तिमी सोँच्दैछौ होला
यो किन हाँस्छ ।
हो म मुस्कुराउँछु
तिम्रो मुस्कान ।
तर मैले तिम्रो ओठबाट
चोरेको होइन
यो ।
सपना पनि चोरी हुँदो रहेछ
आजकल
खै कसलाई विश्वास गर्नु
र कसलाई शंका
सबै उस्तै उस्तै देखिन्छन्
यहाँ ।
ए हजुर! कतै तपाईको रातमा त
आएन मेरो सपना ।
ताजमहलको शिरबाट
कोहीनुर हिरा चोरी हुनु
र कसैको ताजमा
आलङ्कृत हुनु
यस्तै छ दुनिया
परपीडामा रमाउने
शिशुजस्तै ।
सायद दुनिया नै शिशु होला ।
मलाई डर लाग्छ
घरीघरी
कुनै रात मेरो आँखा पनि
चोरी हुन्छ कि भन्ने ।
तर चोरे चोरस यो रिक्त आँखा
हनुमानले तर्न नस्कने क्षार समुद्रमा
डुबोस न साले चोर!
अनि थहा पाउँछ
कस्तो हुँदोरहेछ पीडा ।
हाम्रो पुर्खाको किपोटमा
पनि चौकी चोरी हुदैछ रे
तर खुलेआम ।
के गर्नु त्यस्तै थिएछ
र नै मेरो पुर्खाले
बुद्धको राष्ट्र होइन
अशोकको देश चुनेछ ।
तर यो अशोकको देशमा पनि
आज रातबाट सपनाको चोरी भए झैँ
समिधानबाट मानव अधिकारको
धाराहरू चोरी हुँदैछ ।
फेरि अर्कोतिर देवकोटाको शकुन्तला महाकाव्यका
नायिका नै चोरी भएछ,
नायक दुष्यान्त खोज्दै म कहाँ आइपुगेको थियो ।
कत्ति माया गर्थ्यो,
तर आफूले माया गर्ने माया नै चोरी भएछ ।
अब त देवकोटाको कृतिनै अपुरो भो ।
पाएको पलहरूमा प्रफुल्लित परिभेषमा
प्राणीहरू बाँचेको कुनै एक पल पनि
देखिन्दैन,
पाउँनेहरू पनि पीडित देखिन्छन्
कारण उसलाई पनि थहा छ
उसले प्राप्त गरेको होइन
अरूको सपना लुटेको भनेर
त्यै आत्माग्लानिले खाइरहन्छ सधैं उसलाई पनि ।
अमर निराकार राई
दार्जीलिङ, भारत
