अब हामी आइपुग्यौं
सुस्ता नरसाही ।
नेपालीका लागि जहाँ
सधैं त्राही त्राही ।।
दु:ख गर्यो खेती पाती
लुटी लान्छन उतै ।
घरभित्र केही भए
बनाउँछन् रित्तै ।।
–१–
गाईवस्तु जो भएका
खेदी लान्छन् उतै ।
हिजो गोठभरी भए
आज हुन्छ रित्तै ।।
अन्नपात गाईवस्तु
खोज्दा जोगाउन ।
हाहाकार हुन्छ सधैं
ज्यान बचाउन ।।
–२–
वर्षौंदेखि अत्याचार
भैरहेछ यहाँ ।
आफ्नो घरबास छाडी
जाउन् पनि कहाँ ।।
वरपर चारैतिर
मनपरी गर्दै ।
आवादी र वन पनि
कब्जा गर्दै गर्दै ।।
–३–
वर्षौ वर्ष देखि यहाँ
मिच्दै आएको छ ।
सुस्ता नरसाही क्षेत्र
खानै लागेको छ ।।
यै ठाउँमा बाइस हजार
बिघा खाई सक्यो ।
हेप्नसम्म हामीलाई
भारतले हेप्यो ।।
–४–
स्वाभिमान ज्युँदो भए
हे वीर सन्तति ।
उठ जाग लाचार भै
बाँचिराख्छौ कति ?।।
खुँडा अनि खुकुरीमा
धार लगाएर ।
लखेटेर छाड्नु पर्छ
सीमा कटाएर ।।
–५–
उभिदैछौं हामी जहाँ
त्रिवेणी हो नाउँ ।
राष्ट्रघाती कुसंस्कार
पखालने ठाउँ ।।
शालिग्राम पखालिई
आएको यो जल ।
पवित्र छ डुबौं अनि
भएर निर्मल ।।
–६–
नारायणी थुनेको यो
बाँध हेर्दै हेर्दै ।
पुल तरी जाऊँ अलि
छाती दह्रो पार्दै ।।
पुल माझ आइपुग्यौं
हेरौं रोकिएर ।
धौलागिरी माछापुच्छ्रे-
तिर फर्किएर ।।
–७–
गरौं आजै कबुल यो
बाँध भत्काउने ।
स्वाभिमानी निधारको
दाग मेटाउने ।।
पूर्वतिर पानी जाने
ढोका गनी हेर ।
पश्चिमतिर पानी जाने
ढोका पनि हेर ।।
–८–
भए जति पानी उता
भारतले लान्छ ।
यतातिर खेत हाम्रो
सधैं सुकी राख्छ ।
हामीलाई दिएको छ
सानो नहर हेर ।
सधैं भरि रित्तो हुन्छ
पानी नचढेर ।।
–९–
बिजुली र पानी जति
सबै उसलाई ।
अँध्यारो र अनिकाल
सधैं हामीलाई ।।
सम्झी राख यो देशका
राष्ट्रघातीलाई ।
अमरको आँशु बेची
खानेहरुलाई ।।
–१०–
त्रिशूलीमा अमरले
आँशु मिसाएथे ।
हामीलाई विद्रोहको
पाठ सिकाएथे ।।
नवलपुर चितवन
सधैं सुक्का हुने ।
बाँध बाँधी पानी लान
हामी नपाउने ।।
–११–
आफ्नो पानी आफ्नो भूमि
आफ्नै बनाउन ।
हाम्रो बाँध हामी आफै
पर्छ बनाउन ।।
नदीनाला बेच्नेलाई
त्यसै छाड्नु हुन्न ।
उतैतिर बगी जाऊन्
बाँच्न दिनु हुन्न ।।
–१२–
पिताम्बर नेपाली
(कवि जनप्रिय बहुमुखी कलेजका पूर्व क्याम्पस प्रमुख हुनुहुन्छ।)
