हाम्रो नेपाली भाषामा कुनै यस्ता शब्दहरू चलन चल्तीमाछन् जसको भावार्थ बुझिन्छ तर ठेट अर्थ देखिदैन । जस्तो “झ्याउ” यसको ठेट अर्थ रुख बिरुवामा पाइने एक प्रकारको बाहिरी झुस हो । यो खासै काममा आउदैन । कुनै विशेष उत्सवमा सजावटको लागि मुख्य द्वारहरुमा हरियालीकोलागि वनबाट ल्याएर प्रयोग गरिन्छ । यस बाहेक यो न दवाइ न दाउरा न मल न घाँस न रङ्गको रुपमा नै प्रयोगमा आउछ । पुरानो र बढी पानी पर्ने स्थानमा यो पाइन्छ ।

किन झ्याउ लाग्छ ? रुखका बोक्रा वा कापाहरुमा विविधकारणले, माटो वा फोहर बस्तुजम्मा भएमा पानीको चीसोको कारण यो उम्रन्छ । झ्याउ लागेको रुख राम्रो देखिदैन । झ्याउ र एजेरु फरक कुरा हुन् । एजेरु एक प्रकारको रोग हो जुन रुखमा लाग्दछ ।आगो भएको कोइलामा सेतो पर्दाले ढाक्छ र शरीरको कुनै अङ्ग यसको नजिक लादा त्यति तातो आँउदैन अर्थात पोल्दैन तर खरानी सफागरेर नजिक लाँदा पोल्छ । सिन्के र बाटेकोधुप आदिमा पनि सल्काउदा बाहिर खरानीले ढाकेको हुन्छ धुवा आउँछ तातो आउदैन तर त्यो जालो हटाउने बित्तिकै पोलिहाल्छ । त्यसकारण जालीले वा ढाकिएको पदार्थले त्यसको वास्तविकतामा फरक पार्दो रहेछ भनेर बुझ्दछौं । यही शब्द मान्छेले प्रयोग गर्न थालेकाछन् । यो शब्द महिला पुरुष दुवैले प्रयोग गरेतापनि अधिक महिलाले प्रयोग गर्छन् र विशेष गरी युवतीहरुले प्रयोग गरेको पाइन्छ । तर यो झ्याउ लाग्नु र बोल्नुमा फरक छ । कुनै काम गरेर थाकेको वा अल्छी लागेर समय कटाउन नसकिएको बेला “आज मलाई झ्याउ लाग्यो” भन्ने गरिन्छ । झ्याउ लाग्नु र मनको सम्बन्ध रहेको हुन्छ । केही नबोली बस्नुको बदला अल्छीको ठाउँमा झ्याउ लागेको भनिन्छ । अथवा झिज्जार लागेको अवस्था भनौ, अंग्रेजीमा “बोर फिल” भन्नु र यो शब्द बोल्नु उस्तै हो ।

मान्छेको पनि मनलाई जालो (झ्याउ)ले ढाकेको अवस्थामा ताजगी नहुनु अथवा सचेतनाकम हुनु जस्तै हो जतिखेर यो अवस्था नभएकाहरुले फाइदा उठाउन सक्दछन् । झ्याउ लागेकाहरुलाई यो नलागेकाहरुले मन बहालाउन भनेर रेष्टुरेन्ट, पार्कहरुमा घुमाएर खर्च गराएको कुराहरुको फेहरिस्त लामै छ । कामगर्न, बोल्न वा अन्य कुराहरू गर्न झ्याउ लागेकाहरुका सोझोपनको फाइदा उठाएर स्वार्थीहरुका चंगुलमा परेका कथाहरू पनि कम छैनन्। एक क्षणको झ्याउ लागेको बहानाले जिन्दगीमा ठूलो उत्तार चढाउ आएको कथा पनि छ । यसमा मनको सानो सुज बुझको अभावमा ठूलै समस्या झेल्न परेको हुन्छ । झ्याउ अर्थात ताजगीमा कमी, मलिन, जसरी रुखलाई झ्याउले छोपेर पुरानो, मधुरो र रोगी जस्तो देखिन्छ वास्तवमा त्यस्तो हुदैन । मानिसलाई पनि झ्याउ लाग्दैमा कुनै असर गरिहाल्न होइन । यो भनेको थकान वा असजिलोपन वा कुनै काम नबनेकोमा झन्झटिलो अवस्था मात्र हो । यस्तो महशुस भएमा केही क्षण आराम गर्नु पर्छ । बरु मेलोडी गीतहरु, मीठो धुनहरू सुन्ने, सकारात्मक, प्रेरणादायी कुराहरू गर्ने, सुन्ने वा सत्संगहरुमा जाने गर्दा राम्रो हुन्छ । यसो गर्दा मनलाई छोपेको जालो (झ्याउ) सफा गर्न सहयोग गर्दछ । झ्याउको निहुमा मनलाई बहकाएर सानो गल्ती हुन पुगे परिणाम दुःखदायी हुन सक्छ । चौवीस घंटामा मन र स्वभाव बदलिरहन्छ, काम र मौसम अनुसार पनि बदलिन्छ । आफूलाई ताजगी बनाउने प्रयास गर्नु पर्छ नकि मनमा आएको एक प्रकारको नैराश्य, अल्छीपनको पछि लागेर यसैलाई मूल विषय बनाएर अगाडि बढ्न राम्रो होला र ? ढुङ्गामालाग्ने लेउ, रुखमा लाग्ने झ्याउ र मान्छेले अनुभव गर्ने झ्याउ एउटै होइनन् । लेऊ लागेको ढुङ्गा चिप्लो हुन्छ, तर यसले ढुङ्गा कदापि बिगार्दैन । झ्याउले रुख पनि विगार्दैन भने मानिसमा लागेको झ्याउले विगार्नु पर्ने कारण छ र ?

मानिसको स्वभाव, काम गराइ, जोश जाँगर र फूर्तिमा कमी आउनेसम्म न हो ? यो त क्षणिक लाग्ने हुनु पर्ने हो तर मान्छे सोचनशील प्राणी भएकाले झ्याउ लागेर स्वयं बर्वाद वा बाधा पर्नु पर्ने त होइन । तर झ्याउलागेर रेष्टुरेन्टमा गएर अल्कोहल, लागुऔषध वा यसैका कारण अनैतिक भेटघाटमा तन्काइ दियौं भने चाहिं झ्याउ लागेर भेउ नपाए पछि के के हुन्छ भनिरहन पर्दैन । यो शब्दलाई यत्रो महत्व दिनु पर्ने नै हैन, यस्को प्रतिस्थापन शब्दहरू पनि छन् प्रयोग गरे भै हाल्यो नि । अल्छी, बोर, झिज्यार जे भने पनि लामो समयसम्म प्रयोग गरिने शब्द होइनन् यी !

एक टुक्रा झ्याउलाई पूरा जीवनसँग किन दाँज्नु पर्छ र ? झ्याउ लागे कोट्याए फाली दिए भै हाल्यो नि । तर यो, रुखमा लागेको जस्तो हरियो वा पात नभएको लहरा जस्तो त हैन र देखिदैन पनि । अनि कसरी कोट्याएर फाली दिने ? जसरी शिसामालागेको धुलोलाई कपडाले पुछेर सफा गरेपछि पूर्ववत अवस्थामा आउँछ, झ्याउलाई पनि ज्ञानको माध्यमले पखालेपछि सफा भइहाल्छ । चाहिएको चाहिं ज्ञान न हो ? ज्ञानले जीवन सफल बनाउन सहयोगी हुन्छ । ढुङ्गाको लेऊ र रुखको झ्याउ खुर्केपछि पहिले जस्तै हुन्छ मान्छे पनि त्यस्तै हुन्छ । त्यसकारण झ्याउलाग्ने बेलामा मान्छे सतर्क हुनु पर्छ झ्याउ लाग्नु भनेको नै अज्ञानको जालोले ढाक्नु हो, शरीरलाई झ्याउ लाग्ने हैन मनलाई लाग्ने हो । झ्याउ, लेऊ र जालो हटाउनु पर्छ, फाल्नु पर्छ अनि पूर्ववत अवस्थामा आइहाल्छ । झ्याउ लाग्नाले रुख बुढो हुने होइन, लेऊ लाग्नाले ढुङ्गा पुरानो हुने होइन र जालो लाग्नाले मान्छे बृद्ध हुने होइन । यो त अवस्था मात्र हो झ्याउ लागेको र झ्याउ फालेको अवस्था भन्नाले, जसरी पुरुष छरी दाह्री काटेर र महिला कोरीबाटी गर्दा देखिने छरितोपन र विपरित देखिने अवस्था हो। झ्याउ (जालो) फालेपछि सफा र ताजगी हुन्छ नकारात्मताबाट सकारात्मकता तर्फ गइहाल्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *