सधैं म मध्यरातमा भएर शीत पर्दछु
र व्योम धर्तीमा सधैं म शीत बिन्दु छर्दछु ।
जसै म झर्छु सुस्तरी बतास बन्छ शीतल
स्वभाव यो हुने हुँदा मलाई भन्दछन् जल ।।१।।

समस्त प्राणीमात्रको म प्राणमाथि प्राण हुँ
जता जता छ शुष्कता त्यता त्यता म त्राण हुँ
कराल काल अग्निले जहाँ जहाँ डढाउँछ
त्यहाँ त्यहाँ भने स्वयं म एक रामवाण हुँ ।।२।।

जताततै पहाडमा भई सुरम्य निर्झर
झरेर ओर्लँदै मिठो गरेर नाद झर्झर
म सुस्त सुस्त सुस्तरी विभिन्न राग गाउँदै
गला गला म धाउँला जहाँ गलो छ हर्हर ।।३।।

अनन्त कालदेखिको मिठो मिठो कहानी हुँ
कतै कतै वियोगको स्वभावकै सुनामी हुँ
समुद्रबाट बाफमा उडेर माथि लम्कँदै
पुगेर फेरि फर्कने म जीवदायी पानी हुँ ।।४।।

हिमालमा हिमालकै भएर रूप जम्दछु
समुद्रमा समुद्रकै भएर रूप रम्दछु
कतै चिसो बतासमा भएर वाष्प उड्दछु
अकासबाट ओर्लँदै उतै म फेरि उड्दछु ।।५।।

कतै म जम्छु खालमा कतै म जम्छु तालमा
कतै कतै कतै भने म जम्छु नाल नालमा
स्वभाव जम्नु मात्रकै र बग्नुकै कहाँ छ र
पुगुर हेरियो भने म रम्छु छालछालमा ।।६।।

मलाई नित्य चुस्तछन् यी रुखका जराहरु
चुसी चुसी पलाउँछन् नवीन आँकुराहरु
कतै कतै विनास गर्न उर्लिएँ भने त्यहाँ
मलाई बाँध बाँध्दछन् वलिष्ठ पाखुराहरु ।।७।।

खनेर खेतका गरा किसान खेती गर्दछन्
ती भूमिपुत्रले त्यहाँ अनेक बीज छर्दछन्
त्यहाँ चिसो चिसो गरी म बीज त्यो उमार्दछु
किसानलाई त्यो घडी प्रसन्न चित्त पार्दछु ।।८।।

म पग्लिदै गएँ भने हिमालमाथिको चुली
पहाडले सिरानमा सुटुक्क फेर्छ काँचुली
म भित्र त्यो दशा त्यहाँ नयाँ नयाँ भयो भने
अनन्त विश्वभित्र नै बढेर जान्छ खुल्दुली ।।९।।

सिंचेर भूमिपुत्रले जमीन पार्छ कल्कल
निधारमा म श्वेद भै बहन्छु धार खल्खल
क्षुधा हटाउने गरी मलाई गर्छ सेवन
प्रचण्ड गर्मीको त्यहाँ प्रभाव हुन्छ निष्फल ।।१०।।

सुरम्य पारिला नदी भएर आउँदै तल
कतै म बन्छु दुस्तरा कतै म बन्छु निर्मल
समस्त भूमि उर्बरा बनाई शश्यसासिनी
म बग्नु पर्छ धर्तीमा भएर स्नेही मालिनी ।।११।।

सुवर्ण झैैं टलक्क टल्कने प्रभात कालमा
यता म टल्कँदै उता रमे म छाल छालमा
तुफान वायु वेगमा थिएँ उता पहाडमा
यता म सुस्त सुस्तरी बहन्छु आड आडमा ।।१२।।

निधारमा बहाउँछन् किसान स्वेद खल्खल
जमीन भूमिपुत्रकै सिंची बहन्छु हर्पल
अनन्त शस्य सम्पदा सिंचेर बग्छु कल्कल
कठोर ग्रीष्मको हवा समेत बन्छ शीतल ।।१३।।

कतै जलाम्य फाँटमा बगेर जन्छु ढल्पल
कतै सुरम्य खाेंचमा बगेर जान्छु कल्कल
हिमालमा कतै भने तुषार रुपरुपमा
जताततै इमारमा कतै म हुन्छु कूपमा ।।१४।।

यता म शारदा भएँ उता म घाघरा भएँ
यत कतै कतै भने नयाँ नयाँ गरा भएँ
सुसाउँदै र गाउँदै पृथक् छ बग्नुको मजा
विशिष्ट काव्य भित्रकी म छन्द्य श्रग्धरा भएँ ।।१५।।

उपत्यका र फाँटमा रमाउँदै ढलीमली
गरेर बग्नुको मजा कहाँ रहन्छ मामुली
प्रभातमा उदाउँदो नवीन सूर्य रश्मि जो
जसै माथि पर्दछन् उसै म फेर्छ काँचुली ।।१६ ।।

म भित्र छन् अनन्त ज्ञानका नयाँ मुनाहरु
कतै अभेद्य छन् कतै खुलस्त छन् तुनाहरु
लियो भने मनुष्यले विवेक पूर्ण चिन्तन
स्वयं त्यहाँ उदाउलान् कि ज्ञानपाहुनाहरु ।।१७।।

जसै म झर्छु धर्तीमा नयाँ मुना पलाउँछन्
समस्त सृष्टि सम्पदा समेत सल्बलाउँछन् ।
जमीन शुष्क जो थियो फिरी त्यहाँ म आउँदा
चराचुरुङ्गी झुन्डमा समेत गुन्गुनाउँछन् ।।१८।।

विचारका मुनाहरु म भित्र नै टुसाउँछन्
म भित्र ज्ञानकुज्ञञ्जका सुसिर्जना सुसाउँछन्
म व्योमबाट सुस्तरी धरातिरै झरेपछि
लतानिकुञ्ज कुञ्जले अमूल्य गीत गाउँछन् ।।१९।।

मनुष्यका घमण्डले कतै म बाँडिदै गएँ
मनुष्यकै घमण्डले कतै म टाढ्रिंदै गएँ
मनीलनता बढी बढी स्वयं सुसाउँदैछु म
स्वयं विषाक्त आँसुका ढिका खसाउँदै छु म ।।२०।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *