समाजबाट स्नेहको म प्राप्त गर्छु स्वागत
मनुष्यका समाजमा छु प्राण झैं विधानतः
तथापि यो मनुष्यले ममाथि नै दुराशय
छरी विशाक्त पारिएँ धराभरी जलाशय ।।४२।।
हराउँदै छ स्वच्छता मनुष्यबाट यस्तरी
मनुष्य नै हुँदै गए लबस्तरा लबस्तरी
मनुष्य स्वार्थ भावले गरीरहन्छ सञ्चित
बुझेर यो मनोदशा स्वयं म हुन्छु दु्ःखित ।।४३।।
अगाध प्रेमका पला हराउँदै गए अब
सुषूप्त कल्पनाहरु बिलाउँदै गए अब
लुकाई चित्तमा सधैं कहाँ म राख्न सक्तथें
विरक्तिका पला म मन्पराउँदै गएँ अब ।।४४।।
अभेद्य जो थियो यहाँ समस्त त्यो उघारियो
म भित्रको मनोदशा कता कता मडारियो
अनेक कालखण्डका घडीहरु घुमी जब
थियो अलेलि सिर्जना रहेन त्यो बटारियो ।।४५।।
अगम्य ध्यान योगमा पलेंटी के म कस्तथेें
म अग्रगामी दूत झैं कहाँ यसै म बस्तथेें
नराखियोस् नराखियोस् तितो कुनै दुराशय
बगेर जान्छ यो भनी नगर्नु धेर संशय ।।४६।।
मनीषिबाट खुल्दछन् अशेष चेतनाहरु
त्यहाँ जुरुक्क उठ्तछन् विवादका धुरीहरु
अमूर्त चेतनाहरु मलाई बाँड्न थाल्दछन्
सशक्त बन्न सक्तछन् नयाँ चुरीफुरीहरु ।।४७।।
सिसा फुटे सरी कतै कतै म चूर्ण चूर्ण छु
म नित्य बाँडिंदै गएँ तथापि पूर्ण पूर्ण छु
अनेक तर्कनाहरु ममाथि सल्बलाउँछन्
म एक निष्ठ ध्यानमा भने निकै अपूर्ण छु ।।४८।।
म भूमिको भलो हुने नवीन गीत गाउँ कि
म देशकै हिमालमा गएर प्रीत लाउँ कि
समस्त देशवासीका कथाहरु सुसाउँदै
खसेर श्वेदबिन्दु यै धरातिरै हराउँ कि ।।४९।।
म वायुपङ्खी बेगमा उडेर माथि जाउँ कि
पुगेर माथि स्वर्गका सुधा लिएर आउँ कि
अझै यहाँ छ देशमा विकासको दरिद्रता
दरिद्रता हटाउने म देशगीत गाउँ कि ।।५०।।
क्रमशः
