मानिसको जन्मदेखि मरण अवधी बीचको समय नै मानव जीवनको सफल र असफलताको मार्ग हो । संघर्षमय जीवनको यात्रामा कहिले सफल भइन्छ भने कहिले कुनै कर्ममा असफल पनि भइन्छ । तर असफलमा हुँदैमा निरास र सफलतामा हर्षित भएर हौसिने काम भने मबाट कहिल्यै भएन । मेरो जन्म हालको पर्वत जिल्लाको शंकरपोखरी गाविस वडा नं ४ ठूलाघरमा २००३ सालमा भएको थियो । मेरो जन्म हुँदा देशमा राणा शासन थियो । गरिबीले घरमा सताएको थियो भन्न पनि नहिचकिचाए हुन्छ । बढ्दै जाँदा अध्ययन गर्ने धारणा पलाएको तर त्यति वेला सहजरूपमा अध्ययनको लागि विद्यालयको सुविधा थिएन ।
मेरो भान्जेअङ्कल भवानीशंकार सापकोटा आफ्नै तेह्रदिने जेठाबा बलेसँग अक्षर आरम्भगरें त्यति वेला शंकरपोखरीमा प्राथमिक विद्यालय खोल्ने तयारी हुँदै थियो तर मेरो स्व. बुबा कलाधर डिगबोईको तेल कम्पनीमा काम गर्ने भएकोले मेरो पढाई कहिले डिगवोई र कहिले शंकर पोखरी गर्दै आखिरमा राष्ट्रिय विद्यालय डिगवोईबाट HSLC परीक्षा द्वितीय श्रेणीमा उत्र्तिण गरी केही समय डिगवोई कलेजमा पढ्ने अवसर पाए पनि अध्ययन बीचमै छाडी पर्वत घरमा २०२४सालको माघेसंक्रान्तिमा आई माघ ४ गते नारायण मा.वि.मा शिक्षकको रूपमा मेरो जागिर आरम्म भयो ।
जागिर आरम्भ हुँदा मैले १२५ रुपियाँ तलव पाउँथे । पढाउन पर्ने विषय भने विज्ञान र अङ्क गणित पर्दथे । तलव निकै कम ठानी म महेन्द्र शिखरी निम्न माध्यमिक विद्यालय बाझुङ्मा खानाको सहुलियतको साथै २५० रुपियाँ तलव पाउने गरी नारायण माविलाई छाडी २०२५/०२६को आश्विनसम्म त्यहाँ पढाउन थाले । जागिर छैनभन्दा जागिर छ तर तलव पाउने काम भने सरकारले दिने अनुदानलाई कुर्नै पर्ने । अनुदान आउने पनि निश्चित समय नहुने । दशैं आयो स्थानीय शिक्षकलाई अन्न उठाएर दिने कुरा चल्यो र मलाई अनुदान प्राप्त भए पछि मात्र दिनेभन्दा मलाई लाग्यो कि अन्न पनि त पैसै हो । मैले भने मलाई पनि अन्न दिनु होस् र अर्को शिक्षक खोज्नु होस् । म आइएको परीक्षा दिन काठमाण्डौ जान्छु । सञ्चालक समितेले उठाएको कोदोले मेरो तलव पुरा भयो । पाएको कोदो पनि बेच्न सहज थिएन । दुई जना मानिस खोजेर कोदो बोकाएर दोविल्लामा ल्याएर बेचेर पैसा लिएर घर आएँ । जागिर छाडियो । २०२६ सालको दशैंलाई मानेर म गाउँका एक जना भाइ विष्णु रिजालसँग काठमाण्डौ जाने तरखरमा लागे । घर चलाउने पैसा बाबाले पठाए आउँथ्यो नत्र भने घर चल्न मुस्किल थियो । काठमाडौमा मलाई बुबाले पैसा पठाउन पनि सहज थिएन र बुबाको कमाइले घर र मलाई थाम्न सक्ने अवस्था पनि थिएन । मनिअर्डरद्वारा पैसा पठाउनु पर्ने हुन्थ्यो । आइएको परीक्षा दिने भनेर फारम भरे पनि किताव भने किनेको थिइन । परीक्षा दिनु छ तर विना पढाई विना किताव कसरी परीक्षा दिने एउटा टड्कारो समस्या थियो । यही समयमा गोर्खा पत्रमा जे.टि.ए. टे«निङ्गको लागि ४ जनाको मागको सूचना पढ्ने अवसर प्राप्त भयो । जागिर खाने तथा यस्ता सरकारी माग भएका पदको लागि नागरिकताको प्रमाण पत्र पेश गर्न पर्ने तर मसँग नागरिकताको प्रमाण पत्र पनि थिएन र नागरिकताको प्रमाण पत्र प्राप्त गर्नको लागि राजपत्राङ्कि तृतीय श्रेणीका अधिकृतको सिफारिस चाहिने । त्यतिवेला मैले चिने जानेको कोही थिएन तर विष्णु भाइले चिनेका मेरो ससुराली गाउँ हालको पर्वत जिल्लाका केशव शर्मा हुनुहुँदो रहेछ कोमा गयौं । उहाँले ‘मैले उहाँलाई चिन्दिन भन्दै हुनु हुन्थ्यो, उहाँको बुबा काठमाडौमा जानुभएको रहेछले ‘म चिन्दछु’ भन्दै कोठाबाट बैठकमा आउनु भयो र उहाँ मेरो ससुराको नाम लिँदै ‘तुलसीरामको जुवाइँ हाम्रो पनि जुवाइँ’ फाराम दिनु र पाँच बजेपछि सिफारिस पत्र लिन आउनु’ भन्दै मेरो नागरिकताको प्रमाणपत्र पाउँ भन्ने दरखास्त फारम आफै लिएर आफ्नो छोरालाई दिनु भयो । वाग्मती अञ्चल कार्यालयबाट मैले नागरिकता बनाएर जे.टि.ए. तालिमको लागि दरखास्त दिएँ । २०२६ सालमा पनि चार जनाको लागि २४/२५ जनाको दरखास्त परेको थियो । मलाई आइएस्सीमा पढ भन्दै प्रिसिपल कमलाभक्त राज भण्डारीले भन्नुभयो तर मेरो अर्थिक अभावले गर्दा आइएस्सी पढ्न नसक्ने धारणा राखे अन्तरबार्तामा व्यवहारिक कुरा बाहेक केही सोधिएन । एउटा मुख्य कुरा यदि छनौट भएमा बीचमा छोडेर अन्त कतै लाग्ने हो कि ?प्रश्न राखिएको थियो मलाई junior technical assistant शब्दनै मन पर्छ र यसमा विदेशका तालिम र सेवाबाटै विएस्सी अध्ययन गर्ने मौका पनि मिल्छ भन्ने सुनेको छु त्यसो हुँदा मौका पाए सेवा गर्छु भने । अन्तरबार्ताबाट बाहिर आएर अरू साथीहरूका अन्तरबार्ताका कुरा सुन्दा मलाई त केही पनि सोधिएन मलाई निरास लाग्यो छनौट हुन्न होला भन्दै डेरातिर लागें । तेस्रो दिन बोलाइएको थियो । अन्तरबार्तामा सफल भएँ छु । म तालिममा सहभागी भएँ ७० रुपियाँ छात्रवृत्ति पाइन्थ्यो ।पछि ५रुपियाँ छात्रवृत्तिमा थप भयो मेरो आर्थिक समस्या पनि हल भयो । तालिम निकै प्रभावकारी थियो । १३ महिनाको तालिमपछि बढी उपजका विभिन्नबाली तथा मलखादको बढी प्रयोग गर्ने आयोजना चितवनमा मेरो नियुक्ति भयो । आनन्द आयो पर्वत र बाग्लुङका मानिसहरू त्यहाँ बसाइँ सरेर आएका र पञ्चकन्या, देवौली र पिठुवा गाविसमा मलखाद सम्बन्धी परीक्षण गर्नु पर्दथ्यो । यज्ञपुरी फार्ममा हाम्रो अफिस थियो । हामीले मकै बालिका परीक्षण ल्पट त खोज्यौं कमै बाली पनि लगायौं । खुमलटार जातका मकैले राम्रो उत्पादन दियो । धानका ५वटा ल्पटहरू खोज्न थालियो तर धान होचो हुन्छ पराल कम हुन्छ धान लगाउने ठाउँ दिन कोही पनि तयार भएनन् । मैले धेरै प्रयास गरें तर किसानलाई यथार्थता बुझाउन निकै कठीन भयो । धनी कृषकलाई तपाईंहरू हुनुहुन्छ भनेर जागिर खान आइयो ५०० वर्ग मीटर जग्गा धान लगाउन दिनु होस् या जागिर छाडेर जा भन्नुहोस्भन्दा पाँच जना कृषकले धानका परीक्षणका लागि जग्गा दिए र परीक्षण सञ्चालन गरियो । आइआर आठ जातका धान रोपाई भयो । धानको उत्पादन निकै राम्रो भयो । स्थानीय जातको परालको तौलभन्दा आइआर जातका धानको तौल बढी हुने यथार्थता पनि कृषकलाई पराल जोखेर देखाइयो कृषकमा विश्वास जाग्यो र विकासे धानको क्षेत्रफल बढ्यो । ३वर्षको परीक्षणले उन्नत जातका धान गहुँ मकैमा रसायनिक मलको प्रयोगले राम्रो उत्पादन लिन त सफल भइयो र कृषकलाई संतुष्ट पनि पारियो तर त्यसमा कार्यरत हामी प्रास/नाप्रास अस्थाइ जागिरले भने बढुवाको साथै आज पेन्सनमा निकै घाटा पुर्यायो ।
लोकसेवाबाट २०३० साल माघ १९मा स्थाइ भएर पाल्पा गइयो । पाल्पा गए पछि मदनपोखरा, तेल्घा, मस्याम र दोभान मेरो कार्यक्षेत्र बन्यो । अनुसन्धानबाट सिधै कृषिप्रसारमा पुग्दा मैले बुझेको रहेनछु कि एक जना कृषि प्राविधिकले कृषि सामाग्री र कृषि ऋणलाई सिफारिस गरेपछि किसानले चाहे जति कृषिसामाग्री र ऋण पाउन सक्छन् । यहाँ एउटा रमाइलो कुरालाई दर्शाउन चाहें । मस्याममा गाउँसभा रहेछ । त्यहाँ अदुवालाई वृहत रूपमा लगाउने यसका लागि कृषि विकासबाट ऋण दिलाउन सकिन्छ या सकिदैन यदि सकिदैन भने जेटिए चाहिंदैन । मलाई घमण्ड थियो मैले सिफारिस गरेपछि कृषि विकास वैंकले ऋण दिन्छ । अदुवा अभियानको रूपमा लगाउने म सिफासिर गर्छु भन्दै आफ्नो धारणा पोखें । गाउँसभाको निर्णयसहित म कृषि विकास कार्यालयमा पुगें । तत्काल कृषि विकास अधिकृत रामहरी शर्माले कृषि विकास वैंक पाल्पामा कार्यरत कर्मचारीलाई बोलाएर छलफल गर्नुभयो । भोलिपल्ट कृषि विकास वैंक भैरहवामा अदुवा खेतीको ऋणको लागि कृषि विकास अधिकृतको साथमा म पनि पुगें । कुरा सकरात्मक भयो । ऋृण मागफारम भर्न भनियो । हतार हतारमा कामको थालनी गर्दा बीउको समस्या रोपाइको समस्या, अनुगमन आदिका समस्या देखा पर्दा रहेछन् । योजनाबद्ध रूपमा भावी कामको लागि राम्रै पाठ सिकियो । पाल्पा गएको थोरै समयमा किसान र हाकिमको प्यारो पनि भइयो तर काम गर्न नचाहाने साथीहरूमा मेरा यी कामले डाहाका काइना पलाउन थाले । कार्यालयमा काम गर्दा धेरे तीता मीठा अनुभव पनि हुँदा रहेछन् । म मेरो कार्यक्षेत्रमा सुरुसुरु काम गर्दथे । क्षेत्रीय र विभागबाट २४ घण्टे कामका विवरणका माग पनि आउँथे । यस्तो अवस्थामा हाकिमले मलाई पनि त्यस्तै आदेशमा काम लगाउनु हुन्थ्यो । जस्को फलस्वरूप पाल्पा जिल्ला पुरै घुम्ने मौका मिल्यो । कुनै साथीप्रति साथीहरूको दृष्टि पनि फरक पर्दो रहेछ । काममा असहयोग पनि भएको देखियो । घुमाउरो पाराले कार्यालयलाई तथा कार्यालय प्रमुखलाई असजिलो पार्ने काम पनि हुँदा रहेछन् । नेपालमा कृषि उत्पादन बढाउनको लागि कृषि वर्ष घोषणा भयो । आजको जस्तो टेलीफोन र मोवाइलको सुविधा थिएन । गोरखपुरमा मुर्रा भैंसी किन्न भोलि किसान पठाउने भन्ने आदेशको आवा कृषि विकास कार्यालयमा अवेर गरेर आएछ । मसँग त्यो आदेश साँझमामात्र आइपुग्यो । रातैमा कृषकलाई जानकारी दिन रातभरि हिड्न पर्यो । मस्याम गाउँ पञ्चायतका प्रधानपञ्च मानप्रसाद अर्यालले साथ दिनु भयो र मस्यामका केही घर र मदनपोखराका किसानका दैला दैला रातैमा पुगियो । किसानलाई भोलिपल्ट गोरखपुर पुर्याइयो तर किसान सन्तोष भएनन् । देशको पैसा यस्ता भैस्ीमा भारत पुर्याउन हुँदैन भन्दै आवाज उठ्यो र भैंसी वितरणको कार्यक्रम रोकियो । मुर्राका राँगा वितरण गर्ने काम भयो । कृषिवर्षमा रातदिन निकै खटियो वगैंचा स्थापना, डालेघाँस–प्रवन्धन उन्नत जातका बालीको विस्तार, गोवर गैसको स्थापना आदि जे जति काम भए सबै काममा म आफू पूर्ण सन्तुष्टि थिएँ । कृषि वर्षको कामको मूल्याङ्कनको लागि उच्च टोली मेरो कार्य क्षेत्रमा अनुगमनको सिलसिलामा आयो । स्वयमको मूल्याङकन नै राम्रो मूल्याङकन हो ( Self evaluation is the best evaluation) भन्ने धारणामा रहेको म उच्चमूल्याङ्कन टोली पनि पूर्ण सन्तोष भयो । कृषि वर्षमा गरेको कामको मूल्याङ्कनले मूल्याङ्कन टोली फर्केको केही दिनमा मैले कायम मुकायम प्रास पदमा पद वृद्धिको साथै विएस्सिएजीको लागि पञ्जावमा पढ्ने अवसर मिल्यो ।
विएस्सिएजिसकेर आएपछि मलाई कालीकोटको कृषिको पहिलो अधिकृत पदको प्रमुख हुने मौका मिल्यो । तर यहाँ सुगममा राम्रो सेवा दिन नसकेकालाई, तथा कार्यालमा समस्या सिर्जना गर्ने जस्ता कर्मचारीलाई पठाउने कारणले गर्दा काम सुसम्मन्न गर्न त्यति सजिलो थिएन तापनि तरकारी लगाउनु पर्छ र तरकारी खाने वानी बसाल्नु पर्छ भन्ने काममा जुटेँ । कृषिमेला प्रर्दशनीको लक्ष रहेछ । कृषकले गरेका उत्पादन धान गहुँ मकै कोदो फाटफुट स्याउका नमुना बाहेक मेलामा तरकारीका सामाग्री प्राप्त भएनन् । तरकारी पनि मेलामा राख्नु पर्छ भनी कर्मचारीले लगाएका तरकारीका विभिन्न जातहरू राखियो किसानलाई सहभागी गराएर तरकारीको महत्त्व बुझाइयो र तरकारीका बीउ पनि वाँडियो । यहाँको बसाइ १३ महिना भयो र पोखरा क्षेत्रीय कृषि निर्देशनालयमा सरुवा भएर कृषि अधिकृत भएर कामहरू गर्न थाले । कालीकोटबाट पोखरा आउने बाटोम्याद करिब १ महिना जति पाइने भएता पनि म भने करिब १५ दिनमा हाजिर हुन पुगें । करिब एक हप्ता घरमा बसें । म घर गएको खबर निर्देशकलाई भएछ । उहाँ निकै रिसाउनु भयो । सहनेका सय सिद्धि भने जस्तै चुप लागेर एउटा कोठामा बसेर काम गर्न थाले । यो काम गर भन्ने निर्देशन पनि भएन तर निकै सहयोगी मित्र कमल प्रधानले केही सुझाव दिनु भयो । उहाँको सुझाव अनुसार काम गर्दै गएँ । बार्षिक कार्यक्रम गोष्ठिको तयारीमा हामी दुवै जुटे म ।
करिब एक महिना पछि निर्देशकले मलाई सोध्नुभयो ‘तपाईंले के काम गर्नुभएको छ ?’ मैले पनि नम्रस्वरमा भने ‘तोक आदेश भएका सबै पत्रहरूको जवाफ मैले निर्देशनानुसार भनेर दिन मिल्नेलाई सोही बमोजिम पठाएँ र हजुरको सही गर्न पर्ने पत्रलाई टाइप गराएर हजुरको टेवुलमा राख्ने गरेको छु र वार्षिक कार्यक्रम गोष्टिको लागि तयारगर्नु पर्ने कामहरू कमलजी र मैले मिलेर गर्ने गरेका छौं’ । गुड यसरी नै काम गर्नु पर्छ भन्ने निर्देशन पाएँ । मेरो कामप्रति निर्देशक माणिकलाल प्रधान पनि प्रभावित हुन थाल्नुभयो म सहजसँग उहाँको पनि प्यारो कर्मचारीमा गनिन थाले ।
अस्थाइ रूपमा काम गर्दा गर्दै पोखराबाटै लोकसेवा पास गरेर सहायक माटो विज्ञको पदमा स्थाइ भएर क्षेत्रीय कृषि तालिम केन्द्र खैरेनीटार तनहूँमा मेरो माटो वैज्ञानिकको रूपमा कामको थालनी भयो । खैरेनीटारमा राम्रो माटो जाँच्ने प्रयोगशाला थियो तर सञ्चालनमा थिएन । वैज्ञानिक पद हात लागे पनि माटो जाँच गर्न यन्त्रहरू चलाउने काम भने सहज थिएन । गुन्टी स्वायल टेष्टिङ किटवक्स सञ्चालनमा थियो । माटो जाँच्ने रसायनहरू बनाउने कामको विधिलाई मैले प्राप्त गर्न कठीन पर्यो । रसायनहरू बनाइन्थ्यो तर मैले थाहा नपाउने गरी । पुरानो फायल केलाउँदा शंकर प्रधानको सही भएको माटो जाँच्ने किटवक्सको रसायन बनाउने तरिका लेखिएको कागजहरू फेला परे मलाई रसायन बनाउन सहज भयो । यो माटो जाँच्ने बाकसबाट माटो जाँच्ने तरिकालाई पछि माटो परीक्षण सेवा शाखाको वार्षिक पुस्तिकामा सबैले पढुन् र व्यवहारमा सहज होस् भनेर प्रकाशन गरिदिएँ । खैरेनीटारमा भएका उपकरण सञ्चालनको लागि म आतुर थिएँ । जर्मन सल्लाहाकारले मेरो समस्यालाई बुझेर शंकर बहादुर प्रधानलाई तालिमको लागि बोलाएर मेसिन चलाउने काममा एक हप्ते तालिमको व्यवस्था त गरिदिनु भयो तर त्यसै अवस्थामा मलाई इजिप्टमा माटो सुधारको तालिम लिन जानु पर्यो । नाप्रास रामप्रसाद ढकाललाई मेसिन सञ्चालन गर्न सिकाइ दिने अनुरोध गरेंर इजिप्टतिर लागें । इजिप्टबाट फर्केपछि खैरेनीटारको प्रयोगशाला राम्रोसँग सञ्चालनमा ल्याएँ । यस कामको लागि माटो विशेषज्ञ दिव्य लक्ष्मी ब्रजाचार्य जो हाल पनि आफ्नो प्रयोगशालामा माटो जाँच गर्नमा सक्रियरूपमा लागिरहनु भएको छले मलाई सहयोग गरिरहनु भयो । २०४६ सालको जनक्रान्तिले देशमा प्रजाअतन्त्र बहाली गर्यो । माननीय कृषिमन्त्री शैलजा आचार्यको मन्त्रित्वकालमा कृषिसेवा एक छानाबाटै सञ्चालन गराउने नीति अनुरूप कृषि र पशु सेवाको कामहरू एउटै छानोबाट सञ्चालन गराइयो । नीति राम्रो थियो कृषकले एउटै ठाउँबाट सेवा पाउँथे तर नेपालमा सबै नै हाकिम बन्न पर्ने र चेक सञ्चालन गर्न पाउनु पर्ने प्रबृतिले गर्दा यस्तो राम्रो कार्यक्रम धेरै टिक्न त सकेन । एउटै छानामुनीको सेवा प्रदान गर्ने वेलामा मैले पनि पर्वतको कामु कृषि विकास अधिकृतको कार्यभार सञ्चालन गर्न पर्ने अधिकार प्राप्त गरेर जिल्ला कृषि विकास कार्यालयमा काम गर्न थालें । प्रजातन्त्रको वहालीको साथसाथै कर्मचारीले पनि संघ संगठनको गठन गर्ने अधिकार प्राप्त भएको थियो । एकातिर कर्मचारी संघ र संगठनमा विभाजित भइसकेका थिए अर्कोतिर एक छानोको सेवा गर्ने काममा पशु र कृषिलाई सन्तुलन गरेर लैजानु पनि सहज थिएन । मैले आर्थिक पारदर्शीको नीति अवलम्वन गरें । बालीहरू र पशुको काम अनुरूप शाखाको निर्माण गरेर सबै शाखालाई कार्यक्रम बजेटको परिधिमा रहेर सञ्चालन गर्ने अधिकारको प्रत्यायोजन र कामको स्थलगत अनुगमन कार्यालय प्रमुख र योजना अधिकृतले गर्ने भनी कार्यक्रमलाई जिम्मा लगाइयो । काम गर्न र कर्मचारी सन्तुलनमा समस्या नदेखिए पनि राजनीतिक दलहरू र दलका गुट उपगुटसँग समन्वय गरेर अघि बढ्नको लागि कसरत भने निकै गर्नु पर्ने अनुभूति भयो । सरकारमा राजनीतक परिवर्तनसँगै कार्यालय प्रमुखमा आफ्नो अनुकुल हुने व्यक्तिलाई कार्यालय प्रमुख बनाउन खोज्ने प्रवृत्ति ममा पनि (ढिलो लागु भए पनि) लागु भयो । एमालेको नौ महिने शासन कालको अन्तिमतिर मलाई आफ्नो साविक पदमा क्षेत्रीय माटो परीक्षण प्रयोगशाला त्रिशुलीमा सरूवा गरियो ।
त्रिशुली नुवाकोटमा पुगेर माटोको प्रयोगशाला सञ्चालन गर्ने काम भयो । सुगम ठानिएको नुवाकोट जिल्ला महगाइको हिसावले दुर्गम थियो तर कर्मचारीको तलवमात्र पाइने र दुर्गम भत्ता नपाइने साथै सुक्रबार काठमाडौका र नजिक घरहुने कर्मचारी हाटा ( हाजिर गरेर टाप कस्ने)गर्ने र आइतबार हाआ गर्ने अर्थात हाजिर गर्न आउने हुन्थ्यो । यातायातको कारणले गर्दा कर्मचारीको लागि बाध्यता पनि थियो । करिब १३ महिना जति नुवाकोटमा बसेपछि मेरो बढुवा भएर माटो परीक्षण सेवा शाखामा पुगेंं । यो शाखाको स्थापना नार्क (नेपाल कृषि अनुसन्धान परिषद)मा समायोजन हुन नगएका कर्मचारीबाट भएको थियो । संरचना अनौठो खालको थियो । तीन जना राजपत्राङ्कित दुतीय श्रेणी दुई जना राजपत्राङ्कित तृतीय श्रोणी एक जना प्रास एक जना नाप्रास र एक जना कार्यालय सहायकको साथै लेखा (सलेपा एक ), प्रशासन (टाइपिष्ट र खरिदार ) । माटो विज्ञहरू तीनै जना एकै विज्ञापनमा बढुवा सहायक माटो विज्ञामा पनि एकै विज्ञापनमा स्थाइ भएका थियौं । मलाई शाखा प्रमुखको जिम्मेवारी दिइयो । आर्थिक कारोबार कहिले कृषि प्रसार, कहिले, बाली विकाश र कहिले कृषि विभागबाट हुन्थ्यो । माटो जाँच भनिन्थ्यो तर प्रयोगशाल सञ्चालनको लागि नप्रयोगशाला भवन नै थियो न प्रयोगशाला सञ्चालनको लागि आवश्या उपकरण नै थिए । जैसीले काम गर्छ भन्ने धारणा सबैमा थियो तर काम गर्न सक्ने वातावरण भने थिएन । शिवसुन्दर श्रेष्ठ महानिर्देशक हुनुहुन्थ्यो भने गोविन्दप्रसाद पाण्डे बाली विकास निर्देशनालयको प्रमुख दुवै जनाले काम गर्ने हौसला दिनु हुन्थ्यो तर बजेट थिएन र रहने बजेटलाई रकमान्तर गर्न सहज पनि थिएन । कृषि विभागको पुरानो सभाहललाई प्रयोगशालाको रूपमा प्रयोग गर्ने ममा विचार पलायो र म सिधै महानिर्देशककोमा गएँ र मेरो शाखा निरिक्षण गर्न आग्रह गरें र मेरो हाकिम पाण्डे सरलाई पनि शाखामा बोलाएँ । शाखाका सबै साथीहरूलाई पनि सहभागी गराएर कृषि विभागको पुरानो सभाहल र पुराना टेवुलहरूलाई जो मर्मत गरेर प्रयोग गर्न मिल्ने खालका कृषि विभाग अन्तरगतका जहाँ भए पनि प्रयोगशालाका उपकरण जे जति छन्लाई राखेर प्रयोगशाला सञ्चालनको लागि अनुरोध गरें । महानिर्देशकले तत्कालै सभाहलको ताला खोल्न लगाएर निरिक्षण गर्नुभयो र मेरो हाकिम गोविन्दप्रसाद पाण्डेलाई जैसीको आग्रहलाई कसरी सहयोग गर्न सकिन्छ गरौं भन्दै सभाहलको तालाचापी मलाई हस्तातरण गरियो । अवत प्रयोगशालाका भएका उपकरणलाई राख्ने स्थान भयो पाण्डेसरले पनि दिलोज्यान लगाएर साथ दिनु भयो प्रयोगशालाका उपकरण भएका जोडिए, गर्न सकिने विश्लेषणहरू गर्न थालिए । एक जना जापानी एक्सपर्ट फुजी मोटो हुनुहुन्थ्योले यो शाखालाई गाडी चाहिन्छ या माटो जाँच गर्ने उपकरण ? मैले सहजमा भने मलाई गाडी चढ्ने सोख छैन, म माटो वैज्ञानिक भएकोले मलाई बलियो प्रयोग शाला चाहिन्छ भनेपछि जाइका र मेरो काउन्टरपार्ट निकै खुसी भए र प्रयोगशालाका उपकरणमा केही सहयोग पुर्याए । दीगो माटो व्यवस्थापन कार्यक्रमले कार्यक्रम र प्रयोगशाला सम्वर्धनको लागि अति न्यून बजेट थियो । प्रपोजल लेखेर पनि केही बजेट लिन पनि सकियो । दीगो भूव्यवस्थापन कार्यक्रमको समितिको सञ्चालन समितिको अध्यक्ष कृषि सचिव र माटो परीक्षण सेवाशाखाको प्रमुख कोअर्डिनेटेड सचिव भएको हुँदा तत्कालीन कृषि सचिव स्वय म वैज्ञानिक भएकोले केही रकम प्रयोगशालामा लगाउन लगाएर प्रयोगशाला भवन बन्यो । भवन निर्माण भने पुरा नहुँदै म जागिरबाट अनिवार्य अवकाश भएँ, तर भवन बन्यो । अनिवार्य अवकाश पाउनुभन्दा पहिला मेरो कार्यकालमा पाँच विकाश क्षेत्रमा एक एक प्रयोगशालाको सम्वर्धन गर्ने काम भयो झापाको सुरुङ्गामा औधोगिक माटो परीक्षण प्रयोगशालाको स्थापनाको साथै केन्द्रमा एक केन्द्रीय माटो परीक्षण प्रयोगशाला गरी सात वटा माटो जाँच प्रयोगशाला जहाँ माटो मल, सूक्ष्म तत्त्व समेत जाँच गर्न सकिने अवस्थामा सञ्चालन गरियो । सरकारले मल निजी क्षेत्रले पनि ल्याउन पाउने व्यवस्था गरेपछि मलको गुणस्तर जाँचको तरिकाको लागि कृषि अनुसन्धान परिषदका एक जना डाक्टरसँग अनुरोध गर्दा वैज्ञानिकले त आफै तरिकाको आविस्कार गर्दछन् जैसीजी भन्नुभयो । मल जाँचको तरिककाको खोजी गर्दै भारततिर लाग्ने विचारमा भैरहवा पुग्दा डा.अनन्त रेग्मीले फिलिपिन्सको मलखाद स्ट्यान्डर छ फोटोकपी गरेर लैजानुहोस् भन्दै सहयोग गर्नुभयो । माटो जाँच प्रयोगशालालाई दरिलो र भरपर्दो बनाउन तेजबहादुर सुवेदी, रमिता मानन्धर, किरणहरि मास्के, भिष्मकान्त घिमिरे, रामस्वार्थ यादव, कमलले साँझ विहान बिदाको दिनमा पनि मसँग सहभागी भएर जुन सेवा गरे मैले जीवनभर भुल्न सक्दिन । क्षेत्रीय प्रयोगशालाका कर्मचारीहरूको योगदानलाई पनि भुल्न सकिदैन ।
जनशक्ति कम कार्य बोझ अधिक भएकोले एक दिन विश्लेषणको काम दिनभरि गर्दा पनि सकिएन । राती १२ बजे बत्ती गयो म, तेजबहादुर सुवेदी, भिष्मकान्त घिमिरे र कमल माटो विश्लेषण स्थलबाट तलझर्दा पत्रिकालाई जलाएर उज्यालो पार्दै झरियो । भोलि पल्ट कृषि विभागमा राँकेभूत निस्केको हल्ला चलेको सुनियो । ती भूत हैनन् प्रयोगशालाका कर्मचारीले राँको बालेर तल झरेका हुन् भन्दै मैले पुष्टि गरें ।
मेरो जागिरे जीवनलाई उच्चाइमा पुर्याउनका लागि सरकारी काममा सहयोग दिने मेरा कार्यालय प्रमुखमा भुल्नै नहुने नाम रामहरि शर्मा, माणिकलाल प्रधान, रामचन्द्र गुप्ता र गोविन्दप्रसाद पाण्डेको नाम अगाडि आउँछ । हुन त कृषि विभाग कृषि मन्त्रालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले पनि मैले प्रस्ताव गरेका कार्यक्रम र बजेटलाई पूर्णरूपले समर्थन गरे फल स्वरूप मलाई कामक गर्ने बजेटमा कहिल्यै कमि भएन ।
काम गर्ने अठोटता चाहिंदो रहेछ । सबैको सहयोग पाइँदो रहेछ । कामको मूल्याङ्कन पनि हुँदो रहेछ । जस्को फलस्वरूप जागिरको अन्तिम समयमा गोरखादक्षिणवाहु चौथाले विभुषित पनि भएँ । अन्त्यमा मैले जागिरे जीवनमा गरेका तीता मीठा अनुभूतिको एउटा सिङ्गै कृतिको रचना हुन सक्छ तर अहिले अघि बढ्दिन भन्दै बिदा चाहन्छु ।
धन्यवाद
२०७४ साल बैशाख
