लोकमार्गसँग खुरचुहिया टाँसिएको छ । त्यसका वरपर आँपका रूखहरू लहरै ठडिएका छन् । यातायातका साधनहरू आफ्नै धुन र वेगमा ओहोरदोहोर गर्दा छन् ।
आँपका हाँगामा एक जोडी ढुकुर प्रेमालाप गर्दै छन् । मुन्तिर फेदमा राजेश गहभरि आँसु बनाएर सिन्काले माटो खोस्रँदो छ । घरिघरी आफ्नै पुर्पुरो ठोक्दै गर्छ ।
सय मीटर पर प्रकाश ठिङ्ग उभिन्छ । वरपरको तमासा हेर्छ । जोडी ढुकुर अर्कै रुखमा बस्छन् र आफ्नो पूर्वकर्मलाई निरन्तरता दिन्छन् । प्रकाश भने राजेशका पाखुरी समाउन पुग्छ ।
“भएको चाहिँ के हो, राजेश ?” प्रकाश उत्तर पाउँदैन र पुनः प्रश्न तेर्साउँछ– “नबोली, नजुधी र नकुदी जित हात पार्छु भन्नु यस दुनियाँमा मुर्खता सिवाय केही होइन ।” राजेश भने निरुत्तर प्रकाशको अनुहार टुलुटुलु हेरिरहन्छ ।
प्रकाश उठ्छ । दश पाइला अघि बढ्छ । मुन्टो फर्काउँछ, आँखा गाडेर राजेशलाई हेर्छ र भन्छ– “साथीलाई आपत् परेको छ भनेर साथ दिन आएको ऊ भने शत्रुभावले एकोहोरो हेरिरहन्छ ।”
यस पटक भने आशावादी भएर राजेश टाउको उठाउँछ तर वाक्य निकाल्न सक्दैन । प्रकाश नजिकै आउँछ । उसका आँखाको आँसु पुछिदिन्छ र भन्छ– “तँ नबोल् । मैले तेरी मालतीसँग दुई घण्टा वातचित गरेर निष्कर्ष सहित आएको छु । भोलि साँझ नेपाल टेलिभिजनबाट ‘रामायण’ कार्यक्रम प्रशारण भइरहेको समयमा उनी कसैले थाहा नपाउने गरी घरबाट निस्कन्छिन् । तैँले उनलाई कल्याणपुर चौकमा ल्याउनू । विराटनगर लगेर लुकाउने काम मेरो भयो । यहाँको रिसराग र चहलपहल साम्य भएपछि आएर मालतीसँग बिहे गर्नू ।”
प्रकाशका कुरा सुनेर राजेश उठ्यो । फिस्स हाँस्यो र आँसु पुछ्यो अनि मित्रलाई आफ्नो बाहुपासमा आलङ्गनबद्ध पारिरह्यो ।
–नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
मो. नं. ९८४२८२९२०६
हाल– शिक्षक, श्रीमहावीर मावि, विषहरिया–४, सप्तरी ।
मिति–२०७३–०४–२६
(‘राजेश’ लघुकथोपन्यास–१)
