन्छ ? किनकि मनले दिमाग मार्फत घटना उज्गार भयो, शरीरले स्वीकार गर्यो र कम्पन भयो । त्यसकारण परिस्थिति अनुसार एकै क्षणमा मन आनन्दित भएर हर्षको आशु आउँछ, शरीर फूर्तिलो हुन्छ। जस्तो हामीहरुमध्ये कुनैको पदोन्ति, कुनै चीठ्ठा,विदेश भ्रमण अथवा कुनै नचिताएको खबर एक्कासि आयो भने मन आन्नद र खुशी हुन्छ र पुन एकै क्षणमा आफन्तको दुर्घटनामा मृत्यु भएको खबरले दुखी हुन पुगिन्छ। अब अगिको खुशी भागि सक्छ आँखामा आएको हर्षको आँशु तुरुन्तै दु:खी र पीडाको आँशुमा परिणत हुन्छ । यसमा मन मान्नु र नमान्नुको खेल त छ ।
बाइपंखी घोडालाई लगामद्वारा नियन्त्रणमा लिएर, आफूले भनेको ठाउँमा लान सकिन्छ, समुद्रमा विभिन्न मेशिन प्रयोग गरी पूल, बाटो र विमानस्थल बनाउन सकिन्छ, तुफानी हावालाई, यन्त्रद्वारा विद्धुत निकाल्न सकिन्छ, आकाशलाई विभिन्न विधिद्वारा बादल बनाई बेमौसमी वर्षा गराउन सकिन्छ, अकिल लगाएर अति चीसो सगरमाथाको चुचुरोमा चड्न सकिन्छ, मनलाई मनाउन किन सकिदैन ? मन आफ्नो हो अवश्य सकिन्छ । मनलाई माझ्न सकिन्छ सफा विचारहरुले,सत्संगतहरुले, जसरी शीसामालागेको धुलोलाई कपडाले पुछेर सफा गरिन्छ र चम्काइन्छ हाम्रो मनलाई चम्काउन सकिन्छ । अभ्यास गर्नु र बानी पार्नु पर्छ, शंस्कारी बनाउनु पर्छ । त्यसकालागि केही सकारात्मक सोच राख्नु जरुरी छ । यसले जता कुदायो त्यतै कुद्नु हुँदैन, लगाम लगाएर घोडालाई मोडे जसरी मोड्न सकिन्छ, सक्नु पर्छ । खराव बस्तु वा स्थानमा बसेको मनलाई राम्रो स्थानमा बसाउनु पर्छ । यसो गर्न खराव बानी वा आदत हटाउन सवभन्दा पहिले मनलाई नै मनाउनु पर्छ । एक प्रकारको आदतबाट अर्को प्रकारको आदत भएकाहरुको संगतमा जानु पर्छ । जस्तो धुम्रपानको आदत भए सो नगर्नेहरुको संगत वा मध्ये पान गर्ने भए सो नगर्नेहरुको संगत वा ढिलो उठ्ने आदत भए चाडो उठ्नहरुको संगतमा बसेर बानी पार्नु पर्छ ।
ज्ञानको छडी प्रयोग गरेर यसलाँई मनाउन र फर्काउन सकिन्छ, जसरी हाँस्य कलाले तनावलाई, माउथेको अंकुशले हात्तीलाई, मदारीले बाँदरलाई, सपेराले सर्पलाई, औषधीले रोगलाई,सन्तले आफ्नो वाणीलाई, व्यायामले शरीरलाई …. नियन्त्रण गर्न सकिन्छ भने ज्ञानको माध्यामद्वारा मनलाई नियन्त्रण गर्न सकिन्छ । मनमैत्री बतावरण अरुले होइन आफूले तयार पार्नु पर्छ । आत्मालाई साँचि राखेर, आत्माबल बढाउनु पर्छ, सकारात्मक सोच राख्नु पर्छ, यो शरीर र जीवनलाई प्रसाद, वरदान वा उपहारको रुपमा लिएर मनको दास हुँनबाट बचाउन सकिन्छ । मनलाई विगार्नु वा भुट्नु हुदैन । पकाएको वा भुट्को कुरा (जस्तो मकै ) जतिसुकै उर्वर भूमिमा लगाउदां (रोप्दा) पनि अंकुराउदैन, त्यस्तै बिग्रेको वा फाटेको मन केमा उपयोग गर्न सक्छौं र ? तर मन सधैं चोखो वा कावुमा राखेमा जे जस्तो प्रतिकूल अवस्थामा पनि सहजता र सरलताकासाथ लगाएर लक्ष्यहासिल गर्न र राम्रो नतिजा ल्याउन सकिन्छ । कुखुराको खोल्लिएको अण्डाबाट केही नतिजा ल्याउन सकिदैन त्यसैगरी मनलाई पनि विगारिएमा नतिजा वा लक्ष्य प्राप्त गर्न कठीन हुन्छ । मानव जीवनको आरोह अवरोहमा मनमैत्री भए, सरल, सामान्य र उपलव्धी मूलक बनाउन सकिन्छ । नौनी जस्तो कमलो मन बनाएर कारात्मक कुरा वा बस्तुमा लगाउनु नै मन मैत्री बनाउनु हो ।
