बुद्धि र मति बिग्रेपछि मान्छेको भाग्य र जीवनको मोड नै अन्तै बदलिदो रहेछ । गल्ती उनको मात्र थिएन, बा-आमा अर्थात परिवारको थियो र समाजको पनि । यस्ता गल्ती (Mistakes) थुप्रै भएका छन् हाम्रो समाजको माझ ! जसले गर्दा एकातिर परिवारजनलाई तनाव भएको छ भने अर्कोतिर स्वयंको जीवन अनिश्चतमात्र हैन आत्मा हत्या सम्को निर्णय लिन पुगेका छन् । यदि त्यस्तो हुने नै हो भने फेरि किन जन्माएर हुर्काउनु पर्छ त ? सही समाधान यो होइन, यसलाई चेतना र विवेकशील मनको अभाव मात्र हो भन्दा हुन्छ। यस्तै घटना भएको छ एउटी चेली उमा खरेल (काल्पनिक नाम) सँग ।
उनी त्यसपछि कहिल्यै आफ्नो जन्म घर अर्थात माइत आइनन् । जुन घरमा जन्मी, हुर्की, ठूली भइन र विवाहपछि त माइतको महत्व कति बढेको हुन्छ, त्यो घर भुल्न वा बिर्सन सकिदैन। जसले जन्मायो सेक ताप गर्यो, कैंयौ रात आमाले, निद्रा मारेर आमा बा भन्न सिकायो, समाज, नाता संसार चिनायो त्यो परिवारलाई कसरी कसले बिर्सेला र? झन तीजमा त माइत गइएन भने मन कस्तो हुन्छ ? भनिरहनु पर्दैन । माइतको भनेपछि अरु त के कुरा कुकुर आउँदासम्म पनि खुशी मान्ने हुन्छन चेली । त्यति मात्र हैन गाली अपवाद र कुटाइसम्म सहन सक्छन तर माइतीको बदनामी सहन्नन् । तुरुन्तै आवेशमा आइहाल्छन र परिस्थिति बदलिन सक्छ । जसले यो बुझेको छैन उसको घर पक्कै रडाको मच्चेकै हुनु पर्छ । पौराणिक स्वस्थानी कथामा सतिदेवीले माइतीको बेइज्जती सहन नसकी अग्नि कुण्डमा हामफाली ज्यान फालेको कुरा हामीले श्रवण गरेकै छौं ।
विवाहपछि उमा किन माइत आइनन् त ? के उनी यो दुनियामा छैनन् ? वा तेत्रो के बात लाग्यो उनलाई माइती नै त्याग्नु पर्यो ? यसको जवाफ वास्तविक धरातलमा रहेर खोज्ने प्रयास गररिएको छ यहाँ ।
उनको बा-आमा कताबाट बसाइ सरेर आएका हुन थाहा नभए पनि २०३१ /०३२ सालतिर बाराको तत्कालीन सिहर्वा गाउँपन्चायत अन्तर गत पर्ने बेलुवामा २/३ बिघा जति खेत र भावर (दलदल जमिन जहाँ गोरुले जोत्न भास्सिन्छ ) किने छन् । जुन खेत बेलुवाको पूर्व पश्चिम बाटोको उत्तर तर्फ ठूलो जंगल त्योभन्दा दक्षिण भलुही नदी जुन उत्तर दक्षिण बग्नेसँगै जोडिएको थियो । वरपर खेत भए पनि घर कुनैको पनि थिएन । उनको खेत चारैतिर खाल्टो र १५ /१६ गठ्ठा उठेको ढिस्को थियो जहाँ उनले स्थानीय काठ आदि प्रयोग गरेर सानो घर बनाएका थिए र त्यहीं बस्तु भाउ पाल्ने गरे । बन र खोला नजिकै भएकोले गाईबस्तु पाल्न घाँस पानीको सजिलो भयो । हाम्रो खेत बाटोको दक्षिण तर्फको फाँटमा थियो त्यता पनि घरहरू थिएन धान बाली कुर्नु पर्थ्यो । त्यो बाटो को दाँया बाँया बेल जमुनाका रुखहरु, धेरै जसो मसिना बुट्यानहरू र चउर भएकोले ठोरियाही मलेनियाबाट हुलका हुल बस्तु चराउन ल्याइन्थ्यो । धान गहूँ पाकेको बेला उत्तर तिरबाट बाँदर आउँथ्यो र बाटोको आसपासका बाली नोक्सा गर्थ्यो । हाम्रोभन्दा बढी उनकोमा जान्थ्यो यद्यपि उनीहरू छोड्दैन थिए हाम्रो चाहिं मानिस नभएको बेलामा पसेर खान्थ्यो । उनको परिवारमा थुप्रै बालबच्चा थिए दुई छोरा तीन/चार छोरी, तर सबै जसो सानै । हामी खरेल बा भनेर बोलाउथ्यौं, खरेल्नी आमा अलि अधवैसे थिइन । सायद ढीलो विवाह हो या यिनी कान्छी हुन ? त्यसैले बालकहरू र खरेलबा को उमेर अलि फरक थियो उनलाई बा हैन हजुरबाभन्दा फरक पर्दैन थियो । वर्षे बा दुई वर्षको मात्र फरक जस्ता थिए बालकहरु।
अलि हुर्केको बालकको काम गोठालो जानु घाँस दाउरा काट्नु खेत गोड्नु आदि थियो । खेत गोड्ने काम पहिले तरामा हुदैन थियो मानिसको बसोबास घना हुनथाले देखी शुरु भयो आजभोलि त चौधरीहरू पनि सिको गरेर गोड्छन् । त्यतिबेला चोर डाका खुप लाग्ने एक्लै घरमा बस्नै सकिदैन थियो त्यसकारण गाउँ झुप्प एकै ठाउँ हुन्थ्यो । हाम्रो गाउँ आसामटोलमा थियो जुन गाउँको गडुर सम्मसेर राणा नेपाल आर्मीको चीफ भए अन्य साना दर्जामा थुप्रै छन् । उनको खेत र हाम्रो गाउँ २०/२५ मिनेट को दूरीमा थियो वीचमा भलुही नदी पर्थ्यो जुन बाँध बानेको बखत तर्न सकिदैन थियो ।
आफ्नो गोठमा बनाएको मल खेतमा हालेपछि धान त लहलह भएर आउने पाक्ने बेलामा हेर्न लायक हुन्थ्यो उनको खेत । परिवार नै मिहनेती जुन घर आफ्नै खेतको वीचमा थियो, बच्चाहरू अरुसँग सम्बन्ध नै थिएन, पढने वाताबरण थिएन उनीहरुको। हाम्रो खेतमा पारीबाट बोकाएर ल्याउनु पर्थ्यो उत्पादन फरक त परिहाल्थ्यो । आसपासमा ठूलो जंगल भएकोले कहिले बदेंलले खाने कहिले लहललह पाकेर काट्न तयार पारिएको धान चोरले लग्ने । जुनेली रातमा काटेर बाटोमा लगी गोडाले माडेर बोरामा हालेर लग्थे । खेतभन्दा दक्षिण ठोरियाही र मलेनीमा चौधरी गाउँ थिए, हामी थारुले चोरेछ भन्थ्यौं । एकपटक भदैया (अशोजमा पाक्ने धान) चोरेछन् । हामी भोलि पल्ट खेतमा जादाँ त खेत अलि हिलो थियो, मानिसको पैतालाको डोव देखियो गोडाका बुढो औला हसिया जस्तो बाङ्गो थियो त्यो मान्छे त ठोरियाही को हो हामी सधैं बाध बाध्न जाँदा र खेती बारीमा देखेको उसको दाँया आँखा मनि मदनकृष्णदाइले महजोडीमा खेल्दा बनाउने आँखामनीको फोको जस्तै फोको पनि थियो।पछि उसले त्यो फोको अप्रेशन गरेर फाल्यो ।
एक दिनको कुरो हो भिमसेन दाइ र म खाना खाएर खेतमा आएका थियौं खेत नजिकै रुखमा भएको एक्ले बाँदरले जिस्क्यायो मसँग भएको खुर्पाले झटारो हानेको खुर्पा रुखमै अड्कियो। हामी त्यतिकै फर्कियौं । ती खेतहरुमा गहूँभन्दा धान राम्रो हुन्थ्यो, कार्तिक मङ्गसिरमा फाँटभरी लहलह पहेल्पुर भएर झप्पक्क फलेको धान हेर्न कति आनन्द आउथ्यो ! आलो पालो गरेर खेताला लगाएर काटिन्थ्यो र निन सुकाएर केही दिनपछि चुटेर लगिन्थ्यो पराल त्यही कुन्यु लगाएर राखिन्थ्यो पराल चोर्दैन थिए तर धान त ……।
पूर्व बागमति आसपासबाट २०४२ सालतिर बीस पच्चिस घर माझीहरू आएर खरेल बा र हाम्रो खेतको बीचको खाली एलानी जमिनमा बसोबास गरे ।सुन्छु अँझैसम्म पनि ती जमिन नम्बरी भएको छेन । बारामा यस्ता एलानी जमिन थुप्रै थिए । दलालहरुले अब धेरै जमिन कब्जा गरिसके ।
खरेल बा आमाको परिवार पनि माझीहरुसँगै अलिकति एलानी ओगटेर घरबनाए बस्न थाले। उनको घर खेतभन्दा केही टाढा भए पनि चोर डाकाको भए कम भयो । घाँस पात र मलको सुविधाकोलागि बस्तु भाउ भने उतै राखे । बेलुका कुर्न जानु पर्थ्यो । छोरा छोरी हुर्कदै र दिन वित्दै गए। यी फाँटहरुमा पानीको कुलो ४/५ किमी उत्तर तिरबाट आउथ्यो। तर दक्षिणतिरका गाउँहरुबाट मानिसले बाध फुटाइदिने भएकोले करीव महिनै विच्छे बाध बाध्न जानु पर्थ्यो आसपासका गाउँहरुबाट छोरामान्छेहरू नै जान्थे १२/१४ वर्षको भएनि छोरा मान्छे जानु पर्ने भएकोले खरेलबाको छोरा तुलसी हामीसगै जान्थे । तुलसी खेती बारीमा काम सिक्दै थिए भाइ सानो थियो बाउको सहरा नै यिनै थिए । तराइमा छोरा, घोडा, र गोरुको महत्व थियो र अँझै छ । खेती तथा ढुवानीमा यी नै काम आउथ्यो ।
त्यति बेला नजिकै विद्यालय थिएन र छोरीहरू प्राय पढ्न पठाइदैन थियो । हामी दुई किमी जति टाढा श्रीरा.प्रा.वि.सिहर्वामा पढन जान्थ्यौं । मा.वि पढन ५ वा ७ किमी उजन वा गंजभवानीपुर जानु पर्थ्यो । भैसीं चरुवाहरुले हामीलाई तर्साउथे हामी भाग्नु पर्थो । हामी समूहमा जान्थौं । छोरीमान्छे जान सक्ने कुरै भएन । यो समस्या पनि एउटा कारण थियो छोरी मान्छे सचेत नहुनमा । तर अहिलेको डाटा उल्टो छ । माझीका बच्चाहरू पनि पढेनन । यो दुवै परिवारसँगै काम गर्ने पर्म अर्म गर्ने आओत जाऔत गर्ने भए । मान्छेको जवानी बढ्दै गएपछि विपरित लिङ्गसित आकर्षण हुनु स्वभाविक हो । एकले अर्काको कामलाई अपत्यारिलो तरिकाले सघाउने, मुस्कुराउने र नजिकबाट हेर्ने चिन्ने हुन्छ । बैशको बेला समान्यतया लाजको पर्दा हट्दै जानु सकभर एकान्तको खोजी हुनु, केही छुट्टै गफ गर्न मन लाग्नु विपरित लिङ्गको जवानीको आकर्षणको विषय हुन्छ । भाषा, धर्म, जात मौन रहन्छ सकभर । कहिले घाम, कहिले छाँया, कहिले हिउँद वर्षा, जीन्दगानी यस्तै रहिछ, घुमिरहने चर्खा, भने झै माजी भनेकोनि मान्छे हो । प्रेममा जात हेरिदो रहेनछ र आँखा चिम्लेपछिको परिणाम थाहा हुने कुरै भएन । क्रमशः लहसिदै गइन उमा माझीको छोरासँग । मौका भने खोज्नु पर्थ्यो । लागु औषदका लत लागेका र जवानी फक्रन लागेकाहरुको घर परिवार प्रति केही नम्रता देखाएर वानी लुकाउन खोज्दछन् । छोरी जवानी भएको कुरा आमालाई थाहा हुन्छ र हुनु पर्छ । तर खरेलेल्नी आमाले किन विर्सनु भयो ? एक दिन साँझपख धान दाइ गरिरहेको बेला परालको कुन्युको चेपमा यी दुई अप्ठेरो अवस्थामा भेटिन्छन् । बल्ल खरेल बा झल्यास्स हुन्छन् अब पर्नु पीर पर्यो ज्यानलाई ! आफूलाई उच्च जात ठान्ने बाजे माछा मार्नेजातलाई कसरी ज्वाइ बनाउने ? बेलुका घर सल्ला गरे र विहान झिसमिसमै उमालाई लिएर बाउ निस्के । कता गए, कहाँ गए ? किन गए थाहा भएन । गाउँघरमा साउती हुन थाल्यो उमा क्या, माझीको छोरासँग सल्किछ रे ? तै चुपमै चुप भए । मामा घर गएका भनेर ढाँटे । एक हप्ता जतिपछि खरेल बा आए उमालाई कता दिए कहाँ दिए सौता माथि हो कि, कुवर केटोसँग हो, पत्तो लाग्ने कुरै भएन । तर तागाधारीलाई नै जिम्मा दिएको हुनु पर्छ । कताको बाजा कताको जग्य कताको टीको न टालो । बा को अनुहारमा हाँसो थिएन छोरीले गल्ती गरी भन्ने लाग्दो हो । हाम्रो शास्त्रले भन्छ जवानी आमा छोरा, जवानी बाउछोरी, जवानी केटाकेटी एक स्थानमा नसुत्नु । जवानी छोरी गाउँका जवान केटासँग कामकाजमा लगाउँदा पनि त सोच्नु पर्ने हैन र ? आफन्तकहाँ लगेर पढाएको भए पनि हुने किन समयमै बुद्धि नपुर्यएको ? अब उमाको भाग्य नै त्यस्तो भन्न मिल्ला त ? तर आज भोलि गाउँ घरमा पनि केही न केही शिक्षा अगाडि बढेको छ । मेडियाबाट पनि शिक्षित बनाइएको छ। जात पातमा कमी आएको छ । त्यही बेलुवागाउँमा एक जना फलामको काम गर्नेको छोराले माख्लो गाउँकी बस्नेतकी छोरी टिपेर हिडेका छन् । उनका पनि माइती पक्षले फेला पारेका छैनन् रे । अब त बाल बच्चाका धनी भैसके होलान् । यो जवानी भनेको त अच्चम्मको हुंदो रहेछ, न जात न रङ्ग कसरी मन पराउछन्, अनि कसरी भाग्छन् आश्चर्य लाग्छ । उमाले आफ्नो विवाह गर्न आमासँग मुख फोरेको भए नि त खरेल बाले बाजागाजा सहित घरमा जग्य गाडेर विवाह गरिदिन्थे जेठी छीरीको । गाउँभरीका मानिस जम्मा भएर, होमहोमादी गरेर रातो साडीमा सेतो पटुकी अनि जाली बुट्टे घुम्टो राखेर, दुलाहाले लगन गाठोसमातेर आफ्नोपछिपछि लागि घुम्दा कति सुखानुभूत हुने थियो उनलाई? सेलरोटी कसार आदिका परिकार बाजाका रौनक छुट्टै माहौल बन्न पनि त सक्थ्यो नि । सुनका गहनाले झपक्कै पारेर, हातमा मेहन्दी, नङमा पलिस, नामै त बेहुली, कसरी सजिन सक्थिन होली ? अनि टाउकामाथि सेतो कपडामा लाजा राखेर बुटेको, दुलाहले आफूलाई उठाएर ठाउँ सारेको, सुपारी खेलेको, दही भाग लगाएर खुवाएको आहा क्या आनन्द हुने थियो होला । अन्मेर जाने बेला आमा बालाई अङ्गालो हाले डाको छोडेर रोएको आफन्तका आँखामा आशू, न दुःख, न सुःख तर अभावको अनुभूति ! त्यो विवाहको आफ्नै परम्परा रौनक र अनुभूति हुन्छ र ३ वा ५ दिनमा माइत आउदाँको रमाइलो, दुलाहाको घरको बारे आमालाई चासो कस्तो छ हाम्रो परम्परा ! आफ्नो भविष्य कस्तो हुने भन्ने कस्को हातमा हुदो रहेछ? संस्कार र समाज त अँझै हेर्नु पर्ने हैन र ? विवाह जीवनमा एक फेर गरिन्छ त्यसैले नहेरी न सोची न देखी सम्बन्ध गासिने कुरा हैन। पहिले भागी विवाह पनि हुन्थ्यो जवरजस्ती सिन्दुर हालेर अपहरण शैलीमा मन नपारउदा पनि बाध्य भएर जाने चलन थियो तर जात – पात र संस्कार, स्तर मिल्ने हुनु पर्थ्यो माग्दा दिएनन भने भगाएर लाने चलन थियो । त्यो जवाना छैन अहिले, अहिले लभको जवाना छ । मानव अधिकार, बाल विवाह, अनमेल विवाह आदिको पनि चर्चा चल्ने गर्छ अहिले त ।
खरेल बा-आमा बितेको धेरै भै सक्यो । तुलसीको घरजम भएर बालबच्चा ठूला भैसके, त्यही घर, खेत अँझै छदै छ । उनका भाइ हेटौडामा बस्छन् । बहिनीहरू सबै विवाह भएर गैसके । चाडबाडमा पालो फेरो दाइलाई भेट्न आउछन् । तर उमा अहँ आएकी छैन । बाले सिन्धुली दिएको रे यद्यपि तुलसी समेत गएका छैनन् रे भेट्न । माइतीको पनि केही कर्तव्य त हुनु पर्ने हैन र ? शिक्षाको मात्र अभाव भन्न मिल्ला त ? माया भन्ने कुरा पशु पंक्षीमा त आउँछ । छोरीको घर बिग्रियो भने शरण लिने ठाउँ माइतै त होनी प्राय । यो लेख्दै गर्दा काठमाणडौ घर भएका आफूलाई हाइड्रो पावरको इन्जिनिएर भनाएर, एक जना शर्माथरकी युवतीलाई फेसबुकमार्फत विवाह बन्धन्मा पारेछ ।पछि थाहा भयो निज १० कक्षा मात्र पढेको र उक्त अफिसमा पूर्व स्टोरकिपरमात्र रहेछ र विवाहित भैसकेका तर आर्थिक लोभमा यसरी फसाइएको रहेछ। यी त प्रतिनिधि पात्र मात्र हुन। मानव अधिकार र स्वतन्त्रताको नाममा उच्च ओहादाको भन्ने बित्तिकै आफ्नो जीवन सुखी हुने आशले बुझ्दै नबुझी हामफालेका घटना लुकेका छैनन् । अब मागी विवाहको महत्व पनि बढ्दै छ । यसमा संस्कार र मनको ठूलो भूमिमा हुन्छ र आफूलाई मनमैत्री बनाउनु पर्छ हतारमा लिने निर्णय गलत हुन सक्छ परिवारको राय उत्तम हुन्छ । भागीभन्दा मागी विवाह सफलदेखिन्छ । गोत्र, मावली, शिक्षा, उमेर, स्तर आदि बुझेर सम्बन्ध बनाउदा उमाको जस्तो हुन नपर्ला कि ?
