Skip to content

भिजेका अक्षर (खण्डकाव्य)लाई सरसर्ती पढ्दा


परिचय –
गणेश ‘‘कौडिन्य’’द्वारा रचित ‘भिजेका अक्षर’ खण्डकाव्य बरिष्ठ साहित्यकार ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो) मार्फत प्राप्त गरें । यो कृति प्राप्त भएपछि अध्ययन गरियो र यसमा अभिव्यक्त धारणालाई यहाँ सारसंक्षेप प्रष्टयाउने काममा लागें । वास्तवमा खण्डकाव्य काव्यको मझौला रूप हो । ‘भिजेका अक्षर’ कृतिकारको आठौ कृति हो । यो कृति बजनारमा आउनुभन्दा पहिला आमाको गुनासो र अर्ती (लघुकाव्य २०५४), नदीका सुमधुरवचन (खण्डकाव्य, २०५६), गुल्यो तीतो (डोटेली कवितासङ्ग्रह २०६१),घरगृहस्थ र वातावरण (काव्य, २०६६), पेटारो बाल कविताङ्ग्रह (२०६८), वह शोक काव्य (२०६८), भावोद्गार (फुटकर कवितासङ्ग्रह २०६९) बजारमा आइसकेका छन् ।

काव्य जगतमा रमाएका गणेश एउटा कुशल सम्पादक पनि हुन् । प्रकाश पुञ्ज साहित्यिक पत्रिका सम्पादनको साथै नवज्योति साहित्यिक द्वैमासिक र नवपुनर्मिलन वार्षिक साहित्यिक पत्रिकाको साथै साहित्यिक र सामाजिक संस्थामा आवद्ध भएर साहित्य तथा समाज सेवामा समर्पित उन्को राम्रो योगदान रहेको पाइन्छ ।

भिजेका अक्षरहरूको प्रकाशन विन्दु कुमार श्रेष्ठले गर्नुभएको र यसको मूल्य पनि व्यक्तिगत रु. ११० र संस्थागत रु. १५१ राखिएको छ । आठ सर्गमा संरचित यस काव्यमा चतुष्पदी र दुईपदी गरी ३०९ श्लोक समावेश गरिएका छन् । यस खण्डकाव्यको सर्गगत कथासार यस प्रकार अध्ययन गर्न सकिन्छ –

सर्ग–एक– यस काव्यका नायक आत्मराम १०० वर्षको उमेरमा तथा बुढेस कालमा मानिसले प्रदर्शन गर्ने क्रियाकलापको अनुसरण गर्दै तत्कालीन समाजको साथै राणाकालीन सरकारले जनतामा दिएको कष्टकर यातनाको वर्णन गर्दै काव्यकारले काव्यलाई पूर्णता दिएका छन् । आत्मरामका बाबुले श्री३मा विन्ति चढाएर गाउँलेलाई जग्गा प्राप्त भएको, ९ वर्षको उमेरमा बाबु बितेको, आमा पनि बितेको, बाबुले मर्ने वेलामा छोरीको विवाहगर्ने अभिलाषा अनुसरार विवाह भए पछि स्वर्गारहण भएको,अपाङ्ग ठुल्यामा र मुमालाई सेवा गर्नु परेको र नौ वर्षको उमेरमा नै मातापिताको बराखी बार्न परेको धारणाले यो सर्ग सजिएको छ ।

सर्ग –दुई – यस सर्गमा आतमरामले ३ वर्षभन्दा मथिका जीवनका भोगाई, घरमै अध्ययनको थालनी, वेद, रुद्री, चाणक्य नीति आदिको अध्ययन, साथै पिताले सम्हालेको मुखियालीलाई निरन्तरता, रैतीले दशैं तिहारमा बाटाघाटा सबै सफा गर्ने कामको विवरण, आफ्नो विवाह आफूभन्दा जेठी कन्यासँग भऐको र बाबुको अर्तीलाई शिरोधार्य गरी काम गर्दै अघि बढेको साथै गाउँमा शिक्षाको ज्योति फैलाउनको लागि भाषा पाठशाला खोल्न सरकारमा निवेदन दिंदा जहाँनीया सरकार शङ्कित भएर मुखियाले खाने खान्की घटाएर कर बढाएर दण्ड दिएको धारणा काव्यकारले दर्शाएका छन् ।
सर्ग–तीन–राण सत्ताको अति कठोरताले गर्दा जनतामा सत्ताच्यूतको धारणा पलाएको, भारतमा बृटिस सरकारको बिरोधमा गान्धीको नेतृत्वमा क्रान्तिले अग्रसरता लिएको, नेपाली युवाहरू भारत स्वतन्त्रताको लागि क्रान्तिमा सहभागी भएको, बृटिससत्ता ढलेको, काशीमा अध्ययनरत युवाहरूले नेपालका राणा शासक विरोधमा क्रान्तिको आव्हान गरेको,गंगालाल, दशरथचन्द्र, शुक्रराज, धर्मभक्तलाई मृत्युदण्ड दिइएको, त्रिभूवन भारत पसेको, क्रान्ति दन्किएको र शक्ति सत्ता सम्झौतामा छिरेको, त्रिभूवन बितेको महेन्द्रले संविधान सभाको चुनावको सट्टा चुनाव गराएर जनताको छोरा प्रधान मन्त्री बन्न पुगेको तर महेन्द्रले लोकतन्त्र छिनेर पञ्चायतको बहाली गरेको, यस अवस्थामा यस कृतिका नायक पनि पाँच वर्ष जेल गएको जेलबाट आए पछि नायकले नै जग्गा दिएर आफ्ना छोराहरू जो काशीमा गएर पढेकालाई सहभागी गराई विद्यालय सञ्चालन गराएको, महेन्द्र बितेर वीरेन्द्र राजा बनेर व्यवस्था सुधार्ने भनी जनमत गराइएको, पञ्चायतको नै विजय भएको, दमन अति नै भएर रगत बगेको र लासलाई दवाइएको, बाटोमा बगेको रगत धोइएको, राजाले बहुदलको घोषणा गरिएयो एक वर्षमा नै संविधान बनाइएको,कोहीले संविधान नस्वीकारी वन पसेको, वीरेन्द्रका परिवार मारिएका, वेहोस् अवस्थाका दीपेन्द्रलाई राजा घोषित गरिएको मुख्तियारी ज्ञानेन्द्रले लिएका तर दीपेन्द्रको होस खुलेन र ज्ञानेन्द्र राजा बनेको धारणाको साथै ज्ञानेन्द्रले सारा अधिकार आफूमा खिचेको र यसको परिणाम सबै जनता र दलहरुले दवाव हालेर संसद पुनस्र्थापना गराइ देश गणतन्त्रमा बहाली भएको, अन्तरिम संविधान बनाएर संविधान सभाको चुनाव गराइएको, पहिलो संविधान सभावाट सम्विधान बन्न नसकेको र दलका नेता धेरै भए पनि राष्ट्र नेताको अभाव खड्किएको धारणा पस्किएको छ यस सर्गमा ।

सर्ग–चार–यस सर्गमा काव्यकारले नायकको घरयासी वर्णन गरेको देखिन्छ । विचारी र डिठ्ठाका छोरीसँग छोराका विवाह गरिएको छ । सासूको आज्ञा तथा सुझाव लिएर बुहारीहरू चलेकाका छन् । छोराहरू जागिरमा गएका, बुहारीहरू साथमा लगेका,छोरी ज्वाँइ घर नजिकमा शिक्षक भएका र कान्छो छोरा र बुहारीलाई चिट्ठा परेर पर मुलुक गएका र सन्तानमा जनातिसम्म देख्न पाइएको तर काखमा लिएर खेलाउन नपाइएको, यसै समयमा पत्नीको मृत्यु भएको आदि वर्णनले यस सर्गलाई सजाइएका छन् ।

सर्ग–पाँच–चार छोरामा तीन छोराका संन्तान भएका तर कान्छाको सन्तान नहुने भएको र दोस्रो विवाह गर्ने सुझाव दिंदा विवाह नगर्ने दाजुका छोराछोरी नै आफ्ना पनि सन्तान मानिने धारणा कान्छा कान्छीले राखेका र परदेशबाट आउँदा कान्छो जहाज एक्सिडेन्टमा परेको र मरेको बुढालाई नाति खनातिले सेवा पुर्याएको धाखरणाले भरिएको छ यो सर्ग ।

सर्ग–छ–यस सर्गमा काव्यकारले, नायकलाई विदेशमा छोराले आउने अनुरोध गर्दा पनि श्वदेश नै प्यारो लाग्ने विदेश नजाने धारणा, जनाति साथमा रहेको जेठी बुहारी बितेको जानकारी पाउनु, माहिलो छोरा र माहिली बुहारी श्वास प्रश्वसका विरामी र साँहिलो र साहिँली अबुर्द रोगका विमारी, बजार मिसावट भएका चीजले गर्दा विमारी बढेका तर नायकले घरको ताजा खानाबाट आयु लम्बिएको, झनाति देख्ने रहर रहेको,आदि धारणालाई पस्केका छन् ।

सर्ग–सात– यस सर्गमा, नायकका साहिला छोरा र बुहारी नुहाउन जाँदा भेलले बगाएको, खनातिनी बुहारीले तातो चीसो खान दिने गरेको माहिलोको पनि स्वर्गवास भएको खबर आउनु, नायक अचेत बन्न पुगेर उपचार कक्षामा सात महिना बस्दा भेट गर्न आउने मानिसहरू आउन छाडेको र डाक्टरले सञ्चो लागेकोले बेड खाली गर्न पर्योभन्दा नायकले मलाई कस्ले पाल्छ भनी रोएको र मुर्छा परेकोले उपचार भएको र डाक्टर सरुवा भएपछि नायक अलपत्र परेको, धारणा आएको छ ।

सर्ग–आठ– उपचार कोठाबाट बाहिरिएपछि आत्मराम बृद्ध आश्रममा पुर्याइन्छन् र बृद्ध आश्रममा रहँदा काव्यकारले आत्मरामलाई भेटी उन्को सारा जीवनी दुखान्त घटनालाई जानकारी लिएर, यो काव्यको सिर्जना भएको धारणा यस सर्गमा आएको छ ।

माथि मैले यस काव्यको सङ्क्षिप्त कथासार उतार्ने प्रयास गरेको छु । वास्तवमा गणेशजीले सीर्जित यस काव्यमा १२० वर्षे वियोगान्त पात्रलाई खडा गरेर उसले वहन गर्न परेका पीडालाई आत्मसात गर्दै आजको सामाजिक यथार्थतापरकतामा आफ्नो कलम चलाएका छन् । यस काव्यले राणाकालको अत्याचार, प्रजातन्त्र, महेन्द्रले गरेको कु, वीरेन्द्रको राजनीति क्रियाकलाप, वंशनास, ज्ञानेन्द्रको राज्यसञ्चालन र दमन देखि वर्तमान यथार्थतामा (गणतन्त्रमा) आउँदासम्मको राजनीति बिक्रीति र विसङ्गतिलाई टपक्कै टिपेर पाठकसामु राखेका छन् । यसलाई अध्ययन गर्दा यो एउटा ऐतिहासिक खण्डकाव्य हो । यस काव्यले आर्थिक सामाजिक राजनैतिक पक्षलाई मात्र नभएर अतितदेखि आजसम्म आफूलाई ठूलाबवडा हु म भन्नेहरूबाट गरिब, तथा असाह्यहरूमा गर्ने गरेको थिचोमिचो,,नैतिकता, मानवता, समाजिक मर्यादा, र बाबु आमाको आफ्नो सन्तति प्रतिको दायित्व, छोराबुहारीले दर्शाउनु पर्ने आदर भावलाई तुलनात्मक रूपमा वर्णन गर्दै आजको समयमा देखिएको ह्रास, वृद्धवृद्धामा आफन्तद्वारा गरिने अनादर, वृद्धाश्रममा पुग्न पर्ने वाध्यतालाई सरलरूपमा प्रस्तुत गर्नुभएको छ । आजका युवायुवती जीविकाको लागि विदे्श पलायन र विदेशमै बस्ने गरेको यथार्थमा पनि काव्यकार प्रष्ट देखिन्छन् । विदेशमा हैन स्वदेशमानै रमाउनु पर्दछ भन्ने काव्यकारको कथन छ –

म स्वाभिमानी यस देशले छु
म राष्ट्र निम्ति मरूँ ज्यून सक्छु
विदेशिको हुन्न कसै गुलाम
न गर्छु उन्मा निहुरी प्रणाम
(सर्ग –छैटौं श्लोक ७ पृष्ठ ३१)

गणेशजीको यो काव्यमा देशप्रेमका भावनाले उच्च प्राथमिकता पाएको छ –

छ शान मेरो यस देशले छ
छ मान मेरो यही देशले छ
म गर्वले यो नि त कहन्छु
म स्वाभिमानी यही देशले छु
(सर्ग –छैटौं श्लोक १० पृष्ठ ३२ )

राष्ट्र हाक्ने नेतृत्व सवल हुनुपर्दछ । आज देश हाक्ने राष्ट्र नेता छन् कि छैनन् काव्यकार शंकामा नै परेको देखिन्छन् –

दल नेता छन् धेरै राष्ट्र नेता हुने यहाँ
छन् छैनन् अनुभूत् गर्न बाँचेको छु म राष्ट्रमा

जीवनका ओराली उकाली सबैले भोग्नै पर्छ । यस काव्यका नायकको यायु निकै लामो छ ।उनी बाल्यकालमा सबैको प्रेममा हुर्के बढे मानसम्मान पनि पाए तर जति जति उन्को उमेर लम्बिदै गयो छोरा बुहारीहरूले मृतुवरण हुँदै गयो पुत्रशोक हृदय बिदारक नै हुन्छ । यस अवस्थामा नायकको मर्मलाई काव्यकारले यसरी पोखेका छन् –

हार्दै म बाँचे पनि बारबार
भोग्दै छु चिन्ता घटना कराल
यो हार हो या जित हो कसो हो?
यस्को छ संचालक त्यो कहाँ हो ?

गणेशजीले यस खण्डकाव्यद्वारा सरल सुबोध, लयात्मक रूपमा भाषा शैलीलाई बगाउँदै, मायाको रंगलाई सजाउँदै, ज्ञानका धाराहरू बगाउँदै, यथार्थतालाई केलाउँदै, १२१ वर्षको सुख दुःखका अनुभव, अनुभूति संयोगान्त र वियोगान्त आँशुको सिँचित रूपलाई ‘भिजेका अक्षर’ सार्थक नामाकरण गर्दै एउटा अमूल्य कृतिको सिर्जना गरेको मलाई अनुभूति भएको छ ।आत्मराम सकृय पात्रको रूपमा एकलाप गरे पनि यहाँ गौण पात्रहरू थुप्रै छन् । जस्ले गर्दा काव्यलाई रसमय बनाएको छ ।आजको समाजलाई दिइएको मार्गदर्शन पनि यहाँ हामीले अध्ययन गर्न पाइन्छ । काव्यकारको काव्यप्रस्तुति कला अनुकरणीय छ ।

अतः काव्य सानो छ र मीठो छ साथै आजको समाज र हिजोको देशको नेतृत्वले गर्दै आएको यथार्थ घटनाक्रमलाई समाउने प्रयास गरिएको छ ।अन्त्यमा मीठो काव्यरसलाई पान गर्दै आफ्नै जीवनका भोगाइ र अनुभवलाई काव्यका एक एक श्लोकमा समायोजन गर्दै काव्यकारको भावना पोखाइमा उच्च मूल्याङ्कन गर्दै,गहन काव्यका काव्यकारको सुस्वास्थ र दीर्घायुको कामना गर्दै बिदा चाहन्छु ।

धन्यवाद

सदानन्द अभागी
कावासोती नपा ७, नवलपरासी
२०७४ साल जेठ २२ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *