हो म हुतिहारा
अनि
ऊ पौरखी मान्छे
भन्छ यो समाज
समाजको नजरले मलाई
हुतिहारा देख्दा
उसलाई
पौरखी म देख्दिन खै !
म कसैलाई हानी पुर्याउन सक्दिन
व्यक्ति, समाज न त राष्ट्रलाई
बस् आफ्नो कर्म गरेको छु
आफ्नो पसीना बेचेको छु
छाक टारेको छु
अनि म हुतिहारा ? समाजको नजरमा !
ऊजस्तो पौरखी बन्नु छैन मलाई
अकूत सम्पत्ती जम्मा पारेर
आलीशान महलमा
बेचैनको स्वाँस फेर्नु छैन मलाई
मेरो नजरमा ऊ पौरखी होइन !
ऊ भ्रष्ट हो, ऊ भ्रष्ट हो
आफ्नो नैतिकता र स्वाभिमान बेचेको
निर्लज्ज अपराधी !
समाज को कलंक !
सन्तानहरूको लागि नयाँ परिचय
“भ्रष्टचारीका ” सन्तान !
कमाएको पौरखी हो ऊ !
वाह वाह वाह !
आत्माग्लानिले
शान्तिको स्वास फेर्न नसकेर
एक दिन ऊ पछुताउने छ
चिसो छिंडीमा
कुकर्मको प्रायश्चित्त गर्नको लागि
दिन पर्खेर बसेको
ऊजस्तो पौरखी मान्छे
अनि
राष्ट्रघाती बन्न सक्दिन म !
यो पागल समाजले भ्रष्टलाई पौरखी ठान्छ
अनि इमान्दारलाई हुतिहारा !
स्वीकार्य छ ! मेरो लागि “हुतिहारा” !
यस्तै हुतिहारा जीवनमा रमेको छु
हुतिहारा जीवन मैं शिर ठाडो पारेर हिडेको छु
र म हुतिहारा भएरै बाँच्न चाहन्छु ।
र म हुतिहारा भएरै बाँच्न चाहन्छु ।।
बाबुराम पन्थी ” गुल्मेली”
तम्घास गुल्मी
